कारोबार


नासाले १५ र १६ गते तेस्रो मोटरसाइक्लिङ सम्मेलन गर्ने

नासाले १५ र १६ गते तेस्रो मोटरसाइक्लिङ सम्मेलन गर्ने

नेपालखबर
असोज १४, २०७८ बिहिबार १५:८, काठमाडौँ

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा)को आयोजनामा यही असोज १५ र १६ गते तेस्रो मोटरसाइक्लिङ्ग सम्मेलन काठमाडौँमा हुने भएको छ। 

सुरक्षा, दिगोपना र दुईपांग्रे भ्रमण शीर्षकमा हुने सो सम्मेलनमा माउन्टेन स्पोर्ट्स फेडेरेसनको संयोजन तथा फेडेरेसन इन्टरनेसनल डे मोटरसाइक्लिज्म र नेपाल पर्यटन बोर्डको सहयोग तथा प्रमोसन रहने नासाले जनाएको छ। 

कार्यक्रममा सुरक्षा लुब्रिकेन्टको मुख्य प्रायोजन हुनेछ।  

नेपालमा मोटरसाइकल र स्कुटरको संख्या ३० लाखभन्दा ज्यादा रहेको, तिनको सुरक्षा र त्यसबाट हुने फाइदाको बारेमा एकीकृत धारणा बन्न नसकेको अवस्थामा सम्मेलनमा बृहत् छलफल गरिनेछ। 

सम्मेलनमा मोटरसाइकल सुरक्षा, मोटर साइकलमार्फत पर्यटन प्रवर्द्धन, क्षेत्रीय इभेन्ट मार्फत टु ह्विल टुरिङ, महिला सशक्तीकरणको लागि मोटरसाइकल, पर्यटन बोर्ड र साहसिक पर्यटनमा सहकार्यलगायतबारे छलफल हुनेछ।  

सन् २०१७ मा पहिलो पटक सुरु गरिएको मोटरसाइकल कन्फ्रेन्सको यो तेस्रो संस्करण हो, जसको दोस्रो संस्करण २ वर्ष अगाडि भएको थियो।  

सम्मेलनमा राष्ट्रिय खेलकुद परिषदका सदस्य तथा माउन्टेन स्पोर्ट्स फेडेरेसनका अध्यक्ष गोविन्द भट्टराई, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर, ट्रयाक्स एन जी ओ नयाँदिल्लीकी रजनी गान्धी, पुत्रा युनिभर्सिटी मलेसियाका डा. कुलान्थान मणि, फिमका डाइरेक्टर डामिआनो जमानाले आ–आफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन्।

 त्यसैगरी, नेपाल पर्यटन बोर्डका सदस्य न्वाङ्ग निमा शेर्पा, नासा नेपालका महासचिव सुसिल तण्डुकार, सचिव सन्तोष न्यौपाने , प्रमोद श्रेष्ठ गुफी तथा विनोद तन्डुकार र विमा नेपालको समेत प्रस्तुति रहनेछ।

टु ह्विल टुरिङका व्यवसायी र गाइड, पर्यटन व्यवसायी, राइडर तथा विभिन्न ट्राभल एजेन्सीका संचालकहरु तथा नासा नेपालका सदस्यहरु सहभागी हुने सो सम्मेलनले नेपालको दुई पांग्रे भ्रमण र एड्भेन्चर स्पोर्ट्समा नयाँ आयाम थप्ने विश्वास लिइएको छ।

सम्मेलनको पहिलो सत्रमा नेपालमै पहिलो पटक टुरिङ्ग मार्शलको तालिम दिइनेछ र आगामी दिनमा पर्यटन बोर्डको सहयोगमा परिचालन गरिने नासाले जनाएको छ।

कार्यक्रमको अन्तमा नेपालका दुई दर्जन दुईपांग्रे भ्रमण गन्तव्य समेत सार्वजनिक गरिनेछ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .