फिफा विश्वकप २०२६ पहिलो पटक तीन देशले संयुक्त रुपमा आयोजना गर्दै छन्। जुन आज मध्यराति सुरु हुँदै छ।
यसअघि सन् २००२ मा पहिलो पटक जापान र दक्षिण कोरियाले संयुक्त रुपमा विश्वकप आयोजना गरेका थिए।
यो पटक संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले पहिलोचोटि विश्वकप आयोजना गर्दै छन्। यो संस्करणसँगै मेक्सिको तीनपटक विश्वकप आयोजना गर्ने देश बन्नेछ। मेक्सिकोले सन् १९७०, १९८६ र २०२६ मा गरेर तीन पटक विश्वकप आयोजनाको मौका पाएको हो।
सन् १९३० देखि अहिलेसम्म विश्वकपको २२औँ संस्करण सकिँदा ८ देशले मात्र विश्वकपको उपाधि उचालेका छन्। सर्वाधिक ५ पटक ब्राजिलले विश्वकपको उपाधि जितेको छ।
विश्वकप आयोजनाको मौका पाउने देशमध्ये अहिलेसम्म ६ टोलीले मात्र घरेलु मैदानमा भएको विश्वकपको उपाधि राख्ने दुर्लभ मौका पाएका छन्।
सन् १९३० मा उरुग्वेमा विश्वकपको पहिलो संस्करण आयोजना हुँदा घरेलु टोलीले उपाधि राखेको थियो। पहिलो संस्करणमा अर्जेन्टिनालाई ४–२ ले पराजित गर्दै उरुग्वेले विश्वकपको ट्रफी घरमा नै राखेको थियो।
सन् १९३४ मा विश्वकपको दोस्रो संस्करण इटालीले आयोजना गर्यो। दोस्रो संस्करणमा इटालीले चेकोस्लोभाकियालाई २–१ ले हराउँदै विश्वकपको उपाधि घरमा नै राखेको थियो। लगातार दुई संस्करण विश्वकपको उपाधि आयोजक राष्ट्रले राखेपछि घरेलु टोलीले लामो समय विश्वकपको उपाधि जित्न सकेनन्।
त्यसबीचमा सन् १९६६ मा इंग्ल्यान्डले विश्वकप आयोजना गर्यो। इंग्ल्यान्डले जर्मनीलाई ४–२ ले हराउँदै विश्वकपको उपाधि घरमा नै सुरक्षित गरेको थियो। त्यसको ८ वर्षपछि अर्थात् सन् १९७४ मा जर्मनीले विश्वकप आयोजनाको मौका पायो। जर्मनीले नेदरल्यान्ड्सलाई २–१ ले हराउँदै विश्वकपको उपाधि घरमा नै राख्ने चौथो देश बन्यो। सोही संस्करण जर्मनीले दोस्रो पटक विश्वकपको उपाधि जितेको थियो।
लगत्तैको अर्को संस्करण सन् १९७८ मा अर्जेन्टिनाले आयोजना गर्यो। त्यो पटक उसले नेदरल्यान्ड्सलाई नै ३–१ ले हराएर उपाधि उचालेको थियो। विश्वकपको पहिलो उपाधि उचाल्ने मौका पाएको अर्जेन्टिनाले लगातार दोस्रो पटक फाइनल खेलेको नेदरल्यान्ड्सको उपाधि जित्ने योजनामा तगारो हालेको थियो।
सन् १९९८ मा फ्रान्सले विश्वकप आयोजना गर्यो। पहिलो पटक विश्वकपको उपाधि नजिक पुगेको फ्रान्सले चार पटकको च्याम्पियन ब्राजिललाई हराउँदै ट्रफी उचालेको थियो। त्यो संस्करण फ्रान्सले ब्राजिललाई ३–० ले हराएको थियो।
फ्रान्सले घरेलु मैदानमा विश्वकपको उपाधि जितेपछि अहिलेसम्म विश्वकपका ६ संस्करण आयोजना भइसकेका छन्। तर कुनै पनि आयोजक राष्ट्रले विश्वकपको उपाधि जित्न सकेका छैनन्।
Shares

प्रतिक्रिया