ad ad

अपराध


...त्यसपछि सशस्त्रका जवानले असईलाई मारेर खोलामा फाले

पुर्पक्षका लागि जवान खत्री जेल चलान
...त्यसपछि सशस्त्रका जवानले असईलाई मारेर खोलामा फाले

मारिएका सशस्त्र प्रहरी सहायक निरीक्षक सत्यनारायण यादव


उजिर कार्की
कात्तिक २९, २०७९ मंगलबार ८:३९, काठमाडौँ

सप्तरीमा सशस्त्र प्रहरी सहायक निरीक्षकको हत्या अभियोग लागेका जवान होमबहादुर खत्री पुर्पक्षका लागि कारागार चलान भएका छन्। सँगै कार्यरत प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवको हत्यामा संलग्न अभियोगमा खत्रीलाई जिल्ला अदालत सप्तरीले पुर्पक्षका लागि थुनामा पठाएको हो। 

गत असोज १९ गते साँझ जवान खत्रीले असई यादवको हत्या गरेको अभियोग छ। सो दिन असईको हत्या गरेर उनले दसैं बिदामा गएका सोही बीओपीमा कार्यरत अर्का जवानलाई फोन गरेर असई हराएको जानकारी गराएका थिए। 

छिन्नमस्ता गाउँपालिका २ मोहनपुरस्थित मोहनपुर पोस्टमा असईको नेतृत्वमा एक हवल्दार र दुईजना जवान बसिरहेका थिए। तीमध्ये हवल्दार र एक जवान घर बिदामा गएको बेला खत्रीले आफ्नै हाकिमको हत्या गरेको अभियोग छ। 

असई हराएको जानकारी गराएपछि सबै उनको खोजीमा लागेका थिए। असई यादवको शव दुई दिनपछि भारतको बिहार राज्य मधुवनी जिल्ला जिरोगा ग्रामपञ्चायत वडा नं ९ स्थित घोडदह नदीमा फेला परेको थियो। जवान खत्रीले असोज १८ गते साँझ साढे ७ बजेतिरै उनको हत्या गरेर शव खोलामा फालेको खुलेको छ। 

सुरुमा जवान खत्रीले कुटपिट गरी असईलाई घाइते बनाएको र पछि डोरीले कसेर हत्या गरेको खुलेको प्रहरीको दाबी छ। हत्यापछि सशस्त्र प्रहरी पोस्टनजिकै रहेको खोलामा शव फालिदिएका थिए। असोज २० गते दिउँसो साढे २ बजेतिर असई यादवको शव खोला किनारमा फेला परेको थियो। 

जवान खत्रीको बयान : रक्सी खाएर आउँदा गाली गरेपछि हत्या  
होमबहादुर खत्री २०६३ फागुन २६ गते सशस्त्र प्रहरी जवानमा भर्ना भएका थिए। सिरहामा कार्यरत उनको उदयपुरस्थित सशस्त्र प्रहरी बल नेपाल नं. ५ गणमा सरुवा भएको थियो। 

दरबन्दी उदयपुर भए पनि काजमा उनी सशस्त्र प्रहरी बल नं. २ बाहिनी बर्दिवास महोत्तरीमा २०७८ माघमा ६ नम्बर गणमा सरुवा भएका थिए। २०७९ जेठ २३ गते उनलाई बीओपी छिन्नमस्ता सप्तरी खटाइएको थियो। 

त्यहाँबाट २०७९ भदौ ८ गते मात्रै छिन्नमस्ता गाउँपालिका २ मोहनपुर भन्ने स्थानमा रहेको मोहनपुर पोस्टमा सरुवा भएका थिए। उक्त पोस्टमा असई यादवको कमान्डमा  जवान खत्री, सशस्त्र प्रहरी हवल्दार कृष्ण मंग्राती र सशस्त्र प्रहरी जवान मिलन श्रेष्ठ गरी चार जना कार्यरत थिए। तर हवल्दार मंग्राती र जवान श्रेष्ठ भने दसैं बिदामा गएका थिए। 

सशस्त्र प्रहरी सहायक निरीक्षक सत्यनारायण यादव र खत्री मात्रै दसैंको समयमा डिउटीमा थिए। 

२०७९ असोज १८ गते वडा दसैंको पूजाआजा गर्न सशस्त्र प्रहरी सहायक निरीक्षक सत्यनारायण यादव छिन्नमस्तास्थित रहेको बीओपी गएका थिए। पूजा सकेर आएपछि असई यादव बेडमा बसिरहेका थिए। जवान खत्री उनलाई भनेर दिउँसोको करिब ३ बजेतिर गाउँतिर जान्छु भन्दै गएका थिए। त्यतिबेला सिमसिम पानी परिरहेको थियो। 

जवान खत्रीले सखडा चोकमा एक केजी ब्रोइलर कुखुराको मासु र आधा केजी चिप्ले भिण्डी किने। त्यतिबेला दिउँसोको साढे ४ बजेको थियो। मोहनपुर पोस्टतर्फ फर्किने क्रममा बटोमा खत्रीले चिनजान भएका प्रमेश मण्डललाई मोटरसाइकलमा घर जाँदै गरेको भेटे। त्यसपछि उनी मण्डलको मोटरसाइकलको पछाडि बसेर पोस्टतर्फ लागे। 

मुसहरी टोलमा रहेको किराना तथा मदिरा पसलअगाडि उनले मोटरसाइकल रोक्न लगाए र बियर किने। जवान खत्रीले त्यहाँ बियर खाए। मण्डललाई फ्रुटी किनिदिए। 

मोहनपुर पुगेपछि फेरि अर्को बियर खाए। त्यसपछि उनी प्रमेश मण्डलको घरमा पुगे। राति ७ बजेतिर प्रमेशले नै उनलाई मोटरसाइकलमा पोस्टसम्म पुर्‍याइदिएका थिए। 

उनी हातखुट्टा धोएर पोस्टभित्र प्रवेश गर्न लाग्दा सशस्त्र प्रहरी सहायक निरीक्षक सत्यनारायण यादव पोस्टको कम्पाउन्डभित्र बसिरहेका थिए।

असई यादवले किन ढिला आएको भन्दै सोधे। जवान खत्रीले पानी पर्‍यो, केही समय बिसुन साहको पसलमा बसेर बियर खाएको जवाफ दिए। 
त्यसपछि यादवले उनलाई गालीगलौज गरेको बयान खत्रीले दिएका छन्। यादवले गाली गरेपछि उनीहरूबीच भनाभन भयो। 

‘असई यादवले पोस्टमा रहेको लाठी लिई म नजिक आइपुग्दा मलाई कुटपिट गर्छन् कि भन्ने लागी निजको हातबाट बेतको लाठी खोसी पोस्ट बाहिर फालिदिएँ। त्यसपछि हामीबीच हात हालाहालको स्थिति हुँदा मैले सत्यनारायण यादवलाई हातले दुईपटक धकेलेँ। उनको टाउको ठोक्कियो, रगत बग्न थाल्यो, उनी पोस्टभित्र बेहोस भई भुइँमा लडेर घ्यारघ्यार गर्न थाले’, जवान खत्रीले बयानमा भनेका छन्। 

त्यसपछि खत्रीले पोस्टमा रहेको मल्टी प्लकको तारले सत्यनारायण यादवको घाँटीमा कसेर हत्या गरेका थिए। त्यसपछि बाहिर सुनसान देखेपछि उनले यादवलाई हातमा समातेर घिसार्दै खोलामा फालिदिएका थिए। 

यादवको शव बगाउन थालेपछि उनी फर्किएका थिए। फर्किएपछि सत्यनारायणका कपडा र चप्पल पनि उनले त्यही खोलामा लगेर फालिदिए। आफैं असईको हत्या गरेर खोलामा फालेका जवानले बीओपी छिन्नमस्ताको सञ्चार शाखामा फोन गरेर सोधेका थिए, ‘अहिलेसम्म सत्यनारायण यादव सर आउनुभएन। कहाँ जानु भएको हो?’

सञ्चार शाखाले त्यसपछि छिन्नमस्ता सप्तरीको इन्चार्ज सशस्त्र प्रहरी नायब निरीक्षक कृष्णबहादुर मगरलाई जानकारी गराउने बताएको थियो। राति १० बजे सहायक हवल्दार सुरेन्द्र मण्डल र सशस्त्र प्रहरी नायब निरीक्षक कृष्णबहादुर मगर मोटरसाइकलमा उक्त पोस्टमा पुगेका थिए। 
उनीहरूले खत्रीलाई असईले के भनेर गएका थिए भनी सोधे। तर जवान खत्रीले, ‘मलाई केही थाहा छैन, सधैँ बाहिर जानुहुन्थ्यो। आज यतिबेलासम्म किन आउनुभएन, थाहा भएन।’

त्यसपछि उनीहरू केही बेर यताउति हेरेर खोजतलासका लागि गाउँतिर लागेका थिए। राति साढे १२ बजेतिर जवानले सर आइपुग्नुभयो कि भएन भनेर सोधेका थिए। 

‘भेटिएन भोलि आउँछन् होला, हामीहरू अहिले जान्छौं तिमी अहिले सुत, भोलि  बिहानसम्म आएन भने फोन गर्नू।’ यति भनेर बीओपीको टोली फर्किएको थियो। जवान खत्री भने त्यही पोस्टमा सुते। 

भोलिपल्ट बिहान सशस्त्र प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले प्रयोग गर्ने मोबाइल शौचालय छेउमा खत्रीले भेटे। त्यो पनि शव फालेकै खोलामा फालिदिए। 

२० गते दिउँसो साढे २ बजेतिर मात्रै यादवको शव घोडदह खोलाको किनारमा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा जवान खत्रीलाई असोज २६ गते सशस्त्र प्रहरीले नै पक्राउ गरी अनुसन्धानका लागि नेपाल प्रहरीसमक्ष बुझाएको थियो। 

प्रहरीले उनलाई कर्तव्य ज्यानको कसुरमा सजाय गर्न रायसहित अनुसन्धान प्रतिवेदन बुझाएको हो। सोही प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय सप्तरीले अभियोगपत्र दायर गरेको थियो। पछि ठहरेबमोजिम हुने भन्दै अहिले जवान खत्रीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालतले आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालय सप्तरीका प्रमुख मुहमम्द मुन्नाले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .