युरोपेली मुलुक पोल्यान्डको राजधानी वारसामा नेपाली राहदानी घुम्ती सेवा शिविर सम्पन्न भएको छ।
शिविरमार्फत ८ सय ६३ जना नेपालीले राहदानी नवीकरण गराएका छन्।
राहदानी विभाग, काठमाडौँको समन्वयमा पोल्यान्ड समेत कार्यक्षेत्र रहेको जर्मनीस्थित नेपाली राजदूतावास, बर्लिनले शिविर सञ्चालन गरेको हो।
शिविर सञ्चालन गर्न नेपाली वाणिज्यदूतावास वारसा र एनआरएनए पोल्यान्डले सहयोग गरेका हुन्।
पोल्यान्डमा रहेका नेपालीले समयमा राहदानी नवीकरण गर्न नपाउँदा पाएको सास्तीबारे नेपालखबरले नियमित खबर प्रकाशित गरेको थियो भने संसदमा समेत आवाज उठेको थियो।
घुम्ती शिविरमा ८ सय ६३ जना सेवाग्राहीको राहदानी नवीकरण गरेको र केहीले कन्सुलर सेवा लिएको जर्मनीस्थित नेपाली राजदूतावास, बर्लिनका नियोग उपप्रमुख सागरप्रसाद फुयालले जानकारी दिए। निर्धारित समयमा नै शिविर आज सफलतापूर्वक सम्पन्न भएको उनले बताए।
शिविर सम्पन्न गर्नका लागि आवश्यक सहयोग गर्ने नेपाली वाणिज्यदूतावास, एनआरएनए, पोल्यान्डको नेपाली समाज, संघसंस्था, स्वयंसेवक, पत्रकार, कर्मचारी सबैलाई दूतावासको तर्फबाट उनले धन्यवाद पनि दिए।
‘आगामी दिनमा दूतावासको तर्फबाट पोल्यान्डमा हुने कार्यक्रममा पनि यस्तै सहयोगको अपेक्षा छ,’ उनले नेपालखबरसँगको कुराकानीमा भने।
नियोग उपप्रमुख फुयालको नेतृत्वमा राहदानी विभाग काठमाडौंबाट आएका राजकुमार शाह, सुवास थापा तथा दूतावासका कर्मचारी जितेन्द्र चौधरीको संयुक्त टोलीले तीन दिनसम्म सेवाग्राहीलाई सेवा प्रदान गरेको थियो।
यही टोलीले रोमानियामा भएको ६ दिनको घुम्ती शिविर सकेर पोल्यान्डमा अप्रिल २ देखि आज ४ अप्रिलसम्म शिविर सञ्चालन गरेको हो।
Shares

प्रतिक्रिया