ad ad

कारोबार


कोरोनाको खोप बेचे, अर्बपति बने

कोरोनाको खोप बेचे, अर्बपति बने

नेपालखबर
असोज २७, २०७८ बुधबार ७:४५, काठमाडौँ

सन् २०१९ को अन्त्यतिर सुरु भएको हो कोरोनाको असर। विश्व स्वास्थ्य संगठनका अनुसार सुरुमा चीनमा कोरोना भाइरस देखिएको थियो। 

यसलाई नियन्त्रणमा राख्न चीनलाई समेत निकै हम्मे हम्मे प¥यो। तर भाइरस विश्वभर फैलिन थाल्यो। लाखौँले ज्यान गुमाए। झण्डै एक वर्षपछि यसविरुद्धको खोप विकास गरियो। र, यही खोप विकास र बिक्री गर्ने कम्पनीका अधिकारीहरुले राम्रै आम्दानी गरे। 

यसरी खोप बेचेर उनीहरुले आफूलाई अर्बपतिका रुपमा उभ्याए। खासगरी मोडर्ना, फाइजरलगायत कम्पनीका सीईओ, संस्थापकहरु स्वास्थ्य क्षेत्रका अर्बपतिमा गनिनपुगेका छन्। 

अक्सफाम इन्टरनेशनलको गत मेको एक रिपोर्टअनुसार कोरोना महामारीको सुरुतिरै कम्तीमा नौ जना अर्बपतिको रुपमा उदाएका छन्। यी नौ अर्बपतिको कुल सम्पत्ति नै झण्डै २० अर्ब डलर रहेको छ। यसबाहेक थप आठ जना पहिलेदेखि नै अर्बपति रहेकाहरुको समेत सम्पत्ति ह्वात्तै बढेको अक्सफामको रिपोर्टमा उल्लेख छ।  

कसको कति सम्पत्ति? 


स्टेफेन ब्यान्सेल (९ अर्ब ८० करोड डलर) 
ब्यान्सेल क्याम्ब्रिज म्यासाचुसेट्समा रहेको बायोटेक कम्पनी मोडर्नाका प्रमुख कार्यकारी (सीईओ) हुन्। यो कम्पनीले कोरोना महामारीविरुद्धको खोप विकास गरेको छ। 

उनी सन् २०११ म मोडर्नाको सीईओ बनेका थिए। कम्पनीमा उनको आठ प्रतिशत सेयर स्वामित्व रहेको छ। मोडर्नामा जोडिनुअघि ब्यान्सेल फ्रेन्च डायग्नोष्टिक कम्पनी बायोमेरिक्सका सीईओ थिए। उक्त कम्पनी फ्रेन्च अर्बपति एलेन मेरिक्सले स्थापना गरेका थिए। 

मोडर्नाको कोरोनाविरुद्धको खोपले सन् २०२० डिसेम्बरमा आकस्मिक प्रयोगका लागि फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनबाट अनुमति पाएको थियो। मोडर्नाचाहिँ सन् २०१० मा स्थापना भएको थियो भने त्यसको आठ वर्षपछि सन् २०१८ मा पब्लिक कम्पनी बनेको थियो। यसले औषधिहरु र खोपहरु विकास गर्छ।

यही असोजको फोर्ब्सको ताजा तथ्यांकअनुसार ४९ वर्षीय ब्यान्सेलसँग ९ अर्ब ८० करोड डलर सम्पत्ति छ। उनी फोर्ब्स म्यागजिनको ६६५औँ अर्बपति हुन्। 

उगुर साहिन (९ अर्ब ६० करोड डलर) 
साहिन जर्मन बायोटेक कम्पनी बायोएनटेकका सहसंस्थापक र सीईओ हुन्। उनकै नेतृत्वमा कम्पनीले अमेरिकी कम्पनी फाइजरसँग मिलेर अमेरिकामा कोरोनाविरुद्धको पहिलो खोप विकास गर्यो। सन् २०२० को सुरुतिर कोरोनाविरुद्धको भ्याक्सिन विकासका लागि बायोएनटेकको नेतृत्व गरे। 

सन् २०२० मार्चमा फाइजर र बायोएनटेकबीच साझेदारी भयो। दुई कम्पनीले मिलेर बनेको फाइजर खोपले डिसेम्बरमा अनुमति पाएको थियो। टर्कीमा जन्मिएर जर्मनीमा हुर्किएका साहिनको बायोएनटेकमा १७ प्रतिशत सेयर स्वामित्व छ। बायोएनटेक सन् २०१९ अक्टोबरमा नास्डाकमा पब्लिक कम्पनीमा गएको थियो।

सन् २००१ म साहिन र उनकी श्रीमती ओजलेम ट्युरेसीले गेनिम्ड फर्मास्युटिकल्स सहसंस्थापना गरेका थिए। पछि एस्टेलास फर्माले सन् २०१६ मा गेनिम्डलार्य ४६ करोड डलरमा खरिद गर्यो। त्यसपछि सन् २००८ मा यही दम्पतीले बायोएनटेकको स्थापना गरेका थिए। 

टिमोथी स्प्रिन्जर (४ अर्ब ४० करोड डलर) 
स्प्रिन्जर एक इम्युनोलोजिस्ट र हार्वर्ड मेडिकल स्कुलमा बायोलोजिकल केमिस्ट्रइी र मोलिक्युलर फर्माकोलोजीका प्राध्यापक हुन्। उनी मोडर्नाका संस्थापक लगानीकर्ता हुन्। उनले सन् २०१० मा कम्पनीमा ५० लाख डलर लगानी गरेका थिए। कम्पनीमा उनको साढे ३ प्रतिशत सेयर रहेको छ। 

यसबाहेक स्प्रिन्जरको सेलेक्टा बायोसाइन्सेज, स्कलर रक र मोर्फिक थेराप्युटिकमा पनि सेयर स्वामित्व छ। एनले सन् १९७७ मा हार्वर्डमा सहायक प्राध्यापकको रुपमा अध्यापन सुरु गरेका थिए। सन् १९९३ मा उनले ल्युकोसाइट नामक बायोटेक कम्पनी स्थापना गरे भने सन् १९९८ मा सार्वजनिक कम्पनी बनाए। त्यसको अर्को वर्ष उनले कम्पनी मिलेनियम थेराप्युटिकलाई ६३ करोड ५० लाख डलरमा बिक्री गरे। उनीसँग अहिले ४ अर्ब ४० करोड डलर सम्पत्ति छ। 

नाउबार अफियान (३ अर्ब ७० करोड डलर) 
अफियान क्याम्ब्रिज मासका संस्थापक तथा प्रमुख कार्यकारी हुन्। यसबाहेक उनी बायोटेक कम्पनी मोडर्नाका सहसंस्थापक र प्रमुख पनि हुन्। कोरोनाविरुद्धको खोप विकासपछि मोडर्नाको चर्चा चुलियो। आफ्नो जीवनकालमा उनले ७० भन्दा धेरै पब्लिक र प्राइभेट हेल्थकेयर र लाइफ साइन्सेज कम्पनी सुरु गर्न मद्दत गरे। 

आर्मेनियन परिवारमा सन् १९६२ मा लेबनानको बेरुतमा जन्मिएका उनी र उनको परिवार लेबनानको गृहयुद्धका बेला सन् १९७५ मा मोन्ट्रियल बसाइ सर्यो। मोडर्नामा सेयर हुनुका बाबजुद उनीसँग अमेरिकामा रहेका दर्जन बढी पब्लिक कम्पनीहरुमा पनि सेयर रहेको छ। फोर्ब्सका अनुसार उनीसँग ३ अर्ब ७० करोड डलरबराबरको सम्पत्ति छ। 

हुवाँ लोपेज–बेल्मोन्टे लोपेज (१ अर्ब ८० करोड डलर) 
लोपेज म्याड्रिडमा रहेको बायोटेक फर्म ल्याबोरेटोरिज फर्मास्युटिकोज रोभीका बोर्ड प्रमुख थिए। यही वर्ष जुलाईमा उनको मृत्यु भइसकेको छ। त्यस अवधिसम्म उनी १ अर्ब ८० करोड डलरका मालिक थिए। 

उनका छोरा जुआन लोपेज बेलमोन्टे एन्सिनाका प्रमुख कार्यकारी थिए। 

झु ताओ (१ अर्ब ३० करोड डलर) 
झु क्यानसिनो बायोलजिक्सका प्रमुख वैज्ञानिक अधिकृत हुन्। फोर्ब्सका अनुसार यो वर्षको गत अप्रिलसम्म उनीसँग १ अर्ब ३० करोड डलर सम्पत्ति रहेको छ। उनको कम्पनीले खोपजन्य उत्पादन आपूर्ति गर्छ। खोप अनुसन्धानमा उनलाई मुख्य व्यक्ति मानिन्छ। 

क्वि डोङ्सु (१.२ अर्ब डलर) 
उनी पनि क्यानसिनो बायोलजिक्सकै सहसंस्थापक र वरिष्ठ उपाध्यक्ष हुन्। गत अप्रिलसम्म उनको सम्पत्ति १.२ अर्ब डलर रहेको फोर्ब्सले जनाएको छ। उनले क्यानडामा अध्ययन गरेका थिए। 

माओ हुईहुवा (१ अर्ब डलर) 
माओ पनि क्यानसिनो बायोलजिक्सकै सहसंस्थापक र वरिष्ठ उपाध्यक्ष हुन्। सन् २००९ मा उनीहरुले चीनको टियानजिनमा क्यानसिनोको स्थापना गरेका थिए। उनीसँग गत अप्रिलसम्म १ अर्ब डलर सम्पत्ति रहेको फोर्ब्सले जनाएको छ। 

जसको सम्पत्ति बढ्यो 
यसअघि नै अर्बपति रहेका थप ८ जनाको भने कोरोना कालमा झनै सम्पत्ति बढेको अक्सफामले जनाएको छ।

त्यसमा झेईफेई बायोलजिनकल प्रोडक्ट्सका प्रमुख जियाङ रेन्शेङ र उनको परिवार, सेरम इन्स्टिच्युट अफ इन्डियाका संस्थापक साइरस पुनवाला, सिनोफार्मका छि पिङ, झेईफेईकै सहसंस्थापक वु गुआनजिङ, लगायतको सम्पत्ति सन् २०२० को तुलनामा सन् २०२१ मा बढेको देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .