ग्लोबल


शक्तिशाली लागुऔषध गिरोह ‘एल मेयो’लाई अमेरिकाले सुनायो आजीवन कारावास

शक्तिशाली लागुऔषध गिरोह ‘एल मेयो’लाई अमेरिकाले सुनायो आजीवन कारावास

नेपालखबर
साउन ४, २०८३ सोमबार २१:३७, न्युयोर्क

मेक्सिकोको शक्तिशाली सिनालोआ लागुऔषध गिरोहका सहसंस्थापक इस्माइल ‘एल मेयो’ जाम्बडालाई अमेरिकाको संघीय अदालतले सोमबार आजीवन कारावासको सजाय सुनाएको छ।

दशकौँसम्म अन्तर्राष्ट्रिय लागुऔषध तस्करी सञ्जाल सञ्चालन गरेको अभियोगमा दोषी ठहर भएका जाम्बडाविरुद्धको यो फैसलालाई अमेरिकी सरकारले लामो समयदेखि सञ्चालन गरेको कारबाहीको महत्त्वपूर्ण निष्कर्षका रूपमा हेरिएको छ।

ब्रुकलिनस्थित संघीय अदालतले गत वर्ष लागुऔषध तस्करी, निरन्तर आपराधिक उद्यम सञ्चालन, र्‍याकेटियरिङ षड्यन्त्र तथा ८५ वटा आधारभूत आपराधिक कसुरमा दोषी ठहर भएका ७६ वर्षीय जाम्बडालाई आजीवन कारावाससँगै १५ अर्ब अमेरिकी डलर आर्थिक जरिवानासमेत सुनाएको हो।

अभियोजन पक्षका अनुसार उक्त रकम सिनालोआ गिरोहले अवैध कारोबारबाट आर्जन गरेको आयको प्रतिनिधित्व गर्छ। अभियोजनकर्ताका अनुसार जाम्बडा र उनका सहसंस्थापक जोआक्विन ‘एल चापो’ गुजमानले सिनालोआ गिरोहलाई विश्वकै सबैभन्दा शक्तिशाली लागुऔषध तस्करी संगठन बनाएका थिए।

उनीहरूको सञ्जालमार्फत अमेरिकामा ठुलो परिमाणमा कोकिन, फेन्टानिल, मेथामफेटामिनलगायत लागुऔषध तस्करी गरिएको थियो। जाम्बडालाई कार्टेलको मुख्य रणनीतिकार तथा दैनिक सञ्चालनको प्रमुख योजनाकारका रूपमा लिइन्थ्यो।

सन् २०२४ मा मेक्सिकोबाट अपहरण गरी टेक्सास पुर्‍याइएपछि पक्राउ परेका जाम्बडाले अगस्ट २०२५ मा अभियोजन पक्षले मृत्युदण्डको माग नगर्ने सहमतिपछि दोष स्वीकार गरेका थिए। 

स्पेनी भाषाका दोभाषेमार्फत अदालतमा बोल्दै उनले आफ्ना कार्यबाट पीडित भएका सबैसँग माफी मागेका थिए। सजायअघि जाम्बडाका कानुन व्यवसायी फ्रान्क पेरेजले उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उनलाई जेल अस्पतालमा राख्न अदालतसँग आग्रह गरेका थिए। 

उनका अनुसार जाम्बडा उमेरजन्य जटिल स्वास्थ्य समस्याबाट पीडित भएकाले निरन्तर चिकित्सकीय निगरानी आवश्यक छ।

यद्यपि अभियोजन पक्षले उनी अझै पनि गम्भीर सुरक्षा जोखिमका व्यक्ति भएकाले उपयुक्त सुरक्षा व्यवस्थालाई प्राथमिकता दिनुपर्ने तर्क गरेको थियो।

कैदीलाई कुन कारागारमा राख्ने अन्तिम निर्णय भने अमेरिकी संघीय कारागार ब्युरोले गर्नेछ।

अदालतमा प्रस्तुत विवरणअनुसार जाम्बडाले सन् १९८० देखि २०२४ सम्म कम्तीमा १५ लाख किलोग्राम कोकिनको तस्करीमा भूमिका खेलेको स्वीकार गरेका छन्।

कार्टेलले कोलम्बियाका उत्पादकसँग सम्बन्ध विस्तार गर्ने, समुद्री तथा हवाई मार्गबाट मेक्सिकोमा लागुऔषध भित्र्याउने र अमेरिका-मेक्सिको सीमाबाट तस्करीको सम्पूर्ण सञ्जाल सञ्चालन गर्ने गरेको अभियोजन पक्षले जनाएको छ। साथै गिरोहले वार्षिक रूपमा अर्बौं डलर आम्दानी गर्ने र गतिविधि सञ्चालन गर्न मेक्सिकी अधिकारीहरूलाई ठुलो परिमाणमा घुस दिने गरेको तथ्य पनि अदालतमा प्रस्तुत गरिएको थियो।

अभियोजनकर्ताले जाम्बडाले आफ्ना भतिजा एलिसो इम्पेरियल क्यास्ट्रोको हत्या गराउन आदेश दिएको, साथै सन् २०२३ मा कार्टेलको ठुलो परिमाणको लागुऔषध चोरी भएपछि भएको प्रतिशोधात्मक हिंसामा कम्तीमा तीन जनाको मृत्यु भएको आरोप पनि लगाएका थिए।

जाम्बडाको पक्राउपछि सिनालोआ गिरोहभित्र गुटीगत संघर्ष चर्किएको थियो। उनका वफादार समूह र ‘एल चापो’का छोरा जोआक्विन गुजमान लोपेज नेतृत्वको ‘चापिटोस’ समूहबिचको हिंसात्मक द्वन्द्वले मेक्सिकोको सिनालोआ क्षेत्रमा सुरक्षा अवस्था थप जटिल बनेको थियो।

जाम्बडाका कानुन व्यवसायीले दोष स्वीकार गरेर न्यायिक प्रक्रियामा सहयोग गरेको व्यक्तिलाई ‘एल चापो’ गुजमानसरह कठोर सुपरम्याक्स कारागारमा पठाउनु न्यायोचित नहुने तर्क गरेका थिए।

तर अदालतले अभियोजन पक्षको मागअनुसार आजीवन कारावासको सजाय सुनाउँदै लामो समयदेखि अमेरिकी न्याय प्रणालीले खोजिरहेको एक प्रमुख लागुऔषध तस्करविरुद्धको मुद्दालाई टुंगो लगाएको छ। (रासस/एपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad