साताको तेस्रो कारोबार दिन सेयरबजारमा पुनः गिरावट देखिएको छ। मंगलबार कारोबार मापन गर्ने नेप्से सूचक शून्य दशमलव ८१ अंकले घटेको हो। आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि शून्य दशमलव ३९ अंकले घटेको छ।
कुल १ सय ६२ कम्पनीको कारोबार भएकामा १० लाख कित्ता सेयर बिक्री भएका छन्। बिहान ११ बजेदेखि ३ बजेसम्म आज ३ हजार ९ सय ७३ पटकको खरिदबिक्रीपछि सेयरबजारमा आज २८ करोड ४४ लाखको कारोबार भएको हो। उक्त कारोबार रकम अघिल्लो दिनको तुलनामा बढी हो। यद्यपि अघिल्लो दिन भने सेयरबजार उकालो लागेको थियो।
११ समूहका कम्पनीको कारोबार भए पनि आज वाणिज्य बैंक, उत्पादन, माइक्रोफाइनान्स र म्युचुअल फन्डबाहेक अन्य सबैको कारोबार सूचक घटेका छन्। आज कारोबार रकममा भने प्रभु बैंक लिमिटेड प्रमोटर सेयरको ३ करोड ९४ लाखको कारोबार भएको छ।
त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनको २ करोड ६३ लाखको, प्रभु बैंकको १ करोड ५६ लाखको, एभरेस्ट बैंक लिमिटेडको १ करोड ४६ लाखको, नबिल बैंकको १ करोड २४ लाखको कारोबार भएको छ। बाँकी कम्पनीको कारोबार करोड पुग्न सकेको छैन।

प्रतिक्रिया