अपराध


लाजपथमा टुंगियो रोल्पाका मुसे विष्टको अवैध प्रेमकथा

लाजपथमा टुंगियो रोल्पाका मुसे विष्टको अवैध प्रेमकथा

नेपालखबर
कात्तिक ३, २०७९ बिहिबार १३:३८, नयाँ दिल्ली

भारतको लाजपथनगर थानामा गत सेप्टेम्बर १५ तारेखका दिन अज्ञात व्यक्तिको फोन आयो, ‘गुडगाउँको अशोकविहारस्थित ओभरब्रिजमा एक व्यक्तिको लास फेला परेको छ ।’

लाजपथ थानाका प्रहरीले घटनास्थलमा गएर बुझ्दा शव नेपाली नागरिकको रहेछ । मृत्यु हुने व्यक्ति रहेछन्– रोल्पा मिझिङ–२ निवासी मुसे विष्ट ।

गुडगाउँबाट १३ सेप्टेम्बरमा लापत्ता भएका विष्टको शव दुई दिनपछि फेला पर्यो । अनुहारको दायाँ भाग र नाक केही कुच्चिएको जस्तो देखिन्थ्यो ।

पहिचान खुलाउन, पोष्ट मार्टम गर्न र परिवारजनसँग सम्पर्क गर्न  भारतीय प्रहरीलाई लगभग एक महिना लाग्यो । अन्ततः थानाकै रोहवरमा ११ अक्टोबरमा असोज २५ गते मुसेको सदगति भयो ।  दाह संस्कारपछि मुसेकी प्रेमिका अर्थात् कान्छी श्रीमती काजकिरियाका लागि नेपाल फर्किइन् ।

भारतमा नेपालीको रहस्यमय मृत्युका घटना यदाकदा भइरहन्छन् । तर, मुसे विष्टको कहानी जटिल प्रकारको सामाजिक समस्यामा जेलिएको छ । 

  

मुसे विष्टले ०६२ सालतिर २६ वर्षकै उमेरमा नेपाली राहदानी (पासपोर्ट) बनाएका थिए । ०७२ सालतिर पासपोर्टको १० वर्ष म्याद सकिनै लाग्दा उनले पहिलो पासपोर्ट रद्द गरेर सन् २०१५ मा एमआरपी पासपोर्ट निकाले ।

१७ वर्षसम्म नेपाली पासपोर्ट होल्डरका रुपमा रहेका विष्ट यस अवधिमा वैदेशिक रोजगारीमा समेत गएको सहजै अनुमान लगाउन सकिन्छ ।

विवाह गरेर गाउँमै घरजम गरेका विष्टका अहिले छोराछोरी हुर्किसकेका छन् । तर, बुढेसकाल लाग्नै आँट्दा उनको मति बिग्रियो । गाउँकै एक विवाहित महिलासँग ‘प्रेम’ मा फसेका उनी तिनै महिलालाई भगाएर  रोल्पाबाट रातारात भारततिर लागे ।

यौन आवेगमा दोस्रो घरजम गरेर भारततिर लागेका विष्ट गुडगाउँमा बस्न थाले ।

 न्वारान गरेर नाम राख्ने बेलामै विष्टमाथि अपमान भएको थियो र मुसेजस्तो अपमानजनक नाममा नागरिकता, पासपोर्ट बनाउनुपरेको थियो । शायद यही पीडा हटाउन र नेपालमा रहेका परिवारजनबाट पहिचान लुकाउन उनले भारतमा आफ्नो नाम फेरेर मुसे विष्टलाई मुकेश विष्ट बनाए ।

नाम फेरेर उनले मुकेश विष्टको नामबाट भारतीय आधार कार्ड बनाए र त्यही नाममा भारतीय आयकर विभागबाट स्थायी लेखा नम्बर कार्ड पनि लिए ।

मुसे उर्फ मुकेश विष्टको आधार कार्ड र स्थायी लेखा नम्बर कार्डमा उल्लेखित ठेगानामा पिता टेक विष्ट मार्फत् हाउस नम्बर ९८७, गल्ली नम्बर ४, अशाेक विहार, फेस १, गुडगाउँ, हरियाणा देखिन्छ ।

अर्काकी श्रीमतीसँग प्रेममा परेर जहान परिवारलाई नेपालमै छाडी भारत पुगेका विष्टले पछिल्लो समय तनावमा कारण अधीक रक्सी सेवन गर्न थालेको प्रवासी नेपालीहरु बताउँछन् ।

यही क्रममा उनी सप्टेम्बर १३ तारेखका दिन आफ्नी कान्छी पत्नीबाट सम्पर्कविहीन बने । साँझ घर नफर्किएका उनी दोस्रो दिन पनि आएनन् ।

यहीवीच प्रहरीले स्थानीयको फोनका आधारमा पुलमाथि एउटा पुरुषको शव भेट्टायो । गोजीमा रहेको कागजपत्र हेर्दा मुसे विष्टको पहिचान खुल्यो ।

तर, आधार कार्डमा उल्लेखित ठेगानामा सम्पर्क गर्दा त्यहाँबाट अन्यत्रै बसाइँ गइसकेको तथ्य फेला पर्यो । दूतावास मार्फत रोल्पामा खबर गरियो र पछि श्रीमती सम्पर्कमा आइन् ।

लाजपथ थानासम्म पुगेर फर्केका नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनाल भन्छन्,‘उनको परिवारमा समस्या रहेछ, उनी दोस्री श्रीमती लिएर भागेका रहेछन् । छोराले भेटें भनें मारिदिन्छु भन्दै थार्काइरहन्थे रे । श्रीमती पनि काजकिरियाका लागि नेपाल फर्कन डराइरहेकी थिइन्, हामीले सम्झाएर फर्काइदिएका छौं ।’

‘विष्टको हत्या भएको हो या दुर्घटनामा परेका हुन् भन्ने कुरा पोष्टमार्टर रिपोर्ट र थप अनुसन्धानपछि मात्रै थाहा हुने भन्दै अहिले केही पनि भन्न नसकिने खनालले बताए ।

अबैध प्रेममा परेर भारततिर लागेका मुसे विष्टको त दुःख लुक्यो । तर, एक्लै नेपाल फर्केकी उनकी प्रेमिकाको अवस्था के होला ? समाजमा उनी सहजरुपमा कसरी जिउलिन्? चिन्ताको विषय चाहिँ यो छ ।

एकता समाजमा अध्यक्ष खनालका अनुसार मुसे गुडगाउँमा बेरोजगार अवस्थामा थिए । रोजगारीमा रहेकाहरुको हकमा त्यसरी मृत्यु भएमा क्षतिपूर्ति माग गरेर संगठनबाट आवाज उठाउने गरिएको उनी बताउँछन् ।

‘हामीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेर भारतमा कार्यरत नेपालीहरुले वीमा गर्न पाउने व्यवस्था गरियोस् भन्ने माग राखेका छौं तर सुनुवाई भएको छैन,’ खनाल भन्छन्, ‘कमसेकम यहाँ रोजगारी गर्नेहरुले प्रिमियम जम्मा गर्न पाउने व्यवस्था भयो भने दुर्घाटनामा परेर मृत्यु हुँदा परिवारजनले केही पाउन सक्ने थिए, तर कागजातको अभावमा नेपालीले दुःख पाउने गरेका छन् ।’

मुसे विष्टजस्तै नेपालीहरुको मृत्युको घटना  भारतमा दिनहुँजसो भइरहने गरेको खनाल बताउँछन् ।

त्यसैगरी नेपालबाट अबैध रुपमा दोस्रो बिहे गरेर भारत छिर्ने समस्या पनि प्रशस्तै भेटिने गरेको र आफूहरुले त्यस्ता व्यक्तिलाई स्वदेश फर्केर आफ्नो सम्बन्धलाई बैधानिकता प्रदान गर्न सुझाव दिने गरेको खनालले बताए ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad