यो लेखको सम्पूर्ण विषयवस्तु प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्धित भएकाले म सिधै उहाँलाई नै सम्बोधन गरेर लेख्दैछु।
हालसालै तपाईं तुर्कमेनिस्तानको भ्रमणमा जाँदा, विश्व मञ्चमा नेपालको प्रतिनिधित्व गर्दा हामीलाई गर्व महसुस भयो। तपाईं बाहिर देशको विकास र सम्भावना नियाल्दै गर्दा म यहाँ देशको अवस्था र तपाईंले देखाउनुभएको सपनाको भविष्यबारे बानेश्वरको क्याफेमा बसेर गहिरो चिन्तामा डुबिरहेको थिएँ।
यो न राजनीतिक प्रतिवेदन हो, न त कुनै विरोधीको आलोचनापत्र। यो त म लगायत लाखौँ युवाहरू जसले कुनै बेला सडकमा गुञ्जिएको केपी बा, आइ लभ यु को नारामा आफ्नो भविष्य देखेका थिए, आज त्यही सडकमा तपाईंविरुद्धकको नाराबाजी सुन्नुपर्दा हुने पीडाबोध हो। यो नारा तपाईंको लागि नभई तपाईंकै सचिवालय टिम, पार्टी पदाधिकारी, राज्यसत्तामा पुग्ने नेतृत्वको व्यवहारले निम्त्याएको तितो यथार्थ हो।
म लगायत लाखौँ युवा तपाईंको राष्ट्रवादी अडान र सपनाहरूका समर्थकहरू आज पुर्वराष्ट्रपती विद्यादेवी भण्डारी समाजसेवाको उच्चतम मार्ग राजनीतिमा आउनुपर्छ र नेतृत्व समेत गर्नु पर्छ भन्ने विचार र निष्कर्ष सहित फरक बाटोमा हिँड्न विवश छौँ। तपाईंले यो लेख पढ्ने बेलासम्म तपाईंलाई नेतृत्व भनेको अध्यक्षको पद हो भनेर कान फुकिसकिएको हुनेछ तर नेतृत्व भनेको पदको मात्र हैन राष्ट्रिय आकांक्षा र तपाईंको सपना समृद्ध नेपाल सुखी नेपालीको समेत हुन सक्छ भन्ने बुझेर नै तपाईंले पुर्वराष्ट्रपतिको सदस्यता २ वर्षअगाडि नै सदर गर्नु भएको थियो।
तपाईंको सरकारमाथि चौतर्फी आक्रमण हुँदा तपाईंको प्रतिरक्षामा सामाजिक सञ्जालमा मैले लेखेका थिएँ: 'नाक छोपेर नाकाबन्दीलाई नाकाबन्दी भन्न नसक्ने नेता भएको यो देशमा संसदको रोस्ट्रममा उभिएर छिमेकी भारतलाई 'सत्यमेव जयेते' कि 'सिंहमेव जयेते' सोध्न सक्ने हिम्मत भएको प्रधानमन्त्री आजसम्म यो देशले कतिजना पायो? ... 'सूर्य' फेरि उदाउँनेछ।'
समय बित्दै जाँदा तपाईंको राष्ट्रवादी अडान र सपनालाई तपाईंकै टिमले कसरी आफ्नो व्यक्तिगत स्वार्थ र अहंकारको हतियार बनाइरहेको थियो, तपाईं र जनताको बीचमा एउटा कति ठूलो, अभेद्य र अहंकारी पर्खाल खडा गरिँदै गयो त्यो तपाईंले देख्न सक्नुभएन। त्यो पर्खाल अरू कसैले नभई तपाईंकै सचिवालय, तपाईंकै वरिपरिकाले बनाएका छन्। लाखौँ नेपालीले तपाईंको सरकारबाट भोगेको उपेक्षा, अपमान र धोका मैले नजिकबाट महसुस गरेँ।
जुन समयमा नरेन्द्र मोदी सबका साथ, सबका विकास र सी चिनफिङ आफ्नो देशलाई विश्वको पहिलो अर्थतन्त्र बनाउने अभियानमा थिए, त्यही समयमा तपाईंले देखेको समृद्ध नेपाल सुखी नेपालीको सपनालाई तपाईंको टिमले नै कसरी खाडलमा हाल्दैछ? यो तपाईंको व्यक्तिगत असफलता होइन। यो त तपाईंको निकम्मा सचिवालय, दिशाहीन पार्टी पदाधिकारी र अकर्मण्य विभागहरूको असफलता हो। व्यवस्थापनको सिद्धान्तले भन्छ कुनै पनि संगठनको सफलता तीन तहमा निर्भर रहन्छ: शीर्ष तहले भिजन दिन्छ, मध्यम तहले रणनीति बनाउँछ, र तल्लो तहले कार्यान्वयन गर्छ।
तपाईंले भिजन दिनुभयो तर तपाईंको मध्यम तह बालुवाटार, च्यासल र बालकोटको टोलीले तपाईंको भिजनलाई कहिल्यै बुझेन। उनीहरूले त्यसलाई कार्यान्वयन गर्ने रणनीति बनाउनुको सट्टा आफ्नो व्यक्तिगत स्वार्थको हतियार बनाए। तपाईंको सपना त्यही मध्यम तहको अर्थात् दोस्रो पुस्ताको नेतृत्वको अयोग्यता र अहंकारको खाडलमा पुरियो।
यो पत्र त्यही धोकाको चिरफार हो।
तपाईं एउटा सामान्य किसान परिवारमा जन्मेको बालक, जसले सामन्ती र निरंकुश पञ्चायतविरुद्ध क्रान्तिको झिल्को बाल्दा आफ्नो यौवनका १४ सुनौला वसन्तहरू अँध्यारो, चिसो र कहालीलाग्दो कालकोठरी बितायो। त्यही त्याग, तपस्या र बलिदानको जगमा तपाईंको राजनीतिक व्यक्तित्व खडा भएको हो। खासगरी २०७२ को विनाशकारी भूकम्प र त्यसलगत्तै भारतले लगाएको अमानवीय नाकाबन्दीको समयमा तपाईंले देखाउनुभएको राष्ट्रवादी अडान र स्वाभिमानले तपाईंलाई हरेक नेपालीको मनमनमा स्थापित गरायो। त्यही निष्ठा र राष्ट्रप्रेमको जगमा उभिएर तपाईंले हामीलाई एउटा मन्त्र दिनुभयो समृद्ध नेपाल, सुखी नेपाली।
यो भिजन दशकौँको राजनीतिक अस्थिरता, गरिबी, परनिर्भरता र हीनताबोधबाट थकित लाखौँ नेपालीका लागि आशाको ज्वाला थियो र हामीजस्ता युवाहरूको भविष्यको प्रतिज्ञा थियो। तपाईंले त्यो कठिन समयमा हामीलाई सपना देखाउने मात्र नभई सपनाहरूको एउटा पूरै साम्राज्य खडा गर्नुभयो। तपाईंको मुखबाट निस्किएका हरेक शब्दले हाम्रो कल्पनामा समृद्ध नेपालको चित्र कोर्थ्यो जहाँ असम्भव भन्ने केही थिएन।
तपाईंले भन्नुभयो पूर्व-पश्चिम रेल कुद्नेछ, मेची र महाकाली अब घण्टामा नापिनेछन्। हामीले पत्यायौँ। तर आज एक दशक बित्न लाग्दा त्यो रेल कहाँ छ? त्यो कागजको नक्सामा र तपाईंको भाषणमा सीमित भयो। त्यो रेलको लिकमा हाम्रो सपना मलामी गयो।
तपाईंले गर्जिनुभयो, नेपालको आफ्नै पानीजहाज प्रशान्त महासागरमा चल्नेछ, हाम्रो झण्डा फहराउनेछ। हामीले एउटा भूपरिवेष्ठित देशको नागरिक हुनुको पीडा बिर्सिएर गर्वले छाती फुलायौँ। तर आज त्यो पानीजहाज कहाँ छ? त्यो त सामाजिक सञ्जालमा ठट्टा र व्यंग्यको विषय बन्यो। तपाईंको टिमले हाम्रो त्यो गर्वलाई अपमानमा बदल्यो।
तपाईंले घोषणा गर्नुभयो, घर-घरमा ग्यासको पाइपलाइन आउनेछ, सिलिन्डर बोक्ने युगको अन्त्य हुनेछ। हामीले आधुनिक जीवनको कल्पना गर्यौँ। तर त्यो पाइपलाइन कहाँ बिछ्याइयो? त्यो पाइपलाइनले हाम्रो भान्सामा ग्यास होइन, हाम्रो मनमा निराशा मात्र भर्यो।
तपाईंले चीनसँगको नाका खोलेर, केरुङ-काठमाडौं रेलमार्गको सपना देखाएर भारतको एकाधिकार तोड्ने आँट देखाउनुभयो। त्यो तपाईंको सबैभन्दा साहसिक र राष्ट्रवादी कदम थियो। हामीले तपाईंलाई युगपुरुष मान्यौँ। तर त्यो रेलमार्गको विस्तृत परियोजना प्रतिवेदनको धुलो आज कुन मन्त्रालयको दराजमा थन्किएको छ? त्यो सपनालाई साकार पार्ने इच्छाशक्ति तपाईंको दोस्रो, शक्तिशाली कार्यकालमा किन मर्यो?
तपाईंले भूकम्पपीडितको आँसु पुछ्ने वाचा गर्नुभयो। पुनर्निर्माणको महाअभियान सुरु भयो। केही घर बने, तर कति पीडितले अनुदानको लागि महिनौँ र वर्षौं कुर्नुपर्यो? पुनर्निर्माणमा भएको ढिलासुस्ती र भ्रष्टाचारको कथाले तपाईंको सुशासनको नारालाई कसरी गिज्याइरहेको थियो, के तपाईंको टिमले तपाईंलाई कहिल्यै बतायो?
यी सपनाहरू देखाउनु तपाईंको गल्ती थिएन। गल्ती त ती सपनाहरूलाई यथार्थमा बदल्ने कुनै इमानदार प्रयास नगर्नु थियो। गल्ती तपाईंको टिमको थियो, जसले यी सपनाहरूलाई केवल तपाईंको राजनीतिक उचाइ बढाउने भर्याङ बनायो, तर त्यसलाई जनताको जीवनस्तर उकास्ने माध्यम कहिल्यै बनाएन। हामीजस्ता युवाले तपाईंको महत्त्वाकांक्षामा देशको भविष्य देख्यौँ, तर तपाईंको टिमले त्यसमा आफ्नो स्वार्थ मात्र देख्यो। यहीँबाट सुरु भयो तपाईं र हामीजस्ता भुइँमान्छे बीचको दूरी।
तपाईंको टिमले तपाईंलाई कसरी धोका दियो भन्ने कुरा म कुनै हल्लाको भरमा होइन, आफ्नै भोगाइ र अनुभवबाट बताउँदैछु। तपाईंको नाम भजाएर कालो धन्दा गर्नेहरू तपाईंकै वरिपरि छन् भन्ने सत्यको म आफैं एक भुक्तभोगी हुँ। भ्रष्टाचार तपाईंकै छेउमा थियो, तर तपाईंलाई कालो पर्दाले छोपिएको थियो।
तपाईंलाई मेरो प्रश्न छ: के तपाईंले नियुक्त गर्नुभएका र तपाईं कुलपति भएका विश्वविद्यालयका पदाधिकारीहरूले भर्खरै सम्पन्न गर्नु भएको विश्वविद्यालयको आर्थिक वर्षभित्रै सकिएका सभा बैठकमा समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्ने कार्यक्रम बनाएका छन्? कि उनीहरू भ्रष्टाचारमा लिप्त छन्?
कुनै पनि ठूलो संस्था वा अभियानको सफलता त्यसको नेताको भिजनमा मात्र होइन, त्यो भिजनलाई यथार्थमा बदल्ने स्पष्ट मिसन, ठोस रणनीति र प्रभावकारी कार्यान्वयनमा निर्भर रहन्छ। तपाईं एक कुशल र साहसी भिजनरी लिडर हो, यसमा कसैको दुईमत हुन सक्दैन। तर तपाईंको त्यो महान् सपनालाई यथार्थमा बदल्ने जिम्मा पाएको तपाईंको टिम, विशेषगरी तपाईंको सचिवालय र सल्लाहकारहरूको समूहले तपाईंलाई र यो देशलाई नै धोका दियो। उनीहरूले तपाईंको सपनालाई आफ्नो व्यक्तिगत स्वार्थ, अहंकार र गुटगत राजनीतिको हतियार बनाए।
तपाईंको समृद्ध नेपाल, सुखी नेपालीको भव्य सपनालाई कार्यान्वयन गर्ने कुनै ठोस, मापनयोग्य र समयबद्ध रणनीति कहिल्यै बनेन। यो सुन्दर कविताजस्तो भयो, जसलाई मूर्तरूप दिने इन्जिनियरिङ डिजाइन कहिल्यै तयार भएन। तपाईंको टिमले यो नारालाई जनताको मनमा स्थापित गर्न जति मिहिनेत गर्यो, त्यसको एक प्रतिशत मिहिनेत पनि त्यसलाई कार्यान्वयन गर्ने विस्तृत रोडम्याप बनाउनमा गरेन। समृद्ध नेपाल कसरी बन्छ? ५ वर्षमा कति रोजगारी सिर्जना गर्ने? १० वर्षमा प्रतिव्यक्ति आय कति पुऱ्याउने? कृषि, पर्यटन, जलविद्युत वा सूचना प्रविधि, कुन क्षेत्रलाई प्राथमिकता दिने? यी प्रश्नहरूको स्पष्ट र व्यावहारिक जवाफ कहिल्यै आएन। तपाईंको टिमले नाराको व्यापार गर्यो, नीति निर्माण होइन। यसले गर्दा जनतामा सुरुमा जागेको आशा बिस्तारै निराशामा बदलियो र तपाईंको सपना केवल एउटा चुनावी भ्रम मात्र हो कि भन्ने शंका पैदा भयो।
तपाईंको दोस्रो कार्यकालको सबैभन्दा ठूलो दुर्भाग्य तपाईंको सचिवालय र सल्लाहकारहरूको टिम थियो, जसले बालुवाटारलाई एउटा अभेद्य किल्लामा परिणत गर्यो। त्यो किल्लाभित्र तपाईंको प्रशंसा र स्तुतिगान मात्र गुञ्जिन्थ्यो। बाहिर जनताको पीडा, आक्रोश र निराशाको आवाज भित्र छिर्नै दिइएन। यो समूहको नेतृत्व कसले गर्यो? ती व्यक्तिहरूले जसले कहिल्यै चुनावको सामना गरेनन्, जसले कहिल्यै जनताको मतबाट आफूलाई अनुमोदन गराएनन्, तर तपाईंको नामको छायामा बसेर देशको शक्ति अभ्यास गरे।
कहिल्यै प्रत्यक्ष चुनाव लड्ने आँट नगर्नेहरू तपाईंको नाममा बालुवाटारको समानान्तर शक्ति केन्द्र बने। उनीहरूले मन्त्रीहरूलाई निर्देशन दिने, सचिवहरूको सरुवा गर्ने र ठूला नियुक्तिहरूमा हस्तक्षेप गर्ने काम गरे। पार्टीको इमानदार कार्यकर्ताले उनलाई होइन, तपाईंलाई हेरेर भोट दिएको थियो। तर उनले त्यो शक्तिको दुरूपयोग गरेर तपाईंलाई बदनाम गराए। कुनै राजनीतिक पृष्ठभूमिबिना, तपाईंको विश्वासको आधारमा बालुवाटारको शक्ति-वृत्तमा प्रवेश गर्नेहरूले तपाईंको नाम प्रयोग गरेर सूचना प्रविधि, स्वास्थ्य र अन्य क्षेत्रमा आफ्नो व्यावसायिक साम्राज्य फैलाए। डिजिटल नेपालको सपनालाई आफ्नो व्यक्तिगत लाभको माध्यम बनाए। ओम्नी समूह जस्ता विवादास्पद प्रकरणहरूमा उनीहरूको संलग्नताको चर्चाले तपाईंको भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारालाई कसरी गिज्यायो, के तपाईंले कहिल्यै सोच्नुभयो?
यी व्यक्तिहरू जो जनताप्रति होइन तपाईंप्रति उत्तरदायी थिए, उनीहरूले तपाईंलाई यस्तो भ्रमको पर्खालभित्र कैद गरे कि तपाईंलाई साँच्चै लाग्न थाल्यो- देशमा सबै ठीक छ र तपाईंको विरोध गर्नेहरू केवल अराजक र डलरवादी हुन्। उनीहरूले तपाईंको आँखामा पट्टी बाँधिदिए र तपाईंको कानमा कपास कोचिदिए। उनीहरूले आफूलाई प्रधानमन्त्रीको रक्षक ठाने तर वास्तवमा उनीहरू तपाईंको राजनीतिक विरासतको सबैभन्दा ठूलो भक्षक थिए। जब कोभिड-१९ महामारीमा स्वास्थ्य सामग्री खरिदमा ओम्नी समूहको भ्रष्टाचारको कुरा बाहिर आयो, तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल मुछिए, तर तपाईंको टिमले त्यसको छानबिन गर्नुको सट्टा भ्रष्टाचारको बचाउ गर्यो। गुठी विधेयकले काठमाडौंका आदिवासी नेवार समुदायलाई चिढ्याउँदा, तपाईंको टिमले तपाईंलाई सही सल्लाह दिनुको सट्टा आन्दोलनकारीहरूलाई डलरवादी र अराजकको ट्याग लगाइदियो। यही समूहले तपाईंलाई यथार्थबाट पूरै अलग्याइदियो।
तपाईंको टिमको अहंकारले सबैभन्दा ठूलो चोट युवा पुस्तालाई पुऱ्यायो र अन्ततः त्यसले पार्टीको लागि एउटा राजनीतिक सुनामी नै सिर्जना गर्यो। उनीहरूले आजको जेन जी पुस्ताको मनोविज्ञान, आकांक्षा र प्राथमिकतालाई बुझ्नै सकेनन्। युवाहरूले कुनै नेता वा पार्टीको आह्वानबिना स्वतःस्फूर्त रूपमा इनफ इज इनफ भन्दै सडकमा शान्तिपूर्ण प्रदर्शन तपाईंको त्यो बेलाको सरकारका लागि एउटा वेक-अप कल थियो। उनीहरूले सुशासन, पारदर्शिता र कोभिड नियन्त्रणमा प्रभावकारिता मागेका थिए।
तर तपाईंको टिमले त्यो आन्दोलनलाई कसरी लियो? उनीहरूले त्यसलाई डलरमा बिकेका केही हुल भनेर खिल्ली उडाए। तपाईंको सल्लाहकार र अन्य सदस्यहरूले सामाजिक सञ्जालमा प्रदर्शनकारी युवाहरूलाई होच्याएर स्टाटस लेखे। उनीहरूले त्यो आन्दोलनभित्र लुकेको युवाहरूको आक्रोश, निराशा र सरकारप्रतिको गहिरो अविश्वासलाई बुझ्ने प्रयास नै गरेनन्। तपाईंको सरकारले युवाहरूको विश्वास जित्ने सुनौलो अवसर गुमाएर एउटा पूरै पुस्तालाई आफूविरुद्ध खडा गर्यो। तपाईंको टिमले युवाहरूलाई भोट बैंक मात्र सम्झियो, तर उनीहरूलाई राष्ट्र निर्माणको पार्टनर कहिल्यै सम्झेन।
यही घृणा, अपमान र उपेक्षाको गर्भबाट बालेन शाह, हर्क साम्पाङ र राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता वैकल्पिक शक्तिहरूको जन्म भयो। स्थापित पार्टीहरूले युवाको आवाज नसुन्दा युवाहरूले आफ्नै आवाज बोल्ने प्रतिनिधि खोजे। काठमाडौंको मेयरमा बालेन शाहको जित कुनै चमत्कार नभई पुराना पार्टीहरूप्रतिको युवाहरूको विद्रोहको पहिलो विस्फोट थियो। रास्वपाको उदय पनि त्यही विद्रोहको संगठित रूप थियो।
यो खतरा कति गहिरो छ भन्ने कुराको पछिल्लो उदाहरण हेर्नुहोस्। हालै मात्र एमालेबाट उपमेयरमा निर्वाचित उमा थापा मगरका पतिले रास्वपामा उम्मेदवारीका लागि आवेदन दिए। यो घटनाले के देखाउँछ? पार्टीप्रतिको वितृष्णा अब सडकका युवामा मात्र सीमित रहेन तपाईंहरूकै घर-आँगनमा, तपाईंहरूकै नेताहरूको परिवारभित्र प्रवेश गरिसकेको छ। २०६२/६३ को जनआन्दोलनपछि जन्मेको पुस्ताले तपाईंहरूको त्याग र बलिदानको कथा सुनेको छ, तर तपाईंहरूको शासनकालको असफलता र भ्रष्टाचार भोगेको छ, त्यो पुस्ता पार्टीसँग भावनात्मक रूपमा जोडिनै सक्दैन।
२०८४ को चुनावमा करिब १३ लाखभन्दा बढी नयाँ मतदाता थपिँदैछन्। यी मतदाताहरूले तपाईंहरूको भाषण नभई तपाईंहरूको काम हेर्नेछन्। उनीहरूले तपाईंहरूको विगतको त्याग होइन, वर्तमानको समीक्षा गर्दैछन्। उनीहरूले पार्टीलाई गुटबन्दी, भ्रष्टाचार र युवा-विरोधी शक्तिको रूपमा देख्छन्, उनीहरूले किन भोट दिन्छन्? तपाईंको टिमको अहंकारले जन्माएको यो वैकल्पिक राजनीतिको लहरले मिसन ८४ लाई बालुवाको घरजस्तै बगाएर लैजानेछ।
एमाले र माओवादी केन्द्रबीचको एकता तपाईंको राजनीतिक जीवनको सबैभन्दा ठूलो अवसर थियो। तपाईंको टिमको अदूरदर्शिता र अहंकारले त्यसलाई अभिशापमा बदल्यो। व्यवस्थापनको सिद्धान्तअनुसार दुई ठूला संस्थाको मर्जरपछि शक्ति बाँडफाँट र अहंकारको व्यवस्थापन सबैभन्दा महत्त्वपूर्ण हुन्छ। तपाईंको टिमले समाधान खोज्नुको सट्टा आगोमा घिउ थप्ने काम गर्यो। उनीहरूले तपाईंलाई अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपालविरुद्ध निरन्तर उक्साए। उनीहरूले तपाईंलाई यस्तो भ्रममा पारे कि तपाईं सर्वशक्तिमान हुनुहुन्छ र तपाईंले कसैलाई सुन्नु आवश्यक छैन।
यही टिमले पार्टीभित्र एउटा नयाँ विकृति सुरु गर्यो- बफादार र योग्य कार्यकर्ताहरूको अपमान र चाकरीबाजहरूको नियुक्ति। पार्टीको लागि दशकौँदेखि रगत-पसिना बगाएका, दुःख पाएका र वैचारिक रूपमा स्पष्ट हजारौँ कार्यकर्ताहरूलाई पाखा लगाइयो। उनीहरूको ठाउँमा तपाईंको सचिवालय र गुटको नजिक रहेका, चाकरी गर्न सिपालु तर योग्यता र निष्ठा नभएका व्यक्तिहरूलाई राजनीतिक नियुक्ति, अवसर र टिकट दिइयो। पार्टीको सचिव लगायतका महत्त्वपूर्ण पदहरूमा रहेका नेताहरू समेत बालुवाटारको शक्ति-केन्द्रसामु निरीह देखिए। पार्टी कमिटीहरूलाई बाइपास गरेर सिधै बालुवाटारबाट निर्णय हुन थाल्यो।
ओम्नी काण्डमा मुछिएका भानुभक्त ढकाल जस्ता व्यक्तिहरूले चुनावमा टिकट पाउनु, तर जनताले उहाँलाई चुनावमा नराम्ररी हराइदिनु यसको सबैभन्दा ठूलो उदाहरण हो। तपाईंको टिमले जसलाई योग्य ठान्यो, जनताले उसलाई अयोग्य ठानिसकेका थिए। तपाईंको टिमले जनताको भावना बुझ्न सकेन। यो प्रक्रियाले पार्टीको जगलाई भित्रभित्रै खोक्रो बनाइदियो। हजारौँ निष्ठावान् कार्यकर्ताहरूमा निराशा र कुण्ठा पैदा गर्दाको परिणाम पार्टी विभाजन र दुई तिहाइ बहुमतको सरकार पतनको रूपमा भोग्नुपर्यो।
र सबैभन्दा खतरनाक र पीडादायी कुरा के छ भने हिजो जसले तपाईंको भिजनलाई रणनीतिमा बदल्न सकेन, जसले पार्टी एकतालाई जोगाउन सकेन, जसले कार्यकर्ताको मन दुखायो, आज त्यही टिम, त्यही असफल समूह तपाईंलाई विद्या भण्डारीविरुद्ध लाग्न र उहाँलाई पार्टीमा फर्किनबाट रोक्न उक्साइरहेको छ। यो कति ठूलो धोका हो! तपाईंको लागि लड्ने सिपाहीहरूलाई जसले निशस्त्र र अपमानित गर्यो, आज उनीहरू नै पार्टीलाई एक बनाउन सक्ने र तपाईंको भिजनलाई साकार पार्न सक्ने सम्भावित नेतृत्वलाई रोक्न षड्यन्त्र गरिरहेका छन्।
उनीहरू तपाईंको कानमा विष भरिरहेका छन्, उहाँलाई ल्याउनुहुँदैन, पार्टीमा फेरि गुटबन्दी हुन्छ, तपाईंको शक्ति कमजोर हुन्छ। तर सत्य के हो? उहाँको आगमनले उनीहरूको आफ्नै गुट, उनीहरूको चाकरीको दोकान र उनीहरूको शक्तिको खेल समाप्त हुन्छ, सत्य यही हो। उनीहरूलाई के डर छ भने विद्या भण्डारीको आगमनपछि पार्टी विधि र पद्धतिमा चल्नेछ, उनीहरूको मनपरी र भ्रष्टाचार चल्दैन। उनीहरूलाई डर छ, उहाँको वैचारिक स्पष्टताको अगाडि उनीहरूको खोक्रो राष्ट्रवाद नाङ्गिन्छ।
आज तपाईं र तपाईंको टिम मिसन ८४ को नारा लगाउँदै हुनुहुन्छ। एउटा तीतो सत्य यो मिसन त्यही दिन असफल भयो जुन दिन तपाईंले आफ्नो भिजनलाई साकार पार्ने जिम्मा त्यही असफल टिमलाई दिनुभयो। र, यो मिसन तबसम्म सफल हुन सक्दैन, जबसम्म तपाईंले पार्टीभित्र भइरहेको सबैभन्दा ठूलो र खतरनाक षड्यन्त्रलाई चिन्नुहुन्न। त्यो षड्यन्त्र हो तपाईंको आफ्नै विरासत, पार्टीको भविष्य र देशको आशामाथि गरिएको प्रहार, अर्थात् पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्किनबाट रोक्ने खेल।
यो षड्यन्त्र कसले गरिरहेको छ? अरू कसैले होइन, तपाईंकै वरिपरि रहेको त्यही समूह, जसले हिजो तपाईंको शक्तिशाली सरकारलाई खाडलमा जाक्यो। आज त्यही समूह तपाईंको अन्तिम आशाको त्यान्द्रो पनि चुँडाउन लागेको छ। उनीहरू विद्या भण्डारीलाई किन रोक्न चाहन्छन्? उहाँको आगमन भनेको तपाईंको आँखा खुल्नु हो। जहाँ उनीहरूको असफलता नाङ्गिन्छ। उनीहरू तपाईंलाई होइन, आफ्नो कुर्सी र आफ्नो स्वार्थलाई बचाइरहेका छन्।
एक पटक शान्त र एकाग्र दिमागले सोच्नुहोस् के तपाईंको भिजनलाई कार्यान्वयन गर्न नसक्ने, पार्टीलाई एकढिक्का राख्न नसक्ने र कार्यकर्तालाई अपमानित गर्ने त्यही असफल टिमले दिएको सल्लाहमा तपाईंले विश्वास गर्ने? के तपाईंले राष्ट्र, युवा र लाखौँ कार्यकर्ताको भविष्यलाई केन्द्रमा राखेर सोच्ने कि त्यही सानो, स्वार्थी र असफल झुण्डको स्वार्थलाई? यो तपाईंको लागि अग्निपरीक्षाको घडी हो।
तपाईं महान् वास्तुकार हो, जसले एउटा भव्य महलको नक्सा कोर्नुभयो। तर तपाईंको टिममा ती इन्जिनियर कहिल्यै भएनन्, जसले त्यो नक्सालाई यथार्थमा बदल्न सकून्। उनीहरू त त्यो नक्सा देखाएर आफ्नो दुनो सोझ्याउने ठेकेदार मात्र साबित भए। आज पार्टीलाई र देशलाई तपाईंको भिजनलाई कार्यान्वयन गर्ने एउटा कुशल रणनीतिकार र कार्यकारी चाहिएको छ। त्यो क्षमता विद्या भण्डारीमा छ।
तपाईंको समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई कसरी मापनयोग्य लक्ष्यमा बदल्ने, कसरी त्यसका लागि स्रोत जुटाउने र कसरी त्यसलाई समयबद्ध रूपमा कार्यान्वयन गर्ने भन्ने रणनीतिक स्पष्टता उहाँसँग छ। उहाँले तपाईंको सपनालाई भाषणमा मात्र नभई परिणाममा बदल्ने क्षमता राख्नुहुन्छ।
तपाईंको टिमले गुटबन्दी गरेर पार्टीलाई कमजोर बनायो। विद्या भण्डारीले गुटभन्दा माथि उठेर, सबैलाई मिलाएर पार्टीलाई बलियो बनाउन सक्नुहुन्छ। उहाँको नेतृत्वले मात्र कार्यकर्ताको गुमेको विश्वास फर्काउन सक्छ र पार्टीलाई एउटा फलामे किल्लामा परिणत गर्न सक्छ।
तपाईंको टिमले युवाहरूलाई अपमानित गरेर पार्टीबाट टाढा पुऱ्यायो। विद्या भण्डारीको परिपक्व र अभिभावकीय नेतृत्वले नयाँ पुस्तालाई आकर्षित गर्न सक्छ। उहाँले राष्ट्रियतालाई आवेगमा होइन, विवेकमा बदल्न सक्नुहुन्छ। उहाँको नेतृत्वले मात्र मिसन ८४ लाई बहुमतको मिसन नभई राष्ट्र निर्माणको महाअभियान बनाउन सक्छ।
तपाईंको असफल टिमले विद्या भण्डारीलाई सेरेमोनियल राष्ट्रपति मात्र भनेर कमजोर देखाउने दुष्प्रचार गर्छ। तर उनीहरू यो सत्य लुकाउन चाहन्छन् कि उहाँले नै नागरिकता विधेयकजस्तो राष्ट्रघाती कदमलाई रोकेर देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्नुभएको थियो। उहाँले राष्ट्रपति पद केवल रबर स्ट्याम्प नभई राष्ट्रियताको अन्तिम किल्ला पनि हो भनेर देखाउनुभयो।
जुन टिमले तपाईंको एउटा पनि भिजनलाई कार्यान्वयन गर्ने रणनीति बनाउन सकेन, आज त्यही टिमले विद्या भण्डारीको यो रणनीतिक क्षमतालाई कसरी पचाउन सक्छ? उनीहरूलाई डर छ, यदि विद्या भण्डारी सक्रिय राजनीतिमा फर्किनुभयो भने, उहाँको वैचारिक स्पष्टता र संगठनात्मक क्षमताको अगाडि उनीहरूको गुटको राजनीति टिक्दैन। त्यसैले उनीहरू तपाईंलाई भ्रममा पारिरहेका छन्।
उहाँलाई रोक्नु भनेको तपाईंको आफ्नै सपनाको हत्या गर्नु हो। उहाँलाई रोक्नु भनेको एमालेलाई वैचारिक, संगठनात्मक र नैतिक रूपमा कमजोर बनाएर समाप्त पार्नु हो।
विद्या भण्डारीको पुनरागमनले तपाईंलाई र नेकपा एमालेलाई के फाइदा हुन्छ?
पहिलो, तपाईंको समृद्ध नेपाल, सुखी नेपालीको भिजनलाई कार्यान्वयन गर्ने एउटा भरपर्दो र सक्षम रणनीतिकार तपाईंले पाउनुहुनेछ। दोस्रो, पार्टीभित्रको गुटबन्दी अन्त्य भएर तपाईंको नेतृत्व अझै बलियो र सम्मानित हुनेछ। तेस्रो, तपाईंले आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा पार्टीलाई एकढिक्का बनाएर एउटा सक्षम नेतृत्वलाई हस्तान्तरण गरेको ऐतिहासिक श्रेय पाउनुहुनेछ। तपाईंको विरासत एउटा असफल प्रधानमन्त्रीको रूपमा होइन, एउटा सफल राजनेताको रूपमा स्थापित हुनेछ।
दुई तिहाइको सरकारको पतन तपाईंको व्यक्तिगत असफलता मात्र नभई त्यो देशको दुर्भाग्य थियो। आज नेकपा (एमाले) फेरि सरकारमा छ। मिसन ८४ सफल बनाउने हो भने विगतका गल्तीहरूबाट सिक्नुपर्छ। जुन टिमले तपाईंलाई डुबायो, त्यही टिमको भरोसामा तपाईं फेरि बहुमतको सपना देख्दै हुनुहुन्छ भने, त्योभन्दा ठूलो भ्रम केही हुनेछैन।
इतिहासको अदालतमा तपाईं उभिनुभएको छ। फैसला तपाईंको आफ्नै कर्मले लेख्नेछ। के तपाईंलाई इतिहासले यस्तो राजनेताको रूपमा सम्झियोस्, जसले देशलाई समृद्धिको सपना देखायो तर आफ्नै निकम्मा टिमको कारणले त्यो सपनालाई खाडलमा पुऱ्यायो? वा यस्तो युगपुरुषको रूपमा, जसले आफ्नो राजनीतिक जीवनको उत्तरार्धमा एउटा साहसिक निर्णय लिएर पार्टी र आफ्नो विरासत दुवैलाई बचायो? यो निर्णय अब तपाईंको हातमा छ।
तपाईंको स्वास्थ्य र उमेरले अब धेरै दौडधूप गर्न अनुमति नदेला। अब तपाईंको भूमिका एउटा अग्लो वरको रुखजस्तो हुनुपर्छ, जसले नयाँ बिरुवाहरूलाई आफ्नो छहारी दिन्छ, तर उनीहरूलाई बढ्नबाट रोक्ने गरी आफ्नो छाया फैलाउँदैन। तपाईंको काम अब नयाँ पुस्ता र सक्षम नेतृत्वलाई अगाडि बढाउने, उनीहरूलाई विश्वास गर्ने र उनीहरूको गल्तीमा ढाडस दिने हो।
कृपया आफ्नो वरिपरि रहेको त्यो समूहको विषाक्त पर्खाल तोड्नुहोस्! त्यो पर्खाल जसले तपाईंलाई जनताको आवाज सुन्न दिएन, जसले तपाईंलाई सत्य देख्न दिएन। एक पटक त्यो बालुवाटारको किल्लाबाट बाहिर निस्किएर, एउटा आम नागरिकको आँखाले देशलाई हेर्नुहोस्। सोच्नुहोस् के विद्या भण्डारी जस्तो राष्ट्रिय कदको, वैचारिक निष्ठा भएको र संगठनात्मक क्षमता प्रमाणित गरिसकेको नेतालाई रोकेर एमाले बलियो बन्छ? के चुनाव हारेका, भ्रष्टाचारमा मुछिएका र गुट चलाएर बसेकाहरूलाई बोकेर मिसन ८४ को वैतरणी पार हुन्छ?
यो देशलाई तपाईंको भिजनको खाँचो थियो र त्यो भिजन सही थियो। तर त्यो भिजनलाई साकार पार्ने तपाईंको मध्यम तह, तपाईंको टिम, पूरै असफल भयो। तपाईंको सपना अधुरो रह्यो। अब त्यो सपनालाई पूरा गर्ने, पार्टीलाई पुनर्जीवन दिने र तपाईंको विरासतलाई सम्मानजनक स्थान दिने एउटै बाटो छ- पार्टीलाई मदनको नीति, विद्याको नेतृत्वमा अगाडि बढाउनुहोस्।
नेकपा एमाले, देश र स्वयं तपाईंको भलो त्यसमै छ। यो तपाईंको लागि आफ्नो राजनीतिक जीवनको सबैभन्दा ठूलो गल्ती सच्याउने अन्तिम अवसर हुन सक्छ।
(दिलिप भट्टराई एमाले अर्घाखाँचीमा आबद्ध छन्)
Shares

प्रतिक्रिया