काठमाडौंको चाबहिलस्थित तरकारी तथा फलफूल बजारमा पनि विद्युतीय कारोबार गर्ने व्यवस्था गरिएको छ।
आइतबार एक कार्यक्रमको आयोजना गरी सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले क्यूआर कोड हस्तान्तरण गरेसँगै सो बजारमा पनि विद्युतीय भुक्तानी गर्ने व्यवस्था गरिएको हो। यो व्यवस्थासँगै व्यापारी र उपभोक्ता दुवैले सहज ढंगले मालसामान खरिद गर्न र गराउन सजिलो भएको प्रमुख कार्यकारी अधिकृत शर्माले बताए। उनले यसले पारदर्शिताको काम पनि गर्ने भएकाले लोन लिन चाहने व्यापारीहरूलाई पनि बैंकले सहजै विश्वास गर्न सक्ने वातावरण बन्ने स्पष्ट पारे।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शुद्ध कुमार डंगोलले सो तरकारी तथा फलफूल बजारमा पनि विद्युतीय कारोबारबाट भुक्तानी गर्ने काम सुरु भएसँगै नगद बोकेर हिँड्नुपर्ने अवस्थाको अन्त्य भएको बताए। उनले विद्युतीय कारोबारले खरिद बिक्रीको कामलाई सजिलो बनाइ दिएको पनि स्पष्ट पारे।
यसैबीच, तरकारी किन्न आएका ग्राहकहरुले पनि विद्युतीय कारोबारबाट भुक्तानी गर्ने सो व्यवस्थाले आफूहरुलाई सहज बनाइ दिएको प्रतिक्रिया दिएका छन्। तरकारी किन्नका लागि सो बजारमा पुगेका सफल श्रेष्ठले विद्युतीय भुक्तानी गर्ने सो कारोबारले आफूहरुलाई धेरै सजिलो बनाई दिएको बताए।
उनले पैसा हराउने झन्झट पनि नहुने भन्दै सो तरकारी बजारमा विद्युतीय कारोबारका लागि क्यूआर कोडको व्यवस्था गरिदिएकोमा सनराईज बैंकलाई धन्यवाद समेत दिए। त्यसैगरी अर्की ग्राहक सुवानी घिमिरेले विद्युतीय भुक्तानीबाट सो बजारमा तरकारी किन्न पाउने व्यवस्थाले आफूहरुलाई सहज बनाइदिएको बताइन्।
सनराईज बैंकले हालसम्म १० हजार भन्दा बढी व्यापारिक केन्द्रमा विद्युतीय भुक्तानीका लागि क्यूआर कोडको व्यवस्था गरिसकेको छ। नगद कारोबारलाई सहज बनाउन आफूहरुले विद्युतीय कारोबारका लागि आवश्यक प्रविधि भित्र्याउन जोड दिएको बैंकका प्रमुख कार्यकारी अधिकृत शर्माले बताए।
Shares
प्रतिक्रिया