ब्लग


वासुदेव अधिकारीको भावुक बकपत्रः लगानीकर्तालाई लाभांश दिन नसकेकोमा लज्जित छु

वासुदेव अधिकारीको भावुक बकपत्रः लगानीकर्तालाई लाभांश दिन नसकेकोमा लज्जित छु

वासुदेव अधिकारी
माघ ३०, २०७७ शुक्रबार १४:५७,

म खासै योग्य व्यक्ति थिइनँ। राष्ट्र बैंकमा काम गर्दाको केही छापले पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले मलाई नेपाल बैंकमा गई सञ्चालक बन्न र आवश्यक परे अध्यक्ष भई सघाउन भने। मैले नाइँ भनिनँ। त्यहाँ गएर म जाबोले के पो गर्न सक्थेँ र? तैपनि कनिकुथी दुई वर्ष बिताएँ।

दुईजना प्रमुख कार्यकारी अधिकृतसित काम गरेँ। अपवाद बाहेक सञ्चालक साथीहरु सहयोगी हुनुहुन्थ्यो। आफैँ खास योग्य रहेनछु। सरकारले बाँड्न स्वीकृति दिएको लाभांश बाँड्न सक्ने अवस्था नदेखेपछि नैतिकताको आधारमा राजीनामा पनि दिएँ। त्यहाँ मैले गरेको भन्दा नगरेको कामको सूची लामो छ।

तर ऐतिहासिक र गौरवमय संस्थामा दुई वर्ष भए पनि जोडिन पाएकोमा आफूलाई चाहिँ गर्व छ। विगत दुई वर्षमा मैले सकेसम्म मितव्ययिता, पारदर्शिता र पद्धति अनुरुप कार्य गर्न प्रयत्न गरेँ। त्यहाँ आर्जन गरेको अनुभव तथा आफ्नो कार्यशैली बैंक तथा वित्तीय संस्थाका सञ्चालक साथीहरुलाई काम लाग्ने अपेक्षासहित केही बुँदा प्रस्तुत गरेको छु :

१. बैंकको कामको सिलसिलामा बाहिर जाँदा मितव्ययितालाई ध्यान दिएँ। त्यसक्रममा मैले बैंकबाट दैनिक तथा भ्रमण खर्च लिएँ लिइनँ, त्यो बैंकको रेकर्डमा छ।

२. म बैंकको अलावा काम परेर बैठकमा जाँदा कम्पनी सचिव वा सचिवालयलाई सूचित नगरी गइनँ। कम्पनी सचिव र प्रमुख कार्यकारी अधिकृतसित बाहेक अरुसित सम्पर्क गरिनँ। सञ्चालक समिति सचिवालयका कर्मचारीलाई आफ्नो व्यक्तिगत काममा एक दिन पनि लगाइनँ।

३. युनियनका साथीभाइलाई आवश्यक मात्र समय दिएँ। युनियनका पदाधिकारीसित एक्लाएक्लै भेट्न कुनै समय मिलाइनँ, विशेष सम्बन्ध बनाइनँ।

४. औसतमा छ, सात विषय नभई बैठक सञ्चालन गरिनँ। आपतमा बाहेक सर्कुलेसनबाट बैठक गरी पछि सही गर्ने काम गरिनँ। यसैकारण बैठकको संख्या तुलनात्मक रुपमा घट्न सक्यो। आफ्नो कारणले एक दिन पनि बैठक विलम्व गरिनँ।

५. आफ्नो स्वार्थ अनुरुप सामाजिक उत्तरदायित्वको रकम उपयोग गर्न प्रस्ताव गरिनँ।

६. व्यवस्थापनलाई कर्जा लगानी गर्न अधिकार दिँदा वा सामाजिक उत्तरदायित्व वहन गर्दा सानो चित्त गरिनँ।

७. बैठकका विषयमा छलफल हुँदा सकेसम्म सबै सञ्चालकको धारणालाई स्वागत गर्न अवरोध हुन्छ भनेर एजेण्डामा एक्लै बकबास गर्ने गरिनँ।

८. माइन्युट फाइनल गर्ने जिम्मा अरुलाई सुम्पिनँ, आफैँले लिएँ। निर्णयको अक्षर अक्षरप्रति आफू जिम्मेबार बनेँ।

९. महत्वपूर्ण विषयमा सरकारलाई अवगत गराएर निर्णयमा पुगेँ। सरकारसित कुराकानी गर्दा सकेसम्म प्रमुख कार्यकारी अधिकृत र वहालवाला सरकारी सेवाका सञ्चालक समेतलाई सहभागी गराएँ। एक्लै सम्पर्क राखिनँ। सदैव व्यस्त रहनुपर्ने मन्त्रीज्यूको निवासमा गई उहाँहरुको अमूल्य समय नष्ट गरिनँ।

१०. चियाको तलतल लागी अतिशय व्यस्त सरकारी उच्च ओहदाका पदाधिकारीको च्याम्बरमा भीड थप्न गइनँ।

११. प्रमुख कार्यकारी अधिकृत भर्ना गर्न अपारदर्शी विधि अवलम्वन गरिनँ। उम्दा व्यक्तित्वलाई नै सो कामको जिम्मा दिएँ।

१२. वार्षिक साधारण सभाले पारित गरी राष्ट्र बैंकले स्वीकृत गरेको सञ्चालकको बैठक भत्ता लगायतका निर्णय कार्यान्वयन गर्दा सरकारलाई चित्त दुख्ने भएको हुँदा त्यो नलिन सञ्चालकहरुलाई सहमत गराएँ।

१३. व्यवस्थापनलाई सहयोग गर्ने बाहेक कुनै पनि काममा हस्तक्षेप गरिनँ। सरुवा, बढुवा वा पदस्थापनमा कुनै हस्तक्षेप गरिनँ। सुशासन कायम गर्न र दण्डहीनता तोड्न व्यवस्थापनलाई प्रोत्साहित गरेँ।

१४. आफ्नो समयलाई बैंकको पुरानो माइन्युट पढी आधिकारिक इतिहास थाहा पाउन उपयोग गरेँ। सो क्रममा बैंकको उत्थानमा जुद्ध शम्शेर, सरदार गुञ्जमान सिंह, विजय शम्शेर जवरा, हिमालय शम्शेर जवरा, भीम बहादुर पाण्डे, आनन्दभक्त राजभण्डारी, म्याक एलिष्टर आदिको योगदानको उज्यालोबाट केही मात्रामा स्पर्शित भएँ। त्यस अध्ययनबाट नेपाल बैंकको आरम्भिक दुई दशकको इतिहास लेख्ने रहर उमारेँ। त्यो पूरा गर्छु पनि होला।

१५. हुकुमीतन्त्रमा पनि कानुन बनाई त्यसका प्रावधान अनुरुप साधारणसभा मार्फत वासलात, नाफा नोक्सान तथा नगद प्रवाहको स्वीकृति, लाभांश वितरण, लेखा परीक्षक नियुक्ति लगायतका विषय निर्णय गर्ने परम्परा बसालेको, सरकारले सिधा हस्तक्षेप गर्ने नगरेको लगायतका सुन्दर पक्षबारे अवगत हुन पाएँ।

१६. आव २०७६/७७ सम्मको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने विषयमा नियमनकारी निकायको स्वीकृतिको कानुनी महत्व हुने नहुने विषय, प्रस्तावितभन्दा कम लाभांशको स्वीकृति प्रदान गर्ने सरकारको निर्णय पालना गर्दा हुने व्यावहारिक कठिनाइ तथा अध्यक्षको हैसियतले सरकारी निर्णय लागू गर्ने क्रममा देखिएको नैतिक संकटको कारण माघ ५ गते माननीय मन्त्रीज्यूसमक्ष दिएको राजीनामा माघ २७ गते स्वीकृत भई आउँदा म साँच्चै खुशी भएँ। संयोगः त्यो सुन्नु करिब दुई घण्टा अघि जति दुःखी म जीवनमा कहिल्यै भएको थिइनँ।

१७. आफ्नो पदबाट राजीनामा दिएपछि पनि म कामबाट भागिनँ, निरास वा हतोत्साहित भइनँ। त्यो कुरा सहकर्मी सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतलाई पनि भनिनँ। राजीनामा स्वीकृत हुने अघिल्लो दिनसम्म पनि उत्साहित र जिम्मेबार भई बैठकमा भाग लिइरहेँ।

१८. संकटमा बैंकलाई पुँजीकरण गर्ने सरकार तथा निजी क्षेत्रका लगानीकर्ताप्रति मेरो अपार श्रद्धा छ। प्रिमियममा एफपीओ जारी गर्ने अक्कल, अपर्याप्त पुँजीको कारण टाक्सिएको बैंकलाई प्रिमियममा शेयर किनी प्राणदान गर्ने लगानीकर्तालाई म लाख लाख सलाम गर्छु।

१९. मुलुकको विकासमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने सरकारको नीति आफ्ना निर्णय र क्रियाकलाप मार्फत मुखरित हुँदै जाओस्। अग्रगमन, उदारता र सुशासन व्यवहारबाटै प्रकट हुन सकोस्। हामी चन्दा, युनियन गठन वा आफन्तको जागिरका लागि मात्र निजी क्षेत्रलाई सम्झिने रोगबाट क्रमशः मुक्त हुँदै जान आवश्यक देख्छु।

२०. कोभिड प्रकोप सिर्जित आर्थिक मन्दीको सकसमा बैंकले आफ्ना ग्राहकलाई सकेको छुट र लचकता मार्फत् केही मलम लगायो। तथापि लामो समय लाभांश नपाउने तथा प्रिमियममा शेयर किनी प्राणदान गर्ने लगानीकर्तालाई प्रदान गरिने लाभांश उपर किचलो हुन गयो। त्यस वातावरणलाई सहजीकरण गर्न नसकेकोप्रति म हुनसम्म लज्जित छु। मेरो राजीनामा त्यही लज्जा ढाक्ने पातलो पर्दा हो। यस विषयलाई मैले आफैँ अग्रसर भई सञ्चार माध्यममा बाहिर ल्याइनँ। कसैसित सिँगौरी खेल्न मेरो सिङ छैन, समय र मन पनि छैन। म द्वन्द्वको होइन, सहकार्यकै पुजारी हुँ।

२१. नेपाल बैंक सरकार र निजी क्षेत्र सहकार्य गर्ने उपयुक्त थलो थियो। राजनीतिक व्यक्तिले सबै विषय हेर्न सक्दैनन्। ब्युरोक्रेसीले नै यसलाई सहजता प्रदान गर्नु पर्छ। अन्यथा विकासको वातावरण धमिलिन्छ। धमिलो वातावरणमा तारा खोज्दा जूनकिरी मात्र हात पर्छ।

२२. नेपाल बैंकको भविष्य उज्जवल छ। बैंक व्यावसायिक हुँदै गएको छ। सुशासनको पद्धति स्थापित छ। आपसी सहकार्य र छलफल, मूल्य मान्यतासहित कर्मचारीहरुको कामको यथोचित मोनिटरिङ, सेवाको गुणस्तर सुधार, सम्पत्तिको अधिकतम उपयोग एवम् बजार समक्ष नयाँ नयाँ प्रोडक्ट लिएर जान नलजाउने हो भने बैंक सम्मानित स्तरमा पुनस्र्थापित हुनेछ। बैंकलाई मेरो सहयोग रहिरहने छ।

(अधिकारीले सामाजिक संजालमा सार्वजनिक गरेको अभिव्यक्ति। नेपाल बैंक लिमिटेडको साधारण सभाले गरेको निर्णय अर्थ मन्त्रालयले बदर गरेपछि अधिकारीले बैंकको संचालक समितिबाट राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत भैसकेको छ। गत आर्थिक वर्षको नाफाबाट नेपाल बैंकको १६ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरे पनि त्यसलाई अर्थ मन्त्रालले बदर गरेको थियो। अर्थ मन्त्रालयले हाललाई १० प्रतिशत मात्रै लाभांश वितरण गर्न सक्ने बताएको थियो।)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad