समाज


जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये चार हजार अझै फरार

जेनजी आन्दोलनमा भागेका कैदीबन्दीमध्ये चार हजार अझै फरार

नेपालखबर
जेठ ८, २०८३ शुक्रबार २१:३६, काठमाडौँ

गत भदौ अन्तिम साताको जेनजी पुस्ताको आन्दोलनको क्रममा फरार भएका साढे १४ हजार कैदीबन्दी मध्ये अझै चार हजार कैदीबन्दी फरार रहेको प्रहरीले जनाएको छ।

शुक्रबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सो जानकारी दिएका हुन्।

उनले फरार कैदीबन्दीको खोजी कार्य जारी रहेको बताए।

महानिरीक्षक कार्कीले अपराध अनुसन्धान प्रणालीलाई आधुनिक र वैज्ञानिक शैलीमा रुपान्तरण गर्न आवश्यक रहेको पनि बताएका छन्।
उनले हिरासतको अवस्था दयनीय रहेको स्वीकार गर्दै भेन्टिलेसन हटाउने तथा उजुरी प्रणालीलाई प्रविधिमैत्री बनाउन आफूहरू क्रियाशील रहेको पनि स्पष्ट पारे।

उनले भने, ‘प्रहरी अनुसन्धानमा सुधारका कामहरु जति छन् ती सर्बै पर्याप्त छैनन्। कैदीबन्दीहरुको पनि पुराना जमानाको जस्तो परिस्थिति छैन। नेपालको कारागार र हिरासतमा रहेका कैदीको मानव अधिकारको कुरा पनि गम्भीर रुपमा लिनुपर्छ। हामीले प्रहरी अनुसन्धान पनि परम्पराबाट आधुनिक शैलीमा जानुपर्ने अवस्था छ।’

बैठकमा बोल्ने सांसदहरुले कारागार तथा प्रहरी हिरासतको अवस्था सुधार गर्नुपर्नेमा जोड दिए। हिरासतभित्र हुने मृत्यु तथा मानव अधिकार उल्लङ्घनका घटनाका विषयमा सरकारको ध्यानाकर्षण समेत गराए। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले थुनुवाको मानव अधिकार हननका विषय बढ्दै गएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकषण गराए। उनले कारागारमार्फत समेत अपहरण हुन थालेको भन्दै यसले हामीलाई कहाँ पुर्याउँछ? भन्दै प्रश्न गरे। 

उनले भने,‘ कानुन व्यवसायी भेट्न जाँदा अन्य समय दिइँदैन। रातको १२ बजे समाते पनि भेट्न पाउने व्यवस्था संविधानमा छ। तर कार्यान्वयन गरिएको छैन। हामीकहाँ कारागारबाट फिरौती असुल हुन थालेको छ। यसतर्फ ध्यानाकर्षण होस्।’

बैठकमा बोल्दै सांसद स्मृति सेन्चुरीले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दीको कारण रोग तथा संक्रमणको जोखिम बढेकोप्रति सरकारको ध्यानाकर्षण गराइन्। कैदीहरूको मृत्युदर चिन्ताजनक रहेको उल्लेख गर्दै उनले कैदीबन्दीको मानव अधिकारमा ध्यान दिन समेत सरोकारवाला पक्षको ध्यानाकर्षण गराइन्। 

बैठकमा बोल्ने अधिकांश सांसदहरुले क्षमता भन्दा बढी कैदी बन्दी राख्दा धेरै समस्या उत्पन्न भइरहेको,  हिरासतभित्र आर्थिक अवस्था र हैसियतका आधारमा विभेद हुने गरेकोको बारे सरकारको ध्यानाकर्षण गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad