इरानले अमेरिकासँग मेलमिलापका लागि धेरै मध्यस्थकर्ताबाट प्रस्ताव प्राप्त भएको जनाएको छ।
बीबीसी फारसीका अनुसार इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले मध्यस्थकर्ताहरूले प्रस्तुत गरेका प्रस्ताव प्राप्त भएको पुष्टि गरेका छन्।
यद्यपि उनले भने, ‘प्रस्तावका विवरण सार्वजनिक गर्नु उपयुक्त हुँदैन।’
सोमबार विदेश मन्त्रालयको साप्ताहिक प्रेस ब्रिफिङका क्रममा सरकारी समाचार एजेन्सी आईआरएनएले कतारको नयाँ पहलबारे सोधेको थियो।
प्रस्तावमा इरान र अमेरिकाबिच १० दिन युद्धविराम गर्ने कुरा पनि रहेको बताइएको छ।
आईआरएनले इरानका विदेशमन्त्री अब्बास अराघचीले हालै गरेको कतार भ्रमणका विषयमा पनि जिज्ञासा राखेको थियो।
जवाफमा बकाईले भने, ‘के स्पष्ट छ भने मध्यस्थकर्ताहरू थप तनाव रोक्न प्रयास गरिरहेका छन्। यद्यपि इरानले अमेरिकाबाट हुने आक्रमण रोक्न कुनै कसर बाँकी राख्ने छैन।’
साथै उनले सँगसँगै कूटनीतिक प्रयास पनि जारी राखिने बताए।
यसैबिच इरानी अधिकारीहरूले अमेरिकाले सोमबार गरेको आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको र धेरै जना घाइते भएको बताएका छन्।
Shares

प्रतिक्रिया