विचार


नेपाल-चीनबीच राजनीतिक विश्वास जगाउने खनालको भ्रमण : एजेन्डाको केन्द्रमा कनेक्टिभिटी

नेपाल-चीनबीच राजनीतिक विश्वास जगाउने खनालको भ्रमण : एजेन्डाको केन्द्रमा कनेक्टिभिटी

सेइ जिबिन
असार १५, २०८३ सोमबार ६:५३, सियान (चीन)

परराष्ट्रमन्त्री शिशिर खनालले हालै चीनको चार दिने औपचारिक भ्रमण टुंग्याएका छन्। यो भ्रमण नेपालको नयाँ सरकारको बेइजिङसँग सम्बन्ध नवीकरण गर्ने पहिलो प्रमुख कूटनीतिक प्रयास थियो। यो भ्रमणले द्विपक्षीय एजेन्डाको केन्द्रमा कनेक्टिभिटी, लगानी र प्रविधिलाई राखेको देखिन्छ।

चिनियाँ कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य तथा विदेशमन्त्री वाङ यीको निमन्त्रणामा खनालले जुन १४ देखि १७ सम्म चीन भ्रमण गरेका थिए। यो भ्रमण त्यस्तो समयमा भयो, जतिबेला काठमाडौँले बेइजिङलाई आफ्ना विकासका प्राथमिकता सुनाउन र चीनले संवेदनशील ठान्ने मुद्दाहरूमा नेपालको अडान दोहोर्‍याउन आवश्यक ठानेको थियो।

खनाल जुन १४ मा बेइजिङ क्यापिटल इन्टरनेसनल एयरपोर्टमा ओर्लिएका थिए। उनलाई नेपाली दूतावासका कार्यवाहक राजदूत रोशन खनाल र चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए। सोही दिन नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहमा उनी सहभागी भए र चीनमा रहेको नेपाली समुदायसँग अन्तर्क्रिया गरे। उनले दूतावासका अधिकारीहरूबाट ब्रिफिङ पनि लिए र उनीहरूलाई नेपालको हितको रक्षा गर्न तथा नेपाली नागरिकलाई प्रभावकारी सेवा उपलब्ध गराउन निर्देशन दिए।

मुख्य कूटनीतिक भेटघाट जुन १५ का दिन भयो। त्यस दिन खनालले वाङ यीसँग औपचारिक द्विपक्षीय वार्ता गरे। दुई प्रतिनिधिमण्डलबीच नेपाल–चीन सम्बन्धका सबै आयामहरूमा विस्तृत छलफल भयो। जसमा पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण सूचना प्रविधि, डिजिटलाइजेसन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास उत्खनन् र जनस्तरका आदानप्रदानसम्मका विषय समेटिएका थिए।

पहिले नै सहमति भइसकेका कार्यक्रम र परियोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिने सहमति दुई पक्षबीच भयो। नेपालले एक चीन सिद्धान्तप्रति प्रतिबद्धता दोहोर्‍याउँदै चीनविरुद्धका गतिविधिमा आफ्नो भूमि प्रयोग हुन नदिने बतायो। चीनले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताप्रतिको समर्थन दोहोर्‍यायो।

भ्रमणको केन्द्रीय विषयवस्तु भने कनेक्टिभिटी रह्यो। दुवै पक्षले सडक, सुक्खा बन्दरगाह, उड्डयन, सीमापार विद्युत् प्रसारण लाइन र प्रस्तावित सीमापार रेलमार्गबारे छलफल गरे। भूपरिवेष्ठितबाट भूजडित अर्थतन्त्रमा रूपान्तरण हुने नेपालको आकांक्षा फेरि पनि यो वार्ताको मुख्य हिस्साका रूपमा प्रस्तुत भयो।

खनालको भ्रमणले बेल्ट एन्ड रोड सहकार्यलाई पनि फेरि केन्द्रविन्दुमा ल्याइदिएको छ। दुवै पक्षले व्यावहारिक र उच्च गुणस्तरीय सहकार्यका लागि प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूको मुख्य जोड कार्यान्वयनमा छ। प्रस्तावित सीमापार रेलमार्गले विशेष ध्यान प्राप्त गरेको छ किनकि यही जुन महिनाको अन्त्यसम्ममा नेपालले सो परियोजनाको सम्भाव्यता अध्ययन प्राप्त गर्ने अपेक्षा छ। रेल परियोजना प्राविधिक रूपमा जटिल र दीर्घकालीन प्रकृतिको छ। तथापि, यसले द्विपक्षीय सम्बन्धको प्रतीकात्मक र रणनीतिक मूल्य बोकेको छ।

खनालले कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङसँग पनि भेट गरे। लिउले चिनियाँ कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीसँग आदानप्रदान बढाउन, राजनीतिक विश्वास सुदृढ गर्न र पार्टीका च्यानलहरूमार्फत सहाकार्य प्रवर्द्धन गर्न इच्छुक रहेको बताए। खनालले नेपालको विकासका लागि चीनले गरेको सहयोगको कदर गर्दै कनेक्टिभिटी, जलविद्युत्, कृषि, प्रविधि नवप्रवर्तन, संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्य विस्तार गर्न इच्छुक रहेको बताए।

विज्ञान र प्रविधि भ्रमणको अर्को महत्वपूर्ण विषय बन्यो। खनालले चिनियाँ विज्ञान प्रतिष्ठान अन्तर्गतको तिब्बती पठार अनुसन्धान संस्थानको भ्रमण गरे। जहाँ उनलाई त्रिभुवन विश्वविद्यालय लगायत नेपाली संस्थाहरूसँग सो संस्थाको सहकार्यको बारेमा जानकारी गराइएको थियो। उनले विज्ञान, जलवायु सम्बन्धी अनुसन्धान र दिगो विकासका क्षेत्रमा सहकार्य बढाउनु महत्त्वपूर्ण हुनेमा जोड दिए।

जुन १६ मा खनालले परामर्शदात्री सभा सीपीपीसीसीका अध्यक्ष वाङ हुनिङसँग भेटवार्ता गरे। वाङले चीन उच्चस्तरीय आदानप्रदान कायम राख्न, राजनीतिक विश्वास बढाउन र व्यावहारिक सहकार्य अझ गहिरो पार्न तयार रहेको बताए। खनालले नेपाल–चीन मित्रता पञ्चशीलको सिद्धान्तमा आधारित रहेको बताउँदै एक चीन नीतिप्रति पुनः प्रतिबद्धता जनाए।

पिपुल्स डेली अनलाइन र सीसीटीभीसँगको संयुक्त अन्तर्वार्तामा खनालले यातायात पूर्वाधार र सीमापार कनेक्टिभिटीलाई नेपालले विशेष महत्व दिएको बताए। उनले एआई, रोबोटिक्स र प्रविधिका अन्य क्षेत्रहरूमा चीनले गरेको प्रगतिप्रति चासो व्यक्त गर्दै यी क्षेत्रमा सहकार्य विस्तार गर्ने नेपालको अपेक्षा रहेको बताए।

अर्को महत्वपूर्ण विषय थियो– आर्थिक कूटनीति। बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको लगानी प्रवर्द्धन कार्यक्रममा खनाल सहभागी भए। जहाँ लगानी बोर्डले नेपालमा लगानीका अवसरहरूबारे प्रस्तुति दिएको थियो। चिनियाँ लगानीकर्ताहरूलाई सम्बोधन गर्दै खनालले नेपालको आर्थिक सम्भावना, जनसांख्यिक लाभ र अझ व्यवसायमैत्री वातावरण बनाउने सरकारको प्रतिबद्धताबारे प्रकाश पारे।

जुन १७ मा खनालले चीनको पहिलो नर्वप्रवर्तन प्रदर्शन क्षेत्र झोङगुआनकुन विज्ञान पार्कको भ्रमण गरे। यो भ्रमणले सूचना प्रविधि, एआई र रोबोटिक्समा चीनले हासिल गरेको प्रगतिबारे जानकारी लिने मौका नेपाली टोलीलाई दियो। यसले नेपाल परम्परागत सहकार्यभन्दा अगाडि बढेर डिजिटल रूपान्तरण र नवप्रवर्तनमुखी वृद्धितर्फ लाग्न इच्छुक छ भन्ने देखाउँछ।

खनालको यो बेइजिङ भ्रमणले अनेकौँ परिणाम दिएको छ। यसले राजनीतिक विश्वासलाई पुनर्स्थापित गरेको छ, कनेक्टिभिटी परियोजना कार्यान्वयनलाई द्विपक्षीय सहकार्यको केन्द्रमा ल्याएको छ। त्यस्तै, प्रविधि र डिजिटल सहकार्यको नयाँ ढोका खोलेको छ, पार्टी–पार्टीबीचको आदानप्रदान सुदृढ तुल्याएको छ र क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा निकट सहकार्यलाई प्रोत्साहित गरेको छ।

अगाडि हेर्दा, बेइजिङमा भएका समझदारीहरूलाई देखिनेगरी परियोजनाहरूमा रूपान्तरण गर्न सकिन्छ कि सकिँदैन भन्नेमा नेपाल–चीन सम्बन्ध केन्द्रित हुने सम्भावना छ। मुख्य खम्बा कनेक्टिभिटी नै रहनेछ किनकि रेल, बन्दरगाह, सडक, उड्डयन र सीमापार प्रसारण लाइनले एजेन्डाको सूचीको शीर्ष स्थान लिएको छ। जलविद्युत्, कृषि, पर्यटन, संस्कृति, स्वास्थ्य, शिक्षा, ग्रामीण विकास र साना जीविकोपार्जनमुखी परियोजनाहरूमा पनि सहकार्य विस्तार हुने अपेक्षा छ।

खनालको भ्रमणले नेपाल स्वतन्त्र विदेश नीति कायम राख्दै चीनसँग व्यावहारिक सम्बन्धलाई अगाडि बढाउन चाहन्छ भन्ने देखाएको छ। काठमाडौँका हकमा नेपाल–चीन सम्बन्धको अर्को चरणको मूल्यांकन कूटनीतिक अभिव्यक्तिबाट होइन, परियोजना कार्यान्वयन, लगानी, प्रविधि सहकार्य र नेपाली जनताले प्राप्त गर्ने ठोस लाभका आधारमा गरिनेछ।

(सहप्राध्यापक सेइ जिबिन चीनको नर्थवेस्ट युनिभर्सिटीस्थित साउथ एसिया रिसर्च सेन्टरका उपनिर्देशक हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad