कारोबार


पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेको हो?

मुख्य चुनौती : रिठेपानी डाँडा
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेको हो?

वाशुदेव मिश्र
चैत ४, २०७८ शुक्रबार ८:४९, पाेखरा

पृृष्ठभूमिमा अन्नपूर्ण र माछापुच्छ्रे हिमाल। अंग्रेजीमा ‘पोखरा इन्टरन्यासनल एयरपोर्ट’ लेखिएको चित्ताकर्षक भवन! पोखरा विमानस्थलको ‘टर्मिनल भवन’का तस्बिर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भेटिन्छन्। प्रधानमन्त्रीदेखि गण्डकीका मुख्यमन्त्री– मन्त्री अनि केही टाठाबाठासम्मले विमानस्थल पटक–पटक अवलोकन गरेका छन्। तस्बिर हेर्नेहरूले भन्छन्, ‘ए ! एयरपोर्ट त बनिसकेछ!’ 

हुन पनि विमानस्थलको ९२ प्रतिशतजति भौतिक निर्माणका काम सकिएको छ। तर, विमानस्थल भनेको भवन र धावनमार्ग मात्रै हैन, विमान उडाउन पूर्वाधारसँगै सुरक्षा र मान्यता–प्राप्त गुणस्तर पनि चाहिन्छ। तर पोखरा विमानस्थलको भौतिक निर्माण अन्तिम चरणमा पुग्दा सुरक्षा र अन्य मापदण्ड भने पूरा हुन सकेका छैनन्। 

तीमध्ये पनि मुख्य चुनौती बनेको छ– जहाज अवतरण गर्नेतर्फ रहेको रिठेपानी डाँडा कटान। दक्षिणतिरको सो डाँडा काटिएन भने विमान अवतरण र उडानमा समस्या आउँछ। यो विषय नागरिक उड्डयन प्राधिकरणले पटकपटक उठायो। तर, डाँडा र रूख काट्न वातावरणीय मूल्यांकन हुनपर्थ्याे। 

पाेखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण परियोजनाका प्रमुख विनेश मुनकर्मीका अनुसार लामो समयसम्म वातावरणीय मूल्यांकन फाइल वन मन्त्रालयमै थन्कियो। अघिल्लो वर्ष नै संसदको दिगो विकास तथा सुशासन समितिले डाँडा काट्न निर्देशन दिए पनि प्रक्रिया अगाडि नबढेको उनले जानकारी दिए। डाँडा नकाटेसम्म उडान अनुमति दिने अन्तर्राष्ट्रिय नियमनकारी निकाय आईकाओबाट अनुमति लिने प्रक्रिया सुरु गर्न अप्ठेरो पर्ने उनले बताए।

‘हामीसँग असारसम्मको समय छ, स्वीकृति पाएकाले अब काम अगाडि बढ्छ’, उनले भने, ‘वैशाखमा उडान परीक्षण गर्ने र असारमा ह्याडओभर गर्ने गरी काम अगाडि बढेको छ। सेटअप, इर्मिगेसन, कबलहरूको निर्माण पनि हुँदै छ।’ 

अवरोध हटाउन दुई हेक्टरमा फैलिएको रिठेपानी डाँडाको ४० मिटर उचाइ घटाउनुपर्छ। 

विमानस्थलको दक्षिणपूर्वपट्टि बर्खामा आउने बाढी र कटान नियन्त्रण, हाल संचालनमा रहेको ल्यान्डफिल साइट एवं इन्धन डिपोको समस्या भने समाधान नभएको उनले बताए। पोखरा विमानस्थलमा काहुँडाँडा, अर्मलादेखि पोखरा नगर क्षेत्रको बाढी पस्छ। विमानस्थलको धावनमार्ग नबनाउँदासम्म छिरलिएर बग्ने पानी अहिले दक्षिण पूर्वतिरबाट जाने गरेको छ। बर्खामा सिँचाइका लागि बनाइएको नहर तथा बाढी खोलाजस्तै हुन्छ। बाढीले विमानस्थल छेउको जमिन भत्काइरहेको छ। 

बाढी नियन्त्रणका लागि झन्डै ३५ करोड रुपैयाँ खर्च भइसकेको छ तर जमिन विजयपुर खोलामा खस्ने क्रम रोकिएको छैन। उता, विमानस्थलले वडा नम्बर १४ को तल्लो क्षेत्रमा जाने सिँचाइको पानी रोकिदिएपछि सो क्षेत्र सुक्खा बनेको छ। सिँचाइको सुविधा नपाएको भन्दै स्थानीय अदालतसम्म पुगेका छन्। अदालतले नै सिँचाइको व्यवस्था गर्न निर्देशन दिए पनि त्यो कार्यान्वयन हुन सकेको छैन। बाढी नियन्त्रणका लागि सिँचाइ डिभिजनलाई लिखित आग्रह गरिए पनि काम अगाडि नबढेको मुनकर्मीले बताए। सिँचाइबाट डाइभर्सनको जिम्मा पनि सिँचाइ डिभिजनकै भएको तर त्यसमा प्रगति नभएको उनले सुनाए।  

‘तीन वर्षदेखि यो कुरा उठाउँदै आएका छौँ, समस्या समाधानका लागि २०७६ सालमा बृहत् बैठक पनि बस्यो तर उहाँहरू बजेट छैन भन्नुहुन्छ’, उनले नेपालखबरसँग भने, ‘ हामीले विमानस्थलमा भल/बाढीको समस्या समाधान गर्न नै  एयरपोर्टभित्र बनाइएका पानीका कुलोहरूको डिजाइन नै मोडिफाइड गरेका छौँ। डिजाइनमा चेन्ज गर्दा सिँचाइको पानी तह लगाउन सकिने भएको छ।’ 

उनले विमानस्थलभित्रको पानी तर्काउन बनाइएका थप संरचनाको खर्च चिनियाँ ठेकेदार कम्पनीले नै बेहोरेको जिकिर पनि गरे

उनले विमानस्थल तल्लो क्षेत्रमा रहेका नागरिकको मागअनुसार सिँचाइको समस्या समाधान गर्न कुलो बनाइएको दाबी पनि गरे। 
‘हामीले सिँचाइका लागि नहर बनाएका छौं, सिँचाइले आवश्यक ठाउँमा पानी जोड्नुपर्‍यो’, मुनकर्मीले भने, ‘सिँचाइको काम सिँचाइ दिने हो। इरिगेसन डिभिजनले शब्द शब्दमा खेल्न खोज्छ। काम गर्न नचाहेर बिग्रेको हो। हामीले जनतालाई पानी दिने पूर्वाधार बनायौं। पानी जोड्नुपर्‍यो। एकातिर पहिरो गइरहेको छ। अर्कोतिर जनताले पानी पाएका छैनन्।’

उनले बाच्छेबुडुवामा रहेको ल्यान्डफिल साइट स्थानान्तरण प्रक्रियामा पनि ठोस प्रगति नभएको बताए। ल्यान्डफिल साइट सार्ने जिम्मा पोखरा महागनरपालिकाको हो। उसले जग्गा खोजेर सार्ने प्रतिबद्धता त जनाएको छ तर त्यो पूरा हुन सकेको छैन। वडा नम्बर २० र १६ मा पर्ने २३१ रोपनी जग्गा हेरिए पनि स्थानीयको विरोधले काम अगाडि बढ्न नसकेको पोखरा महानगरपालिकाको भनाइ छ। 

‘हामीले जेठदेखि त्यहाँ फोहोर फाल्न मिल्दैन भनेका छौँ। डाँडा काटेपछि निस्कने माटोले फोहर पुर्ने भनिएको छ’, मुनकर्मीले भने,‘दुई/अढाई वर्षदेखि उठाएको कुरा हो, ल्यान्डफिल साइट बन्द भएन भने हवाई सुरक्षामा समस्या पर्ने देखिन्छ।’ 

निर्माण परियोजनाका इन्जिनियर तथा उपप्रबन्धक कृष्ण पौडेलका अनुसार ल्यान्डफिल साइट नहट्ने भएपछि फोहोर भएको ठाउँमा उड्ने चराहरूबाट उडानमा हुने अवरोध हटाउने वैकल्पिक उपाय खोजी भने गरिएको छ। संसारका विभिन्न विमानस्थलमा प्रयोग गरिएको चरा धपाउने प्रविधि ल्याउनेबारे छलफल चलेको उनले बताए। 

भौतिक निर्माण सकिनैलाग्दा विमानस्थलमा इन्धन डिपोसमेत बन्न सकेको छैन। २०७७ सालमा इन्धन डिपो निर्माणको टेन्डर आह्वान भयो। तर टेन्डरका लागि कुनै  कम्पनी योग्य नभएको भनियो। छनोट प्रक्रियामा असहमति जनाउँदै टेन्डरमा सहभागी कम्पनीले अदालत गुहार्‍यो।  विवादसँगै इन्धन डिपो बन्न सकेको छैन। जसका कारण आयल निगमले हालको पोखरा विमानस्थलबाट बोकेरै त्यहाँ इन्धन पुर्‍याउने बताइरहेको छ। 

‘पुरानो एयरपोर्टमा भण्डारण क्षमता बढाएर बोक्ने गाडी  स्ट्यान्डबाई राख्ने कुरा छ’, परियोजना प्रमुख मुनकर्मीले भने, ‘एउटा २७ हजार लिटर बोक्ने गाडी र ६४ हजार लिटरको भण्डारण क्षमता बनाउने भनिएको छ तर उहाँहरूले   काम गर्न सक्नुभएन। बनाउनै साढे ३ वर्ष लाग्छ भन्नुभएको छ।’

तर, हालको पोखरा विमानस्थलदेखि नयाँ विमानस्थलसँग अति संवेदनशील मानिएको पेट्रोलियम पदार्थ बोकेर पुर्‍याउन चुनौती छ। साँघुरो सडक, विजयपुर खोलामा बनेका पुलहरूको भारवहन क्षमता कम भएका कारण पनि सधैं बोकेर इन्धन पुर्‍याउन सम्भव नरहेको विमानस्थल परियोजनाका एक वरिष्ठ अधिकारीले बताए।

विमानस्थल सञ्चालन सहजीकरणका लागि गण्डकी सरकारले गत कात्तिकमा आफ्ना पर्यटनमन्त्री मणिभद्र शर्माको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको छ। अहिलेसम्म यसका २  वटा बैठक भएका छन्। तर, बैठकमा सहजीकरण गर्नेभन्दा पनि गुनासो सुुनाउने काम भइरहेको छ।

‘नामचाहिँ सहजीकरण समिति छ तर विमानस्थलले यो गरेन, ऊ गरेन भन्ने मात्रै कुरा हुन्छ’, मुनकर्मीले भने, ‘यद्यपि समस्या पहिचान गरेर समाधान गर्ने मन्त्रीज्यू पोजिटिभ हुनुहुन्छ।’

यता, विमानस्थल निर्माणसँगै बाहिरी पूर्वाधार नबन्दा पनि सञ्चालन गर्न समस्या हुन सक्ने सरोकारवालाको भनाइ छ।विमानस्थलबाट पोखराको मुख्य सहरी क्षेत्र आउने बाटो २ लेनको मात्रै छ। अहिले नै सो सडकमा ट्राफिक जाम हुन्छ। 

‘विमानस्थलमा समयमै पुग्नुपर्छ, अहिले भएको बाटो हेर्दा त एयरपोर्ट पुग्नै सकस हुने देखिन्छ’, विमानस्थल निर्माण अभियन्ताको परिचय बनाएका पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विश्वशंकर पालिखेले नेपालखबरसँग भने, ‘सडक फराकिलो बनाउनेतर्फ कसैको ध्यान पुगेको छैन।’ 

उनले विमानस्थल तयार भए पनि यहाँबाट कहाँ जहाज उडाउने भन्ने निक्र्याेल नहुँदा पनि सञ्चालन अनिश्चित भएको जिकिर गरे। 

‘पर्यटक ल्याउने भनेको कसैको घरमा गएर आगो ल्याएजस्तो हैन, पहिल्यै मार्केटिङ हुनुपर्छ’, उनले भने, ‘पहिला पोखरा उडान र यहाँको पर्यटकीय गतिविधिबारे जानकारी दिनपर्‍यो। पर्यटकले तत्काल हिँड्ने योजना बनाउँदैन, २–३ वर्षदेखि पैसाको जोहो गर्दै, बिदा मिलेपछि मात्र उनीहरू यहाँ आउने हुन् भन्ने हामीले बिर्सेका छौं।’ 

उनले पोखरा आउने विमान सिमरा हुँदै आउनुपर्ने र त्यो उडान महँगो हुने जिकिर पनि गरे। पोखराभन्दा पछि बनाउन  थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान भइसकेको छ। त्यहाँबाट उडान गर्न केही अन्तर्राष्ट्रिय विमान कम्पनी तयार भइसक्दा पोखराबारे नसोचिनु दुःखद भएको पालिखेले गुनासो गरे।

उनले अन्तर्राष्ट्रिय उडान गर्न असमर्थ भए पोखरा विमानस्थल पनि घाटामा गएर श्रीलंकाको हंवनटोटा विमानस्थलजस्तै हुने खतरा पनि औंल्याए। श्रीलंकाको हंवनटोटा विमानस्थल पनि चिनियाँ ऋणमै बनेको थियो। विमानस्थलको आम्दानीले ऋण तिर्न नसकेपछि श्रीलंकाले विमानस्थल नै चीनलाई सुम्पेको थियो।

‘मित्रराष्ट्रको सदासयताले बनेको एयरपोर्ट सञ्चालन गर्नु हाम्रो दायित्व हो’, उनले नेपालखबरसँग भने, ‘आफूले ढंग नपुर्‍याउने र दोष अर्कालाई दिन मिल्दैन तर दिगो सञ्चालनबारे बेलैमा सोच्नुपर्छ।’

उनका अनुसार सिमरा हुँदै नेपालमा कैयौं विमान आउँछन्, त्यस्तोमा एयर ट्राफिकको समस्या आउन सक्छ भने यो रुट महँगो पनि पर्छ। उनले भने, ‘पोखरा विमानस्थल दिगो बनाउने हो भने भैरहवा क्षेत्रबाट उडान प्रवेश हुन जरुरी छ।’ 

उनका अनुसार भारतले हालसम्म भैरहवा रुट हुँदै नेपाल प्रवेशको अनुमति दिएको छैन। 

परियोजना प्रमुख मुनकर्मी भने एयर रुटमा समस्या रहेको कुरा स्वीकार्दैनन्। ‘सिमरा इन्ट्री रुट छ। महेन्द्रनगर–नेपालगन्जको कुरा भएको छ’, उनले भने, ‘भैरहवा भए छोटो हुने हो। पहल भइरहेको छ। यहाँबाट अन्तर्राष्ट्रिय उडान भर्न एयरलायन्सलाई पत्र लेखेको भन्ने कुरा आएको छ। यो काम हवाई उड्डयन प्राधिकरणले नै गरेको छ।’ 

बजारीकरणको विषयमा पर्यटन मन्त्रालयले पनि ध्यान दिनुपर्ने उनको सुझाव छ। 

यसरी बस्यो जग 
तत्कालीन अञ्चलाधीश शंकरराज पाठकको अगुवाइमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलका लागि ३ हजार १०८ रोपनी जग्गा अधिग्रहण गरिएको हो। पाठकका अनुसार पोखरालाई पर्यटकीय सहर बनाउने हो भने सीधा हवाई मार्ग चाहिन्छ भन्ने सोच उनैको हो। तत्कालीन राजा वीरेन्द्र पोखरा भ्रमणमा आएका बेला पाठकले एयरपोर्टको विषय उठाएका थिए।

‘सरकार रत्नमन्दिरमा डिनरमा हुनुहुन्थ्यो, मैले सरकार, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल चाहिन्छ भनें’, राजासँगको संवाद सम्झिँदै उनले नेपालखबरसँग भने, ‘साँझको रमझममा सरकारबाट मेरो कुरामा रुचि देखाइबक्सेन। मैले फेरि भन्ने कुरा पनि भएन। भोलिपल्ट सरकारले मलाई बोलाएर पाठक तिमीले भनेको एयरपोर्टको कुरा के हो भनेर सोधनी भयो। मैले बेलिबिस्तार लगाएँ। सरकारले सुरक्षाको दृष्टिले सम्भव छ र भनिबक्स्यो,  मैले सुरक्षा ठूलो कुरा हैन भनें। त्यसपछि सरकारबाट पर्यटन राज्यमन्त्रीसँग कुरा गर्नू भन्दै गो अ हेड मर्जी भयो। त्यसपछि म जग्गा खोज्न लागें।’ 

सो जग्गामा लामो समयसम्म विमानस्थल बन्न सकेन। पोखरेलीहरूले पटकपटक एयरपोर्ट माग गरिरहे। अन्ततः यस विषयमा चीन सरकारले चासो देखायो। सन् २०१४ मे ३१ मा नागरिक उड्डयन प्राधिकरण र ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडबीच ठेक्का सम्झौता भयो र ३ हजार १ सय ६ रोपनी जग्गामा विमानस्थल बन्ने प्रक्रिया अगाडि बढ्यो। थप जग्गा अधिग्रहण गरेपछि हाल विमानस्थलको क्षेत्रफल ३ हजार ९९९ रोपनी पुगेको छ। 

हाल यहाँ २५ सय मिटरको रनवे बनेको छ। २०१६ मार्च २१ मा नेपाल र चीनको एक्जिम बैंकबीच ऋण सम्झौता भयो। पैसा जुटेपछि नेपाल सरकार र प्राधिकरणबीच २०१९ जुन ५ मा अनुदान २२ अर्बको ऋण सम्झौता गरियो र सन् २०१७ बाट विमानस्थल निर्माणले गति लियो। चिनियाँ ठेकेदार कम्पनीले उतैबाट र केही यता कामदारसहित काम अघि बढायो। लक्ष्यभन्दा अगावै निर्माण सक्ने घोषणा गरियो। तर, कोरोना महामारीले बाधा पुर्यायो। जसले गर्दा २०२१ जुन १० मा सक्नुपर्ने भए पनि एक वर्ष म्याद थप थपियो। 

कस्तो बन्छ? 
प्राविधिकहरूका अनुसार फोर डी मोडलमा बन्ने यो विमानस्थलको रनवे २५ सय मिटर लामो छ। यहाँ १५० देखि १८० सिटसम्मका एयरबस ३२० र बोइङ  ७५७ उडान र अवतरण गर्न सक्छन्। यी भनेका छोटो दूरीबाट आउने न्यारोबडीका विमान हुन्। विमानस्थलमा सिंगल अप्रोज अर्थात् पूर्वबाट मात्र अन्तर्राष्ट्रिय उडान हुनसक्छ। विमानस्थलबाट तीनवटा अन्तर्राष्ट्रिय, चारवटा एटीआर र चारवटा ट्विनअटर विमान पार्किङ गर्न सकिन्छ।  हालको २५ सय लामो रनवे बढाउन सकिन्छ। अन्तर्राष्ट्रियतर्फ दैनिक ६ र आन्तरिकमा ४८ उडान भर्न सकिने तथा वार्षिक ८ लाख यात्रुलाई सेवा दिन सकिने  विमानस्थलले जनाएको छ। हालको पोखरा विमानस्थलबाट पनि वार्षिक ५ लाखभन्दा बढी यात्रु हवाई यात्रा गरिरहको छन्, दैनिक कम्तीमा ३० र पिक सिजनमा सयजति उडान हुन्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .