भदौ २३ र भदौ २४ दुई अलग मिति हुन्। यी दुई दिन इतिहासका दुई अलग चरित्रका परिघटना हुन्– एउटा शान्तिपूर्ण विद्रोहको सुरुवात थियो, दोस्रो विध्वंसको अराजक लीला। बाढी आउनु र बगाइलानु जस्तै, घाउ लाग्नु र उकुच पल्टिनुजस्तै!
पहिलो दिन निम्त्याएको भ्रष्ट र अटेरी सरकारको मैमत्तपनाले थियो, दोस्रो दिन आउने वातावरण पनि उसैको हठी, अहंकारी र दमनकारी नीतिले बनाएको हो। जेनजीको आवाज आन्दोलनपूर्व पनि सुन्न सकिन्थ्यो। न सरकारले सुन्यो, न प्रतिपक्षीले चासो दियो। जेनजीको आवाज सुनेर भदौ २३ गते साँझै प्रधानमन्त्रीले राजीनामा दिन सक्थे। दिनै पथ्र्यो। न प्रधानमन्त्रीले त्यस्तो कदम लिए, न गठबन्धनमा रहेको पार्टीले सरकार छोड्यो, न प्रतिपक्षमा भएको दलले ठोस पहल लियो।
३–४ घण्टाभित्र २० जनाभन्दा बढी युवाको ज्यान लिएर पनि आन्दोलनको आवाज सुन्न ओली सरकार तयार भएन। त्यसैले निम्त्याएको हो– भदौ २४ को विध्वंस!
भदौ २३ मा युवा–विद्यार्थीले थालेको शान्तिपूर्ण प्रदर्शन स्वतःस्फूर्त प्रकृतिको र असङ्गठित त थियो तर वास्तवमा त्यो भ्रष्टाचार, भ्रष्टशासन र सामाजिक सञ्जाल बन्दविरुद्ध नयाँ पिँढीले गरेको विद्रोह नै थियो। अत्याचारविरुद्ध विद्रोह सधैं जायज हुन्छ, त्यो जनताको अधिकार हो। त्यो विद्रोहको मर्म र गहिराइ शासकहरूले बुझ्नुपथ्र्यो, बुझेनन्। बुझ्ने सामान्य चेष्टा समेत गरेनन्। संसदमा सत्तापक्ष वा प्रतिपक्षमा बसेका मूलधारका हौं भन्ने दलहरूले पनि त्यसको घनत्व अनुमान समेत गरेनन्, बरु संसदीय खेल मात्रै बदलिने ठाने र आफ्नो पालो आउला भनेर मुख मिठ्याएर बसे। एमालेले त दमनबाट आफ्नो शासनसत्ता लम्ब्याउने ‘सजिलो’ बाटो रोज्यो।
भदौ २४ मा जुन विनाशलीला मच्चाइयो, त्यो विध्वंस जेनजीको लक्ष्य थिएन। जब सत्ताले दमनको बाटो अख्तियार गर्यो, आक्रोश उत्कर्षमा पुग्यो। प्रतिगामी, प्रतिक्रान्तिकारी र मौकापरस्त शक्तिले धमिलो पानीमा माछा मार्ने खेल खेल्यो। व्यक्ति–व्यक्तिमाथि हमला, सार्वजनिक सम्पत्तिमाथि आगजनी, महत्त्वपूर्ण भौतिक संरचना ध्वंस र लुटपाट निन्दनीय छ।
यो आन्दोलनको कार्यक्रम होइन, आन्दोलन भड्केपछिको परिणाम हो। भदौ २४ को तोडफोड, कुटपिट, लुटपाट र ध्वंसमा सहभागीहरू वास्तविक आन्दोलनकारी हुन सक्दैनन् र होइनन् पनि। लुटेराहरू न सच्चा आन्दोलनकारी हुन सक्छन्, न त्यस्ता लुटेराहरूका प्रतिनिधि वा अगुवाले यो देशलाई सही बाटोमा लैजाने छन्। यसमा हामी सचेत हुनैपर्छ। भदौ २४ को अन्धवेगी विध्वंसलाई न समर्थन गर्न सकिन्छ, न त्यो आन्दोलन हो। बरु आन्दोलन बिग्रेपछिको परिणाम हो।
भदौ २४ को विध्वंसलाई देखाएर ‘बरु पुरानै भ्रष्ट ठीक’ भन्ने भाष्यनिर्माण गर्न खोज्नेहरू पनि सलबलाइरहेका छन्। तिनलाई साथ दिनु र भ्रष्टभन्दा पञ्चायती निरंकुशता नै सही हो भन्नेलाई साथ दिनुसरह हो। जे ठीक हो, त्यो ठीक हो। जे बेठीक हो, त्यो बेठीक हो। युवा–विद्यार्थीको विद्रोह ठीक हो। आन्दोलनमाथिको दमन बेठीक हो। भदौ २४ को विध्वंस निन्दनीय छ, त्यो बेठीक हो।
त्यसकारण भदौ २३ र भदौ २४ दुई अलग मिति हुन्। २३ गतेको विद्रोह र दमनतिर औंला देखाएर २४ गतेको विनाशलीलालाई सही सावित गर्न मिल्दैन। अनि, २४ गतेको क्षति र अराजकतालाई अगाडि सारेर युवा–विद्रोहलाई खारेज गर्न मिल्दैन। पुराना भ्रष्ट पार्टीका कार्यकर्ताहरू ‘दुवै दिन बेठीक, आन्दोलन नै बेठीक’ भन्दै आफ्ना लागि चोरदुलो खोजिरहेका छन्। नयाँ ठग वा नयाँ भ्रष्टहरू ‘दुवै दिन ठीक, सबै लुटपाट जायज’ भन्ने नाममा आफ्नो अवसरवादी रोटी सेक्न खोजिरहेका छन्।
विस्फोट पो भदौ २३ मा भयो, देश सङ्कटमा त धेरैअघिदेखि थियो। यो प्रणालीगत अर्थात् अर्थ–राजनीतिक सङ्कट थियो र हो। अर्थ–राजनीतिक सङ्कटले आमजनतामा असन्तुष्टि, आक्रोश र विद्रोह जन्माउँछ। तर विद्रोह र विद्रोहको परिणति सधैं योजनाबद्ध, पूर्वनिर्धारित र सुसङ्गठित हुन्छ भन्न सकिन्न। त्यो यदाकदा अकल्पनीय र भयावह दृश्यहरू निर्माण गर्दै अघि बढ्छ। शोषणकारी र भ्रष्ट व्यवस्थाको जगमा सङ्कट सधैं गहिरिँदै जान्छ, नेपालका सन्दर्भमा पनि भएको त्यही हो।
बौद्धिक पंक्तिले, अध्येताहरूले र अर्थ–राजनीतिक विश्लेषकहरूले निरन्तर भनेका भन्यै थिए, लेखेका लेख्यै थिए, ‘सङ्कट आउँदैछ, सङ्कटले समाजमा कुनै पनि बेला विस्फोट निम्त्याउन सक्छ’, ‘आफूलाई बदल’, ‘पार्टीहरू हो, नयाँ कार्यक्रम बनाऊ’, ‘शीर्ष भनिने नेतृत्वले बाटो छोड’, ‘सडकको आवाज सुन।’
तर, शासकहरूले बौद्धिक पंक्ति वा विश्लेषकहरूको सुझाव मान्ने कुरा त परै जावस्, सुन्न पनि आवश्यक ठानेनन्। यो सङ्कट वास्तवमा मानवद्रोही र शोषणकारी व्यवस्थाको सङ्कट हो। यो सङ्कट मूलधारका भनिएका पार्टीहरूको विचारधारात्मक सङ्कट पनि हो। सँगसँगै, यो सङ्कट नयाँ विकल्पका लागि काम गर्छौं भन्ने पार्टी र सङ्गठनहरूको पनि वैचारिक र कार्यक्रमगत सङ्कट हो।
भदौ २३ को बानेश्वर–विद्रोह त्यही प्रणालीगत सङ्कटको विस्फोट थियो। त्यो विस्फोट सुनियोजित दर्शन, विचार वा सिद्धान्त साथमा भएको सङ्गठनको अगुवाइमा भएको थिएन। त्यो विस्फोट दीर्घकालीन राजनीतिक कार्यक्रम तर्जुमा गरिसकेको राजनीतिक पार्टीको पहलकदमीमा भएको थिएन। आजको सङ्कट र त्यसभित्र गुम्सिरहेको जनआक्रोशलाई बुझेर विचार–सिद्धान्तका आधारमा सङ्गठित पहल लिन सक्ने सशक्त राजनीतिक शक्ति हुन्थ्यो भने त्यो विद्रोह नयाँ र अग्रगामी राजनीतिक प्रणाली स्थापनाको घुम्ती बन्न सक्थ्यो।
त्यस्तो विद्रोहले भदौ २३ को विद्रोहलाई भदौ २४ को विध्वंसमा पुग्न दिने थिएन। यस्तो विद्रोहको लगाम विचार, सङ्गठन र नेतृत्वको योजनाअनुसार बग्थ्यो। प्रणालीगत सङ्कटको गहिराइ बुझेर, इतिहासको सही समीक्षा गरेर, आजको समाजको यथार्थ आत्मसात् गरेर अनि सही विचारधारात्मक आधारमा उभिएर बनेको सशक्त सङ्गठनले मात्रै यसप्रकारका विस्फोटहरू र भेलबाढीहरूलाई सम्हाल्ने ल्याकत राख्छ।
विचारका बलिया बाँधहरू र कार्यक्रमका योजनाबद्ध नहरहरू निर्मित छन् भने राजनीतिको भेलबाढीलाई पनि समाजरूपान्तरणको अग्रगामी सिंचाइका क्षेत्रमा सफल उपयोग गर्न सकिन्छ। यसपटक पनि त्यसो गर्न सकिन्थ्यो। तर, हाम्रासामू त्यस्तो कार्यदिशा र कार्यक्रम भएको सशक्त राजनीतिक शक्तिको अभाव थियो। त्यस्तो विचारआधारित सशक्त राजनीतिक सङ्गठन निर्माणको कार्यभार पूरा गर्न नसक्दा जनआक्रोश भदौ २३ बाट भदौ २४ को विध्वंसमा पुगेको हो।
यो अघिल्लो दिनको उभार र भोलिपल्टको संहारबाट हामीले लिनुपर्ने शिक्षा पनि यही हो कि सङ्कट के हो भनेर सही बुझाइ भएन भने, सही बुझाइअनुसारको सशक्त सङ्गठन भएन भने र विचारधारात्मक प्रष्टता भएन भने जनआक्रोशलाई सही दिशा र सही बाटो दिन सकिँदैन। त्यो उन्मादमा परिणत हुन्छ। त्यसले विध्वंस निम्त्याउन सक्छ, विनाशलीला मच्चाउन सक्छ। तर पनि सही निकास दिंदैन। बरु, त्यसले क्रान्तिको दिशामा होइन, प्रतिक्रान्तिको बाटो खोलिदिन सक्छ। यो उभारले दिएको शिक्षा पनि त्यही हो।
आन्दोलनपछिको सङ्क्रमणकाल लामो हुनु हुँदैन। यो जति लामो भयो, त्यति प्रतिगमनकारीका लागि माहोल बन्छ। सचेत नागरिकहरू र राजनीति सचेत बौद्धिकहरू, अनि अग्रगामी राजनीतिका वाहकहरूले झन् धेरै सतर्कता र सक्रियता देखाउनुपर्ने बेला छ। अग्रगामीहरू सक्रिय नहुने हो भने अब क्रमशः विचारधारात्मक हमलाहरू बढाइन सक्छन्। सम्हालिएर अग्रगामी गन्तव्यका लागि निरन्तर पहलकदमी लिन र निरन्तर जुध्नुपर्ने हुन्छ। गणतन्त्रको विकल्पमा निरंकुशतन्त्रमा लैजाने कोसिसहरू सह्य हुँदैनन्। धर्मनिरपेक्षता र समावेशी राज्य मास्न पाइँदैन। संघीयताको योगदानलाई खुम्चाउन पाइँदैन। आजको लोकतन्त्रको विकल्प अझ अगाडिको उन्नत, सुन्दर र भोलिको लोकतन्त्र हो, हिजोको निरंकुशतन्त्र होइन।
अग्रगामी र सचेत राजनीतिकर्मी र आन्दोलनकारी युवाहरूले अब विचारलाई अघि सारेर राजनीतिको नवनिर्माणमा तुरुन्तै काम गर्नुपर्ने कठिन बेला आएको छ। सुझबुझपूर्ण र संयमित भएर अनि जिम्मेवार र सङ्गठित भएर नयाँ राजनीतिको पहलकदमी लिन आवश्यक छ। जेनजी युवा–विद्यार्थीको आन्दोलनको जस लिएर अघि सर्न खोजेका नव–ठगहरूको बाटो छेक्नैपर्छ। मौका छोप्न खोज्ने प्रतिगामी तत्वदेखि सजग हुनैपर्छ। बाह्य पक्ष निर्णायक हुन सक्ने जटिल परिस्थितिप्रति चनाखो हुनैपर्छ। अर्को सङ्क्रमणकाल सुरु भएको छ, यसलाई लामो हुन नदिन सबैले पहलकदमी लिनैपर्छ।
वर्तमान भ्रष्ट व्यवस्था र भ्रष्ट शासनको विकल्प खोज्न राजनीति गरिरहेका पार्टी, पार्टीभित्रका नेता वा व्यक्ति, सङ्गठन, समूह र व्यक्ति–व्यक्तित्वहरू सामूहिक रूपमा बहुपक्षीय संवादमा जुटौं। सार्वजनिक भूमिकामा भएका व्यक्ति–व्यक्तित्वहरू पनि अग्रगामी र सही बाटोका बारेमा बोलौं। यो घडी मौन रहने घडी होइन, राजनीतिक सङ्क्रमणको सबैभन्दा कष्टकर घडी हो। इतिहासको कठिन घडीमा नै सबैले आफ्नो सबैभन्दा कठीन परीक्षा दिनुपर्ने हुन्छ। नयाँ राजनीति गर्ने पंक्तिका लागि त्यो सबैभन्दा कठिन घडी सुरु भएको छ। भदौ २३ को भेलबाढी नबुझ्दा भदौ २४ ले धेरै बगाइलगेको छ। भदौ २५ पछिका दिनमा अब सचेततापूर्वक पहलकदमीहरू अघि बढाऊँ।
अहिले राज्य नै असफल बनाउने, पछिल्ला जनसङ्घर्ष र जनआन्दोलनका न्यूनतम लोकतान्त्रिक उपलब्धिहरू खोस्ने र प्रतिगामी बाटोतिर मोड्ने कोसिसहरू हुन सक्छन्। त्यसप्रकारका लक्षणहरू पनि देखिएका छन्। देशलाई प्रतिगमनको उल्टो बाटोतिर जान नदिन यथाशीघ्र स्वतन्त्र, स्वच्छ र सक्षम नागरिकको अगुवाइमा अन्तरिम चुनावी सरकार गठन होस्। त्यसका लागि आन्दोलनकारी पक्षसँगको सहमति र सहभागिता सुनिश्चित गरी साझा र स्वीकार्य व्यक्तित्वको नेतृत्वमा अस्थायी र अन्तरिम सरकार बनाउन जरुरी छ।
Shares

प्रतिक्रिया