राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारी, सचिवालय सदस्य र केन्द्रीय सदस्य मनोनयन प्रक्रिया थालेको छ। पार्टी सभापति रवि लामिछाने यसको गृहकार्यमा छन्।
प्रधानमन्त्री वालेन्द्र शाहलाई वरिष्ठ नेता बनाउने सहमति भइसकेको छ। यस्तै, १ उपसभापति, १ महामन्त्री, २ सहमहामन्त्री, १ प्रवक्ता, १ कोषाध्यक्ष, २ सहकोषाध्यक्ष र ३ सहप्रवक्तासहित सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्य पनि मनोनीत गरिएको छैन।
यसबारे सभापति लामिछानेले बल्ल आन्तरिक छलफल थालेको नेताहरू बताउँछन्। यद्यपि, सबै मनोनयन एकैपटक गरिहाल्ने पक्षमा उनी छैनन्।
‘सबै एकैपटक मनोनयन नगर्ने कि भन्ने छ,’ एक पदाधिकारीले नेपालखबरसँग भने, ‘आवश्यक रहेका पदहरूमा विस्तारै मनोनयन गर्दै जानुहुन्छ होला।’
त्यसो हुँदा उपसभापति, महामन्त्री, प्रवक्ता र कोषाध्यक्ष तत्काल मनोनीत हुनसक्ने ती पदाधिकारीले बताए। साउनको तेस्रो हप्तासम्ममा मनोनयन भइसक्ने उनको भनाइ छ।
त्यसमध्ये मुख्य चासो मनोनीत हुने महामन्त्रीप्रति छ। सो पद बालेन शाहको समूहले पाउने निश्चित छ। किनकि, प्रत्यक्ष चुनावबाट सभापति लामिछाने समूहका विपिन आचार्य महामन्त्री चयन भइसकेका छन्।
यसो हुँदा आफ्नो भागमा परेको महामन्त्रीमा बालेनले कसलाई अघि सार्छन् त?
निकट नेताहरूले भूपदेव शाहको नाम लिएका छन्। यद्यपि, आकांक्षी अरु पनि छन्।
बालेन काठमाडौँ महानगरपालिकाको मेयर हुँदा भूपदेव प्रमुख स्वकीय थिए। कुनै समय बालेनले साह्रै विश्वास गरेका व्यक्ति थिए भूपदेव। यसकारण पनि बालेनले उनलाई साथै लैजान चाहेको निकटस्थ दाबी गर्छन्।
यद्यपि, भूपदेव र बालेनबीच पहिलाजस्तो सम्बन्ध नभएको र उनीहरूबिच अविश्वास बढेको चर्चा पनि छ। तर, त्यस्तो शंका अहिले मेटिइसकेको बालेननिकट एक नेताले दाबी गरे।
‘उहाँका बारेमा केही विषय उठाइएको रहेछ, जसमा बालेनले चासो राख्नुभएको थियो, त्यसको चित्तबुझ्दो जवाफ आइसकेको छ,’ ती नेताले भने, ‘यथार्थ कुरा थाहा पाइसकेकोले अब उहाँलाई अघि बढाउने निर्णय गर्नुपर्ने हो।’
रास्वपासँग बालेन समूहको एकता भएपछि भूपदेव महामन्त्री बनेका थिए। उनले ६२ दिन काम गरे। जिल्ला दौडाहा गरेर उनले संगठनमा राम्रो प्रभाव छाडेका छन्। उनलाई महामन्त्री बनाउनुअघि केन्द्रीय सदस्य मनोनीत गर्नुपर्छ।
असार ७–१२ मा चितवनमा भएको रास्वपाको प्रथम महाधिवेशनमा सभापति, ६ पदाधिकारीसहित ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुँदा भूपदेवले उम्मेदवारी नै दिएका थिएनन्।
त्यस्तै, प्रधानमन्त्रीका सुशासन सल्लाहकार सुदीप ढकालको नाम पनि महामन्त्रीका रुपमा चर्चामा आएको छ। तर, उनले यसबारे अनभिज्ञता जनाए।
‘मलाई पनि थाहा छैन। मेरो इच्छा केही पनि छैन, पार्टी नेतृत्वले के जिम्मेवारी दिन्छ, त्यही बहन गर्ने हो। अहिलेलाई केन्द्रीय सदस्य भइएको छ, त्यही हैसियतमा काम गर्ने हो,’ ढकालले भने, ‘सभापतिज्यू र सम्माननीयज्यूबिच यसबारे छलफल भएको होला। त्यो हामीलाई सेयर गर्नुभएको छैन।’
ढकाल प्रत्यक्षतर्फ केन्द्रीय सदस्य निर्वाचित भएका हुन्। उनले महामन्त्रीमा भूपदेवलाई अघि सार्दा राम्रो हुने बताए।
‘मनोनीत हुँदा भूपदेवजीलाई नै बनाए राम्रो हुने हो, उहाँ पहिला पनि महामन्त्री भइसकेको। उहाँलाई बनाए बेस हुने हो,’ ढकालले थपे, ‘यसबारे नेतृत्वले कसरी हेरेको छ, पार्टीलाई अगाडि बढाउन र सहज रुपमा काम गर्न कोसँग सजिलो हुन्छ, उसैलाई अगाडि बढाउँछ।’
सभापति लामिछाने निकट केही पदाधिकारी बालेन समूहलाई नै दिने कोटा भए पनि पार्टी र सरकारबीच समन्वय गर्नसक्ने नेताको नाम पठाए राम्रो हुने बताउँछन्।
‘त्यसो हुँदा भूपदेव एकजना योग्य नेता हुनुहुन्छ, महामन्त्री भएपछि जसरी पार्टी चलाउनुभयो, त्यसले निकै सहयोग ग¥यो। अहिले पनि उहाँ आइदिए हुन्थ्यो भन्ने छ,’ ती पदाधिकारीले भने, ‘महामन्त्री विपिन आचार्य सांसद पनि भएकाले भूपदेवजी हुँदा पार्टी सञ्चालन राम्रोसँग चल्ने देखिन्छ।’
तर, बालेनले नै रोज्ने भएकाले यसमा धेरै चासो राख्न नहुने उनीहरूको भनाइ छ। महामन्त्री आचार्यले अहिले यसमा चर्चा नभएको बताए।
‘मिलाउनुपर्ने अन्य धेरै विषयमा केन्द्रित हुनुपरेकोले यसमा केही ढिलाइ भइरहेको छ, खासै हतार पनि छैन,’ उनले भने।
सभापति लामिछाने र प्रधानमन्त्री शाहले सरकार सञ्चालनमै केन्द्रित भएर केही दिनअघि गम्भीर छलफल गरेका थिए। अब पार्टीको मनोनयनका विषयमा पनि उनीहरूबिच छलफल हुने र बालेनले आफ्ना समूहको नाम दिने नेताहरूको भनाइ छ।
Shares

प्रतिक्रिया