ad ad

म्यागेजिन


महावीर पुन : साउदी अरब नगएर अमेरिका मोडिए, फर्केर वैज्ञानिक अन्वेषणमा जुटे

महावीर पुन : साउदी अरब नगएर अमेरिका मोडिए, फर्केर वैज्ञानिक अन्वेषणमा जुटे

उमेर सात दशक पुग्ना लाग्दा पनि महावीर पुनको दौडधुप बीसबाइसेको जस्तै छ (तस्बिरः जोनाथन वङ/एससीएमपी)


मीना खड्का
फागुन १४, २०७८ शनिबार २२:३०, काठमाडौँ

म्याग्दीको नागी गाउँमा २०११ साल माघ ९ गते जन्मिएका महावीर पुनको बाल्यकाल हजुरबुबासँग भेडाबाख्रा चराउँदै, वन पाखामा डुल्दै बित्यो। अभाव थियो परिवारमा। मिठो मसिनो खान चाडबाड नै कुर्नुपर्थ्यो।

पढेर के हुन्छ? गाउँमा धेरैले यस्तै सोच्थे। तर, भूतपूर्व बेलायती सैनिक बुबाले उनलाई गाउँकै स्कुलमा भर्ना गरिदिए। 

रोमन अक्षर लेख्न सक्ने उनका बुबा नेपाली पढ्न सक्दैनथे। तर आफ्ना सन्तानलाई पढाउन निकै जोड गरे।

‘१५ वर्ष बेलायती सैनिकका रुपमा मलेसियाको जंगलमा काम गरिरहँदा पढाइको महत्व उहाँले बुझ्नुभएको हुन सक्छ,’ महावीर भन्छन्, ‘बुबाको स्वभाव, व्यवहार र आचरण समाजमा बेग्लै थियो। आफ्ना सन्तानलाई लिएर सबै बाबुआमाको विभिन्न आकांक्षा हुन्छन्। बुबाको पनि मप्रति केही आकांक्षा थियो होला।’

धेरै पढेका शिक्षक थिएनन् गाउँमा। अक्षर चिनेका, अलिअलि ज्ञान भएकाहरुले नै आफूले जानेका कुरा विद्यार्थीलाई सिकाउँथे। त्यसैले स्कुलमा प्रायः खेलेर, रमाइलो गरेर समय बित्थ्यो। 

संसारमा के भइरहेको छ, गाउँमा विरलै खबर पुग्थ्यो। कालोपाटीमा खरिढुंगाले लेखेर ६ कक्षा पास गरेका थिए महावीरले। सात कक्षामा पढ्न थालेपछि मात्रै सिसाकलमले कागजमा लेख्ने मौका पाए। म्याग्दी नागीको हिमाञ्चल निम्न माध्यमिक विद्यालयमा कक्षा सातसम्म सँगै पढेका महावीरका साथीहरू धेरैले पढाइलाई निरन्तरता दिएनन्। 

तर, नपढे पनि दुनियाँ देखेका उनका बुबा कृष्ण पुनलाई लाग्यो– छोरालाई जसरी पनि उच्च शिक्षा पढाउनुपर्छ। त्यसैले उनी छोरालाई लिएर डोको बोकेर चितवनतिर लागे। ६ दिन हिँडेपछि उनीहरु चितवन पुगे।

चितवनमा आठ कक्षामा भर्ना भएपछि पहिलो पटक महावीरले पाठ्यपुस्तक देखे। १३ वर्षको उमेरमा आठ कक्षामा ‘रोमन गोर्खाली’ र ‘नेपाल दिग्दर्शन इतिहास’ नामक दुई वटा किताब पढ्न पाए।

यी किताब उनी जहाँ जाँदा पनि आफैँसँग लिएर जान्थे र मौका पाए पढ्न सुरु गरिहाल्थे। किताब पाए पढिहाल्ने, मेहनत गर्ने बानीले गर्दा कक्षा ८ देखि १० सम्म कक्षामा प्रथम भए महावीर।  

१० कक्षा पढ्दै गर्दा उनले अमेरिकाले पठाएको ‘एपोलो एघार’ नामक रकेट मान्छेसहित चन्द्रमामा पुग्यो भन्ने खबर आश्चर्य मान्दै छिमेकीको रेडियोमा सुने।

‘उति बेला टेलिभिजन र पत्रपत्रिका पनि नपाइने हुनाले फोटो देख्न पाइएन,’ उनी सम्झिन्छन्।

रेडियोमा विज्ञान र प्रविधिका खबर सुन्दा महावीरमा तरंग र उर्जा पैदा हुन्थ्यो।​

चितवनबाटै १२ कक्षा उत्तीर्ण गरेपछि महावीर काठमाडौँ आएर अमृत साइन्स कलेजमा भर्ना। आईएस्सी उत्तीर्ण गरेपछि उनको बीएस्सी पढ्ने इच्छा थियो। तर, कमजोर आर्थिक अवस्था बाधक बनेर खडा भयो।

उनका बुबाले त्यतिञ्जेल छोराको पढाइमा आफ्नो सम्पत्ति सिध्याइसकेका थिए। अब थोरै जग्गा मात्र बाँकी थियो। त्यसैले, १९ वर्षको उमेरमा  आईएस्सी पास महावीर फेरि चितवन झरे। तर यो पटक पढ्न होइन, शिक्षक बन्न।

आफ्नो भविष्य र पढाइ पुरा गर्ने सपना एकातिर र भाइबहिनीलाई पढाउने जिम्मेवारी अर्कोतिर। चितवनको खैरहनी माध्यमिक विद्यालयमा विज्ञान र गणित विषय पढाउन थाले। 

‘विज्ञान विषय पढाउँदा झनै आनन्द आउँथ्यो,’ उनी सम्झिन्छन्। 

पढाएर आफैँले पैसा कमाउन थालेपछि पनि उनले रेडियो किन्ने आँट गर्न सकेनन्। बरु, छिमेकीकै रेडियोमा खबर सुन्थे। बरु विद्यालयका शिक्षक र विद्यार्थीसँग मिलेर देउसीभैलो खेलेको रकम संकलन गरी स्कुलमा विज्ञानको ल्याब बनाए महावीरले।

युवा जोश, महावीरका अनेक योजना थिए। चार दशकअगाडि नेपालमा अहिलेजस्तो निजी कलेज र विश्वविद्यालायहरु थिएनन्। उनलाई लाग्थ्यो, राम्रो शैक्षिक संस्था खोल्न पाए!

तर, सोचेको जस्तो भएन। उनी १२ वर्ष चितवनमै पढाएर बसे। भाइबहिनीको पढाइमा सहयोग गरे। तर, आफूले थप पढ्न पाएनन्।

साउदी अरब जानबाट रोकिए, यसरी अमेरिका मोडिए
अवसर पर्खिरहेका महावीरले सन् १९८९ तिर छात्रवृत्ति पाए। उच्च शिक्षाका लागि अमेरिका जाने अवसर जुर्यो। जतिबेला उनी ३३ वर्षका थिए। 

‘त्यो छात्रवृत्ति पाउन केकस्ता प्रयास गरेको थिएँ भन्ने लामो कहानी छ,’ उनले भने, ‘अमेरिका जान पाउनु जीवनको एउटा महत्वपूर्ण मोड जस्तो लाग्छ।’

खासमा चितवनका तत्कालीन प्रमुख जिल्ला अधिकारीसँग भएको झगडाका कारण उनले अमेरिका पढ्न जाने निर्णय लिएका थिए।

कक्षा १० को परीक्षा चलिरहेको थियो। त्यही बेला सीडीओ परीक्षा हलमा पसे र बिनाकारण शिक्षकहरुलाई गाली गर्न थाले। महावीरले त्यो सहन सकेनन्। उनले सीडीओको मुखेञ्जी विरोध गरे। त्यही निहुँमा ७ दिन थुनियो उनलाई। त्यसपछि महावीरको पढाउने चाहना हरायो। र, उनी काठमाडौँ आए।

जागिर छाडेर काठमाडौँ आएका उनले अब के गर्ने भन्ने केही सोचेका थिएनन्। जागिर खोजे, तर पाएनन्। केही साथीहरू साउदी अरब गएको सुनेका उनले पनि उतै जाने सोच बनाए। तर, साउदी जाने बाटो देखाउने कोही भेट्टाएनन्।

‘यस्तै डेढ वर्ष रनभुल्ल भएर बसिरहेका बेला एकजना साथीसँग भेट भयो। उनैले बरु अमेरिका जान सुझाव दिए। सोही बमोजिम अमेरिकन लाइब्रेरीमा गएर यससम्बन्धी एउटा किताब पढेँ, डकुमेन्ट्री हेरेँ। अनि कसरी जाने भनेर थाहा भयो,’ महावीरले भने, ‘​मलाई अमेरिकामा पढ्न मन लागेको छ। १३ वर्ष पढाएको अनुभव छ। मलाई छात्रवृत्ति दिनुस् भनेर सयौँ युनिभर्सिटीलाई पत्र पठाएँ। र, नेव्रास्का विश्वविद्यालयले मेरो अनुरोध स्वीकार गर्यो।’

अमेरिका जाने तयारी गरिरहँदा महावीरका बुबा बिते। उनी अमिलो मन लिएर अमेरिका गए।

निकै मेहनत गरेर पढेका महावीर अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट स्नातक गरेर सन् १९९२ तिर नेपाल फर्किए। 

म्याग्दीको उही नागी गाउँमा वायरलेस इन्टरनेटको सहज पहुँच पुर्याएपछि महावीरको चर्चा चुलियो। त्यसका लागि उनले सानो मेहनत गरेका थिएनन्।​

सुरुमा उनले करिब एक लाख रुपैयाँ पर्ने कम्प्युटर गाउँमा पुर्याए। त्यसबेला डायलअप इन्टरनेट थियो। यसका लागि टेलिफोन लाइन चाहिन्थ्यो। महावीरको गाउँमा टेलिफोन थिएन। उनले टेलिफोन लाइन पाइन्छ कि भनेर नेपाल दुरसञ्चार प्राधिकरणमा प्रयास गरे। करिब डेढ वर्षसम्म उनी ‘लङ रेन्ज’मा गाउँमा कसरी इन्टरनेट पुर्याउने भनेर प्रयोगमा लागे। त्यसका लागि विभिन्न प्रकारका एन्टेनाको मोडेल विकास गरे। तर, उनको यो प्रयासलाई टेलिकमका इन्जिनियरहरूले पत्याएनन्। 

अन्ततः वायरलेस इन्टरनेट उनले गाउँ पुर्याइछाडे। 

महावीरले नागी गाउँकै आफू सानो हुँदा पढेको विद्यालय पनि सुधार गरे र माध्यमिक स्तरको बनाए। गाउँलेलाई स्वाबलम्वी बन्न सिकाए। उनले सूचना, शिक्षा र आय आर्जनलाई ग्रामीण स्तरसम्म सशक्त रूपमा लग्न सकिने प्रमाणित गरेरै देखाए। 

नेपालको दुर्गम गाउँमा गरेको यस्तो दुर्लभ कार्यका लागि महावीरले म्यागासेसे, पछि जोनाथन बी पोष्टल अवार्ड लगायत दर्जनौँ  पुरस्कार, पदक र सम्मान पाए। तर, अहिले आविष्कार केन्द्रको स्थायित्व निम्ति सरकारबाट यथोचित सहयोग नपाउँदा उनले ती पदक नै लिलामीमा राखेका छन्। सम्मान र पुरस्कारको खासै महत्व देख्दैनन् उनी।​​

हाफप्यान्टमा देखिन्छन्, बीसबाइसेजस्तो सक्रिय छन् 
महावीरसँगै अमेरिका पढ्न गएका धेरै नेपाल फर्केनन्। तर, उनी पढाइ सकिनेबित्तिकै म्याग्दीको नागी फर्किए। र, अहिलेसम्मको आफ्नो कामबाट सन्तुष्ट छन्।

‘केलाई सुख भन्ने केलाई दुःख भन्ने?’ उनी भन्छन्, ‘म सन्तुष्ट छु।’ 

६७ पुगेका महावीर विगतलाई फर्केर हेर्नेभन्दा पनि भविष्यतर्फ केन्द्रित हुन चाहन्छन्। बाँचुञ्जेल समाजका लागि काम गर्नुपर्छ भन्ने उनलाई लाग्छ।

‘आफ्नो लागि सबैले गर्छ तर समाजको लागि गर्नुपर्छ, आत्मसन्तुष्टि पाइन्छ,’ उनी भन्छन्। 

उमेर सात दशक पुग्ना लाग्दा पनि उनको दौडधुप बीसबाइसेको भन्दा कम छैन। जीवनशैली अत्यन्त सरल छ।

प्रायः हाफप्यान्टमा देखिने महावीर भन्छन्, ‘मैले सादा जीवन देखाउनलाई कट्टु लगाएको होइन। कट्टु र चप्पल लगाएर हिँडडुल गर्दा मलाई सजिलो लाग्छ।’

लाग्छ आफु धनी हुने सोच महावीरमा कहिल्यै आएन, तर देश धनी होस् भन्ने उनको सपना छ।

‘व्यक्ति होस् या देश, गरिब भयो भने जसले पनि हेप्छ। कमजोर चिजको महत्व हुँदैन,’ उनी भन्छन्, ‘महत्व नभएको चिजको अस्तित्व हुँदैन। त्यसैले म नेपालको अस्तित्व जोगाउन चाहन्छु।’​

युरोपले ६ सय वर्षअघि कल्पना गरेको शैक्षिक प्रणाली नेपालमा    
उनी अहिले कीर्तिपुरमा रहेको महावीर राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष छन् र, आफैँलाई बिर्सेर लागेका छन्। महावीर राष्ट्रिय आविष्कार केन्द्र २०७६ मा कीर्तिपुरमा स्थापना भएको थियो। 

आविष्कार केन्द्रमा रहेका विद्यार्थीसँग निरन्तर भेटघाट र छलफल गर्दै उनको दिन बित्छ। यहाँ मास्टर्स गरेका देखि थोरै पढेका तथा प्रविधिमा सीप र चासो भएकाहरु पनि भेटिन्छन्। 

देशको शिक्षा प्रणालीप्रति महावीरको ठूलो असन्तोष छ। यो शिक्षा पद्धतिले देशलाई चाहिने जनशक्ति उत्पादन गर्न नसकेको र त्यसैकारण मुलुकको आर्थिक उन्नति नभएको उनको ठम्याइ छ।

‘देशको विद्यमान शिक्षा पद्धतिबाट व्यक्ति, समाज र देशलाई सफल बनाउने विषयमा सोच्ने जनशक्ति उत्पादन भएको छैन,’ उनी भन्छन्, ‘उत्पादित जनशक्ति सामाजिक, आर्थिक सांस्कृतिक तथा वैज्ञानिक रुपमा समय सापेक्ष गतिशील हुन सकेको छैन।’ 

उपयुक्त जनशक्तिको अभावमा प्राकृतिक स्रोतहरुको उपयोग हुन नसकेको उनको भनाइ छ।  

‘नेपालमा भएका सुन, चाँदी, हिरा, मोती, कोइला, पेट्रोलियम पदार्थ लगायतका खानी र खजनाहरुको पहिचान, उत्खनन् र उपयोग हुन सकेको छैन। जल, जमिन, जंगल र जडीबुटीको उपयोग हुन सकेको छैन,’ महावीर भन्छन्, ‘शिक्षा छ तर काममुखी छैन। रोजगारी बिनाको सर्टिफिकेटले के दिन्छ र? राम्रो काम गर्न खोज्दा पनि सरकारले सहयोग गर्दैन।’

त्यसैले शिक्षा व्यवहारिक ज्ञान दिने किसिमको हुनुपर्ने उनी बताउँछन्।

‘डिग्रीको सर्टिफिकेट प्राप्त गरिसकेपछि एउटा नागरिक सीप र ज्ञानयुक्त हुनुपर्छ,’ उनले भने, ‘तर अहिलेको शिक्षा प्रणाली प्रमाणपत्र दिलाउने अवस्थामा मात्र छ। ज्ञान दिएको छ तर बुद्धि, विवेक र सीप दिएको छैन।’

अनुसन्धान र आविष्कारका क्षेत्रमा सुस्ती देखेर महावीर दिक्क छन्। 

‘सुधार्नुपर्ने धेरै छ। नेपालको शिक्षाले एउटा इन्जिनयरिङसम्बन्धी सैद्धान्तिक ज्ञान दिन्छ तर व्यवहारिक प्रयोग गरिँदैन। युरोपले ६ सय वर्षअघि कल्पना गरेको शैक्षिक प्रणाली नेपालमा कायम छ।’

विकसित मुलुकहरुले अनुसन्धान र नवीन खोजमा ठूलो लगानी गरेका छन्। महत्व दिएका छन्। सोही अनुसार ती मुलुकको अर्थतन्त्रले काँचुली फेरेका छन्। तर, नेपालको हविगत देख्दा महावीरलाई रिस उठ्छ।

‘राणा शासनको अन्त्य भएको ७१ वर्षसम्म पनि किन नेपालका शिक्षाविद्, अर्थविद्, नेता र नागरिक कसैको ध्यान अनुसन्धान र आविष्कारको क्षेत्रमा गएन?’ उनको प्रश्न छ, ‘धेरै कुरा देखेर पनि सिकिन्छ। नेताहरु युरोप घुम्न जान्छन्, सिक्छन् चाहिँ के? प्रजातन्त्रको स्थापनापछि राम्राराम्रा नेताहरु आए देश हाँक्छु भनेर। तर अहिलेसम्म रिचर्स एन्ड इनोभेसन नगरी अर्थतन्त्र बलियो हुँदैन भन्ने कुरा कसैको दिमागमा किन आएन?’

अर्थशास्त्रीहरुले पनि यो तथ्य नबुझेको देख्दा उनी हैरान छन्। 

‘नेताहरुले बुझेनन् ठिकै छ। इजरायलको जन्म म जन्मनुभन्दा ७ वर्ष अगाडि भएको हो। तर अहिले आर्थिक रुपमा एकदमै शक्तिशाली छ। त्यो देश मरुभूमिमा छ। नेपालजस्तो हराभरा छैन। तर खाद्यन्न उत्पादन गर्छ, निर्यात गर्छ,’ उनी भन्छन्, ‘आर्थिक र समाजिक रुपमा बलियो बनेको इजरायल कसरी त्यहाँ पुगेको हो र हामी के कारणले पछि परेका छौँ भनेर बुझ्न नसक्ने अर्थशास्त्री पनि अर्थशास्त्री हुन्छ? सबैभन्दा धेरै अचम्म लाग्ने विषय यही हो।’ 

अर्थतन्त्र उकास्ने हो भने आविष्कार र अनुसन्धानका लागि सरकारले पर्याप्त लगानी गर्नुपर्ने उनको भनाइ छ। 

महावीर पुन भन्छन्, ‘जसरी नेपाल अहिले सिमेन्ट अथवा जुत्ता चप्पलमा आत्मनिर्भर बन्दै गएको छ, त्यसैगरी विस्तारै सबै कुरामा आत्मनिर्भर बन्न आवश्यक छ।’
***
(महावीर पुनको यो कथासँगै नेपालखबरले ‘मेरो स्कुल’ श्रृंखला सुरु गरेको छ। शैक्षिक सुधारमा केन्द्रित यो श्रृंखलामा त्यस्ता व्यक्तिहरूको अनुभव लेखिने छ, जसले नेपालको शिक्षा प्रणालीको विकासको इतिहास र समयक्रमसँगै यसमा आएको परिवर्तनको रोचक कथा भन्ने हाम्रो विश्वास छ– सम्पादक।) 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .