सहिष्णुताको अर्थ हो, आफ्नो विचार वा मान्यता जे भए तापनि अरूका विचार, विश्वास, संस्कृतिहरू वा जीवनशैलीहरूलाई स्वीकार र सम्मान गर्नु हो। यो एउटा महत्त्वपूर्ण गुण हो, जसले समाजमा सदभाव र शान्ति कायम राख्न मद्दत गर्दछ। यसले एकअर्कासाथ बस्न तथा एकअर्काबाट सिक्न सक्षम बनाउँछ।
सहिष्णुताका धेरै प्रकारहरू छन्। जस्तै धार्मिक सहिष्णुता, सांस्कृतिक सहिष्णुता, सामाजिक सहिष्णुता, राजनीतिक सहिष्णुता, र लैंगिक सहिष्णुता।
त्यस्तै, सहअस्तित्व एउटा यस्तो स्थिति हो, जसमा दुई वा दुईभन्दा बढी समूहहरू आपसी मतभेदको सम्मान गर्दै आफ्नो विवादहरूलाई अहिंसक तरिकाबाट समाधान गर्दै एक साथ शान्तिपूर्ण जीवन व्यतीत गर्दछन्। सहअस्तित्वका विभिन्न आधारहरू छन्। जस्तैः मतभेदको सम्मान, समझौताको खोजी, शान्तिपूर्ण सम्बन्ध आदि।
सहअस्तित्व एउटा जटिल अवधारणा हो। यसलाई विभिन्न सन्दर्भमा लागू गर्न सकिन्छ। अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न, सामाजिक सम्बन्ध कायम राख्न तथा परिस्थितिक प्रणाली टिकाउन। यो भनेको एकअर्कामाथि निर्भर रहनु हो।
इस्लाम धर्मको पवित्र ग्रन्थ कुरानमा धेरै ठाउँमा सहिष्णुता र सहअस्तित्वका सन्देशहरू छन्।
कुरानको कथाअनुसार अल्लाह (ईश्वर) ले सृष्टिको रचना गरे तथा त्यसको व्यवस्थापनका लागि बेला-बेलामा पुगनपुग एक लाख चौबीस हजार ईशदूतहरू पृथ्वीमा पठाए। अल्लाहका ती सन्देष्टाहरू प्रत्येक युग र जातिमा पठाइए। ती सन्देष्टामार्फत बेलाबेलामा अनेकानेक दिव्य उपदेशहरू अवतरित भयो। पूर्वमा अल्लाहद्वारा अवतरित सन्देशहरूको पालना र रक्षाको जिम्मेवारी सो समयका अनुयायी समाजलाई नै सुम्पिइएको थियो।
तर सो समयका अनुयायीले अल्लाहका ती उपदेशहरू अक्षरसः कण्ठ गर्न नसकी वास्तविक स्वरूपलाई संरक्षित राख्न सकेनन्। अनुयायीहरूले आफ्नो इच्छा र सुविधा अनुसार परिवर्तित गरे। फलस्वरूप समाजमा विकृति बढदै गई समयानुकूल मानवीय समस्याको समाधान तथा न्यायपूर्ण र प्रभावकारी सामजिक व्यवस्थापन कायम रहन् सकेन। अन्ततः अल्लाहतालाद्वारा सम्पूर्ण जगतका लागि सदासर्वदा हितकारी सन्देश हजरत मोहम्मद (सअव) मार्फत पठाउन् निधो गरे र पैगम्बर मोहम्मद (सअव)लाई सन् ५७० ई. मा बाबु अबदुल्लाह र आमा आमिनाबाट सउदी अरबको मक्का सहरमा जन्माएका हुन्।
सम्पूर्ण मानवको कल्याणका लागि पठाइएका अन्तिम सन्देशहरू सदासर्वदाका लागि संरक्षित रहोस् र अघिजस्तै मानवले आफूखुसी परिवर्तन गर्न नसकून् भनि पवित्र कुरानको संरक्षणको जिम्मेवारी स्वयं अल्लाहतालाले लिएको उल्लेख छ। फलस्वरूप पवित्र कुरानमा उल्लेखित उपदेशहरूमा ह्रस्वदीर्घ समेत परिवर्तन नहुने गरी विश्वका करोडौँ मानिसहरूले कण्ठ गरेका छन्।
अल्लाहतालाले, न्यायपूर्ण, शान्तिपूर्ण सामाजिक व्यवस्थापनका लागि समय समयमा आवश्यकता अनुसार पवित्र सन्देश पैगम्बर मोहम्मद (सअव) मार्फत अवतरित गरेका हुन्। ती सन्देशहरूमा न्यायिक, सामाजिक, आर्थिक, राजनीतिक, कूटनीतिक, पारिवारिक इत्यादिको शान्तिपूर्ण व्यवस्थापनका लागि समयाकूल र प्रभावकारी धेरै सन्देशहरू छन्। यहाँ सबैको वर्णन गर्न सम्भव छैन। यहाँ सहिष्णुता र सहअस्तित्वबारे पवित्र कुरानका धेरै सन्देशहरूमध्ये मात्र एक सन्देश र पैगम्बर मोहम्मदका केही कार्य र शिक्षाको वर्णन गर्नेछु।
म यहाँ ‘सूरह-अल-काफिरून’ (१०९) तर्फ सबैको ध्यानाकर्षण गराउँछु। जसले सहिष्णुता र सहअस्तित्वबारे स्पष्ट मार्ग निर्देश गर्दछ। यो सूरहले धार्मिक विश्वासमा समझौता गर्न दृढताका साथ अस्वीकार गर्दछ, साथै सहिष्णुता र शान्तिपूर्ण सहअस्तित्वको प्रारम्भिक सिद्धान्तलाई प्रस्तुत गर्दछ। यो सूरह मक्का सहरमा अवतरित भएको हो। यस सूरहले पारस्परिक सम्मानका साथ घोषणा गर्दछ कि तिम्रो लागि तिम्रो धर्म र मेरो लागि मेरो धर्म हो। यसले आस्थामा समझौता गर्न भन्दैन, तर आफ्नो धर्म पालना गर्ने अधिकारलाई स्वीकार गर्दछ।
यसले अविश्वासीहरू विरूद्ध हिंसा वा आक्रमणको अनुमति दिँदैन। बरू, यसले आफ्नो विश्वास अनुसार बाँच्न जोड दिन्छ र अरूलाई पनि उसको विश्वास अनुसार ‘बाँच्न देऊ’ भन्दछ।
पैगम्बर मोहम्मद (सअव) मक्का सहरबाट मदीना सहरमा बसाइँ सरेपछि त्यहाँको बहु-आस्थावादी, बहुसांस्कृतिक समाजको संरक्षण, न्यायपूर्ण र शान्तिपूर्ण समाजको स्थापनाका लागि विभिन्न आस्था र समुदायका बीच सुमधुर सम्बन्ध कायम गराउन सबैको समुदायका बीच सन्धि गराई सन् ६२२ ईसवीमा मदीनाको संविधान बनाए।
मदीनामा कल्याणकारी शासन व्यवस्थाका लागि पैगम्बर मोहम्मद (सअव)ले जारी गरेको ‘मदिनाको संविधान’ मा मदिना सहरलाई एउटा साझा समुदायको रूपमा विकसित गर्ने उद्देश्यले पूर्ण धार्मिक र सांस्कृतिक स्वतन्त्रता, आपसी रक्षाको व्यवस्था, न्याय, सहिष्णुता र शान्तिपूर्ण सहअस्तित्व कायम गराउन गैरमुस्लिमहरूको सुरक्षाको ग्यारेन्टी संवैधानिक अधिकारको रूपमा प्रत्याभूति गरेको पाइन्छ। जुन उदाहरणीय हो।
पैगम्बर मोहम्मदको शासन व्यवस्थामा ‘बहुलवाद’ को विशेष स्थान र महत्त्व छ। उनको शासकीय स्वरूपमा मदीना सहरमा बसोबास गर्ने गैरमुस्लिमहरूसँगका समझौताहरू समावेश छन्। जिम्मी सम्झौताले मदीना नियमहरू अन्तर्गत बस्ने गैरमुस्लिमहरूलाई सुरक्षा र धार्मिक स्वतन्त्रताको ग्यारेन्टी दिन्छ। यी समझौताहरूले विविध समुदायहरूबीच शान्तिपूर्ण सहअस्तित्व र पारस्परिक सम्मानलाई प्रवर्द्धन गर्यो। त्यसकारण यी दस्ताबेजहरू बहुलवाद र समावेशिताको सिद्धान्तको वकालत गर्ने आधुनिक राजनीतिक सिद्धान्तहरूसँग प्रतिध्वनित हुन्छन्।
(सलाहुद्दीन अख्तर सिद्दीकी पूर्वन्यायाधीश एवं द मदर फाउन्डेसनका संस्थापक हुन्)
Shares

प्रतिक्रिया