अपराध


रामहरि श्रेष्ठ हत्या मुद्दा: बटालालाई सफाइ दिने फैसला पुनरावलोकन, सर्वोच्चले सुनायो जन्म कैद

रामहरि श्रेष्ठ हत्या मुद्दा: बटालालाई सफाइ दिने फैसला पुनरावलोकन, सर्वोच्चले सुनायो जन्म कैद

नेपालखबर
जेठ २८, २०८३ बिहिबार २०:११, काठमाडौँ

काठमाडौँको कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपित गोविन्दबहादुर बटालालाई सफाई दिने आफ्नै फैसला पुनरावलोकन गर्दै सर्वोच्च अदालतले जन्म कैदको सजाय गरेको छ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी, अब्दुल अजिज मुसलमान र शान्ति सिंह थापाको पूर्ण इजलासले बटालालाई जन्म कैदको फैसला गरेको हो। यसअघि २०७७ साउनमा सर्वोच्चका तत्कालीन न्यायाधीशद्वय तेजबहादुर केसी र टंकबहादुर मोक्तानको संयुक्त इजलासले बटालालाई सफाइ दिने फैसला गरेपछि महान्यायाधिवक्ताको कार्यालयमार्फत सरकारले पुनरावलोकनका लागि निवेदन दिएको थियो।

उक्त निवेदनमा तत्कालीन न्यायाधीशहरू दिपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. मनोजकुमार शर्माको इजलासले पुनरावलोकन गर्ने निर्णय गरेको थियो। 

बिहीबारको इजलासले बटालालाई जन्म कैदको सजाय तोके पनि मुलुकी ऐन बमोजिम १० वर्ष कैद भुक्तान गर्नु पर्ने ठहर गरेको छ। अर्का प्रतिवादी सवारी चालक अर्जुन कार्कीलाई भने सफाइ दिइएको छ। यसअघि उनलाई जिल्ला र पुनरावेदनले २० रुपैयाँ जरिवाना तोकेको थियो। 

यसअघिको फैसलामा हत्यामा प्रत्यक्ष संलग्न नभएको भन्दै सफाइ दिएको थियो। ब्यापारी श्रेष्ठलाई २०६८ असार ६ गते काठमाडौँबाट अपहरण गरी चितवन पुर्‍याएर हत्या गरेको आरोप छ। 

बटाला यसअघि नै तीन वर्ष १५ दिन कैद भुक्तान गरिसकेका छन्। उनलाई जिल्ला अदालत चितवनले २०६८ जेठमा तीन वर्ष कैदको फैसला सुनाएको थियो। तत्कालीन पुनरावेदन अदालतले पनि जिल्लाकै फैसला सदर गरेको थियो। सर्वोच्चको यो फैसलासँगै अब बटालाले १० वर्ष कैद भुक्तान गर्नै पर्ने भएको छ। 

यही मुद्दामा तत्कालीन माओवादी डिभिजन कमान्डर कालीबहादुर खाम पुर्पक्षका लागि कारागारमा छन्। अन्य प्रतिवादीहरू भने फरार रहेका छन्।

२०६५ वैशाख १५ गते नियन्त्रणमा लिएर व्यापारी श्रेष्ठलाई चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिविरमा पुर्‍याइएको थियो।

अत्यधिक कुटपिटबाट मृत्यु भएका श्रेष्ठको शव वैशाख २८ गते नारायणी नदीमा फ्याँकिएको अवस्थामा फेला परेको थियो।

माओवादी शान्ति प्रक्रियामा आएपछि चितवनको शक्तिखोरमा रहेको तेस्रो डिभिजनले कोटेश्वरस्थित रामहरि श्रेष्ठको घरमा सम्पर्क कार्यालय खोलेको थियो। सोही कार्यालयबाट २०६४ चैत १४ गते १७ लाख रुपैयाँ र एउटा पेस्तोल चोरी भएको थियो।

घटना छानबिनका लागि भन्दै माओवादीका गोविन्दबहादुर बटाला, केशव अधिकारी, गंगाराम थापा, अर्जुन कार्कीलगायतको टोलीले श्रेष्ठलाई चितवन लगेर हत्या गरेको अभियोग छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad