अपराध


निरा पाण्डे हत्या प्रकरण: ८ मिनेटमा मारेर भागेका थिए विनोद

सिक्री लुट्न खोज्दा प्रतिकार गरेपछि हत्या
निरा पाण्डे हत्या प्रकरण: ८ मिनेटमा मारेर भागेका थिए विनोद

नेपालखबर
बैशाख १७, २०८० आइतबार १२:४, काठमाडौँ

सिक्री लुट्दा प्रतिकार गरेपछि कपनमा निरा पाण्डेको हत्या भएको खुलेको छ। हत्या आरोपमा प्रहरीले एक बाउन्सरलाई पक्राउ गरेपछि हत्याको कारण खुलेको हो। 

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार झापाबाट शनिबार पक्राउ परेका विनोद विश्वकर्मालाई काठमाडौं ल्याउने तयारी भएको छ।

विश्वकर्मालाई आइतबार काठमाडौं ल्याएर घटना सार्वजनिक गर्ने प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तयारी गरेको छ। 

दुई दिनअघि मात्रै घटना अनुसन्धानका लागि सीआईबी प्रमुख किरण बज्राचार्यको नेतृत्वमा समिति बनेको थियो। इन्ड्राइभमार्फत घटनास्थल नजिकै पुगेका विनोदले ८ मिनेटको बीचमा हत्या गरेको खुलेको हो। 

दिउँसो २ बजेर ४६ मिनेट जाँदा घटनास्थलमा पुगेका बिनोद ५४ मिनेट जाँदा घटनास्थलबाट बाहिरिएका थिए। तर उनले हुलिया चिन्न गाह्रो पर्नेगरी अनुहारमा मास्क लगाएका थिए। सीसी क्यामेरा फुटेजमा पनि राम्रोसँग खुल्न सकेको थिएन। 

प्रहरीका अनुसार पसलमा पुगेपछि विनोदले निरुलाई सामान किन्ने बहाना बनाएका थिए। पछि सिक्री लुट्न खोज्दा निरुले प्रतिकार गरेको र अनि चक्कु प्रहार गरेको खुलेको छ। निरुको शरीरका करिव २० ठाउँमा चक्कु हानिएको थियो। 

निरुको हत्यापछि विनोदले निरुको सिक्री लुटेका थिए। लुटेको सिक्री काठमाडौंमै बेचेर उनी झापा पुगेको खुलेको छ। प्रहरीले लामो अनुसन्धानपछि उनलाई पक्राउ गर्न सफल भएको हो। 

विनोदले हत्या गर्नुको थप कारणबारे अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ। विनोदले घटनामा आफ्नो संलग्नता स्वीकार गर्दै सिक्री बिक्री गरेको पसलबारे पनि बताइसकेका छन्। 

उनी काठमाडौंकै एक नाइट क्लबका बाउन्सर हुन्। तर पछिल्लो समय आफूले त्यो जागिर छाडेको उनले प्रहरीलाई बताएका छन्। 

‘अहिले धेरै प्रारम्भिक कुराहरु आएका छन्। तर यी पुष्टि हुन बाँकी छ, दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिन्छौं,’ सीआईबी प्रमुख एआईजी बज्राचार्यले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .