हिट फिल्म ‘खुस्मा’ का निर्देशक अशोक थापा मगरको नयाँ फिल्म ‘जलाकी’ को प्रदर्शन मिति तोकिएको छ। निर्माण टिमले फिल्मका दुई फरक भाव बोकेका पोस्टर सार्वजनिक गर्दै आगामी मंसिर ४ गतेलाई रिलिज मिति तोकेको हो।
पोस्टरमा चलचित्रका मुख्य कलाकार सोनाम तोप्देन र उपासना सिंह ठकुरीलाई दुई भिन्न मनोविज्ञानमा प्रस्तुत गरिएको छ। एउटा पोस्टरले प्रेम, आत्मीयता र विश्वासको उज्यालो पक्ष चित्रण गर्छ भने अर्को पोस्टरले मौनता, पीडा र सम्बन्धभित्रको भावनात्मक संघर्षलाई उजागर गरेको छ।
यी दुई पोस्टरले चलचित्र केवल एउटा प्रेमकथा मात्र नभई प्रेमका अनेक आयाम, सम्बन्धका उतारचढाव र जीवनका संवेदनशील क्षणहरूको कथा भएको संकेत गर्छ।
पहिलो पोस्टरमा सोनाम र उपासना एकअर्काको अंकमालमा बाँधिएर प्रेमको मधुर क्षणमा हराएका देखिन्छन्। उनीहरूको अनुहारमा झल्किएको मुस्कान, आँखामा देखिएको विश्वास र आत्मीय स्पर्शले प्रेमको सुन्दर अनुभूति दर्शाउँछ।
दोस्रो पोस्टरले भने बिल्कुलै फरक भाव प्रस्तुत गर्छ। उपासनाले सोनामको काँधमा टाउको राखेकी छन् भने सोनाम गम्भीर मुद्रामा टाढातर्फ हेरिरहेका छन्। दुवै पात्रको मौन अभिव्यक्तिमा प्रेमभित्र लुकेका पीडा, दूरी, संघर्ष र भावनात्मक द्वन्द्व झल्किएको छ।
‘जलाकी’ मगर समुदायमा आस्था, सम्झना, माया र पहिचानको प्रतीकका रूपमा चिनिने ढुङ्गाले बनाइएको स्तम्भलाई जनाउने शब्द हो। निर्देशक अशोक थापा मगरका अनुसार चलचित्रले यही सांस्कृतिक प्रतीकलाई आधार बनाएर मगर र गुरुङ समुदायको संस्कृति, परम्परा, जीवनशैली र भावनालाई प्रेमकथासँग जोडेर प्रस्तुत गर्नेछ। त्यसैले चलचित्र केवल रोमान्टिक कथा मात्र नभई सांस्कृतिक पहिचान र मानवीय सम्बन्धको कथा पनि हो।
एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सोनाम र उपासनासहित शिल्पा मास्के, माओत्से गुरुङ, बुद्धि तामाङ, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू, रजनी गुरुङ, राजु रेग्मी मगर, उषा खड्की, खड्कबहादुर पुन (खबपु), लुनिभा तुलाधर, संगीता थापा, कर्मा लामा तामाङ, भावना मगर, राज काउचा मगर, दुइसाङ थिन तथा विशेष भूमिकामा क्याप्टेन विजय लामाको अभिनय रहेको छ।
बाल कलाकारका रूपमा मुन्जन थापा मगर, नुलाम्मा बान्तावा र रिन्सी धनाहा मगर देखिनेछन्। यसै चलचित्रबाट मिस सिक्किम साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन् ।
निर्माताका रूपमा ओम घर्ति मगर, वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेताने मगर (बबिता राना), मानबहादुर धनाहा मगर र सुस्मिता बुढाथोकी रहेका छन्।
Shares

प्रतिक्रिया