कारोबार


जाउलाखेल खेल मैदानमा ढकमक्क गोदावरी (फोटोफिचर)

जाउलाखेल खेल मैदानमा ढकमक्क गोदावरी  (फोटोफिचर)

कृष्ण आचार्य
कात्तिक ३, २०७६ आइतबार १२:२४,

ललितपुरको जावलाखेलस्थित खेल मैदान यतिबेला फूलै–फूलले भरिएको छ। मानिसहरु फूल वरिपरी झुम्मिएका छन्। कोही सेल्फी खिचिरहेका छन् त कोही फूलको सुन्दरता र सुगन्धले मोहित बनेका।

मैदान प्रवेश गर्ने जो कोही फर्कंदा हातमा फूल बोकेको देखिन्छ। कात्तिक महिना, फूलको मौसम। यो मौसमसँगै हातमा फूल बोकेका मानिसहरु पनि खुलेका देखिन्छन्। फूलजस्तै।

02 Puspa mela

फूल राखिएका स्टलहरुमा व्यवसायीलाई पनि भ्याईनभ्याई छ। कोही फूल बेचिरहेका छन् त कोही त्यसका विशेषताबारे बताइरहेका।

यो दृश्य शुक्रबारदेखि आयोजित ‘१३ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी’को हो। ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरी’ प्रदर्शनीको मूल नारा हो।

४० रुपैयाँदेखि ३० हजारसम्म
पूजापाठदेखि प्रेमालापसम्मका लागि मानिसहरुलाई फूलको आवश्यकता पर्छ। घरदेखि वातावरणको सजावट र साजसज्जाका लागि फूल चाहिन्छ। र, ती हरेक आवश्यकताको पूर्ति गर्छ फूल प्रदर्शनीले।

प्रदर्शनीमा ४४ वटा व्यवसायिक स्टल छन्। ती स्टलमा देश तथा विदेशमा उत्पादन भएका पाँच सयभन्दा बढी जातका फूल तथा वनस्पतिहरु छन्। २५० जातका गोदावरी फूलहरु छन्।

03 Puspa mela

तिहार नजिकिँदै गरेकाले यो मौसम सयपत्री फूलको हो। त्यसैले हरेक स्टलमा सयपत्री ढकमक्क फूलेका छन्।

इन्क्रर्भ, स्पाइडर, मिनियचर, रिफ्लेक्स र कट फ्लावर गरी पाँच विद्याका फूलहरुले प्रदर्शनस्थल रंगीचंगी देखिएको छ। लाग्दैछ, फूलहरुले तिहारको स्वागत गरिरहेका छन्।

प्रदर्शनीमा ४० रुपैयाँदेखि ३० हजार रुपैयाँसम्मका फूलहरु बिक्री भइरहेका छन्। सयपत्री फूलको एउटा बोट ४० रुपैयाँमा बिक्री भइरहेको छ भने बोनसाई जातका विरुवा ३० हजारसम्म बिक्री भइरहेका छन्।

12 Puspa mela 1

‘बोनसाई जातका विरुवाहरु अन्यको तुलनामा केही महँगो पर्छन्। ७–८ वर्ष त हुर्काउँनै लाग्छ’ फ्लोरिकल्चर एशोसियसन नेपालका महासचिव एवं पुष्प व्यवसायी विश्वमणि पोखरेल भन्छन्, ‘१० हजारभन्दा कममा बोनसाई नै पाइँदैन। बरु ५० हजारसम्म मूल्य पर्ने विरुवा पनि हुन्छन्।’

आफूले यसअघिको प्रदर्शनीमा ३० हजारमा बोगनबेली (बोनसाई) बेचेकोसमेत उनले बताए।

केही वर्षअघि जापानमा भएको अन्तर्राष्ट्रिय बोनसाई सम्मेलनमा एउटा बोनसाईको मूल्य १ करोड ३० लाख रुपैयाँ राखिएको थियो। जापानमा सात पुस्ताले स्याहारेका ४ सय वर्ष पुराना बोनसाई छन् भने विश्वभरमा ८ सय वर्ष पुराना बोनसाई पाइन्छन्।

06 Puspa mela

चीन, थाइल्यान्ड र नेदरल्यान्डका विरुवा पनि
प्रर्दशनीमा नेपालसहित, भारत, चीन, थाइल्यान्ड र नेदरल्यान्डबाट ल्याइएका फूल तथा बिरुवाहरु छन्। भारतबाट अर्गामेन्टर र अन्य देशबाट फूल फूल्ने तथा घरभित्र सजाउन मिल्ने खालका विरुवाहरु प्रदर्शनीमा राखिएका छन्।

विदेशबाट आएका फूल तथा बिरुवा ५ सयदेखि ५ हजार मूल्य बराबरका रहेको व्यवसायी राजकुमार थापा बताउँछन्।

07 Puspa mela

व्यवसायी सबरी राजवहाक भने नेपालमा मेहनत गर्ने हो भने विदेशबाट फूल ल्याउनु नपर्ने बताउँछिन्। ‘हामीले अहिले ट्रकका ट्रक नेपालबाट चीनमा फूल तथा विरुवाहरु पठाइरहेका छौँ’ उनी भन्छिन्, ‘गर्ने हो भने नेपालमा जे पनि हुन्छ तर हामी विदेशीकै खोज्छौँ।’

आयोजक संस्थाका सदस्य महेन्द्र सुवेदी विदेशबाट आउने तयारी बिरुवा गमला परिवर्तन गरेर बेच्ने गरिएको बताउँछन्।

‘विदेशबाट आउने विरुवा स्वच्छ, राम्रा र गुणस्तरीय हुन्छन् भन्ने ग्राहकको भनाई छ’ उनी भन्छन्, ‘विदेशमा उच्च प्रविधिको प्रयोग गरिएकाले पनि त्यसो भएको हुन सक्छ।’

09 Puspa mela

सौखिनको भिडभाड
‘म त पाँचै दिन प्रदर्शनीमा आउँछु’ हातभरी फूल र बिरुवा बोकेकी सदीक्षा श्रेष्ठ भन्छिन्, ‘फूलमा निकै सौख छ। पोहर साल पनि ४० हजारको बिरुवा किनेकी थिएँ।’ उनले यसपटक आफूलाई बोनसाई विरुवा किन्न मन लागेको बताइन्।

आयोजकका अनुसार प्रदर्शनीमा आउने धेरैजसो मानिस शौखिन हुन्छन्। उनीहरु हजारौँ मूल्यका फूल तथा बिरुवाहरु किनेर लैजान्छन्।

त्यस्तै, फूलसम्बन्धी काम गरेका, पढेकाहरु अध्ययन तथा अनुसन्धानका लागि पनि प्रदर्शनीमा आउने गर्छन्। केही फूलको विविधता अवलोकन गर्न त केही सेल्फी खिच्नका लागि पनि आउने गर्छन्।

13 Puspa mela

‘यो पुष्पप्रेमीहरुका लागि आयोजित मेला हो’ सदस्य सुवेदी भन्छन्, ‘उहाँहरु यहाँ आउने भनेकै फूलहरुको विविधता अवलोकन गर्न र खरिद गर्न नै हो।’

यो प्रदर्शनी प्रतियोगात्मक भएकाले व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास हुने र त्यसका लागि नयाँ–नयाँ जातका विरुवाको उत्पादन हुने सुवेदी बताउँछन्। ग्राहकले पनि सर्वसुलभ मूल्यमा फूल–विरुवा पाउने भएकाले मानिसहरुको भिड लाग्ने गरेको उनको बुझाई छ।

५० लाखको कारोबार
पाँच दिनसम्म चल्ने प्रदर्शनीको दोस्रो दिनसम्म २१ हजार मानिसले अबलोकन गरेका छन्। अन्तिम दिनसम्म ३५ हजारले अवलोकन गर्ने आयोजकले जनाएको छ।

अवलोकनकर्ताले गोदावरी, सयपत्री र गमलामा राख्न मिल्ने फूल तथा घरभित्र गमलामा रोप्न मिल्ने विरुवा खरिद गरेका छन्।

यसअघिका वर्षहरुलाई मूल्यांकन गर्दा यसपटक प्रदर्शनीमा ५० लाख रुपैयाँ बराबरको करोबार हुने प्रदर्शनीका संयोजक शिवबहादुर खड्काले जानकारी दिए। गतवर्ष पनि झन्डै ५० लाखको हराहारीमा करोबार भएको आयोजक बताउँछन्।

फूलमा आत्मनिर्भर बन्दै नेपाल
नेपालमा पुष्प व्यवसाय सुरु भएको ६५ वर्ष पुगिसक्यो। यो अवधिमा ४३ जिल्लामा फूल खेती विस्तार भएको छ भने सात सयको हाराहारीमा पुष्प व्यवसायीहरु छन्। यो क्षेत्रबाट ४० हजारभन्दा धेरैले रोजगारी पाइरहेका छन्।

14 Puspa mela

आर्थिक वर्ष २०७४–०७५ मा २ अर्ब ४२ करोडको कारोबार भएको तथ्यांक फ्लोरिकल्चर एशोसियसनसँग छ। ०७५–७६ मा २० करोडमो फूल आयात भएको छ भने निर्यातको अवस्था दयनीय छ।

तर, पछिल्लो वर्ष नेपाल फूलमा लगभग आत्मनिर्भर बनेको जानकारहरु बताउँछन्। फ्लोरिकल्चरका महासचिव पोखरेलका अनुसार यस वर्ष २२ लाख मालाको माग रहेको छ। त्यसमध्ये १५ लाख सयपत्रीको माग छ भने १२ लाख माला बराबरका फूल नेपालमै उत्पादन भएका छन्।

‘३ लाख सयपत्री भारतबाट आयात गर्छौँ भने मखमली फूलको माला हामी निर्यात गर्ने लक्ष्य छ’ उनी भन्छन्।

गत वर्ष एउटा मालाको मूल्य ८० देखि सय रुपैयाँसम्म तोकिएको थियो। तर, यस वर्ष भने ५० रुपैयाँ तोकिएको छ। व्यवसायीले माला आफ्नै ढंगले मनपरी पैसा लिएर पनि बेचिरहेका छन्। तर, फूल प्रदर्शनीमा भने ५० रुपैयाँमा सयपत्रीको माला झुन्ड्याइएका छन्।

‘पोहर सालदेखि म त प्रदर्शनीमै आएर सयपत्रीको माला किन्छु’ सयपत्रीको मूल्य सोधिरहेकी एक महिला भन्छिन्, ‘यहाँ ५० रुपैयाँमा पाउने माला बजारमा तीन सयसम्म भन्दा रैछन्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .