समाज


नेपालमा मनसुन भित्रिने औसत मिति आज, के छ सम्भावना?

नेपालमा मनसुन भित्रिने औसत मिति आज, के छ सम्भावना?

अन्नपूर्ण बेसक्याम्प नजिकबाट देखिएको अन्नपूर्ण हिमाल। जहाँ जलवायु परिवर्तनका कारण हिउँ पर्ने क्रम घट्दै गएको छ। तस्बिर: रासस


नेपालखबर
जेठ ३०, २०८३ शनिबार १५:६, काठमाडौँ

नेपालमा मनसुन भित्रिने औसत मिति आज अर्थात् जुन १३ तारिख हो। तर बर्खायाम ल्याउने मनसुनी प्रणाली ठ्याक्कै यही दिन प्रवेश गर्दैन। कि केही दिन अघि, कि केही दिन पछि मनसुन सुरु हुने गरेको छ। 

यस वर्ष नेपालमा मनसुन औसत मितिभन्दा केही दिन ढिला भित्रिने सम्भावना देखिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार मनसुन जुन १६ तारिखसम्म नेपाल प्रवेश गर्ने सम्भावना छ। 

‘तर अहिले हामी अध्ययनकै क्रममा छौँ’, उनले शनिबार नेपालखबरसँग भने, ‘अहिलेसम्म मनसुन भित्रिने ठ्याक्कै मिति तोक्ने अवस्था भइसकेको छैन। तैपनि जुन १५/१६ तारिखतिर भित्रिन्छ कि भन्ने अनुमान गरेका छौँ।’ 

त्यसो त नेपालमा शुक्रबारदेखि नै पूर्वी वायुको आंशिक प्रभाव सुरु भइसकेको छ। पूर्वी वायुलाई नै मनसुनी वायु भनिन्छ। 

तर त्यसले मनसुनको मापदण्ड पूरा गरिनसकेकाले मनसुन भित्रिएको घोषणा गर्न नमिल्ने मौसमविद् पुडासैनीको भनाइ छ। 

‘मनसुन भित्रिएको घोषणा गर्न त्यसका विभिन्न मापदण्ड पूरा हुन पर्छ, अहिले त्यो भइसकेको छैन’, उनले भने। 

भारतमा पनि यस वर्ष मनसुन औसत मिति (जुन १) भन्दा तीन दिन ढिला जुन ४ मा भित्रिएको छ।

सामान्यतया भारतमा मनसुन भित्रिएको १२/१३ दिनमा नेपाल आइपुग्ने गरेको छ। तर सधैँ यसै हुन्छ भनेर ठोकुवा भने गर्न नसकिने मौसमविद् बताउँछन्। 

गत वर्ष २०८२ मा भने नेपालमा मनसुन औसत मितिभन्दा १५ दिनअगाडि नै मे २९ तारिखमा प्रवेश गरेको थियो। 

नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो। गत वर्ष नेपालबाट मनसुन औसत मितिभन्दा ८ दिन ढिला अक्टोबर १० तारिखमा बाहिरिएको थियो।  

नेपालमा मनसुन अर्थात् बर्खा ४ महिना- जुन, जुलाई, अगस्ट र सेप्टेम्बरसम्म रहन्छ।

मनसुन सकिएपछि पोस्ट-मनसुन सुरु हुन्छ। यो सिजन २ महिना- अक्टोबर र नोभेम्बरसम्म रहन्छ। 

डिसेम्बरदेखि विन्टर अर्थात् जाडो याम लाग्छ। विन्टर अर्थात् हिउँद ३ महिना अर्थात् फेब्रुअरीसम्म रहन्छ। 

अनि मार्च १ देखि प्रि-मनसुन लाग्छ। प्रि-मनसुन ३ महिना-मार्च, अप्रिल र मेसम्म रहन्छ। यद्यपि मनसुन नभित्रिँदासम्म प्रि-मनसुन नै रहेको मानिन्छ। मनसुन सुरु भएपछि यो सिजन अन्त्य हुन्छ। 

मौसमविद्का अनुसार प्रि-मनसुन, मनसुन, पोस्ट-मनसुन र विन्टर गरी नेपालको मौसमलाई जम्मा ४ भागमा वर्गीकरण गरिएको छ।

यस वर्ष बर्खामा वर्षा कम, गर्मी बढी हुने सम्भावना छ: मौसम विभाग

यस वर्ष मनसुन अर्थात् बर्खामा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

विभागको जलवायु विज्ञान महाशाखाले वैशाख २५ गते नै जारी गरेको प्रक्षेपणअनुसार यस वर्ष मनसुनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम वर्षा हुने सम्भावना देखिएको हो। 

विभागले जारी गरेको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी रहने सम्भावना छ। अर्थात् गर्मी बढी हुने सम्भावना देखिन्छ।’

मौसम विभागका अनुसार नेपालमा जेठ १८ देखि असोज १४ सम्म ४ महिना मनसुन अर्थात् बर्खायामको अवधि हो।

यस वर्ष मनसुनमा यस्तो छ वर्षाको सम्भावना 

मौसम विभागका अनुसार देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ।

कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पूर्वी भूभाग र कोसी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ प्रतिशतदेखि ६५ प्रतिशतसम्म छ भने सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पश्चिमी भूभाग र कोसी प्रदेशका मध्य भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म छ।

त्यसैगरी कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोसी प्रदेशका उत्तरी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म छ भने देशका बाँकी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad