समाज


फेरि बिचल्लीमा हायु परिवार : कांग्रेस-एमालेको झगडाले बनेन घर

फेरि बिचल्लीमा हायु परिवार : कांग्रेस-एमालेको झगडाले बनेन घर

आयुषा ढकाल
जेठ २९, २०८३ शुक्रबार १६:३, काठमाडौँ

गत वर्ष साउनमा सिन्धुलीको आफ्नो थातथलो छाडेर पोखरा पुगेपछि उर्मिला हायुको परिवार निकै चर्चामा आएको थियो। परिवारको मुखियाको मृत्यु, चरम गरिबी र काठ–चोयाको काम गरेर गुजारा गर्ने उनीहरू विरक्तिएर त्यहाँबाट हिँडेका थिए।

१६ जनाको परिवार अचानक कसैलाई खबर नगरी बेपत्ता भएपछि उनीहरू खबरको शीर्षक बने। उनीहरूलाई गाउँमै फर्काउन गोलाञ्जोर–६ का वडाध्यक्ष रविनकुमार श्रेष्ठ पोखरा पुगेका थिए। तर, उर्मिलाले पुरानो घरमा नफर्किने अडान लिइन्।

त्यसपछि घर बनाइदिने, गुजारामा सहयोग गर्ने वचन दिएर उनले यो परिवारलाई सिन्धुली फर्काए।

उर्मिलाको परिवारलाई बस्न वडाध्यक्ष श्रेष्ठले आफ्नो पुरानो घर पनि दिए। नयाँ घर दसैँपछि बनाउने वाचा गरेका थिए। परिवारका पाँच जनाले नजिकैका होटल र पानी कम्पनीमा काम थालेका थिए भने पाँच केटाकेटी स्कुल पनि जान थालेका थिए। त्यतिबेला लाग्थ्यो– उठीबास लागेको र एक्लिएको परिवार अब भने समुदायमा घुलमिल हुने भयो।

तर त्यसो भएन।

१० महिना नबित्दै हायु परिवार फेरि बिचल्लीको अवस्थामा आइपुगेको छ। उनीहरूको अहिलेको अवस्था सिन्धुली छाडेर पोखरा हिँड्नुअघिको भन्दा खराब बनिसकेको छ।

वडाध्यक्षले दिएको घर उनीहरूले छाडिसकेका छन्। अहिले उनीहरू पुरानै ठाउँको अनकन्टार पाखोमा पानी चुहिने आफ्नै भैँसीगोठमा बसेका छन्।

उनीहरू वडाध्यक्षको घर छाडेर किन अनकन्टार गोठमा पुगे त?

‘भन्नलाई मात्र राम्रो गर्छु भन्ने रहेछ, पछि त केही वास्ता गरेनन्,’ उर्मिला भन्छिन्, ‘उसको खेतीपाती गरिदिनुपर्ने, उसको घर कुर्नुपर्ने! आफैंँले दुःख गरेर खानुपर्ने भएपछि किन अरूको दास बन्नु? त्यही भएर हामी त आफ्नै गोठमा फर्कियौँ।’

एकातिर दसैँलगत्तै सुरु गर्ने भनिएको उनीहरूको घर निर्माण पनि हुन सकेन। अर्कोतिर जंगलको बीचमा खाइखेली बसेका हायु परिवारका सदस्यले वडाध्यक्षको घरमा नियन्त्रणजस्तो महसुस गरे। ज्याला दिएरै काम लगाए पनि अरुको खटनपटनमा चल्न उनीहरूलाई गाह्रो भयो। त्यसमाथि फलाना मान्छेसँग नबोल्नू, फलानासँग नभेट्नु भनेको उनीहरूले फिटिक्कै मन पराएनन्।

तर, वडाध्यक्ष श्रेष्ठ भने काम गर्न नचाहेकोले उनीहरूले त्यो ठाउँ छाडेको बताए। 

‘पहिला राम्रो लाग्या छ भन्नुहुन्थ्यो। तर उहाँहरू अल्ली काम नगर्ने मान्छे, गाउँकाले हैन अब काम नगरी त कहाँ हुन्छ त भन्नु भएछ,’ श्रेष्ठले नेपालखबरसँग भने, ‘पछि उहाँहरू आफैँलाई अप्ठेरो लागेर हामीले दिएको सामान, बाख्राहरू सबैथोक लिएर उहीँ जानु भयो।’

पानी कम्पनी र होटलमा काम गरिरहेका उर्मिलाका छोरा, बुहारी र छोरी पनि अहिले त्यहाँ काम गर्दैनन्। काम छोडेपछि उर्मिलाको माइला छोरा आफ्नै पुर्खाहरूले गर्दै आएको काठको काम गर्न थालेका छन्। काठको काममा सिपालु उनी हाल आरा लगाउने काम गर्छन्।

जेठा छोरा र बुहारी आर्थिक स्थिति कमजोर भएपछि विदेशिएका छन्।

उनीहरूले अब व्यवस्थित पक्की घर पाउने कुरा एकादेशको कथा जस्तै भएको हायु समाज नेपालका अध्यक्ष लक्ष्मण हायुले बताए। पहिले घर बनाइदिने आश्वासन दिएका वडाध्यक्ष पनि अब भने टहरो बनाउनका लागि पहल गर्ने बताउँछन्।

यसरी हायु परिवारको बिचल्ली हुनुमा स्थानीय राजनीतिक मटमुटाव मुख्य कारण रहेको लक्ष्मण हायुको भनाइ छ।

‘नेपाली कांग्रेसबाट चुनिएका वडाध्यक्ष मैले भनेको नभई हुँदैन भन्छन्, तर उनी एमालेका पालिका अध्यक्षसँग बोल्दैनन्। एमालेका पालिका अध्यक्ष मैले भनेको कसैले मान्दैनन्, म किन काम गरूँभन्दै पन्छिन्छन्। उता माओवादीका उपाध्यक्ष पनि उस्तै,’ लक्ष्मणले नेपालखबरसँग भने, ‘स्थानीय सरकारमा रहेका सबै दलको प्रतिनिधिको थिचोमिचोमा उहाँहरू पर्नु भएको छ।’

नेताहरूका लागि हायु परिवार चुनावका लागि ‘भोट ब्यांक’ मात्र बनेको उनले बताए।

हायु समाजको अध्यक्षका रूपमा आफूले उर्मिला हायुको परिवारलाई एउटा घर बनाइदिन सहयोगका लागि धेरै कोसिस गरेको तर हालसम्म केही गर्न नसकेको उनको भनाइ छ।

आदिवासी जनजाति आयोगका अधिकारीहरू अनुगमनका लागि उर्मिला हायु बसेकै ठाउँमा पुगेको थियो। घर बनाउनका लागि चाहिने सहयोगमा समन्वय गर्ने वचन पनि उनीहरूले दिएका थिए। घर बनाउनका लागि वडाबाट सिफारिस, घरको नक्सा र प्रस्तावना पत्र बोकेर लक्ष्मणलगायत जनजाति आयोगको टोली अर्थ मन्त्रालयसम्म पुगेको थियो। 

जसमा तत्कालीन अर्थमन्त्री रामेश्वर खनालले तोक पनि लगाइदिए। तर, अर्थ सचिवले तत्कालीन सरकार चुनावी सरकार मात्र भएकाले बजेट दिन नसक्ने बताएका थिए। उक्त घर निर्माणको प्रस्तावको फाइल आज पनि प्रदेश सरकारको जनता आवास कार्यक्रममा थन्किएको लक्ष्मणले बताए।

वडाध्यक्ष श्रेष्ठ भने उर्मिला हायुको घर बनोस् भन्ने चाहनाका साथ सबै कागजपत्र मिलाएर त्यसलाई पालिका पठाइदिइसकेको तर पालिकाबाट काम नभएको बताउँछन्। 

‘मैले मेरो तर्फबाट गर्नु पर्ने जति सबै कुरा गरेर पठाइदिएको छु तर त्यो कुरा किन अगाडि बढेन भनेर त म पनि भन्न सक्दिनँ,’ वडाध्यक्ष श्रेष्ठ दोष पालिका प्रमुखतिर सार्छन्।

आज उर्मिलाका बालबालिका दैनिक ४० मिनेट उकालो हिँडेर सरकारी विद्यालय जान्छन्। आफ्नै गाउँमा एम्बुलेन्स चलाएर आर्थिक आर्जन गर्ने सोच राखेका उनका जेठा छोरा मरुभूमिमा पसिना बगाउन विदेशिएका छन्। 

उर्मिला पनि गाउँका होटलहरूमा भाँडा माझेर गुजारा चलाइरहेकी छिन्। 

लक्ष्मणलाई भेट्दा उनी गहभरि आँसु पार्दै याचना गर्छिन्, ‘अब हाम्रो घर बन्छ कि बन्दैन? माथि भन्नु पर्ने भए केही भन्दिनु न!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad