एक सय वा सोभन्दा माथि शय्या क्षमता भएका मेडिकल कलेजले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने बाटो खुलेको छ।
चिकित्सा शिक्षा आयोगको निर्णयका कारण ६ वर्षदेखि रोकिएको पीसीएल नर्सिङ (स्टाफ नर्स) कार्यक्रम पुनः सञ्चालन हुने बाटो खुलेको हो। आयोगले २०७७ साउन ३० गते गरेको निर्णयमार्फत एउटै संस्थाले बीएन, बीएस्सी वा एमएनमध्ये एउटा मात्र कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवस्था लागू गरेपछि धेरै संस्थामा पीसीएल नर्सिङ कार्यक्रम बन्द भएको थियो।
चिकित्सा शिक्षा ऐनमा नभएको व्यवस्था कार्यकारी समितिबाट लागू गरिएको आरोप लगाउँदै आयोगको निर्णय खारेजको माग गर्दै उच्च अदालतमा रिट परेको थियो। उच्च अदालतले कानुनअनुसार, कार्यक्रम सञ्चालनमा कुनै रोकावट नरहेको गत वर्ष फैसला गरेको थियो।
फैसला भए पनि कार्यान्वयन हुन नसकेको भन्दै आयोगका पूर्व सदस्य डा. पदम खड्काले फैसला कार्यान्वयनको माग गर्दै सर्वोच्च अदालत अन्तर्गतको फैसला कार्यान्वयन निर्देशनालयमा निवेदन दिएका थिए। निर्देशनालयले उच्च अदालतको आदेश कार्यान्वयन गर्दै सोको जानकारी निर्देशनालयमा पठाउन निर्देशन दिएको छ।
योसँगै अब सय शय्या क्षमता वा सोभन्दा माथि भएका मेडिकल कलेजले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्न पाउने बाटो खुलेको हो।
सय शय्या वा सोभन्दा बढी क्षमता भएका शिक्षण अस्पताल तथा मेडिकल कलेजले तीन वर्षे पीसीएल स्टाफ नर्स, बीएन र बीएस्सी नर्सिङ कार्यक्रम एकसाथ सञ्चालन गर्दै आएका थिए। आयोगको निर्णयपछि २०७७ सालदेखि मेडिकल कलेजमा नर्सिङ पढाउन रोकिएको थियो।


Shares

प्रतिक्रिया