म्यागेजिन


‘हाइड्रो लेडी’ सुसन, जसलाई बिग्रेका आयोजना सपार्न चल्छ जाँगर

३३५ मेगावाटका आयोजना नेतृत्व गरिरहेकी सुसन भन्छिन्— राम्रो प्रोजेक्ट त कसले ट्रेमा राखेर दिन्छ र
‘हाइड्रो लेडी’ सुसन, जसलाई बिग्रेका आयोजना सपार्न चल्छ जाँगर

उन्नत सापकोटा
जेठ ११, २०८३ सोमबार ७:७, काठमाडौँ

आजभोलि सहकारी भन्नेबित्तिकै कि त बचत अपचलन गरेर सञ्चालक भाग्यो भन्ने सुनिन्छ, कि ऋण नतिरी ऋणी गयल भएको। सहकारी संस्थाको मर्मअनुसार काम भएको कमै देखिन्छ। तर, काठमाडौँमा यस्तो एउटा सहकारी छ, जसले बचतलाई सही ढंगले परिचालन गरेर सञ्चालक मात्रै होइन, साधारण सदस्यलाई पनि आर्थिक उन्नतिको बाटोमा डोहोर्‍याउन सफल भएको छ। 

इमानपूर्वक सहकारी चलाएर सफलता दिलाउने उद्यमी हुन् सुसन कर्माचार्य (राजभण्डारी)। मनिप्लान्ट सेभिङ एण्ड को–अपरेटिभको बलमा उनी अहिले नेपालको जलविद्युत् निर्माणमा होमिने अग्रणी महिला उद्यमीको रूपमा चिनिन्छिन्। उनले हात हालेका ६ वटा जलविद्युत् परियोजनाहरूको जम्मा क्षमता ३३५ मेगावाट नाघिसकेको छ। यति धेरै क्षमताका जलविद्युत् परियोजनाको नेतृत्व गर्ने सुसन पहिलो नेपाली महिला हुन्।

सुसनको नेतृत्वमा रहेका तीनवटा जलविद्युत् परियोजनाले उत्पादन गरिरहेका छन्। २४ मेगावाटको मादमे खोला, ७.२७ मेगावाटको याम्बालिङ र ५ मेगावाटको इस्टर्न हाइड्रो पावर परियोजनाले उत्पादन थालिसकेका छन्। सुसन संलग्न २०३ मेगावाटको माथिल्लो बुढीगण्डकी, ८६.५९ मेगावाटको लान्द्रुक मोदी र ८.४७ मेगावाटको मेन्चेत खोला निर्माणाधीन छन्।

सफ्टवेयरभन्दा हार्डवेयरमा बढी चाख
ललितपुरको बंगलामुखी (कुम्भेश्वर) मा जन्मेकी सुसन नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यकी भतिजी हुन्। नरबहादुरसँगै सुसनका बुवा र फुपू थिए। बुवासँग सुसनको भेट निकै पातलो हुन्थ्यो। किनभने उनको बुवा विश्व स्वास्थ्य संगठनको सहयोगमा नेपालमा सञ्चालित मलेरिया उन्मूलन कार्यक्रमका लागि जिल्ला–जिल्लामा हुन्थे। सुसनलाई आफ्नी आमा र नरबहादुरले हुर्काएका थिए। नरबहादुरले विवाह गरेनन्।

सुसनले एसएलसी दिएपछि मात्रै बुवासँग राम्रोसँग साक्षात्कार गर्न पाइन्।

‘मलाई ठूलो बुवा नरबहादुर र आमाले हुर्काउनु भयो। किनभने कामका कारण बुवा कहिल्यै घरमा नहुने। मैले एसएलसीपछि मात्रै बुवालाई राम्रोसँग देखेँ होला। सरकारी काम हो, कहिल्यै घरमा नहुने सधैँ फिल्डतिर। पढाउने सबै काम पनि ठूलो बुवाले नै गराउनु भयो,’ सुसनले सम्झिइन्।

सुसनले ललितपुर मंगलबजारमा रहेको आदर्श कन्या निकेतनबाट सन् १९९२ मा एसएलसी उत्तीर्ण गरिन्। पाटन बहुमुखी क्याम्पसबाट आईएससी, मीनभवनको नेपाल कमर्स क्याम्पसबाट कमर्समा स्नातक गरिन्। सन् २००० मै सुसनले सार्वजनिक प्रशासनमा स्नातकोत्तर पूरा गरेका थिइन्।

ललितपुर कुपण्डोलमा कम्प्युटरसम्बन्धी प्राविधिक ज्ञान सिकाउने एउटा कम्पनी थियो। त्यहाँ सुसनले तीन वर्ष रिसेप्सनिस्टको जागिर खाइन्। त्यो समयमा उनले त्यहाँ काम गर्दा गर्दै कम्प्युटर मर्मतदेखि अरु प्राविधिक विषयसम्बन्धी ज्ञान हात पारिन्।  

यसबीचमा सुसन पढाइ तथा तालिमकै सिलसिलामा जापान पुगिन्। नेपालको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र (सीटीईभीटी) को कोर्स जस्तै ९ महिनासम्म उनले सिस्टम इन्जिनियरिङ हाउसबाट सन् १९९६ मा ‘सिस्टम एड्मिनिस्ट्रेसन डिप्लोमा एन्ड भिजुअल बेसिक ट्रेनिङ’ विषयमा अध्ययन गरेकी थिइन्। 

सुसनलाई सफ्टवेयरभन्दा पनि हार्डवेयरमा बढी चाख लाग्थ्यो। सानैदेखि ‘केटीले गर्ने काम’भन्दा ‘केटाले गर्ने काम’मा सुसन बढी रमाउँथिन्।

‘मलाई केटीहरूले गर्ने कामभन्दा केटाहरूले गर्ने काम मन पथ्र्यो। मेरो छुट्टै खालको रुचि थियो। त्यो बेला हार्डवेयर भनेको कम्प्युटर एसेम्बल गर्ने हुन्थ्यो,’ सुसनले भनिन्। 

उनलाई हार्डवेयरको काम यति मनपर्‍यो कि उनले २२ वर्षको उमेरमा दार्जिलिङका आफ्नै ‘बोस’ सँग सहकार्य गरेर कम्पनी खडा गरिन्। जापान पढ्न जाँदा कमाएको करिब तीन लाख रूपैयाँ लगानी गरेर पुल्चोकमा सुसनले ‘सिस्टम इन्जिनियरिङ हाउस’ सञ्चालनमा ल्याइन्। त्यहाँ उनको काम थियो– कम्प्युटर एसेम्बल गर्ने अनि बेच्ने। यसका साथै उनको कम्पनीले विभिन्न अरु कम्पनीसँग कम्प्युटर तथा यससम्बन्धी मर्मतसम्भारको ठेक्का लिएर काम गर्थ्यो।

‘युनाइटेड, बृहस्पति स्कुललगायतका ८–१० वटा अफिससँग कन्ट्रयाक्ट लिएर काम गर्‍यौँ। त्यतिबेला मसँग स्कुटर थियो, त्यसैमा कम्प्युटर बोक्दै दौडिन्थ्यौँ। त्यतिबेला मेरो टोलमा स्कुटर हुने त म दोस्रो थिएँ। मेरो काम कम्प्युटर एसेम्बल गर्ने, नेटवर्किङ गर्ने, कम्प्युटर बनाउने नै थियो,’ सुसनले सम्झिन्। 

जर्मनीबाट नेपाल फर्किइन्
सुसनको ठूलो बुवाबाहेक घरका अधिकांश सदस्य सरकारी जागिरे थिए। सुसनका दुई जना दिदी र दुई जना दाइ छन्। उनीहरू सबै सरकारी जागिरे हुन्। सुसनकी भाउजू, काका, काकीदेखि फुपूका छोरी सारा सरकारी जागिरे। परिवारका सदस्यमध्ये सुसनका फुपाजु त्यतिबेला खानेपानी संस्थानका महाप्रबन्धक थिए। कम्प्युटरबारे राम्रो ज्ञान भएकी र विदेशमा पढेर आएको भनेपछि उनै फुपाजुले सुसनलाई खानेपानी संस्थानमा लोकसेवा नै नदिई सोझै जागिरको अफर गरे।

‘हामी नेवार परिवारका सबैजना एकै घरमा बस्थ्यौँ। सरकारी जागिर खाने मेरो दाइ–भाउजूको सन्तान पनि थिए। तर, घरको सबै खर्च बुवाले बेहोर्नुपर्ने स्थिति थियो। मलेरिया प्रोजेक्ट भएकाले आम्दानी केही राम्रो थियो। दाइ–भाउजू जागिरे भए पनि खर्च धान्न बुवाकै मुख ताक्नुपर्थ्यो। आफ्नै घर हुँदा पनि चामलदेखि जम्मै बुवाले पुर्‍याइदिनुपर्थ्यो। तैपनि दाइ–भाउजूलाई खर्च धान्न गाह्रो पर्थ्यो,’ उनले सुनाइन्।

त्यो देखेर सुसनले कहिल्यै पनि सरकारी जागिर नखाने निश्चय गरिन्, फुपाजुको प्रस्ताव नकारिन्। 

जब आफ्नै कम्प्युटर व्यवसाय सुरु गरिन् उनले महिनाकै एक डेढ लाख कमाउन थालिन्। एउटा कम्प्युटर बेच्दा नै २०–३० हजार फाइदा हुने गरेको सुसनले बताइन्। तर, समय कहाँ सधैँ, आफूले चाहे जस्तो हुन्थ्यो र! सुसनको विवाह भयो र उनी गर्भवती हुँदा ८–९ महिना कम्प्युटर व्यवसायबाट बाहिरिनु पर्‍यो। 

त्यो बेलामा प्रविधिमा भइरहेको तीव्र रूपान्तरण र बढ्दो प्रतिस्पर्धालाई उनले थेग्न सकिनन्। दार्जिलिङका उनका साझेदार उद्देन राईले पनि त्यो व्यवसायलाई अघि बढाउन सकेनन् र भारत फर्किए। जसका कारण उनी आफूले जानेको व्यवसाय बन्द गर्न बाध्य भइन्।

व्यवसाय नै बन्द भए पनि उनको सरकारी जागिरप्रतिको वितृष्णामा परिवर्तन भएन। र, नयाँ सम्भावना खोज्न थालिन्। सुसनका एक जना अंकलको जर्मनीमा व्यापार थियो। ती अंकलले जर्मनीमा चिया, हस्तकला निर्यात गर्थे। पूर्ण कलश ट्रेडर्स थियो कम्पनीको नाम।

‘उहाँले जर्मनीबाट ल्याएका कम्प्युटर बिग्रिँदा मैले नै बनाइदिने गरेको थिएँ। त्यसैले उहाँले मलाई माया गर्नुहुन्थ्यो। अब त्यो बनाए बापत पैसा माग्नु त भएन अंकलसँग। निःशुल्क गर्दिन्थेँ। त्यही आधारमा मैले उहाँलाई युरोप घुम्ने रहर छ भनेँ,’ सुसनले सुनाइन्, ‘त्यसपछि उहाँकै कम्पनीमा काम गर्न थालेँ। त्यहाँ काम गर्दा म तीन महिना जर्मनी बसेर ठुला प्रदर्शनी गर्नुपर्ने। स्विजरल्यान्ड, फ्रान्समा पनि प्रदर्शनी हुन्थ्यो। राम्रै पैसा आउँथ्यो। तीन महिना त्यहाँ काम गर्थें अनि तीन महिना नेपाल फर्किएर अर्को तीन महिने एक्जिबिसनमा बिक्री गर्ने सामानबारे तयारी गर्थें। झण्डै दुई वर्ष यसैगरी युरोप ओरोदोहोर गरेँ।’   

जागिरबाट राम्रो आम्दानी भइरहे पनि सुसनको महत्वाकांक्षा त्यतिमै अडिएन। अंकलको कम्पनीमा सुसन सेल्स् म्यानेजर (निर्यात विभाग) को जिम्मेवारीमा थिइन्। तर, मास्टर्स गरेको मान्छे सेल्स् गर्ल भएर काम गर्दा सुसनलाई अपमान महसुस भयो। त्यसपछि उनी नेपाल फर्किइन्।

२०६२/६३ को जनआन्दोलनपछिको समय थियो। ठ्याक्कै उनी प्रदर्शनीका लागि अमेरिका जानुपर्ने थियो। त्यतिबेलै तत्कालीन विद्रोही माओवादी संविधानसभा निर्वाचनमा सहभागी भएर सबैभन्दा ठूलो पार्टी बन्दै सरकार बनाउने स्थितिमा पुग्यो। 

सुसन नरबहादुर कर्माचार्यको कम्युनिस्ट परिवारमा हुर्केकाले उनको माओवादीका सर्वोच्च नेता पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन एकता केन्द्रका महासचिव नारायणकाजी श्रेष्ठसँग राम्रो चिनजान थियो। माओवादीसहितका अन्य घटकको छलफल सुसनकै घरमा हुन्थ्यो।   

‘नारायणकाजी दाइले म आठ कक्षामा हुँदा टिफिन खर्च भनेर पैसा दिनुहुन्थ्यो। ठूलो बुवाले त्यतिबेला दुई रूपैयाँ दिनुहुन्थ्यो। घरमा बैठक हुँदा नारायणकाजी दाइहरू आउँदा मलाई २०/५० रूपैयाँ दिनुहुन्थ्यो। ढिलो भयो भने उहाँ (नारायणकाजी) आउनुहुन्छ कि भनेर कुरेर बस्थेँ। ठूलो बुवालाई बैठक छ भनेर सोध्थेँ। मिटिङ छ भन्यो भने म त स्कुल जान ढिलो भए पनि कुरेर बस्थेँ। बच्चा बेला को आउनुहुन्छ र पैसा दिनुहुन्छ भन्ने लोभ हुन्थ्यो। बैठक हुँदा मैले नै चिया पकाएर खुवाउँथेँ। दिदीहरू सबै बिहे गरेर गइसक्नु भएको थियो,’ सुसनले सम्झिइन्।

खानै पर्‍यो सरकारी नियुक्ति
जीवनमा जे काम नगरौँ भन्यो, सुसनले त्यही काम गर्नुपर्ने अवस्था आइलाग्यो। आफ्नै बुवादेखि दाइभाउजूलगायत अधिकांशको जीवन सरकारी जागिरे भएकै कारण आशातीत आर्थिक स्वतन्त्रता नपाएको बाध्यता सुसनको मनमा गढेको थियो। तर, कुनै समय कम्युनिस्ट राजनीतिको शक्तिकेन्द्र बनेको सुसनको घरकै कारण उनलाई मुख्य प्रशासनिक केन्द्र सिंहदरबार नछिरी नहुने स्थिति आइलाग्यो। 

तत्कालीन माओवादी नेता गिरिराजमणि पोखरेल स्वास्थ्यमन्त्री बन्दा सचिवालय सदस्य बनेर सुसन सन् २००७ मा पहिलोपटक सरकारी वेतनधारी बनिन्।

‘माओवादी आन्दोलनले त्यतिबेला महिलाको प्रतिनिधित्वलाई जोडतोड साथ उठाएको थियो। तर, धेरै एक्सपोजर पाएका महिला माओवादीमा थिएनन्। त्यसपछि माओवादी नेताहरूकै आग्रहमा म गिरिराजमणि पोखरेलको सचिवालयमा नियुक्त भएँ। नेपालको सरकारी प्रक्रिया र प्रणाली के हो बुझ्नलाई भए पनि जाऊ भनेर नारायणकाजी दाइलगायतले जोडबल गर्नुभयो। मैले मन्त्रीको पीए भएर सरकारी अड्डा टेकेको त्यो नै पहिलोपटक थियो। मलाई सरकारी अड्डासँग इरिटेसन थियो,’ सुसनले थपिन्, ‘घरका धेरै सदस्य सरकारी अड्डामा काम गर्दाको हालत देख्दा बुवाले अलि राम्रो नकमाएको भए त खान पनि पुग्दैनथ्यो होला भन्ने मलाई लाग्थ्यो।’

सरकारी जागिर मन नपराउने सुसन मन्त्रीको सचिवालयमा बस्दा भने रमाउन थालिन्। उनले अमेरिका जाने योजना बिर्सिदिइन्। तर, त्यहाँको आम्दानीले उनको २२०० सीसीको डिजल निसान गाडीको तेल खर्च पनि उठ्ने थिएन। विदेशमा काम गर्दा गरेको आम्दानीले उनलाई केही सहज भयो। अनुभवकै लागि उनी केही समय मन्त्रालयमा अडिइन्। 

स्वास्थ्य मन्त्रालयमै रहँदा उनले प्रशासनिक सहायता कन्सल्ट्यान्टको रूपमा काम गरिन्। त्यसपछि तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्रालय र सन् २०११ मा तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको स्वकीय सचिवको जिम्मा पाइन्।  

अनि सुरु भयो व्यावसायिक यात्रा
मन्त्रीहरूका सचिवालयबाट राजनीतिक र राज्य सञ्चालनका प्रशासनिक ज्ञान आर्जन गरेपछि सुसनको व्यापारिक यात्रा सुरु भयो। त्यसपछि सुसनले अरु साझेदारहरूसँग मिलेर मनिप्लान्ट सहकारी थालनी गरेकी थिइन्। त्यही सहकारीको बलमा सुसनले ललितपुर हात्तीवनमा १०० वटा घरसहितको मनिप्लान्ट नमुना बस्ती (हाउजिङ) परियोजना निर्माण गरेकी थिइन्। युरोप बस्दा नै उनको मनमा सामूहिक आवासको आर्किटेक्चरल चेत बनिसकेको थियो। 

‘सहकारी र हाउजिङलाई एक बनाएर लैजाँदा सहकारीको हैसियत त धेरै माथि आयो। काठमाडौँमा घर बनाउँछु भन्ने कहिल्यै कल्पना नभएका ५० प्रतिशत सहकारी सदस्य साथीहरूलाई घर बनाएर हस्तान्तरण गर्न सफल भयौँ। बहालमा बस्दा पनि हजारौँ खर्च हुन्थ्यो। मैले २५/३० वर्षको भुक्तानी प्रणालीसहितको योजना तयार पारेँ। अनि मैले साथीहरूलाई तीन महिनामा ५ लाख रूपैयाँ देऊ, म तीन वर्षमा घर बनाइदिन्छु भनेपछि उनीहरूले जसरी पनि पैसा खोजेर ल्याउने भए। त्यही ५/५ लाख गरेर तीन वर्षमा घर दिन सफल भएँ। यसले सहकारीप्रति सदस्यहरूको गहिरो अपनत्व भयो र सहकारी थप विस्तार र विकास हुन मद्दत पुग्यो,’ सुसनले खुसी हुँदै भनिन्।

सहकारी सफल बन्दै गएपछि सुसनको आँखामा पर्‍यो निर्माण क्षेत्र। त्यसमा पनि जलविद्युतमा सुसनले ठूलो सम्भावना देखिन्। तर, पर्याप्त ज्ञान भने उनमा थिएन। युनाइटेड समूहले भोजपुरमा निर्माण गर्न खोजेको इस्टर्न हाइड्रोपावर रुग्ण बन्दै गएको थियो। एनएमबी बैंकको नेतृत्वमा लगानी सुरक्षित भए पनि सञ्चालकको भागाभाग थियो। परियोजना अलपत्र परेर शत प्रतिशत प्रोभिजनिङको अवस्थामा पुगिसकेको थियो। सुसनका सन्तान युनाइटेडले सञ्चालन गर्ने विद्यालयमा पढ्थे। हाउजिङ परियोजना निर्माण गरेको देखेर युनाइटेड समूहले सुसनलाई उक्त परियोजना टेकओभर गराउन अनेक प्रयत्न गरिरहेको थियो। सुसनले साइट पुगेरै उक्त परियोजना हेरिन्। 

‘हाउजिङ बनाइसकेको थिएँ। केही न केही नयाँ काम त थाल्नुपर्‍यो भनेर त्यो परियोजना लिने आँट गरेँ। मैले हाउजिङमै घर दिएका एक जनाको ज्वाइँ क्याम्ब्रिजको स्कलर तथा कन्सल्ट्यान्ट भएको पत्ता लाग्यो। उनी दुबईमा काम गर्थे तर छुट्टीमा नेपाल आएको बेला पर्‍यो। उनलाई विदेश जानुपर्दैन भनेर कन्भिन्स गराएँ, पार्टनर नै बनाएर हाइड्रो बनाउन सुरु गरियो,’ सुसनले भनिन्।

उनले २०७४ मा उक्त हाइड्रोको क्षमता २.५ मेगावाटबाट ५ मेगावाट पुर्‍याएर निर्माण सुरु गरेर सम्पन्न समेत गराइन्। 

पुरुषबाहुल्य हाइड्रो क्षेत्रमा सुसनको उडान
सामान्यतया जलविद्युत् क्षेत्र पुरुषको वर्चस्व भएको क्षेत्र मानिन्छ। न्यून संख्यामा मात्रै महिला प्रवद्र्धक सक्रिय छन्। त्यसैमध्येमा पर्छिन् सुसन। तर, उनलाई कहिल्यै पनि आफू पुरुषभन्दा कम छु भन्ने महसुस भएन। सानैबाट बुवाले स्वतन्त्र, निडर र जिम्मेवारीपूर्वक अघि बढेर बाँच्न सिकाएको हुनाले उनले महिला भएकै कारण व्यावसायिक यात्रामा ठूलो तनाव झेल्नुपरेन। उनले सहजै त्यसलाई पार गर्न सकिन्। 

‘मलाई अहिले पनि केटीको कोटा भन्यो भने रिस उठ्छ। मैले आफूलाई केटी मान्छे भनेर ठान्दै ठानिनँ, केटाले गर्न सक्छन् भने मैले पनि गर्न सक्छु भन्ने आत्मविश्वास छ। म सबैसँग प्रतिस्पर्धा गर्न सक्छु भनेरै हाइड्रोमा छिरेको हो। मलाई महिला भएर कहिले पनि अप्ठेरो अनुभव भएन। घरबाटै यो संस्कार र हिम्मत मैले पाएँ। घर नै राजनीतिको केन्द्र भएपछि त्यसै महिलालाई प्रजातन्त्र थियो। कहिले पनि महिला भनेर हेपाइ र विभेद खेप्नु परेन,’ सुसनले आत्मविश्वाससहित भनिन्। 

जलविद्युत क्षेत्र आफैँमा धेरै विवाद हुन सक्ने क्षेत्र हो। साइटमा देखापर्नसक्ने सामाजिक चुनौती बढी नै हुन्छन्। तर, महिला भएकाले हात हालाहालको अवस्था नआएको हुन सक्ने सुसन बताउँछिन्। 

‘ठाडो बोलेर तर्साउन खोजे पनि केटीलाई हात हाल्न चाहिँ सक्दैनन्। त्यस्ता कयौँ अनुभव मसँग छन्। हाउजिङ बनाउँदा पनि त्यस्ता चुनौती खेप्नु परेको थियो,’ उनले भनिन्।

बिग्रिएका आयोजना सपार्ने ‘हाइड्रो लेडी’
मान्छेको स्वभाव नै हो नि बिग्रिएका चिजमा हात नहाल्ने। तर, ऊर्जा उद्यमी सुसन बिग्रिएका जलविद्युत् आयोजना आफूले टेकओभर गरेर चलाउन खोज्छिन्। जीवनमा कहिल्यै जलविद्युत् परियोजना निर्माणमा साइनो समेत नभएकी उनी धुलिसात प्रोजेक्टलाई हातमा लिएर सम्पन्न गर्ने ऊर्जा उद्यमी बनेकी छिन्। उनले बैंक तथा वित्तीय संस्थाका अधिकारीहरूलाई समेत बिग्रिएका परियोजना बनाए खास अर्थ हुने भन्दै ऋणका लागि प्रस्ताव पेस गर्थिन्। त्यसले ती अधिकारीहरूलाई सुसनको आँटले लोभ्याउँथ्यो। 

‘राम्रो प्रोजेक्ट त कसले ट्रेमा राखेर दिन्छ त? बिग्रिएको त बनाउने हो नि! बिग्रिएको इस्टर्न हाइड्रो सफलतापूर्वक सम्पन्न गराएपछि मेरो नाम ऊर्जा बजारमा गएको हो। त्यत्ति कारण हो। ५ मेगावटका प्रोजेक्ट त अरु कति धेरैले बनाए होलान्। तर, मलाई किन गन्छन् भन्दा यसले बिग्रेको आयोजना बनाउन सक्छे भन्ने छाप पर्‍यो। शत प्रतिशत प्रोभिजनिङ भएको इस्टर्न हाइड्रो १८ महिनामा बत्ती बाल्देको हो नि,’ सुसनले सुनाइन्। 

सुसन बिग्रिएको अर्को परियोजना दरम खोला जलविद्युत् पनि स्वामित्वमा लिएर काम अघि बढाउँदै छिन्। बिग्रिएका परियोजना हातमा लिँदा आफूलाई डर कहिल्यै नलागेको सुसन जिकिर गर्छिन्।

‘बुवाले कहिल्यै पनि डराउन सिकाउनु भएन। सानै बेलादेखि बुवाले रोएर घर नआइज भन्नु हुन्थ्यो। कि कुटाइ खाएर चुप लागेर आऊ, कि कुटेर आऊ, रोएर आउने होइन भन्दै बलियो बनाउन प्रेरित गर्नु हुन्थ्यो। त्यही स्वभाव अहिले व्यावसायिक यात्रामा पनि आएको हुनुपर्छ,’ सुसनले भनिन्।

सुसन निजी ऊर्जा उत्पादकहरूको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को कार्यसमिति सदस्य छिन्। आगामी साधारणसभामा उनी उपाध्यक्षको दाबेदारसमेत हुन्। वर्तमान अध्यक्ष गणेश कार्कीको कार्यकालमा इप्पान चिनिएको दाबी उनको छ। साथै बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेपछि कामको गति छिटो हुन थालेको अनुभव सुसनले सुनाइन्। वन लगायतका विषयमा अझै समस्या रहेकाले यसमा सुधार हुनुपर्ने उनको भनाइ छ।

‘इप्पानले आफ्नो अस्तित्व बल्ल देखाउन थालेको छ। इप्पानले गर्नुपर्ने काम धेरै छन्। नयाँ बालेन सरकार आएपछि कामको गति केही बढेको अनुभव छ। पहिला सरकारी अड्डा जानुपर्‍यो भने घरबाट निस्किँदा नै अनेक कुरा सोचेर जानुपर्थ्यो। अहिले ढिलो गरेर सरकारी कार्यालय पुग्दा कर्मचारी भेटिन थालेका छन्। चिठी बिहान दर्ता गर्दा त्यसबारेमा बेलुकासम्म केही न केही निर्णय भएको व्यहोरा आउँछ। जेसुकै निर्णय होस् तर, निर्णय हुने क्रम बढेको छ। यो राम्रो संकेत हो,’ सुसनले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad