ad ad

कारोबार


खुकुरी रमको चुलिँदो लोकप्रियता : १३ देशमा निर्यात, माग धान्नै धौ-धौ

खुकुरी रमको चुलिँदो लोकप्रियता : १३ देशमा निर्यात, माग धान्नै धौ-धौ

नेपालखबर
जेठ १३, २०७९ शुक्रबार १३:१३, काठमाडौँ

नेपाली मदिरा ब्रान्ड खुकुरी रमले मदिरा पारखीमाझ छुट्टै पहिचान बनाएको छ। सोही कारण यो रम नेपालमा मात्रै नभई विदेशमा समेत निर्यात भइरहेको छ। 

खुकुरी रम नेपालको पुरानो मदिरा ब्रान्ड हो। लामो व्यावसायिक इतिहास बोकेको यो ब्रान्ड विश्वका १३ देशमा बजार विस्तार गर्न सफल भइसकेको छ। खुकुरी नेपालको उद्योगमै बनेर विदेश निर्यात हुन्छ। निर्यातको माग पूरा गर्न नै हम्मे हम्मे परेको बताउँछन् नेपाल डिस्टिलरिजका महाप्रबन्धक सुभाष लामिछाने। 

खासगरी खुकुरी रमको ट्रिपल एक्स, खुकुरी स्पाइसी, खुकुरी कोरोनेसन विदेश निर्यात हुने गरेको छ। 

यी देशमा हुन्छ निर्यात
हङकङ, जापान, बेलायत, अमेरिका, दक्षिण कोरियालगायत १३ देशमा खुकुरी रम बढी बिक्री हुने गरेको कम्पनीले जनाएको छ। खुकुरीको मुख्य बजार नेपाल भए पनि पछिल्लो समय बाहिरका बजारमा माग बढ्दो छ। 

‘खुकुरी रम बाहिरको बजारमा एकदमै ठूलो डिमान्ड छ’, नेपाल डिस्टिलरिजका महाप्रबन्धक लामिछाने भन्छन्, ‘बाहिरी बजारमा मागअनुसार पुर्याउनसक्ने अवस्थामा छैनौँ।’

सन् १९५९ मा जमसेद जी कन्ट्रयाक्टरले दि नेपाल डिष्ट्रलरीको स्थापना गरेका थिए। खुकुरी रम १९९६ बाट समुद्र पार गर्दै बेलायतमा निर्यात सुरु भयो। त्यसको २ वर्षमै जर्मनीमा पनि बजार विस्तार गर्न कम्पनी सफल रह्यो।​

नेपालमा मदिरा बजारमा ल्याउँदा थुप्रै कर तिर्नुपर्छ। बाहिर कुनै देशमा नेपालभन्दा कम छ भने कुनै देशमा नेपालभन्दा बढी पनि छ। तर विदेशमा निर्यात गर्दा त्यहाँको खरिदकर्ताले तिर्ने भएकाले खुकुरी रमलाई त्यसको भार छैन। 

खुकुरी रम विदेश निर्यात गर्न खासै झमेला खासै नरहेको लामिछाने बताउँछन्। 

‘हामीले उत्पादन गर्न सकेको मागअनुसार निर्यात गरिरहेका छौँ। बाहिरको बजारबाट राम्रो प्रतिक्रिया आउने गरेको छ’, लामिछाने भन्छन्, ‘कम्पनीलाई विदेशमा रहेका ग्राहकहरुले इन्टरनेटको माध्यमबाट प्रतिक्रिया तथा सुझाव दिइरहेका हुन्छन्।’

तत्कालीन राजाले लन्च गरेको मदिरा 
बजारमा चर्चित बन्दै गएको खुकुरी रम ‘नेपाली वीरताको प्रतीक खुकुरी’कै आकारमा १९७४ मा कोरोनेसन रम तत्कालीन राजा वीरेन्द्रले लञ्च गरेका थिए। कोरोनेसनको डिजाइन युनिक छ। 

कम्पनीले ट्रिपल एक्स र कोरोनेसनपछि २००८ स्पाइसी रम बजारमा सार्वजनिक गर्यो। जसले नेपाली टेष्टसहित बजारमा रम ल्यायो। बाहिरको बजारमा ३ वटै रम मन पराउने रहे पनि मुख्य बजार हिस्सा ट्रिपल एक्सको बढी छ।  

जापान र कोरियामा ‘खुकुरी स्पाइस्ड रम’ बढी निर्यात हुने गरेको छ। हाल निर्यात भइरहेका १३ देशबाहेक पनि खुकुरी रमको माग हुने गरेको छ। तर कम्पनीको उत्पादन क्षमताअनुसार अरु देशमा विस्तार गर्न सकिने अवस्था छैन। 

‘कम्पनीको उत्पादन क्षमता बढ्दै गयो भने अरु देशमा पनि निर्यात गर्न थाल्छौँ। बजारको लागि खुकुरी रम परिचित छ’, लामिछाने भन्छन्, ‘चालू आर्थिक वर्षमा थप देशमा विस्तार गर्नसक्ने अवस्था छैन।’​

ट्रिपल एक्सको चुलिँदो लोकप्रियता
खुकुरीले नयाँ अवतारमा केही महिनाअघि मात्रै रम बजारमा ल्याएको थियो। त्यसको पनि राम्रो प्रतिक्रिया पाएको कम्पनीले बताएको छ। 

नेपाल डिस्टिलरिजले दैनिक ३ हजार केससम्म रम उत्पादन गर्न सक्छ।

इक्रा नेपाल रेटिङअनुसार खुकुरी रमले ९५ प्रतिशत आम्दानी खुकुरी ट्रिपल एक्सबाट गर्दै आएको छ। नेपाली रम बजारको ८० प्रतिशत हिस्सा यसैले ओगटेको छ। 

खुकुरी रममा नेपाली ब्रान्ड प्रतिस्पर्धाको रुपमा आइरहेका हुन्छन्। तर विदेशी कुनै पनि ब्रान्ड नेपालमा खुकुरी रमसँग अहिले प्रतिस्पर्धामा छैन।  

‘रम खाने मानिसले विदेशी होइन स्वदेशी खुकुरी रम नै बढी प्रयोग गर्ने गरेका छन्’, उनी भन्छन्, ‘खुकुरी रम जाडोको समयमा ह्वात्तै बढ्छ, बजारको माग पुर्याउन हम्मे–हम्मे पर्छ।’

सातवटा अन्तर्राष्ट्रिय अवार्ड 
नेपाली पहिचानलाई विश्वमा पुर्याएको खुकुरी रमले थुप्रै अन्तर्राष्ट्रिय अवार्ड पाएको छ। खुकुरी रमले ७ अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ। 

कम्पनीले पहिलो खुकुरी रमलाई १९८३ मा इन्टरनेश्नल बेबिडास अल्कोहोलिकासले गोल्ड अवार्ड दिएको थियो। 

२००३ मा अन्तर्राष्ट्रिय रम फेस्टिवल इंकबाट ब्रोन्ज अवार्ड, बेभरेज टेस्टिङ अवार्ड प्राप्त गरेको थियो। 

लण्डन स्पिरिट प्रतियोगिता २०२० को स्वर्ण पदकबाट विभूषित भएको नेपालको आफ्नै मौलिक मदिरा खुकुरी रमले २०२१मा बेस्ट स्पाइस गोल्ड मेडल समेत प्राप्त गरिसकेको छ। 

कम्पनीका सुरुवाती लगानीकर्ता बारम्बार परिवर्तन हुँदै आएका छन्। हाल नेपाल डिस्टिलरिजमा गैरनेपाली सरद टिबडेवाल र वसन्त चौधरीको स्वामित्व छ। कम्पनीमा चौधरीको २० प्रतिशत सेयर छ। 

२०१७ मा कम्पनीले ९२ करोड सञ्चालन आय गरेको थियो। सन् २०२१ सम्म आइपुग्दा यस्तो आय १ अर्ब ५५ करोड बढी पुगेको छ। 

कम्पनीले आफ्नो डिमान्डलाई पूर्ति गर्न २०१८ मा प्लान्टलाई अपग्रेड गरेको थियो। त्योसँगै कम्पनीको आम्दानी समेत बढेको छ। 

सन् २०१८ मा १ अर्ब २४ करोड, २०१९ मा १ अर्ब ४८ करोड र २०२० मा १ अर्ब ११ करोड आम्दानी गरेको इक्रा नेपालले उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .