कारोबार


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक काम सकिँदै, समस्या थपिँदै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक काम सकिँदै, समस्या थपिँदै

२०३१ सालतिर पोखरा–१४, कुँडहरको ३१ सय ६ रोपनी जग्गा अधिग्रहण गर्दा तत्कालीन अञ्चलाधीश शंकरराज पाठकले सायदै सोचेका थिए, कुँडहर कालान्तरमा कंक्रिटको जंगल बन्छ!

त्यसो त, उनले त्यो बेला बिरानो लाग्ने कुँडहर फाँटमै औद्योगिक क्षेत्रको शिलान्यास र उद्घाटन पनि गरेकै थिए। घर–घर पुगेर जग्गा मागेर अधिग्रहण गरिएको सो जग्गामा एयरपोर्ट बन्न भने वर्षौं लाग्यो।

कहिले नेपाल सरकार स्वयंले, कहिले बुट (निर्माण, सञ्चालन र हस्तान्तरण) को माध्यमबाट बनाउने भनिए पनि विमानस्थल बनेन। पोखरेलीले एयरपोर्टको माग गर्दै आन्दोलन नै छेडे।

विमानस्थल निर्माणमा चीन सरकारले चासो देखायो। त्यहीँको एक्जिम बैंकको २२ अर्ब ऋण सहयोगमा विमानस्थलको शिलान्यास भयो। चिनियाँ कम्पनी सिएएमसीले सन् २०२१ को जुलाइ १० मा विमानस्थल नेपाली पक्षलाई हस्तान्तरण गर्ने घोषणा ग¥यो। भनेजस्तै भएको भए गएको असार २६ गते यहाँबाट अन्तर्राष्ट्रिय उडान भइसक्थ्यो तर कोभिडका कारण एक वर्ष समयावधि थप भयो। 
त्यसो त, विमानस्थलको धावनमार्ग र अन्य भौतिक संरचना करिब तयार नै छन्। करिब ८४ प्रतिशत भौतिक निर्माणको काम सकिएको छ। तर, विमानस्थल बन्दै गर्दा समस्याको चाङ पनि थपिँदै गएका छन्। विमान उडान र अवतरणको लागि लेखनाथ क्षेत्रमा रहेको डाँडो बाधक बनेको छ। रिठ्ठेपानीको डाँडो कटानको काम सुरु भएपनि वातावरणीय त्यसमा वन कार्यालयबाट वातावरणीय मूल्यांकन पारित गर्न बाँकी नै छ।

‘व्यक्तिको स्वामित्वमा रहेको डाँडा कटान सुरु गरिए पनि सरकारी जग्गा कटानको लागि वातावरणीय मूल्यांकनको काम ढिला भएको छ’,बुधबार विमानस्थलको अवलोकन गर्न गएका गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसामु परियोजनाका निर्देशक विनेशराज मुनकर्मीले भने, ‘मन्त्रिपरिषद्लाई छिटो ईआईए गर्नको लागि अनुरोध गरिएको र मन्त्रिपरिषद्ले ईआईए गर्न स्वीकृत गरेकोमा पुरक ईआईए गर्न थप समय लाग्ने भएकालेले त्यसका सर्तहरु नै मन्त्रिपरिषद्ले हटाउनुपर्ने देखिन्छ।’

यता, पोखरा–१४ मै रहेको ल्याण्डफिल साइट अन्यत्र नसारिए नयाँ विमानस्थलबाट जहाज उडाउन मिल्दैन। चिल र गिद्ध विमानमा ठोक्किने सम्भावनालाई मध्यनजर गर्दै हवाइ उड्ड्यन कार्यालयले पोखरा महानगरलाई ल्याण्डफिल साइट हटाउन ताकेता गरेपनि महानगर तातेको छैन। अहिले पनि पोखरा–१४, बाच्छेबुडुवामा फोहर फाल्न रोकिएको छैन। महानगरले वैकल्पिक ल्याण्डफिल साइट निर्माण थालेकै छैन। 

पोखरा महानगरपालिकाको सरसफाई शाखाका सम्बन्धित कर्मचारी तथा हवाइ उड्डयन एसिया प्यासिफिक वन्यजन्तु तथा चरा नियन्त्रण कार्यक्रमका अध्यक्ष तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशकसहितको टोलीबाट पोखरा महानगर ३३ स्थित रङ्गेडाँडा र सो भन्दा दक्षिण क्षेत्रमा स्थलगत निरीक्षण एवम् अवलोकन गरी ल्याण्डफिल्ड साइटको लागि उपयुक्त रहेको भन्दै पोखरा महानगरलाई सिफारिस गरिए पनि काम नभएको प्राधिकरणका कन्सल्ट्यान्ट इञ्जिनियर भुपेन्द्र गौचनले बताए । 

विमानस्थल निर्माणले गति लिइरहँदा यहाँ अर्को समस्या देखिएको छ। चिनियाँ सरकारको सहयोगमा निर्मित सेती नहरको पानी सोझै विमानस्थल क्षेत्रमा पस्दा बर्खामा दैनिकजसो समस्या निम्तने गरेको छ। 
पहिला विमानस्थलभन्दा माथिको कुँडहर फाँटमा बस्ती थिएन। खेतमा लगाइएको पानी छिरल्लिएर तलतिर बग्थ्यो। अहिले अवस्था त्यस्तो छैन। नहरको पानी कसैलाई चाहिएकै छैन। पानी खेतमा जाँदैन, सोझै नहरबाट सेतीमा झर्छ। 

‘विमानस्थलको उत्तरतर्फको करिब ५ सय हेक्टर जग्गा र नहरको पानी विमानस्थल क्षेत्रमा बाढी बनेर आउँदा बनेका नहर र संरचना भत्केका छन्, जग्गा पनि सेतीमा खस्दै गएको छ’ ,परियोजना प्रमुख मुनाकर्मीले भने, ‘बर्खाको पानीको निकास नहुनु, पृथ्वी राजमार्गको ढलको व्यवस्थापन नगरिनुले समस्या भएको छ, अब बर्खे पानी व्यवस्थापनको लागि संघीय सरकारले नै सिंचाइ कार्यालयलाई निर्देशन दिनुपर्छ।’

सबैको कुरा सुनिसकेपछि गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले विमानस्थल निर्माणमा देखिएका समस्या सल्टाउन संघीय सरकारसँग कुरा गरिने प्रतिवद्धता व्यक्त गरे। उनले विमानस्थलको निर्माणमा देखिएको अवरोध हटाउन प्रदेश सरकारले सक्दो प्रयत्न गर्ने पनि बताए। 

विमानस्थल अहिले ३८ सय ९९ रोपनी क्षेत्रफलमा फैलिएको छ। विमानस्थलको रनवे, ट्याक्सी वे, एप्रोन, पार्किङ र ह्याङ्गर एप्रोन, बत्ती जडान भइसकेको छ भने भित्री बाटोको काम पनि ७० प्रतिशत सकिएको छ। विमानस्थलको टर्मिनल भवन तयार छ। सबै भवनहरूको सजावट पनि भइरहेको विमानस्थलले जनाएको छ।

असोज १३, २०७८, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .