ad ad

कारोबार


डिशहोमको सहयोगमा भरोसा छात्रवृत्ति सुरु, कसले पाउँछन्?

डिशहोमको सहयोगमा भरोसा छात्रवृत्ति सुरु, कसले पाउँछन्?

भरोसा छात्रवृत्ति सुरु गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापा, डिशहोमका कार्यकारी निर्देशक सुदीप आचार्य लगायत


नेपालखबर
पुस १२, २०७८ सोमबार १६:१, काठमाडौँ

डिशहोमको प्रायोजनमा भरोसा छात्रवृत्ति सुरु भएको छ। 

भरोसा छात्रवृत्ति आर्थिक अभावमा पढ्न नपाएका विद्यार्थीलाई लक्षित गर्दै सुरु गरिएको कम्पनीले जनाएको छ। 

भरोसाले २०२१ मा कोभिड महामारीले प्रभाव पारेका करिब ५० विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ। पहिलो वर्ष कोभिड महामारीले आर्थिक हैसियत गुमाएका सातै प्रदेशका विद्यार्थीलाई छनोट गरिने डिशहोमले जनाएको छ। 

डिशहोमका कार्यकारी निर्देशक सुदीप आचार्यले सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यार्थीहरुलाई सहयोग गरिरहेको सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बताए। 

‘धेरै संघ/संस्था हार्डवेयर (पूर्वाधार) लगानी गर्न तयार देखिन्छन् तर सफ्टवेयरमा लगानी गर्दैनन्’, आचार्यले भने, ‘विद्यार्थीको सहयोगका लागि डिशहोमले निरन्तर सहयोग गरिरहेको छ।’

आचार्यले डिशहोमको सामाजिक उत्तरदायित्वबाहेक दाताबाट संकलन भएको रकमले विद्यार्थीलाई सहयोग गर्ने बताए। 

भरोसा छात्रवृत्तिको लागि फ्याक्ट्स नेपालले सहकार्य गरेको छ। जसले गरिबीको रेखामुनि रहेका विद्यार्थी छनोट गर्नको लागि सहयोग गर्नेछ। 

फ्याक्ट्स नेपालका प्रमुख मनिस झाले कुन कुन क्षेत्रका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न सकिन्छ भनेर तथ्यांक संकलन गरी सहयोग गर्ने जनाएका छन्। 

उनले विश्वमा ५४ अर्ब रुपैयाँबराबर थप लगानी गर्नसके सबै बालबालिकाले अध्ययन गर्न पाउने बताए। 

सोमबार काठमाडौंमा आयोजित कार्यक्रम सुरु गर्दै भर्खरै नेपाली कांग्रेसको महामन्त्री निर्वाचित गगन थापाले समाजसँग बालबालिकालाई जोड्न आवश्यक रहेको बताए। उनले कोरोनाका कारण बुबाआमा गुमाएका बालबालिकाहरुको शिक्षामा कुनै बाधा नआओस् भन्ने हेतुले भरोसा छात्रवृत्ति अभियान सुरु गरेको बताए। 

‘यस्तो कुरा एकदमै धेरै मान्छेहरुलाई परेको छ। जसलाई परेको छ, त्यसलाई थाहा हुन्छ। आफ्नो परिवारमा जसले कमाउने मान्छे गुमाएको छ, त्यसको घरमा अरु पनि थुप्रै समस्या हुन्छ। बा,आमासँग मात्रै होइन, समाजसँग पनि घुलमिल हुनुपर्छ। सरकारले आफ्नो ठाउँबाट गर्ने सहयोग छँदै छ’, महामन्त्री थापाले भने, ‘कोरोनाको कारण आमाबुबा गुमाएका वा अभिभावक बिहीन बालबालिकाहरुको अध्ययन नरोकियोस् भनेर पवित्र मनबाट शुरु गरेको हो। समाजप्रति भरोसा ल्याउनको निम्ति यो अभियान सुरु गरिएको हो। पारदर्शी तरिकाबाट साथीहरुले चलाउनु हुनेछ। नेपालीहरुले आफैँ मिलेर पनि यस्तो अभियान चलाउन सक्छौँ भन्ने कुरा देखाउने पनि हो।’

यो छात्रवृत्ति पाउनको लागि कोभिड महामारीबाट प्रभावित भई विद्यालय जान नपाएका जुनसुकै उमेर समूह वा क्षेत्रका विद्यार्थीले डिशहोमको कार्यालयमा आवेदन दिन सक्नेछन्। त्यस्ता विद्यार्थीलाई डिशहोमका नेटवर्कमार्फत छात्रवृत्ति उपलब्ध गराइनेछ। छात्रवृत्ति विद्यालयको मागको आधारमा मासिक बढीमा ५ हजार उपलब्ध गराउने जनाएको छ। 

विद्यार्थी काठमाडौंबाहिर सामुदायिक विद्यालयमा अध्ययन गरिरहेको हुनुपर्ने छ। विद्यालय तथा कलेजमा अध्ययन गर्ने विद्यार्थीले वार्षिक २ लाख बढी शुल्क आउने गरी भर्ना हुन पाउनेछैनन्।

भरोसा छात्रवृत्तिको सञ्चालन सांसद तथा कांग्रेस महामन्त्री गगन थापा, डिशहोमका कार्यकारी निर्देशक सुदीप आचार्य, फ्याक्ट नेपालका मनिस झा, चारु चन्द र जिम्मी लामाले गर्नेछन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .