फिफा विश्वकप २०२६ को प्रि–क्वार्टरफाइनलमा विश्वकप आयोजक क्यानडाले मोरक्कोको सामना गर्ने भएको छ।
सोमबार भएको खेलमा नेदरल्यान्ड्सलाई टाइब्रेकरमा ३–२ ले हराउँदै मोरक्कोले क्यानडासँगको भेट पक्का गरेको हो।
निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो।
त्यसअघि नकआउटको पहिलो खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई १–० ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको थियो।
नकआउटकै अर्को खेलमा पाराग्वेले चार पटकको च्याम्पियन जर्मनीलाई टाइब्रेकरमा नै ४–३ ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको छ। निर्धारित समयमा दुवै टोलीले १–१ को बराबरीपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो।
पाराग्वेले अन्तिम १६ मा फ्रान्स र स्विडेनबीचको खेलको विजेतासँग भिड्नेछ।
पाराग्वेले जर्मनीलाई हराएपछि राष्ट्रपति सान्टियागो पेनाले मंगलबार राष्ट्रिय विदाको घोषणा गरेका छन्। विश्वकपमा जर्मनीविरुद्धको नतिजापछि विदा दिने पाराग्वे दोस्रो दक्षिण अमेरिकी देश हो।
यसअघि समूह चरणमा जर्मनीमथि २–१ को जित निकाल्दै नकआउटमा पुगेपछि इक्वेडरका राष्ट्रपति डेनियल नोबोआले पनि राष्ट्रिय विदाको घोषणा गरेका थिए। सोमबार राति भएको खेलमा पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले एसियाली पावरहाउस जापानलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो।
खेलमा जापानले बनाएको सुरुवाती अग्रता जोगाउन नसक्दा ब्राजिलले उत्कृष्ट पुनरागमन जित निकाल्न सफल भयो। खेलको इन्ज्युरी समयमा ग्रावियल मार्टिनेलीको निर्णायक गोलमा ब्राजिलले प्रि–क्वार्टर फाइनलको यात्रा तय गरेको हो।
ब्राजिलले अब आइभरी कोस्ट र नर्वेबीचको खेलको विजेतासँग भिड्नेछ।
राति र बिहान भिड्दै छन् यी टोली
विश्वकपको नकआउट चरणमा आज पनि तीन खेल हुनेछन्। पहिलो खेलमा पौने ११ बजे नर्वे र आइभरी कोस्ट भिड्नेछन्। यी दुई टोली पहिलो पटक आमनेसामने हुनलागेका हुन्।
समूह चरणमा आइभरी कोस्ट समूह ‘ई’ र नर्वे समूह ‘आई’को उपविजेताको रुपमा नकआउट पुगेका हुन्। यो खेलमा आइभरी कोस्टमाथि नर्वे हावी हुन सक्नेछ।
२८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेका लागि स्ट्राइकर एर्लिङ हालान्ड उच्च लयमा छन्। उनले समूह चरणका तीन खेलमा चार गोल गर्दै गोल्डेन बुटको दौडमा छन्।
बिहान पौने ३ बजे हुने साविक उपविजेता फ्रान्स र स्विडेन आमनेसामने हुँदै छन्। फ्रान्स समूह ‘आईको विजेता र स्विडेन समूह ‘एफ’को तेस्रो स्थानमा रहँदै नकआउट पुगेका हुन्।
यो खेलमा पनि स्विडेनविरुद्ध फ्रान्स हावी हुनेछ। जारी विश्वकपमा उच्च लयमा रहेका फ्रान्सेली कप्तान केलियन एमबाप्पे समूह चरणका तीन खेलमा चार गोल गर्दै गोल्डेन बुटको दौडमा छन्।
समूह चरणमा सबै खेलमा गोल गरेका एमबाप्पेलाई रोक्न स्विडेनलाई मुस्किल पर्ने देखिन्छ। यी दुई टोलीबीचको हेड टु हेडलाई हेर्ने हो भने अहिलेसम्म २३ पटक भएको छ।
सो भेटमा स्विडेनमाथि फ्रान्स हावी हुँदै आएको छ। १२ खेलमा फ्रान्सले जित निकाल्दा ५ खेल बराबरीमा टुंगिएको छ। ६ खेलको नतिजा स्विडेनको पक्षमा गएको छ।
यी दुई टोली सन् २०२० पछि आमनेसामने हुन लागेका हुन्।
नकआउटको अर्को खेलमा बिहान पौने ७ बजे मेक्सिको र इक्वेडर खेल्ने तालिका छ। विश्वकप आयोजक समेत रहेको मेक्सिको समूह ‘ए’को विजेताको रुपमा नकआउट पुगेको हो।
इक्वेडर भने समूह ‘ई’को तेस्रो स्थानमा रहेर नकआउट पुगेको टोली हो। विश्वकपमा यी दुई टोलीबीच दोस्रो भेट हुन लागेको हो। यसअघि सन् २००२ मा समूह चरणमा भएको भेटमा मेक्सिकोले २–१ ले जित हात पारेको थियो।
अहिलेसम्मका २९ भेटमा मेक्सिकोले १७ खेलमा जित निकाल्दा ८ खेलमा बराबरी भएको छ। ४ खेलको नतिजामा मात्र इक्वेडरको पक्षमा छ। पछिल्ला तीन भेट बराबरीमा टुंगिएको इतिहास छ।
Shares

प्रतिक्रिया