ad ad

ब्लग


राजेन्द्र महतोलाई प्रश्न : अब विकास पासवानले प्रेमपत्र लेख्न पाउँछन्?

राजेन्द्र महतोलाई प्रश्न : अब विकास पासवानले प्रेमपत्र लेख्न पाउँछन्?

रूपबहादुर विश्वकर्मा
जेठ २३, २०७८ आइतबार ५:३३,

‘उपेक्षित मधेस र शोषित/पीडित मधेसी जनताको मुक्तिका लागि’ भनेर राजनीति गरिरहेका राजेन्द्र महतोसहित १० जना मधेसी नेता शुक्रबार एकैसाथ केन्द्र सरकारमा मन्त्री बनेका छन्। दलित अधिकारर्मी एवं पत्रकार भोला पासवानका शब्दमा मधेसी दलले २०६३ यता त सत्तामा ‘छलाङ’ मारिरहेकै हो। तर यति धेरै संख्यामा केन्द्र सरकारमा मन्त्री बनेको चाहिँ इतिहासमै पहिलोपटक हो।

‘नश्लवादी’ राज्यबाट मधेस र मधेसी जनता चरम विभेद र शोषणमा परिरहेको छ भनेर सबैभन्दा चर्काे स्वरमा विरोध गर्ने नेता सम्भवतः राजेन्द्र महतो नै हुन्। जनता समाजवादी पार्टी (जसपा) का नेता उनी अहिले उपप्रधानसहित सहरी विकासमन्त्री बनेका छन्। तर उनले भन्ने गरेको शोषित/पीडित मधेसीभित्र दलित पनि पर्छन् कि पर्दैनन् कुन्नि?

नत्र उनले मन्त्री पदको शपथ खानुभन्दा एक दिनअघि मात्र उनकै प्रदेश, अझ उनकै गृहजिल्ला सर्लाहीसँग सिमाना जोडिएको रौतहटमा एक दलित युवक उनैले भन्ने गरेको नश्लवादी/जातिवादी विभेदकै कारण निर्घात कुटिएका छन्।

नवनियुक्त उपप्रधानमन्त्री महतोले पनि यो घटना सञ्चारमाध्यमबाट पक्कै सुनेको हुनुपर्छ। घटना बिहीबार दिउँसोको हो। स्थानीय एक उच्च जातकी युवतीलाई ‘प्रेमपत्र पठाएको’ ‘अपराध’मा रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ का विकास पासवानलाई बिजुलीको पोलमा बाँधेर गोरु चुटेझैं चुटिएको हो।

प्रत्यक्षदर्शीका अनुसार युवतीका आफन्त सोही गाउँपालिकाकै वडा नम्बर ४ का राजदेव गिरीलगायतले ‘सामाजिक भेला’ गरी ११ कक्षामा अध्ययनरत पासवानलाई लाठीले निर्मम ढंगले कुटेका हुन्। आफ्नै घरमा रहेका पासवानलाई बोलाएर उनीहरूले सार्वजनिक स्थानमा बाँधेर कुटेका हुन्।

तर त्यो घटना त्यहीँको समाजबाहेक त्यही दिन अरूलाई थाहा भएन। जब कुटपिटको भिडिओ शुक्रबार सामाजिक सञ्जालमा भाइरल भयो, तब मात्र घटना प्रहरी र पत्रकारसम्म पुगेको हो। सलाम छ– विज्ञान/प्रविधि, जसले समाजका अँध्याराभन्दा अँध्यारा कुनामा हुने अत्याचार पनि लुक्न दिँदैन।

घटना सार्वजनिक भएपछि प्रहरीले कुटपिटमा संलग्न राजदेव गिरीसहित ३ जनालाई पक्राउ गरेको छ।

उसो त जातीय आधारमा यसरी दलित कुटिनु त के मारिनुसमेत मधेसका लागि मात्रै होइन, देशकै लागि कुनै अचम्मको घटना होइन। के पहाड के तराई, जहाँ पनि यो गम्भीर अपराध भइरहेकै छ।

अहिले मधेसी जनताकै मुक्तिका नाममा राजनीति गरिरहेका १० नेता एकैसाथ केन्द्र सरकारमा सहभागी भएको सन्दर्भमा मधेसकेन्द्रित दलित दमनको मात्र कुरा गरिएको हो।

मधेसको मात्रै कुरा गर्दा पनि रौतहटका विकास पासवान चुटिएको घटना दलितविरुद्ध अत्याचारको न पहिलो घटना हो, न अन्तिम नै हुनेछ। बरु त्यहाँ दिनदिनै जातकै कारण दलित समुदायका मानिस अपमानित हुने, कुटिने गर्छन्। कति त मारिएका पनि छन्। तर सबै घटना सार्वजनिक हुन दिइँदैन।

केही दिनअघि मात्रै नवनियुक्त उपप्रधानमन्त्री महतोकै गृहजिल्ला सर्लाहीमा एक दलित युवती यौन शोषणमा परेको घटना सार्वजनिक भएको छ।

स्थानीय दलित अधिकारर्मी राजेश पासवानका अनुसार जिल्लाको विष्णु गाउँपालिका वडा नम्बर ७, दुलबाका शिवा राय यादवले स्थानीय मुसहर (दलित) समुदायकी युवतीसँग प्रेमको नाटक गरे। विवाह नै गर्छु भनेर गत वैशाख ५ गते बाराको जितपुर पुर्‍याए र त्यहाँ २० दिनसम्म राखेर शारिरीक सम्पर्क राखे। अनि घर फर्केपछि यादव परिवारले तल्लो जातकी भन्दै उनलाई अस्वीकार गर्‍यो। यसरी एक जना दलित युवतीको जीवन बर्बाद बनाइएको छ।

‘स्थानीय नेताले घटना सामसुम पार्न खोजका थिए,’ दलित अधिकारर्मी पासवानले भने, ‘तर हाम्रो पहलले अहिले पीडक युवकलाई हिरासतमा पुर्‍याएका छौं।’ उनलाई अब शरीर बन्धक र बलात्कार मुद्दा चलाउने तयारी भइरहेको पासवानले बताए।

यस्तो अवस्थामा मधेसका जति जना मन्त्री बने पनि दलितका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ भन्छन्, अधिकारकर्मी पासवान।

उनका अनुसार मधेसी दल तथा तिनका नेताले भन्ने गरेको नश्लवादी विभेद, शोषणको परिभाषाभित्र दलित समुदाय पर्दैन। भन्छन्, ‘मधेसी दल मात्र होइन, देशका कुनै पनि राजनीतिक दलले दलितका मुद्दालाई आफ्नो प्रमुख एजेन्डा बनाउँदैनन्। भोट बैंकका रूपमा प्रयोग गर्ने मात्र हुन्।’

सप्तरी निवासी अधिकारर्मी एवं पत्रकार भोला पासवान त अहिले सरकारमा गएको गुट त झन् एक नम्बरको दलितविरोधी भएको बताउँछन्। अहिले जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा सहभागिता जनाएको महन्थ ठाकुरको पूर्वराजपा गुट हो।

‘त्यो त्यही पार्टी हो, जसले २०७४ को चुनावमा संविधानले गरेको व्यवस्थामा पनि २ जना दलितको समानुपातिक कोटामा समेत ब्राह्मणलाई पठाएको थियो, जसको हामीले व्यापक विरोध पनि गरेका थियौं,’ अधिकारकर्मी पासवान सुनाउँछन्, ‘त्यस्तो गुट सरकारमा जाँदा दलितले के आशा गर्नु?’

उनका अनुसार त्यो चुनावमा राजपाबाट ४७ जनाको समानुपातिक कोटामा सांसद पठाउनुपर्ने थियो। तीमध्ये ७ जना दलितको कोटा थियो। त्यसमा जम्मा २ स्थान दलितका लागि छुट्याइयो। तर पछि त्यही कोटामा पनि ब्राह्मण समुदायका मानिसलाई सांसद बनाइएको अधिकारकर्मी पासवान बताउँछन्।

उनी थप्छन्, ‘यिनीहरू कहिले दलितका पक्षमा थिएनन् र छैनन् पनि।’

अधिकारकर्मी पासवानका अनुसार अहिले उनीहरूले सत्ता प्राप्तिको भर्‍याङ बनाएको मधेस आन्दोलनमा ११ जना मधेसी दलित पनि सहिद भएका छन्।

‘सत्तामा जाने बेला एकदमै न्यून संख्यामा रहेका यहाँका ब्राह्मण, क्षत्री, कायस्थ र अहिले पछिल्लो समय यादव मात्र पर्ने गरेका छन्,’ उनी भन्छन्, ‘अहिले मन्त्री बनेका १० जनामा पनि ६ जना त ब्राह्मण-क्षत्री नै छन्।’

दलित अधिकारकर्मी पासवानको विचारमा यो पाठ प्रमुख राजनीतिक दलले नै सिकाएका हुन्।

‘दलित समुदायलाई उपेक्षा र विभेद गर्ने मामिलामा मधेसकेन्द्रित राजनीतिक दल त झन् प्रमुख राजनीतिक पार्टीभन्दा एक कदम अगाडि छन्,’ उनी भन्छन्।

उसो त अहिले पनि देशभरिकै दलितको अवस्था दयनीय छ। पाइला पाइलामा छुवाछूत भोग्नुपर्छ। अन्तर्जातीय प्रेम/विवाह गर्दा मारिनु नै पर्छ। मारिइरहेका छन्।

दलित अधिकारकर्मी भोला पासवानका अनुसार सरकारले हरेक १० वर्षमा जातजातिका आधारमा गरिबीको तथ्यांक सार्वजनिक गर्ने गरेको थियो। तर पछिल्लो १० वर्षयता त्यस्तो तथ्यांक पनि लुकाउन थालेको छ।

‘अघिल्लो तथ्यांक हेर्दा समग्र दलितको गरिबी ४२ प्रतिशत छ, जबकि राष्ट्रिय गरिबी २५ प्रतिशत छ,’ पासवान भन्छन्, ‘राष्ट्रिय गरिबीभन्दा झन्डै दोब्बर गरिबी दलित समुदायको छ।’

उनी थप्छन्, ‘त्यसमा पनि मधेसी दलितको अवस्था त झनै नाजुक छ।’

मधेसी दलितको अवस्था कस्तो छ भन्ने कुरा भर्खरै रौतहटको घटनाले पनि छर्लंग पार्ने पासवान बताउँछन्।

साथै उनले आफ्नै जिल्ला सप्तरीको ताजा घटना पनि सुनाए। उनका अनुसार १० दिनजति अघिको घटना हो। त्यहाँ १४ वर्षकी दलित किशोरीलाई कथित उच्च जातका ४० वर्षीय पुरुषले ७ महिनाको गर्भवती बनाए र ‘पञ्च’ राखेर पैसा र धाकधम्कीका आडमा गर्भपतन गराएका छन्।

‘तर पीडित परिवार बोल्न डराइरहेकाले अहिले सबै कुरा बाहिर आइसकेको छैन,’ उनले भने, ‘हामी बुझ्ने प्रयास गरिरहेका छौं।’

उनले रौतहटमा ‘प्रेमपत्र पठाएको’ आरोपमा दलित युवकलाई जनावरजसरी कुटिएको र आफ्नो जिल्ला सप्तरीमा १४ वर्षकी दलित किशोरीलाई बलात्कार गरिएको घटना दाँजे।

‘प्रेमै गरेको रहेछ भने पनि त्यो नराम्रो कुरा हो र ! तर हेर्नुस् त ती दलित युवकलाई कसरी कुटियो,’ पासवान भन्छन्, ‘रौतहटमा दलित युवक कुट्ने पनि त्यही मधेसी पञ्च हो भने यता (सप्तरीमा) दलित बालिका बलात्कार गर्दा पनि गैरदलित पुरुषलाई छुट्कारा दिने पनि त्यही मधेसी पञ्च हो।’

अर्थात् यो समाज त्यस्तो समाज हो, जहाँ दलित युवकलाई गैरदलित युवतीसँग प्रेम गर्ने पनि अधिकार छैन तर गैरदलित पुरुषलाई दलित बालिका/महिला बलात्कार गर्नसमेत छुट छ। यस्ता उदाहरण अनेकौं छन्।

अन्त्यमा, नश्लवादका कट्टरविरोधी नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोज्यू ! मधेसबाट तपाईंहरू एकसाथ १०/१० जना मन्त्री हुनुभएको छ, अब विकास पासवानहरूले प्रेमपत्र लेख्न पाउँछन्?

अझ तपाईंले त उपप्रधानन्त्री हुनासाथ बहुराष्ट्रिय राज्यको मुद्दा उठाउनुभएको भनेर व्यापक चर्चा भइरहेको छ। तपाईंको त्यो परिकल्पनाको राज्यमा रौतहटका विकास पासवान र सप्तरीकी गैरदलितद्वारा गर्भवती बनाइएकी १४ वर्षीया दलित किशोरीको स्थान कहाँ हुन्छ?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .