अपराध


सशस्त्रका असई हत्या प्रकरण : रक्सी खाएर जवानसँग पहिल्यैदेखि झगडा गर्थे

दुवै कारबाहीमा परेका थिए
सशस्त्रका असई हत्या प्रकरण : रक्सी खाएर जवानसँग पहिल्यैदेखि झगडा गर्थे

नेपालखबर
कात्तिक ११, २०७९ शुक्रबार १६:३, काठमाडौँ

सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) सत्यनारायण यादवको हत्या जवानसँगको व्यक्तिगत रिसिईवीले भएको खुलेको छ।

हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी जवान होमबहादुर खत्रीले रक्सी खाँदा झगडा भएको र त्यही आवेशमा हत्या गरेको बयान दिएका हुन्। 

सप्तरीका प्रहरी प्रमुख एसपी अभिनारायण काफ्लेले अन्य समूहको संलग्नताबारे पनि अनुसन्धान भइरहेको तर अहिलेसम्म रक्सी खाएको आवेसमा पुरानो रिसिईवीका कारण भएको खुलेको बताए। 

सशस्त्र प्रहरीको छिन्नमस्ता बोर्डर आउटपोष्टमा कार्यरत यादव असोज २० गते मृत फेला परेका थिए। बीओपीमा ४ जना कार्यरत रहे पनि दुई जना दशैं विदामा गएका थिए। जवान खत्री र असई यादव मात्रै भएको बेला घटना भएकाले प्रहरीले तत्काल जवान खत्रीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो। 

सुरुमा तस्करको समूहले हत्या गरेको हुन सक्ने अनुमान गरिएको थियो। तर यसअघि पनि उनीहरुको झगडा परिरहने गरेको खुलेको छ। जवान खत्री अन्य कार्यालयमा पोष्टिङ हुँदा पनि झगडा गरेको र कारबाहीमा परेको खुलेको छ। उनी सहायक हवल्दारमा बढुवा भइसकेका थिए। झगडाकै कारण उनलाई सहायक हवल्दारबाट जवानमा घटुवा गरिएको थियो। असई यादव पनि रक्सी खाने र झगडा गर्ने तथानाम बोल्ने गरेको खुलेको छ। उनको पनि ५ ग्रेड रोक्का गरिएको थियो। 

सशस्त्र प्रहरी बल ६ नम्बर गण राजविराजमा दरबन्दी भई बोर्डर आउट पोस्ट (बीओपी) छिन्नमस्तामा कार्यरत थिए। नेपाल–भारत सीमाबाट ३ किलोमिटर भारततर्फ घोडदह खोलामा असई यादवको शव फेला परेको थियो। जवान खत्रीले नै हत्या गरेर उनको शव त्यहाँ पुर्याएको खुलेको छ। 

घटना भएको दिन खाना समयमा पकाइनस् भन्दै असइ यादवले जवानलाई गाली गरेको खुलेको छ। त्यसदिन उनीहरु दुवैले रक्सी पनि खाएका थिए। त्यही आवेशमा हत्या गरेको र शव भारततर्फ लगेर फालिदिएको जवानले स्वीकार गरेका एसपी काफ्लेले बताए। असई यादव नियमित रक्सी खान्थे।   

ड्युटी नियमित नगर्ने, लापरबाही गर्ने र आचरण खराब भएको प्रहरीको निस्कर्ष छ। अन्य प्रविधिको प्रयोगबाट पनि अनुसन्धान भइरहेको एसपी काफ्लेले बताए। 

सशस्त्र प्रहरीले पनि यस घटनाको अनुसन्धान गरिरहेको छ। अनुसन्धानका लागि एआईजी चन्द्रप्रकाश गौतमको संयोजकत्वमा छानबिन गरिरहेको छ।

घटनापछि राजविराजस्थित सशस्त्र प्रहरी गणका गणपति एसपी प्रदीप खड्कालाई हेडक्वार्टर तानिएको थियो। उनलाई युएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, नुवाकोटमा सरुवा गरिएको छ। अहिले त्यहाँको नेतृत्व एसपी तिर्थराज पौडेलले गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad