कारोबार


विकास खर्चमा विरोध खतिवडा अब्बल, देवेन्द्र पौडेलको अवस्था नाजुक

१० मन्त्रालयको औसत विकास खर्च २१ दशमलव १० प्रतिशत
विकास खर्चमा विरोध खतिवडा अब्बल, देवेन्द्र पौडेलको अवस्था नाजुक

मन्त्रीद्वय देवेन्द्र पौडेल र विरोध खतिवडा।


दीपक भट्ट
फागुन ३०, २०७८ सोमबार १६:३८, काठमाडौँ

चालू आर्थिक वर्षको विकास खर्च २० प्रतिशत हाराहारीमा मात्रै भएको छ। 

महालेखा नियन्त्रकको कार्यालयका अनुसार अहिले विकास निर्माणका लागि छुट्याएको कुल बजेट ३ खर्ब ७८ अर्ब रुपैयाँमा अहिलेसम्म जम्मा ७६ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ। 

यसरी हेर्दा समग्र विकास निर्माणमा छुट्याएको रकम चालू आर्थिक वर्षको ८ महिना बितिसक्दा खर्च प्रणालीबाट अघि बढ्न नसकेको देखिन्छ। 

विकासे मन्त्रालयको प्रस्तुति नै कमजोर रहेको देखिएको हो। कुनै पनि मन्त्रालयले अहिलेसम्म ३१ प्रतिशतभन्दा माथि विकास खर्च गर्नसकेको देखिँदैन। 

सरकारले विकासे मन्त्रालयको सूचीमा राखेकाहरुमध्ये सबैभन्दा विकास बजेट खर्च गर्नेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय देखिएको छ। विरोध खतिवडाले हाँकिरहेको यस मन्त्रालयले  विकास खर्च ३१ दशमलव २८ प्रतिशत रहेको छ। 

त्यस्तै दोस्रोमा सहरी विकास मन्त्रालय देखिएको छ। रामकुमारी झाँक्रीले सम्हालेको यस मन्त्रालयले हालसम्म विकास खर्च २३ प्रतिशत गरेको अर्थ मन्त्रालयले जनाएको छ। 

अर्थ मन्त्रालयको तथ्याङ्कअनुसार यस मन्त्रालयले गत वर्षको तुलनामा यो वर्ष विकास खर्च भने कम नै गरेको छ। गत वर्ष यो समयसम्ममा ३२ दशमलव ८१ प्रतिशत खर्च भइसकेको थियो। 

तेस्रोमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय देखिएको छ। यस मन्त्रालयले हालसम्म २१ दशमलव २७ प्रतिशत पुाजिगत खर्च गरेको देखिएको छ। 

चौथो नम्बरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय छ। रेणु यादवले हाँकिरहेको यस मन्त्रालयले २० दशमलव ६९ प्रतिशत खर्च गरेको देखिएको हो। जुन गत वर्षको लक्ष्यको तुलनामा ज्यादै न्यून खर्च भएको अर्थ मन्त्रालयले बताएको छ। 

पाँचौँ स्थानमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० दशमलव १७ प्रतिशत पुँजीगत खर्च गरेको छ। राजेन्द्र प्रसाद श्रेष्ठले हाँकिरहेको यस मन्त्रालयले गत वर्षको लक्ष्यको तुलनामा भने केही बढी खर्च गरेको देखिएको छ। 

छैटौँ स्थानमा संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्न्त्रालय देखिएको छ। यस मन्त्रालयले १७ दशमलव ५७ प्रतिशत खर्च गरेको देखिएको हो। प्रेम आलेले हाँकिरहेको यस मन्त्रालयले गत वर्षको लक्ष्यको तुलनमा निकै कम खर्च गरेको हो। 

सातौँ नम्बरमा खानेपानी मन्त्रालय देखिएको छ। उमाकान्त चौधरीले हाँकिरहेको यस मन्त्रालयले १६ दशमलव ७८ प्रतिशत मात्रै विकास खर्च गरेको छ। 

त्यस्तै आठौँ नम्बरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय देखिएको छ। महिन्द्रराय यादवले हाँकिरहेको यस मन्त्रालयले हालसम्म १५ दशमलव ४१ प्रतिशत मात्रै विकास खर्च गरेको देखिएको छ। 

नवौँ नम्बरमा वन तथा वातावरण मन्त्रालय देखिएको छ। रामसहाय प्रसाद यादवले हाँकिरहेको यस मन्त्रालयले हालसम्म १४ दशमलव ८६ प्रतिशत मात्रै खर्च गरेको हो। यस र सबैभन्दा कमजोर विकास खर्च गर्नेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय रहेको छ। देवेन्द्र पौडेलले हाँकिरहेको यस मन्त्रालयले हालसम्म ७ दशमलव ४९ प्रतिशत मात्रै खर्च गरेको छ। 

जब कि गत आर्थिक वर्ष यही अवधिमा यस मन्त्रालयले विकास खर्च २८ दशलमव ४१ प्रतिशत गरेको थियो। 

यी १० मन्त्रालयको औसत विकास खर्च २१ दशमलव १० प्रतिशत भएको छ। त्यस्तै समग्र विकास खर्चको औसत दर भने २४ दशमलव ०७ प्रतिशत रहेको अर्थ मन्त्रालयले बताएको छ। 

चालू आर्थिक वर्षमा सबै मन्त्रालय तथा विभिन्न निकायहरुले संघीय कुल बजेटको ४१ दशमलव २१ प्रतिशत खर्च गरेका छन्। जुन ६ खर्ब ७२ अर्ब रुपैयाँ रहेको अर्थ मन्त्रालयले तथ्याङ्कले देखाएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .