ad ad

अपराध


लाल मोहम्मदको हत्या अनुसन्धानमा प्रहरीले पल्टायो १५ वर्ष पुरानो फाइल, भेटियो पाकिस्तान ‘कनेक्सन’

लाल मोहम्मदको हत्या अनुसन्धानमा प्रहरीले पल्टायो १५ वर्ष पुरानो फाइल, भेटियो पाकिस्तान ‘कनेक्सन’

उजिर कार्की
असोज ५, २०७९ बुधबार १४:५४, काठमाडौँ

काठमाडौंको गोठाटारमा दुई दिनपहिले मारिएका सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको पाकिस्तानसम्म कनेक्सन रहेको खुलेको छ। यसअघि उनले हत्या गरेका व्यक्तिको अनुसन्धानका क्रममा नै उनको कनेक्सन पाकिस्तानसम्म रहेको पुष्टि भएको हो। 

प्रहरीले लाल महम्मदको हत्याको अनुसन्धानका क्रममा १५ वर्षपहिले भएको बलराम पटुवाको हत्याको अनुसन्धान फाइल पनि अध्ययन गरिरहेको छ। अध्ययनका क्रममा लाल महम्मदको पाकिस्तान कनेक्सन खुलेको हो। 

सोमबार साँझ गोली हानी ५८ वर्षीय लाल महम्मदको आफ्नै पसल अगाडि हत्या भएको थियो। कागेश्वरी मनोहरा नगरपालिका ८ स्थित उनको गार्मेन्ट अगाडि अज्ञात समूहले गोली प्रहार गरेर फरार भएका थिए। 

फरार अभियुक्तलाई प्रहरीले अझै पत्ता लगाउन सकेको छैन। तर घटनामा भारतीत खुफिया एजेन्सीदेखि पाकिस्तानसम्म जोडिएका आशंका गरिएको छ। महम्मद पाकिस्तानीसँग नजिक रहेकाले उनको हत्यामा भारतीयको संलग्नता रहेको प्रहरीको आशंका छ। 

यसअघिका घटनाले पनि उनको हत्यामा भारतीय जोडिएको र त्यसमा नक्कली भारु नोटको कारोबार जोडिएको आशंका प्रहरीको छ। 

२०६४ सालमा महम्मदकै समूहका बलराम पटुवाको हत्या भएको थियो। महम्मदसहितका व्यक्तिले मिलेर पटुवाको हत्या गरेका थिए। हत्या लगतै महम्मदले पाकिस्तानमा टेलिफोन गरेर जानकारी गराएको खुलेको छ। 

लाल महम्दले आफ्नै मोबाइल नम्बरबाट पाकिस्तानी नं ००९२३०६२८५९०५४ मा २०६४ असार २० गते राति ८ बजेर ३८ मिनेटमा र ८ बजेर ४२ मिनेटमा दुई पटक कुरा गरेका थिए। पछि पक्राउ परेर बयान दिँदा पनि उनले हत्या लगतै पाकिस्तानी बोसलाई काम भयो भनेर जानकारी दिएको स्वीकार गरेका थिए। 

त्यसैदिन मृतकको मोबाइल नम्बरबाट लाल महम्मदले एक टेलिभिजनमा पनि फोन गरेका थिए। राति ९ बजेर १८ मिनेट जाँदा उक्त टेलिभिजनमा सम्पर्क भएको थियो। अर्का प्रतिवादी मुन्ना खानले चलाउने मोबाइल नम्बरबाट लालमहम्मदसँग पटक पटक कुरा भएको फरेन्सिक ल्याबमा परीक्षणका क्रममा खुलेको थियो। 

घटनाको दिन लाल महम्दले फोन गरेर मुना खानलाई बलराम पटुवालाई आजै मार्ने भन्दै योजना बनाएका थिए। उनले आफू बानेश्वर स्थित रामप्रसाद शाहको साइकल पसल गई बलरामलाई भेटी मेलम्ची खानेपानी कार्यालय अगाडि लगेका थिए। 

योजना अनुसार बाहिद खान, मुन्ना खान र असरफ अलि सोही ठाउँमा थिए। त्यसपछि भारु ढिलो आउने भो एकछिन तल गई बसौं भनी बलराम पटुवालाई मोटरसाइकलमा राखी धोविखोला किनारमा लगेका थिए। 

त्यहाँ पूर्वयोजना अनुसार पटुवाको हत्या भएको थियो। पटुवाको मृत्यु भएपछि लाल महम्मदले पाकिस्तानमा बोसलाई फोन गरी बलरामलाई हामीले मार्यौं भनि जानकारी गराएको बयानका क्रममा पनि स्वीकार गरेका थिए। 

अहिले उनैको हत्या भएपछि प्रहरीले १५ वर्ष पुरानो फाइल पल्टाएको हो। जसमा लाल महम्दको पाकिस्तान कनेक्सन खुलेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। 

सर्लाहीका महम्मद गोठाटारको कृष्णमन्दिर नजिकैको एभेन्जर इन्टरप्राइजेज (गार्मेन्ट) का सञ्चालक हुन्। मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरुले गार्मेन्ट अगाडि नै गोली प्रहार गरेका थिए। 

उक्त घटनाको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको छ। बा६च ५१५२ नम्बरको कारमा साँझ पौने ७ बजेतिर पसलमा आइपुगेका महम्मदलाई कारबाट झर्नासाथ गोली प्रहार भएको फुटेजमा देखिन्छ। रातो लुगा लगाएका व्यक्तिले खेदिखेदि महम्मदलाई गोली प्रहार गर्छन्। आफूमाथि गोली हान्न थालेपछि महम्मद कारमा छलिँदै भाग्न खोज्छन्। तर उनलाई पटक पटक गोली लाग्छ।

महम्मदलाई गोली प्रहार गरेको उनकी छोरीले थाहा पाएपछि घरको तलामाथिबाटै हामफाल्छिन्। उनी घटनास्थलमा पुगे पनि सुटरले गोली प्रहार गरेर भागिसक्छन्। त्यसपछि उनले बुबालाई समात्दै घरतर्फ लैजान्छिन्। गोली प्रहार गर्ने व्यक्तिहरु भने मोटरसाइकलमा फरार हुन्छन्। 

महम्मद एक जना ग्राहकको गाडीमा प्लाष्टिक किन्न गएर फर्किएका थिए। तर ती कारवाला ग्राहककै अगाडि उनीमाथि गोली प्रहार भयो। गोली लागेर गम्भीर घाइते मोहम्मदलाई सुरुमा शंखरापुर अस्पताल नारायणटार जोरपाटी लगिएको थियो। तर अवस्था गम्भीर भएपछि त्यहाँबाट शिक्षण अस्पताल लगिएको थियो। अस्पतालले सोमबार राति नै मृत घोषणा गरेको थियो। 

घटना लगतै उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं परिसर र विशेष व्यूरोले पनि अनुसन्धान गरिरहेको छ। अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईको नेतृत्वमा समिति बनाएको छ। समितिमा काठमाडौं परिसर र विशेष ब्यूरोका अधिकारीहरु संलग्न छन्। 

हत्यामा प्रयोग भएको मेड इन यूएसए लेखेको एक थान पेस्तोल, एउटा म्यागजिन, चार राउण्ड गोली र चार वटा खोका घटनास्थलबाट बरामद भएको थियो। 

मोहम्मद पटक पटक यस्ता घटनामा जोडिएका व्यक्ति हुन्। हत्याकै आरोपमा उनलाई जन्म कैदको फैसला पनि भएको थियो। ६ वर्ष पहिले उनी कैद छुट पाएर जेलमुक्त भएका थिए। २०७३ को गणतन्त्र दिवशमा कैद छुट पाएर फर्किए पनि उनी विगतकै लफडामा पर्दै आएका थिए। 

विगतमा उनले जुन समूहसँग मिलेर आपराधिक कर्म गरेका थिए पछिल्लो समय उनलाई त्यो समूहबाट समेत खतरा रहेको थियो। 

काठमाडौं गोठाटारमा गोली चल्यो, एक घाइते

गोठाटारमा मोटरसाइकलमा आएका दुई जनाले गोली हानेर भागे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .