हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले परीक्षण गरिरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले बताएका छन्।
सरकारको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनका क्रममा सचिव राउतले नेपाली सेना परीक्षण उत्पादन गरिरहेको बताएका हुन्। सरकारले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो।
‘२०६९ माघ १२ गते नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट खारेजीमा गएको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको लागि परीक्षण उत्पादन गर्नको लागि नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ असार १८ गतेको बैठकबाट सैद्धान्तिक स्वीकृति प्राप्त भएको छ,’ सचिव राउतले भने, ‘नेपाल सरकारको यो स्वीकृति प्राप्त पश्चात अर्थ मन्त्रालयबाट बजेटको पनि निकासा भइसकेको हुनाले नेपाली सेनाबाट परीक्षण उत्पादनको कार्य अघि बढिरहेको छ।’
सरकारको पुनः सञ्चालन गर्ने निर्णयसँगै अर्थ मन्त्रालयबाट बजेट निकास भइसकेको पनि सचिव राउतले जानकारी दिए। पछिल्लो समयमा सात वटा बन्द भएका तथा रुग्ण उद्योगको सम्पत्ति र दायित्वको मूल्यांकन कार्य (डीडीए) रिपोर्ट बनाउने काम भइरहेको उनले बताए। कसरी सञ्चालन गर्ने भन्नेबारे डीडीए रिपोर्ट आएपछि मात्रै तय हुने उनको भनाइ छ।
‘पछिल्लो समयमा सात वटा बन्द भएका अथवा रुग्ण उद्योगहरूको यो सम्पत्ति तथा दायित्वको मूल्यांकनको कार्य डीडीए भन्छौं हामी त्यसलाई, यो काम अहिले जारी रहेको छ। त्यो डीडीएको रिपोर्ट आए पश्चात यसको सञ्चालनको मोडालिटी के कस्तो हुने भन्नेकुरा सरकारले तय गरेर यसलाई अगाडि लाने क्रममा छौँ,’ उनले भने।
त्यस्तै, मन्त्रिपरिषद्बाट उदयपुर सिमेन्ट उद्योग लिमिटेडको चुनढुङ्गा खानी र रातो माटो खानीको लाइसेन्सको अवधि थप्ने निर्णय भएको उनले बताए।
‘अहिले नेपाल सरकार मन्त्रिपरिषद्बाट उदयपुर सिमेन्ट उद्योग लिमिटेडको चूनढुङ्गा खानी र रातो माटो खानीको जुन लाइसेन्सको अवधि सकिएको थियो, त्यो लाइसेन्सको अवधि लाइसेन्स प्रदान गर्नको लागि मन्त्रिपरिषद्बाट निर्णय भइसकेको छ,’ उनले भने।
Shares

प्रतिक्रिया