ब्लग


पश्चिमको ‘निद्रा’ले निम्त्याएको चीन र भारतको उदय

पश्चिमको ‘निद्रा’ले निम्त्याएको चीन र भारतको उदय

दिलिप भट्टराई
साउन २७, २०८२ मंगलबार १५:४१, काठमाडौँ

काठमाडौंमा हावाहुरी सहितको वर्षा भइरहेको साँझ म विश्वभरका समाचारहरूमा नजर दौडाउँछु, कतै भूराजनीतिक तनावका खबर, कतै आर्थिक प्रतिस्पर्धाका नयाँ मोर्चा र कतै जलवायु परिवर्तनका बढ्दा प्रभाव, अनि नेपालमा सगरमाथा संवाद। मलाई प्रसिद्ध कूटनीतिज्ञ र रणनीतिक विचारक किशोर महबुबानीको गीता विर्जावनसँगको अन्तर्वार्ता विश्लेषणको याद आउँछ। 'अमेरिका, चीन र आसियानका सबैभन्दा ठूला गल्तीहरू' शीर्षकको अन्तर्वार्तामा व्यक्त महबुबानीको विचारमा आधारित भएर म यो लेख लेख्दैछु।

कथा सुरु हुन्छ झन्डै २०० वर्षअघि नेपोलियनले दिएको त्यो प्रसिद्ध चेतावनीबाट: 'चीनलाई सुत्न देऊ, किनकि जब ऊ ब्युँझिन्छ, यसले संसारलाई हल्लाउनेछ।' यो चेतावनी केवल राजनीतिक भनाइ थिएन, यो सहस्र वर्षको विश्व इतिहासको गहिरो बुझाइमा आधारित थियो। किनकि, ईस्वी संवतको पहिलो वर्षदेखि सन् १८२० सम्म, विश्वका दुई ठूला अर्थतन्त्र सधैँ चीन र भारत थिए। पछिल्लो २०० वर्ष मात्र युरोप र त्यसपछि अमेरिकाले लिएको आर्थिक रूपमा अग्रता 'ऐतिहासिक विचलन' थियो, जसको अन्त्य हुनु अपरिहार्य थियो। महबुबानीका अनुसार हामी अहिले त्यसैको साक्षी बनिरहेका छौँ।

रोचक कुरा त के छ भने एसियालाई ब्युँझाउने काम अरू कसैले नभएर पश्चिम आफैँले गरेको थियो। पश्चिम पहिलो सभ्यता थियो, जसले आधुनिकीकरणको नयाँ शक्तिलाई उपयोग गरी विश्वभर उपनिवेश बनाई प्रभुत्व जमायो। समयसँगै यसले ज्ञानका उपहारहरू बाँड्यो– वैज्ञानिक सोच, व्यावहारिक तर्क गर्ने कला, खुला बजार अर्थशास्त्र,  सुशासनका सिद्धान्त। अघिल्लो पुस्ता जीवनलाई भाग्यको खेल मान्थ्यो, तर पश्चिमी शिक्षा र विचारको प्रवाहले पछिल्लो पुस्तालाई सिकायो- हामी आफ्नो जीवनको जिम्मेवारी आफैं लिन सक्छौँ, हामी उद्यम गर्न सक्छौँ, हामी सुशासन मार्फत समाजलाई समृद्ध बनाउन सक्छौँ। एसियाभरि आएका आर्थिक, मनोवैज्ञानिक र सुशासनका यी 'मौन क्रान्तिहरू' वास्तवमा पश्चिमी ज्ञानको प्रभावका कारण थिए।

जब पश्चिमले यसरी बाँकी विश्वलाई ब्युँझायो, पश्चिम आफैँले पनि नयाँ, ब्युँझिएको एसियासहितको संसारमा समायोजन र अनुकूलन गर्नुपर्ने थियो। महबुबानीको भन्छन्- ठिक त्यही बेला पश्चिम 'निद्रामा' पर्न गयो।

यस निद्राका दुई प्रमुख मोड छन्। पहिलो, शीतयुद्धको अन्त्य। सोभियत संघमाथि हासिल गरेको त्यो सानदार विजयले पश्चिममा ठूलो आत्मविश्वास र केही हदसम्म अहंकार भरिदियो। फुकुयामाको 'इतिहासको अन्त्य'लाई धेरैले 'अब हामीले केही गर्नु पर्दैन, किनकि हाम्रो प्रणाली नै अन्तिम र उत्कृष्ट हो' भन्ने रूपमा बुझ्ने गल्ती गरे। जसकारण यो सोच एक खतरनाक अफिम साबित भयो र त्यसले पश्चिमलाई परिवर्तनको आवश्यकता महसुस हुन दिएन।

दोस्रो मोड सेप्टेम्बर ११ को भयानक आक्रमणले पश्चिमलाई अझ विशेषगरी अमेरिकालाई आतंकवाद विरुद्धको युद्धमा पूर्ण रूपमा केन्द्रित हुन बाध्य पार्‍यो। आघात र क्रोध यति गहिरो थियो कि यसले विश्वमा भइरहेको अर्को भूकम्पलाई बेवास्ता गर्‍यो। ठिक त्यही वर्ष चीन विश्व व्यापार संगठनमा सामेल भयो। एकै रातमा लगभग एक अर्ब नयाँ श्रमिक विश्वव्यापी पुँजीवादी प्रणालीमा प्रवेश गर्दा के हुन्छ? यसले 'रचनात्मक विनाश' को सुरु गरी पश्चिमी देशहरूमा धेरै श्रमिकको रोजगारी खोस्यो, आम्दानी स्थिर गरिदियो। तर आतंकवाद विरुद्धको युद्धको उन्मादमा यसलाई सम्बोधन गर्न आवश्यक नीति, पुन: संरचना वा सामाजिक सुरक्षामा पर्याप्त ध्यान दिइएन। यसको परिणाम आज पनि स्पष्ट देखिन्छ, पश्चिमका केही भागमा राजनीतिक ध्रुवीकरण, पपुलिजमको निरन्तर प्रभाव र पिछडिएका वर्गको असन्तुष्टि।

अहिले हामी त्यही 'निद्रा' र त्यसले निम्त्याएका परिणामहरूको विश्वमा बाँचिरहेका छौँ। विश्व बहुध्रुवीय बनेको छ। शक्ति सन्तुलन द्रुत गतिमा परिवर्तन हुँदैछ। एसियामा विशेषगरी चीन र भारत विश्व मञ्चमा प्रमुख खेलाडीका रूपमा उभिएका छन्। अमेरिका र चीनबीचको प्रतिस्पर्धा प्रविधिदेखि व्यापार र भूराजनीतिसम्म फैलिएको छ। युरोप आफ्नो आन्तरिक चुनौती र बाह्य दबाबबीच सन्तुलन खोज्दैछ। ग्लोबल साउथका देशहरू आफ्नो सार्वभौमिकता र विकासका लागि विस्तारित ब्रिक्स जस्ता नयाँ गठबन्धन र जी २० जस्ता मञ्चहरूमा सक्रिय हुँदैछन्। आपूर्ति शृङ्खलाहरू पुनर्संरचना हुँदैछन्। विशेषगरी एआई प्रविधि क्रान्तिले नयाँ अवसर र जोखिम सिर्जना गरिरहेको छ। विश्वव्यापी संस्थाहरूमाथि दबाब छ तर तिनको आवश्यकता पहिलेभन्दा बढी महसुस हुँदैछ।

के पश्चिमले विश्व मञ्चमा आफ्नो महत्त्वपूर्ण भूमिका गुमाइसक्यो त?

महबुबानीको विश्लेषणले आशाको किरण पनि देखाउँछ। महबुबानीका अनुसार अझै ढिलो भएको छैन। पश्चिम अझै पनि बलियो रूपमा फर्कन सक्छ, तर यसका लागि उसले आफ्नो पुरानो ज्ञानमा आधारित तर्क गर्ने कला प्रयोग गरेर तीन नयाँ रणनीति अपनाउनुपर्छ।

पहिलो रणनीति हो न्यूनतमवादी शैली। विश्वका कुना-कुनामा हस्तक्षेप गर्ने पुरानो बानी छाड्नुपर्छ। विश्वका विभिन्न भागमा देखिएका जटिल द्वन्द्व र अस्थिरताले देखाउँछ- बाह्य हस्तक्षेपले प्रायः समस्या सल्ट्याउनुको सट्टा झन् बल्झाउँछ। पश्चिमी ज्ञानले सुसज्जित समाजलाई आफ्नो बाटो आफैँ खोज्न दिइयो भने उनीहरूले शान्तिपूर्ण सहअस्तित्व र विकासका मार्ग खोज्न सक्छन् जसको उदाहरण दक्षिणपूर्वी एसिया र आसियान मुलुकहरु हुन्।

दोस्रो हो बहुपक्षीयता। विश्वव्यापी चुनौतीहरू (महामारी, जलवायु परिवर्तन, आतंकवाद) र बढ्दो शक्तिहरूको विश्वमा पश्चिम एक्लै सुरक्षित रहन सक्दैन। विश्वको १२ प्रतिशत जनसंख्या भएको पश्चिमले बाँकी ८८ प्रतिशतसँग मिलेर काम गर्नैपर्छ। अहिलेको विश्वमा संयुक्त राष्ट्र संघ जस्ता संस्था कमजोर देखिए पनि तिनको आवश्यकता झनै बढेको छ। यो विश्वव्यापी परिषद्लाई सुदृढ गर्नु र त्यसैमार्फत सहकार्य गर्नु बुद्धिमानी हो।

तेस्रो हो मेकियावेलियन। यसलाई नकारात्मक अर्थमा मात्र हेर्नु हुँदैन। मेकियावेलीले यथार्थवाद र बुद्धिको प्रयोग गरी राज्यको हित सुरक्षित गर्ने कुरा गरेका थिए। अहिलेको प्रतिस्पर्धी विश्वमा, पश्चिमका लागि उदीयमान शक्तिहरूलाई नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी तरिका बहुपक्षीय नियम, मापदण्ड, संस्थाहरू र प्रक्रियाहरू हुन्। यी संरचनाभित्र रहेर काम गर्दा यसले अरूलाई पनि नियमभित्र बाँध्न सक्छ, जुन पश्चिमको आफ्नै हितमा हुन्छ।

किशोर महबुबानीको विश्लेषणले हामीलाई वर्तमान विश्वको जटिलतालाई बुझ्न एउटा स्पष्ट झलक प्रदान गर्छ। पश्चिमको 'निद्रा' एउटा ऐतिहासिक असफलता थियो, तर यसको अर्थ सबै सकियो भन्ने होइन। विश्व बदलिँदो क्रममा छ र यो परिवर्तन डरलाग्दो हुनुपर्छ भन्ने छैन। यदि पश्चिमले आफ्नो पुरानो बुद्धिलाई प्रयोग गरेर न्यूनतमवादी, बहुपक्षीय र मेकियावेलियन बाटो अपनायो भने बाँकी विश्वका उदीयमान देशहरुको रुपान्तरण हुन सक्छ।

हामी सबै एउटै सानो पृथ्वीमा बस्छौँ। भविष्यको कथा डरलाग्दो र प्रतिस्पर्धायुक्त हुनुपर्छ भन्ने छैन। यो बुद्धिमत्ता, अनुकूलन र सहकार्यको पनि हुन सक्छ।

(दिलिप भट्टराई एमाले अर्घाखाँचीमा आबद्ध छन्) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad