ad ad

अपराध


सानु भण्डारीको बयान–इन्द्रजीतले अमेरिका पठाउँछु भनी मसँगै पैसा लिए

सानु भण्डारीको बयान–इन्द्रजीतले अमेरिका पठाउँछु भनी मसँगै पैसा लिए

सागर न्यौपाने
जेठ ९, २०८० मंगलबार १८:१४, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीले अमेरिका पठाउने भन्दै तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राईले ठगेको बयान दिएका छन्।

प्रहरी हिरासतमा रहेका उनले आफूलाई अमेरिका पठाइदिने भनी इन्द्रजीतले रकम लिएर नपठाएको र पीडित भएको बताएका छन्।

‘मलाई समेत भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी म बाट डा. इन्द्रजित राई समेतले रकम लिई काम समेत नगरी ठगी गरेको हुँदा म आफै पिडित भएको छु,’ उनले बयानमा भनेका छन्। 

यस्तो छ सानुले दिएको बयान जस्ताको त्यस्तै 
जाहेरवालाहरू गजेन्द्र बुढाथोकी र राम कुमार रेग्मीलाई चिनेको छैन, मैले निजहरूलाई अमेरिका पठाइ दिने भनी कुराकानीसमेत गरेको छैन, जाहेरीमा उल्लेख भएको विषयवस्तुको सम्बन्धमा मलाई जानकारी भएन। 

जाहेरी दरखास्तमा नाम उल्लेख गरेका सन्तोष शर्मा, विवेक थापा, प्रदीप अर्याल, सन्देशजंग ठकुरी, संजिव गौतम, सन्देश गौतम, कुमार पोखरेल, अनिस बुढाथोकी र धन बहादुर भण्डारी समेत ६१ जान व्यक्तिहरूसँग मेरो चिनजान र सम्पर्क छैन, निजहरूसँग मेरो सो विषयमा कुनै कुराकानी भएको छैन र मैले निजहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइ दिने भनी रकम लिएको छैन। जाहेरवाला रामकुमार रेग्मी तथा निजको चिनजान र सम्पर्कमा आएका निजका आफन्त र जाहेरी दरखास्तमा नाम उल्लेख भएका श्रवणकुमार रेग्मी, कल्पना रेग्मी, उपेन्द्र बुढाथोकी, राजेश अर्याल लगायतका व्यक्तिहरू सँग मेरो चिनजान र सम्पर्क नभएको हुँदा सो विषयमा मलाई थाहा भएन। 

जाहेरी दरखास्तमा नाम उल्लेख भएका बिराज पाण्डे, डम्बर खत्री, यज्ञ ओली, समिर लामिछाने, गौतम गिरी, सुजल केसी, असिम ओली, चन्द्रबहादुर खड्का, पदमसिंह खत्री, महेन्द्र कुसारी, मानबहादुर खत्री, मनिस डिसी, मुमकान्त पाण्डे, मनोज केसी र अनुदान बस्नेतसँग मेरो चिनजान नभएको र मैले निजहरूलाई भुटानी शरणार्थी बनाइ अमेरिका पठाइ दिने भनी कुराकानी नगरेको हुँदा सो सम्बन्धमा मलाई जानकारी भएन, मैले निजहरूलाई अमेरिका पठाइ दिने भनी कुनै रकम लिएको छैन मेरो निजहरूसँग चिनजान र सम्पर्क नभएको हुँदा सो सम्बन्धमा मलाई जानकारी भएन ।

मलाई समेत भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी म बाट डा. इन्द्रजित राई समेतले रकम लिई काम समेत नगरी ठगी गरेको हुँदा म आफै पीडित भएको छु।

जाहेरवाला गजेन्द्र बुढाथोकी र निजले जाहेरी दरखास्त नाम उल्लेख गरेका महेश कार्कीसमेतसँग मेरो चिनजान र सम्पर्क छैन, निजहरूको नाममा जारी भएको शरणार्थी परिचय पत्रको प्रतिलिपिहरू, मुख्य सचिव शंकरदास वैरागीको दस्तखत भएको गृह मन्त्रालयवाट जारी भएको भुटानी शरणार्थी सम्बन्धी समस्या र समाधानका उपायहरूको सबन्धमा भन्ने विषयको पत्रको प्रतिलिपि को कसले कहाँ बनाएका हुन्, उक्त परिचय पत्र आधिकारीक हुन होईनन भन्ने सम्बन्धमा मलाई कुनै जानकारी भएन। जाहेरवाला गजेन्द्र बुढाथोकी तथा प्रहरी प्रतिवेदनमा नाम उल्लेख भएका लक्ष्मी महर्जन, हरिभक्त महर्जन समेत सँग मेरो चिनजान छैन।

मैले जाहेरवालाहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिन्छु भनी कुनै रकम लिएको छैन, जाहेरवाला रोशन खरेलसँग मेरो पहिले देखिनै आर्थिक करोबार हुने गरेको थियो, कहिले निजले मसँग सापटी लाने र कहिले निजसँग मैले सापटी चलाउने गरेको थिएँ, यसै क्रममा मलाई जग्गा खरिद गर्नको लागी रकम आवश्यक परेको कारण मैले निज रोशन खरेलसँग सापटी स्वरुप रु।२८,००,०००। (अट्ठाईस लाख) लिएको हो, उक्त रकम मैले चेकवाटै पटक–पटक गरी फिर्ता दिइसकेको छु, मैले फिर्ता दिएको भौचर हाल मसँग छैन, पछि अदालतमा पेस गर्नेछु, निजसँग मैले रु.२८,००,०००। (अठ्ठाइस लाख) लिएको भएता पनि मैले निजलाई मिटर ब्याजको हिसाव गरी मैले हालसम्म रु.७०,००,०००। (सत्तरी लाख) दिई सकेको भएता पनि म हिरासतमा परेको भनी विभिन्न पत्रपत्रिकामा समाचार आएको कारण निजले म समेतको विरुद्धमा किटानी जाहेरी दिएको हुनुपर्छ। 

मैले जाहेरवाला सुमन दाहाललाई चिनेको छैन, निजबाट मैले कुनै रकम समेत लिएको छैन। 

मसँगै पक्राउमा परी हिरासतमा रहेका प्रतिवादी केशव प्रसाद दुलाल र प्रतिवादी सन्देश शर्मा विचमा लेनदेनको कारोवार भएको हुँदा म केशव दुलालसँग हिड्ने भएको कारण कुराकानीको क्रममा मेरो समेत नाम उल्लेख गरेको हुनु पर्छ। मैले जाहेरवालाले दावी गरे बमोजिमको ठगी सम्बन्धी कसूर नगरेको हुँदा मलाई सजाँय हुनु पर्ने होईन, मैले कसुरबाट सफाई पाउनु पर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .