ब्लग


बुढीनन्दाको अलौकिक अनुभव: आँखामा नअटाउने सौन्दर्य, कोही नथाक्ने र भोकै बस्नु नपर्ने यात्रा

बुढीनन्दाको अलौकिक अनुभव: आँखामा नअटाउने सौन्दर्य, कोही नथाक्ने र भोकै बस्नु नपर्ने यात्रा

यमराज तिमिल्सिना
साउन २४, २०८२ शनिबार २१:११, काठमाडौँ

प्रकृतिले हरेक ठाउँलाई केही न केही विशेषता उपहारको रूपमा दिएको हुन्छ। त्यस्तैमध्ये प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदाले भरिपूर्ण क्षेत्र बुढीनन्दा पनि एक हो।

बुढीनन्दा मन्दिर बाजुरा सदरमुकाम मार्तडीबाट करिब ५६ किलोमिटर उत्तर–पूर्व साइपाल हिमालको दक्षिणी हिमशृंखलामा पर्दछ। यसको उत्तरमा फुलैगुम्बा र सैन पाटन छन्। पादुका त्रिवेणीधाम र कोल्टी विमानस्थलबाट उत्तरतिर पर्छ।

मन्दिरको छेउमा रहेको निजार ताल समुद्री सतहबाट ४ हजार ७२३ मिटरको उचाइमा छ। त्यसैगरी धलपुरादह, मष्टादह, लंकारी दह, निजारदह, महारूद्रदह, गाभेदहलगायत कयौँ तालहरू यस क्षेत्रमा छन्। वारिपारिबाट दूधजस्तै सेता बगिरहने झरनाहरू झनै मनमोहक देखिन्छन्।

बुढीनन्दामा प्रत्येक श्रावण शुक्ल चतुर्दशीका दिन पूजाआजा, होमादि कार्य हुने गर्छ। बुढीनन्दा मन्दिर र निजार ताल हिमरेखा क्षेत्रभित्रै पर्ने हुनाले बाह्रै महिना हिउँ परिरहन्छ।

मन्दिरको दर्शन गर्नबाहेक अन्य घुमघामको लागि उपयुक्त समय साउन र भदौको समय नै उत्तम हो। असोज–कात्तिकदेखि हिउँ पर्न थाल्छ र जेठ असारसम्मै रहन्छ।

छाप्रेदेखि माथिको क्षेत्र पूरै उच्च हिमाली भेग हो भने भुजाडालीभन्दा माथि मन्दिर र ताल रहेको स्थान टुंड्रा क्षेत्र हो, जहाँ अक्सिजनको कमी हुने गर्छ।

बुढीनन्दा पाटन क्षेत्रमा मुख्य गरी डाँफे, मुनाल, न्याउली, कोइली र हिमाली पाटनतिर पाइने अनेकौं लेकाली चराचुङ्गीका साथै पाटेबाघ, कस्तुरी, घोरल, थारल, हिमचितुवा, मृग, भालु, बँदेल, लङ्गुर, ढेणु, स्यालजस्ता जीवजन्तु पाइन्छन्। जडिबुटीको राजा यार्सागुम्बा पाइने मुख्य एक क्षेत्र पनि हो। त्यसैगरी पाँचऔँले, कटुस, हातेजडी, घोडामच्चा, भक्किम्लो, धर्सेचुक र विषजस्ता अमूल्य जडिबुटीको भण्डार रहेको छ। राज्यको पहुँचबाट निकै टाढा हुनाले जडिबुटीको अवैध संकलन र वन्यजन्तुको चोरी सिकार हुँदै आएको छ।

भगवतीले एक दिनको वास छाप्रेको ठूलो ढुङ्गाको ओढारमा बसेको विश्वास गरिन्छ। त्यसैले घरबाट एकादशीको दिन हिँडेका भक्तजन द्वादशीको बेलुका छाप्रे पाटनको त्यही ढुङ्गाको ओडारमै बस्नुपर्ने मान्यता छ, जहाँ रातभर  आरती, मागल, चाणची, पौराणिक कथा, शिलोक आदि नाचगान गरेर जाग्राम बस्ने गरिन्छ। त्रयोदशीको बिहानै भक्तजन लावालस्कर लागेर जयजयकार गान गर्दै छाप्रे पाटनबाट बड्डी पाटन, लौरी विनायक, सातपाखे हुँदै वर माग्ने डाँडोमा पुगेपछि वर माग्ने प्रक्रिया पूरा गर्दछन्।

गौगोठ, धनभण्डार, चरीदहमा पुगेपछि स्नान र पितृकर्म गरिन्छ। धौली बगर, फूलबारी हुँदै खेतीपातीबाट बेलुकाको वास भराँडमा हुने गर्छ, जहाँ भगवतीले दोस्रो बास बसेको मानिन्छ। भराँडको बास आत्मीयता र चिनजान हुने एक सुनौलो अवसर पनि हो। किनभने प्रत्येक भक्तले आफूले लिएको प्रसाद सबैलाई बाँड्ने प्रचलन छ।

यसले एकातिर एकअर्कामा चिनजान हुने अवसर दिन्छ भने अर्कोतिर कोही कसैको खानेकुरा सकिएको भए पनि भोको बस्नु नपर्ने अवस्था हुन्छ।

यहाँ पनि रातभर आरती, भजन कृतन गरिन्छ। व्रतबन्ध नगरेकाहरूले त्यहीँ गर्न सक्छन्। चतुर्दशीको बिहानै टोपी खस्ने चट्टाने भिर सुनालिस्नीको बाटो भएर भुजाडाली धल्पुरा दह हुँदै मुख्य मन्दिर र तालमा पुगिन्छ।

हेर्दै डरलाग्दो भिरमा आजसम्म कुनै अप्रिय घटना घटेको छैन। पाँणा पुजाराले छाप्रेदेखि नै सबै यात्रुलाई सहज होस्, कसैलाई गाह्रो अप्ठ्यारो नहोस् भनेर आफू अगाडि लागेर रोक्दैरोक्दै मन्दिरसम्मै पुर्‍याउँछन्।

छाप्रेदेखि निजारसम्म खाली खुट्टामा जाने चलन छ।

सतीदेवीको खुट्टाको बुढीऔंला खसेर बुढीनन्दा नाम रहन गएको किंवदन्ती छ। मुख्य निजार तालमा स्नान गरिसकेपछि लामबद्ध भएर सेतो शिलास्वरुपकी देवीको दर्शन गरिन्छ। होम गर्नेहरू होम गर्छन्। दर्शनपश्चात् जो जतिबेला पनि घर फर्कन मिल्ने हुन्छ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको दैवी क्षेत्रमा सानाठूला गरी सातवटाभन्दा बढी ताल रहेका छन्। सबै ताल चट्टानमै अवस्थित छन्।

मन्दिरसँगै जोडिएको ‘निजार ताल’ तिलिचोपछिको सर्वाधिक उचाइका रहेको मानिन्छ। दुई ठूला पहाडको बीच गोलो आकारमा चट्टानै चट्टानमा अवस्थित ताल समुन्द्र सतहबाट ४ हजार ७२३ मिटरको उचाइमा रहेको छ। तालको लम्बाइ, चौडाइ र गहिराइको विस्तृत् अध्ययन हुन बाँकी नै छ। तालको परिक्रमा गर्न तन्नेरीलाई झण्डै एक घण्टा लाग्ने गर्दछ।  जनश्रुतिअनुसार हरेक तालका आआफ्ना विशेषता छन्। त्यसमध्ये लंकारी ताललाई राक्षस दह भनिन्छ। यसले देवीको दर्शन गर्नुभन्दा अगाडि आफ्नो दर्शन गरोस् भनेर विभिन्न आवाज निकाल्ने गर्दछ भन्ने विश्वास गरिन्छ। तर, देवीको दर्शन नगरुन्जेल लंकारी दहमा दृष्टि पर्नुहुँदैन भन्ने मान्यता छ। यो ताल फर्किँदा हेर्न त मिल्छ तर कमजोर मुटु हुनेले नहेर्दा नै ठिक। किनभने, त्यो गहिरो डरलाग्दो निलोकालो ताल साँच्चिकै राक्षस बस्नेजस्तै लाग्छ।

यहाँ वर माग्दा मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएकोले यहाँ बझाङ, अछाम, डोटी, कैलाली कञ्चनपुर, हुम्ला, जुम्ला, कालिकोटबाट भक्तजनको बाक्लो उपस्थिति रहने गर्दछ। भाकल पूरा हुने भएकैले परापूर्वकालदेखि नै बुढीनन्दा माताको दर्शन गर्ने प्रचलन रहँदै आएको छ। 'वर माग्न बुढनन्दा जानू, राम हेर्न मालिका' भन्ने लोकोक्तिबाट पनि बुढीनन्दाको महिमा प्रष्ट हुन आउँछ।

यहाँ देवीको कुनै भव्य मन्दिर छैन। किनभने, देवीले नै स्वयम् पुजारा दान्याँ र पलान्याँ बमलाई ठूलो मन्दिर नबनाउनू र तामझामपूर्ण पूजा नगर्नू भनी उपदेश दिएको जनविश्वास छ।

‘म जहाँ अलप हुन्छु, त्यहीँ प्रत्येक श्रावण शुक्ल चतुर्दशीको दिन आएर पूजाआजा होम गर्नू, ठूलो मन्दिर बनाउनु आवश्यक छैन। पूजाआजा गर्न आउँदा तामझाम, झकिझकाउ गरेर पनि नआउनू, जो  दीनदु:खी, अनाथ, गरिबगुर्जा छन्, जसका सन्तान छैनन्, जोसँग धन–सम्पत्ति छैन, बेसहारा असाय छन्, तिनीहरूले सात्विक भावमा पूजा गरून्, तिनीहरूका मनोकामना म पूरा गरिदिनेछु’ देवीले यस्तो उपदेश दिएर अलप भएको भन्ने गरिन्छ।

सोही आज्ञा अनुसार ढुंगाको सानो मन्दिर बनाएर पूजाअर्चना हुँदै आएको छ। समय अनुसार शक्तिपीठको संरक्षण र संवर्द्धन गरी सोहीअनुसार भक्तजनको संख्यालाई मध्यनजर गरेर संरचना बनाउनु आजको आवश्यकता पनि हो।

हिमाली भेगमा फुल्ने अनेकौँ रंगीबिरंगी फूलहरूले सुशोभित लमतन्न परेको धौलीबगरको फूलबारी श्रावण शुक्ल तृतीयासम्म ढकमक भइसकेका हुन्छन्। देवीको दर्शन गरेर फर्कँदा प्रायः फूलहरू ओइलिसकेका हुन्छन्। त्यस्तै बिहानपल्ट दर्शनार्थीले दर्शन गर्नुभन्दा अगाडि उज्याला मनोरम देखिने डाँडाकाँडा र पाटनहरू पनि दर्शन गरी घरतिर फर्केपछि मधुरा देखिन्छन्।

श्रावण शुक्ल चतुर्दशीका दिनभन्दा अगाडि बुढीनन्दा पाटन क्षेत्रतिर राखेका भेडाबाख्रा वनबाट आफैँ गोठमा आउने गरेका भए तापनि त्यसपछि खोज्न जानुपर्ने गोठालाहरू बताउँछन्। सौन्दर्यको खानी बुढीनन्दा जाँदा थकाइको खासै महसुस हुँदैन। अझ भनौँ थकाइ त्यत्तिकै मेटिन्छ।

पाटनमा घोडा, भेडाका लस्कर र गाईभैंसीका गोठ अनि गोठालाहरूको स्वागत सत्कारले झनै मन चङ्गा हुन्छ। चारैतिर हरियाली वनजङ्गल, टाढासम्मका देख्न पाइने विभिन्न हिमशृङ्खलाले मनै लोभ्याउने गर्दछ।

कलीयुगमा पनि दैवी शक्ति छ र ईश्वर छन् भन्ने महसुस बुढीनन्दा मन्दिर पुगेपछि हुन्छ। यहाँको शान्त वातावरण, स्वच्छ हावा र आत्मालाई छुने हिमशृङ्खलाको दृश्यले जोकसैले यो अनुभव गर्न सक्छ।

आँखामै अटाउन नसकिने ठूलाठूला हरियाली पाटन, पाटनमा फुल्ने अनेकौं रंगीचंगी फूलहरू, रमणीय घाँसे मैदान र वनजङ्गल पशुपालकलाई आत्मनिर्भर बनाउने आधार पनि हुन्। यो क्षेत्र केवल घुम्नलाई मात्रै नभई पशुपालन गरेर, जडिबुटी सङ्कलन गरेर आत्मनिर्भर बन्न सक्ने आधार पनि हो।

चञ्चल बादल, बेलामौका सिरसिर चलिरहने सिरेटो, विभिन्न जङ्गली जनावर र चराचुरुङ्गीको आवाज, अनेकौं जटिबुटीको खानी र अद्वितीय भूगोलले गर्दा स्वदेशी–विदेशी पर्यटकलाई बोलाइरहेको आभास हुन्छ।

आर्थिक वर्ष ०८२/८३ मा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बुढीनन्दा भगवतीको मन्दिर निर्माणका लागि भनेर ३ करोड रकम विनियोजन हुने भनिएको छ। त्यसैगरी पर्यटन मन्त्रालयले नै खप्तड-बडिमालिका-बुढीनन्दा हुँदै रानीसैन पदमार्ग घोषणा गरिएकोले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गर्न सकिन्छ।

यसैगरी बडिमालिका-बुढीनन्दा आरक्षण क्षेत्र घोषणा गर्न पर्यटन मन्त्रालयले गृह, अर्थ, रक्षा र वन मन्त्रालयसँग समन्वय गरिरहेको छ। यसले चाँडै मूर्तरूप लिने विश्वास गर्न सकिन्छ।

बाजुराको पर्यटन प्रवर्द्धन र विकासका लागि बडिमालिका-बुढीनन्दा आरक्षण क्षेत्र हुनु अति आवश्यक पनि देखिन्छ।

श्री बुढीनन्दादेव्यै नमो नम:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad