कहिलेकाहीँ एउटा तन्नेरीले आँखामा लगाउने ‘कालो चस्मा’ फेसन मात्र हुँदैन, त्यो त पुरानो र जर्जर भइसकेको प्रणालीलाई नयाँ नजरले हेर्ने एउटा ‘लेन्स’ बनिदिन्छ। नेपाली राजनीतिका पुराना खेलाडीहरूले जब बालेन्द्र शाह (बालेन) लाई र्यापको मञ्चमा ‘यो–यो’ गरिरहेको देखे, उनीहरूले त्यहाँ एउटा विद्रोही कलाकार मात्र देखेका थिए।
तर, जब उनी हातमा इन्जिनियरिङको ‘ब्लुप्रिन्ट’ र सडकमा ‘डोजर’ लिएर निस्किए, तब मात्र सत्ताको केन्द्र सिंहदरबारले महसुस गर्यो– यो कुनै रहरलाग्दो ‘राइम’ मात्र थिएन, यो त एउटा राष्ट्रको ‘रिदम’ बदल्ने महाअभियानको सुरुवात थियो।
र्यापको मञ्चमा विपक्षीलाई शब्दले ‘रोस्ट’ गर्ने विद्रोही तन्नेरी कसरी आज वैदिक ऋचाहरूको गुञ्जनबीच देशको कार्यकारी प्रमुखको कुर्सीमा पुग्यो?

यो यात्रा कुनै आकस्मिक चमत्कार होइन। यो त नरदेवीका साँघुरा गल्लीदेखि चण्डिगढ र बैंगलोरका कक्षाकोठा हुँदै काठमाडौँको सडकसम्म पोखिएको पसिना, अध्ययन र तथ्यको जगमा ठडिएको एउटा बलियो ‘स्ट्रक्चर’ हो। तर, आज बालेन प्रधानमन्त्री बनिरहँदा एउटा गम्भीर राजनैतिक प्रश्न पनि ठडिएको छ– के काठमाडौँका गल्लीमा डोजर चलाउनु र सिंहदरबारको कुर्सीमा बसेर देशको जर्जर अर्थतन्त्र, जटिल परराष्ट्र नीति र दलीय भागबन्डाको सन्तुलन मिलाउनु एउटै कुरा हो? के एउटा विद्रोही गायक ‘सिस्टम’को हिस्सा बनेपछि आफैँले कोरेका सुशासनका रेखाहरूसँग सम्झौता गर्न बाध्य हुनेछ?
बालेनको कथा काठमाडौँको मुटु नरदेवीबाट सुरु हुन्छ, जहाँका इँटाहरूमा मल्लकालीन गौरव र हावामा नेवारी संस्कृति छ। बालेनका पिता डा रामनारायण शाह सरकारी आयुर्वेदिक चिकित्सक थिए। घरमा अध्ययन, आयुर्वेदको अनुशासन र नैतिकताको कडा जग थियो। धेरैलाई जिज्ञासा हुँदो हो– बच्चामा बालेन कस्ता थिए त?
उनकी दिदी सुजाता शाहले बीबीसी हिन्दीसँग गरेको कुराकानी अनुसार बालेन सानोमा अरू बच्चा जस्तो चुलबुले वा चकचके थिएनन्। उनी त एक ‘ज्ञानी पुरुष’ जस्ता थिए। सानैमा यति परिपक्व कुरा गर्थे कि सुन्नेहरू अचम्ममा पर्थे। यो परिपक्वता बालेनले बुवाबाट सिकेका थिए। घरमा बुबाले संस्कृतका श्लोकहरू वाचन गरेको र कविता लेखेको देखेरै बालेनभित्र शब्दहरूको भोक जागेको थियो।
काठमाडौँ महानगरको मेयर हुनुअघि सञ्जय गुप्तासँगको एक पडकास्टमा बालेनले आफैँ पनि स्वीकारेका छन्– उनी सानोमा स्कुलको चार पर्खालभित्रको पढाइभन्दा बुबाको अफिस र मन्त्रालयका बैठकहरूमा झुल्किन रुचाउँथे। त्यहाँ ठूला मन्त्री र सचिवहरूले देश चलाउने कुरा गरिरहँदा एउटा सानो बालक कुनामा बसेर सबै नीतिगत कमजोरी नियालिरहेको हुन्थ्यो।
उनले सानैमा एउटा कुरा ठम्याएका थिए– ‘बैठकमा मान्छेहरू समस्या मात्र भन्छन्, समाधान कसैले भन्दैन।’
कहिलेकाहीँ त उनी सानै उमेरमा ती ठूला मान्छेका कुरामा हस्तक्षेप गरिदिन्थे। उनको पुख्र्यौली जरो मधेसको महोत्तरी (एकडारा) मा थियो, तर उनी काठमाडौँको नेवारी माटोमा भिजेर हुर्किए। यही दुईवटा भूगोलको फ्युजनले उनलाई सानैदेखि ‘सिंगो नेपाल’ बुझ्ने दृष्टि दियो। उनी मधेसको ‘राप’ र पहाडको ‘शीतल’ दुवैलाई समेट्न सक्ने बनेर उदाए।
***
बालेनको जीवनको एउटा ठूलो ‘टर्निङ प्वइन्ट’ २०१५ को विनाशकारी भूकम्प थियो। त्यतिबेला उनी सिभिल इन्जिनियरका रूपमा भर्खर काम सुरु गर्दै थिए। भूकम्पको त्यो भयावह दृश्य, भत्किएका मन्दिर र ध्वस्त भएका बस्तीहरूले बालेनलाई विक्षिप्त बनायो। उनले देखे– केबल इँटा भत्किएका छैनन्, देशको इन्जिनियरिङ र संरचनात्मक दृष्टिकोण नै धराशायी छ।
त्यही पीडाले उनलाई अझ गहिरो अध्ययनका लागि प्रेरित गर्यो उनी भारतको बैंगलोर पुगे, स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गर्न। बैंगलोर बसाइका क्रममा उनले प्रविधिलाई संस्कृतिसँग कसरी जोड्ने र ऐतिहासिक संरचनालाई आधुनिक प्रविधिले कसरी जोगाउने भन्ने कुरा सिके। त्यहाँ पढ्दा उनी ‘युनिभर्सिटी टपर’ नै बने। उनले ४ वर्षमा ५६ वटा विषय पढे।
‘सिभिल इन्जिनियरिङभित्र आर्किटेक्चर मात्र होइन, फाइनान्स, इकोनोमिक्स, कानुन र म्यानेजमेन्ट सबै पढ्नुपर्छ,’ उनले मेयर हुनुअघि पडकास्टमा भनेका थिए।
बालेनका लागि इन्जिनियरिङ सिमेन्ट र रडको सन्तुलन मात्र थिएन, यो त एउटा समाजको ‘डिजाइन’ थियो। उनी भन्थे– ९ बजे भन्यो भने ९ः०५ होइन, ठ्याक्कै ९ बजे काम सुरु हुनुपर्छ। यो अनुशासन उनले भारतको दक्षिण भेगबाटै सिकेका थिए। उनले अनुभव गरे कि पीएचडी गरेका प्रोफेसरहरूले मात्र पढाएर पुग्दैन, २० वर्ष गाह्रो लगाएको मिस्त्रीले पनि इन्जिनियरलाई पढाउनुपर्छ।
‘लेबर, मिस्त्री, प्लम्बर र इलेक्ट्रिसियनसँगको सम्बन्ध जति राम्रो हुन्छ, इन्जिनियरिङ त्यति नै उत्कृष्ट हुन्छ,’ उनी भन्छन्।
तर, के यही इन्जिनियरिङको ‘प्रि–सिजन’ले सिंहदरबारको खिया लागेको कर्मचारीतन्त्रलाई गति दिन सक्ला? यो यतिबेला सबैभन्दा ठूलो प्रश्न बनेको छ।
***
नेपाली समाजमा र्यापलाई लामो समयसम्म ‘कुलत’ र ‘आक्रोश’को संगीत मानिन्थ्यो। तर बालेनले यसलाई ‘बौद्धिक प्रतिवाद’को माध्यम बनाए। यमबुद्ध जस्ता हस्तीहरूसँगको संगत र ‘नेपहपको श्रीपेच’ सम्मको यात्रामा उनले थुप्रै तिरस्कार भोगे। मानिसहरूले उनलाई ‘गल्लीको गायक’ भने, तर उनले तिनै गल्लीका मानिसका कथा लेखिरहे।
उनकी दिदी सुजाता भन्छिन्, ‘बालेनको र्यापमा गालीगलौज हुँदैनथ्यो, बरु त्यहाँ समाजको पीडा हुन्थ्यो।’
उनको ‘सडक बालक’ गीतले एउटा ठूलो हलचल ल्यायो। उनले राज्यले नदेखेको त्यो तप्काको प्रतिनिधित्व गरे, जसको घर सडकको पेटी थियो। संगीतले उनलाई शब्दको शक्ति सिकायो। शुक्रबार प्रधानमन्त्रीका रूपमा शपथ लिनु अघिल्लो दिन उनले आफ्नो नयाँ गीत सार्वजनिक गरे– ‘जय महाकाली’। गीतले उनको सांगीतिक विद्रोहलाई राजनैतिक उचाइ दिएको छ। गीतमा उनी भन्छन्–
‘आजसम्म दलले गरे, अब बदल्नेले गरौँ,
हातमा राखौँ पाली, फैलिन्छ यो नेपाली...’

प्रधानमन्त्रीको कुर्सीमा पुगेपछि उनले र्यापमा जस्तै प्रस्ट शब्द बोल्लान् कि शब्दहरूलाई खुम्च्याउलान्? संगीतको विद्रोह र सत्ताको जिम्मेवारीबीचको यो द्वन्द्व बालेनको कार्यकालको सबैभन्दा रोचक पाटो हुनेछ।
बालेनको मेयर कार्यकाल
बालेनको मेयरको कार्यकाल नेपालको सहरी राजनीतिको एउटा यस्तो अध्याय बन्यो, जसलाई हामीले नजिकबाट अवलोकन गर्दा एउटा ‘सिस्टम डिजाइन’ को रूपमा हेर्न सकिन्छ। उनले महानगरलाई केवल एउटा सरकारी अड्डाका रूपमा चलाएनन्, बरु एउटा प्रयोगशालाका रूपमा प्रयोग गरे।
काठमाडौँका फुटपाथहरू खाली गराउन उनले जुन ‘एग्रेसिभ’ शैली अपनाए, त्यसले साना व्यवसायी तथा गरिखाने वर्गलाई पीडा त दियो, तर उनी रोकिएनन्। बालेनको प्रतिरक्षामा तत्कालीन महानगर प्रहरीले सिंगो सहरमा भनिरह्यो– कानुन सबैका लागि बराबर हुन्छ।
हामीले देख्यौँ, उनले साना फुटपाथ पसले मात्र होइन, ठूला–ठूला महलका अवैध संरचना भत्काउँदा पनि कुनै राजनैतिक पहुँच वा शक्तिको परवाह गरेनन्। उनको तर्क थियो– सडक हिँड्नेका लागि हो, व्यापारका लागि होइन। बालेनका लागि ‘डोजर’ मेसिन थिएन, यो त वर्षौँदेखिको बेथितिलाई भत्काउने एउटा राजनीतिक औजार थियो।

उनको कार्यकालको सबैभन्दा सफल र अनुकरणीय पाटो शिक्षा र स्वास्थ्य रह्यो। निजी विद्यालयहरूले दिने १० प्रतिशत छात्रवृत्तिमा उनले ल्याएको पारदर्शिता एउटा ठूलो क्रान्ति थियो। पहुँचवालाका छोराछोरीले मात्र पाउने छात्रवृत्ति वास्तवमै गरिब र जेहेन्दार विद्यार्थीको हातमा पुग्यो।
एकीकृत प्रवेश परीक्षा प्रणाली लागू गरेर उनले शिक्षामा ‘मेरिटोक्रेसी’को जग बसाले। यसले गर्दा काठमाडौँका सामुदायिक विद्यालयहरूमा विद्यार्थीको चाप अभूतपूर्व रूपमा बढ्यो। यो एउटा यस्तो ‘मोडल’ थियो, जसको प्रतिध्वनि मधेस र पहाडका कुनाकाप्चासम्म पुग्यो। तर, प्रधानमन्त्री बनेपछि अब उनले कुनै एक सहरको मात्र होइन, देशभर बिग्रेको शैक्षिक थितिमाथि प्रहार गर्नुपर्नेछ।
जनमतको महाविस्फोट र राजनैतिक पराकम्प
काठमाडौँ महानगरको मेयरका रूपमा बालेनले देखाएको कार्यकुशलता र साहसले राष्ट्रिय राजनीतिमा एउटा यस्तो उभार ल्यायो, जसको परिणामले पुराना शक्तिहरूलाई स्तब्ध बनाइदियो। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ महानगरका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले ६८ हजार ३४८ मत पाए। त्यसै क्षेत्रमा लगातार ६ पटक जितेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली १८ हजार ७३४ मतमा सीमित भए। मतान्तर— ४९ हजार ६१४।
यो नेपाली राजनीतिमा लामो समयदेखि अचल बनेको संरचनामा बज्रिएको एउटा शक्तिशाली प्रहार थियो। यसले के सिद्ध गर्यो भने, जनता अब पुराना नारा र आश्वासनबाट थाकिसकेका छन् र उनीहरू बालेनको ‘इन्जिनियरिङ भिजन’मा देशको भविष्य देखिरहेका छन्।
बालेनले मेयर हुनुअघि देशबारे मिडियामा जसरी बोलेको थिए, जसरी शिक्षा, स्वास्थ्य र पूर्वाधारका बारेमा कुरा गरेका थिए, ती अब प्रधानमन्त्रीका रूपमा राष्ट्रिय नीति बन्ने अपेक्षा गरिएको छ। उनले स्वास्थ्य क्षेत्रमा ‘एकीकृत डिजिटल हेल्थ कार्ड’को कुरा गरेका थिए।
‘१० वर्षअघि गरेको एक्सरे पनि त्यही कार्डमा होस्, ताकि बिरामीले फाइल बोकेर अस्पताल–अस्पताल धाउनु नपरोस् र भ्रष्टाचार रोकियोस्,’ उनले अघि सारेको भिजनमा उल्लेख छ। जसले देशको स्वास्थ्य सेवालाई पूर्ण रूपमा ‘डिजिटलाइज’ गर्ने ढोका खोल्छ।
बालेनले मेयर हुँदा स्पेनमा भएको ‘वर्ल्ड एसोसिएसन अफ द मेजर मेट्रोपोलिसेस’को सम्मेलनमा त्यस संस्थाका सचिव जोर्डी भाकरसँग गरेको १० मिनेटको संवादमा विकासको नयाँ र मौलिक परिभाषा दिएका थिए।
उनले भनेका थिए– ‘हाम्रो दक्षिण एसियाली सहरहरूमा गुणस्तरीय जीवन भनेको केवल खानु, बस्नु र सडकमा चिल्ला गाडी दौडाउनु होइन। यो त आफ्नो संस्कृतिमा बाँच्न पाउनु हो। आफ्नो भाषामा बोल्न पाउनु हो। आफ्ना जात्रा, पर्व र अमूर्त सम्पदाहरूमा सहभागी हुन पाउनु हो।’
वातावरणका मुद्दामा उनको चिन्ता स्थानीय मात्र होइन, विश्वव्यापी थियो।
‘नेपाल ६० प्रतिशत हरियो छ, कार्बन उत्सर्जनमा हाम्रो योगदान शून्य छ, तर हामी छिमेकी देशहरूको प्रदूषणको मारमा छौँ,’ उनले भनेका थिए। यो ‘वातावरणीय राष्ट्रवाद’ उनको परराष्ट्र नीतिको हिस्सा बन्ने निश्चित छ। तर, ठूला छिमेकी चीन र भारतसँगको कुटनीतिमा र्याप ब्याटलका शब्दहरूले मात्र काम गर्दैनन्, त्यहाँ इन्जिनियरिङको अनुभव र कूटनीतिको धैर्य आवश्यक पर्छ।
बालेनको सबैभन्दा ठूलो पुँजी इमानदारी हो। मेयर हुनुअघि उनले भनेका थिए– ‘मसँग काठमाडौँमा ५ तलाको घर छ, २५ वर्षदेखि गाडी चढेको छु, मलाई पैसाको लोभ छैन। मलाई केवल यो पदमा बसेर काम नगर्ने नालायक मान्छेहरू हेर्न मन छैन।’
उनी चाहन्छन् कि केही दशकपछि मानिसहरूले उनलाई एउटा ‘इमानदार मान्छे’का रुपमा सम्झिऊन्। उनकी दिदी सुजाताका अनुसार, बालेनलाई जहिले पनि देश रित्तिएको कुराले चिन्ता लाग्छ। उनी आफ्ना साथीहरू सबै विदेश गएकोमा दुःखी छन् र उनीहरूलाई स्वदेश फर्किने वातावरण बनाउन चाहन्छन्। आज प्रधानमन्त्रीका रूपमा उनको सबैभन्दा ठूलो चुनौती यही हुनेछ— कसरी ती लाखौँ युवाहरूलाई आशा देखाउने जो हरेक दिन राहदानी लिएर विमानस्थलतिर दौडिरहेका छन्। बालेनले बुझेको हुनुपर्छ– इमानदारीको कसम खानु सजिलो छ, तर भ्रष्ट कर्मचारीतन्त्र र स्वार्थ समूहहरूले घेरिएको सिंहदरबारमा त्यो इमानदारी जोगाउनु फलामको चिउरा चपाउनु सरह हो।
बालेनको शपथ केबल शपथ होइन, यो त र्यापको ‘राइम’ बाट सुरु भएर संविधानको ‘लिपि’ सम्म आइपुगेको एउटा विद्रोही पुस्ताको विजय उत्सव पनि हो। हुनेछ। उनले शपथ लिँदै गर्दा पृष्ठभूमिमा १०८ बटुकहरूले मन्त्रोच्चारण गरे, शंखनाद गरियो र बौद्ध भिक्षुहरूले पाठ पनि गरे। यसले प्रस्ट पार्छ– अबको राजनीति केवल भौतिक विकासमा मात्र होइन, सांस्कृतिक पुनर्जागरण र आध्यात्मिक चेतनामा पनि आधारित हुनेछ।

तर, के यो सांस्कृतिक शंखनादले सिंहदरबारभित्र वर्षौँदेखि जमेर बसेको कुशासन र भ्रष्टाचारको ‘भाइरस’लाई सधैँका लागि मार्न सक्ला?
जे होस्, बालेनका लागि अबको बाटो ‘मार्फाको मदिरा’ जस्तो मिठो हुने छैन। एउटा स्वतन्त्र मेयर हुँदा उनले ‘महानगरका ३२ वडाध्यक्ष’लाई सम्झाउनुपर्थ्यो, अब उनले पार्टीभित्रका गुट–उपगुट, दर्जनौँ दल र उनीहरूका अनगिन्ती स्वार्थहरूलाई व्यवस्थापन गर्नुपर्ने हुनसक्छ।
उनले र्याप ब्याटलमा झैँ विपक्षीका कुतर्कहरूलाई नतिजाले प्रहार गर्नुपर्नेछ। प्रश्न यो पनि छ– कर्मचारीतन्त्रले उनलाई सघाउला कि ‘बालेनको डोजर’लाई सिंहदरबारभित्रै छिर्न नदिन अनेकौँ प्रक्रियागत र कानुनी जालो बुन्ला? यी अबका दिनमा देखिने राजनीतिक ब्याटल हुन्।
बालेनलाई आज जनताले एउटा ‘मसिहा’ का रूपमा हेरेका छन्। तर, सत्ताको एउटा तितो सत्य के हो भने– यदि उनीहरूले तत्काल नतिजा दिन सकेनन् भने मसिहाहरू चाँडै असफल पनि हुन्छन्। काठमाडौँमा सडक सफा गर्नु र देशको खस्कँदो अर्थतन्त्रलाई उकास्नु, वैदेशिक ऋणको भार घटाउनु र छिमेकीहरूसँगको सीमा विवाद सुल्झाउनुमा आकाश–जमिनको फरक छ।
विश्लेषकहरू भनिरहेका छन्– बालेन अब ‘लोकप्रियतावाद’ र ‘नीतिगत यथार्थ’को दोसाँधमा छन्। यदि उनले कठोर र संरचनागत निर्णय लिन सकेनन् भने उनी पनि परम्परागत पार्टीका झै अर्का एक ‘असफल प्रधानमन्त्री’ को सूचीमा दरिनेछन्।

काठमाडौँको मेयर हुनुअघि उनी भन्थे– अब सहरलाई बस्न योग्य बनाउनु छ र मान्छेहरूलाई खुसी राख्नुछ। अब उनले यही लक्ष्य सिंगो नेपालका लागि लागू गर्नुपर्नेछ। तर, यथार्थ के छ भने खुसी वितरण गर्नका लागि यतिखेर देशको ढुकुटी रित्तो छ र जनअपेक्षाको पहाड सगरमाथाभन्दा अग्लो छ।
यद्यपि बालेनको जीन्दगीको ग्राफ हेर्दा लाग्छ– उनी सत्ताका लागि होइन, एउटा मिसनका लागि जन्मिएका हुन्। भनिन्छ, इतिहासले सबैलाई सम्झँदैन, समयले छानेकालाई मात्र सम्झन्छ। आज समयले बालेनलाई छानेको छ।
उनकी दिदी सुजाताले भनेकी छन्, ‘मलाई गर्व छ– मेरो भाइले देशको जिम्मेवारी आफ्नो काँधमा लिएको छ।’
यो गर्व सिंगो देशको पनि हो। तर, काठमाडौँका गल्लीहरूबाट सुरु भएको ३६ वर्षीय बालेनको यो यात्रा अब राष्ट्रको नयाँ भविष्य कोर्ने आधार बन्न सक्छ कि सक्दैन, त्यसको फैसला अब उनले चलाउने ‘कलम’ले गर्नेछ, ‘डोजर’ले होइन।
तर, इतिहास लेख्नका लागि रगत र पसिना मात्र होइन, धैर्य, कूटनीति र राजनैतिक चातुर्यको मसी पनि चाहिन्छ। मधेसी मूलबाट पहिलोपटक प्रधानमन्त्री बन्न सफल बालेन्द्र शाहको प्रधानमन्त्रीत्वकाल नेपालको ‘नयाँ पुस्ताको राजनीतिक इन्जिनियरिङ’को अन्तिम र सबैभन्दा कठिन अग्निपरीक्षा हो।
Shares

प्रतिक्रिया