कारोबार


हिमालयन बैंकलाई मर्जरमा लैजाने जिम्मा सीईओ राणालाई, पुनः इभेष्टमेन्ट बैंकसँग छलफल

हिमालयन बैंकलाई मर्जरमा लैजाने जिम्मा सीईओ राणालाई, पुनः इभेष्टमेन्ट बैंकसँग छलफल

दीपक भट्ट
चैत ७, २०७८ सोमबार ११:२४, काठमाडौँ

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर भाँडिएको तीन महिना भइसकेको छ। 

तर यी दुई बैंकले पुनः परस्पर मर्जरको छलफल गरिरहेको पाइएको छ। 

हिमालयन बैंक अहिले मर्जरको लागि नयाँ पार्टरनको तीव्र खोजीमा छ। त्यसका लागि सिभिल बैंक, सेञ्चुरी कमर्सियल बैंकसँग छलफल गरिरहेको बैंकले फेरि इन्भेष्टमेन्ट बैंकसँग पनि कुरा अघि बढाएको पाइएको हो।  

योसँगै इन्भेष्टमेन्ट बैंकले पनि हिमालयन बैंकलाई मर्जरको लागि सहमत गराउने प्रयास ब्युँताएको देखिएको छ। 

मर्जरको लागि विभिन्न बैंकसँग कुराकानी भए पनि हिमालयनसँग जस्तो आफ्नो स्वभाव अरु बैंकसँग नमिल्ने इन्भेष्टमेन्ट बैंक स्रोतले बतायो। 

बैंकका एक सञ्चालकले भने, ‘हिमालयनसँग नै हाम्रो धेरै स्वभाव मिल्छ। स्वभाव मिल्नेसँग नै मर्जरमा जान ठीक होला भन्ने हिसाबमा हामीले उनीहरुलाई ठोस कुराहरुमा छलफल गरौँ भनेर आग्रह गरेका हौँ।’

हिमालयन बैंकले यसअघि सञ्चालक सुनिल बहादुर थापालाई मर्जर कमिटीको जिम्मेवारी दिएको थियो। इभेष्टमेन्ट बैंकसँग मर्जरको कुरा धेरै नै अघि बढेपछि सो प्रक्रिया बीचमा नै तुहिएको थियो। त्यसलगत्तै मर्जर कमिटीका संयोजक थापाले राजीनामा दिएका थिए। 

गत हप्ता बसेको सञ्चालक समितिको बैठकले बैंकका सीईओ अशोक राणालाई मर्जरको जिम्मेवारी दिएको हो। 

सीईओ राणाले मर्जरको नयाँ जिम्मेवारी पाएपछि इभेष्टमेन्ट बैंकले हिमालयन बैंकसँग नै ठोस विषयमा छलफल गरौँ र सहमति भएमा मर्जरको प्रक्रिया नयाँ रुपमा अघि बढाउन सकिने किसिमबाट आग्रह गरेको हो। 

हिमालयन बैंकका सञ्चालक तथा मर्जर कमिटीका पूर्वसंयोजक थापाले अबको जिम्मेवारी सीईओलाई दिएको उल्लेख गर्दै अब उनले नै छलफल अघि बढाउने बताए। 

तर यसअघि पनि भाँडिएकोले सोच्नुपर्ने उनको तर्क छ।

उनले नेपालखबरसँग भने, ‘मर्जरको प्रस्ताव लैजाने बैंकको सञ्चालक समितिले हो। त्यसमा पनि अध्यक्षले आफैँ मर्जरको प्रस्ताव बोकेर मर्जर गराउने कुरा हुन्छ। बैंक लामो समयदेखि इभेष्टमेन्ट बैंकसँग मर्जरको प्रक्रियामा नै गइसकेको थियो। तर साधारणसभामा अध्यक्ष (प्रचण्ड बहादुर श्रेष्ठ)ले मर्जरको विपक्षमा नै मतदान गरेपछि अब भने सोच्नुपर्ने देखिन्छ।’ 

मर्जर कमिटीका व्यक्तिहरुको नैतिकताले पनि त्यसकार्यमा लाग्न नदिएको बताउँदै थापाले त्यो नैतिकता अध्यक्ष स्वयम्लाई पनि हुनुपर्ने उल्लेख गरे।

पुस २९ गते भएको हिमालयन बैंकको साधारणसभामा मर्जरसम्बन्धी प्रस्ताव फेल भएको थियो। यो फेल गराउन हिमालयन बैंकका स्वयम् अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ नै लागेको सञ्चालक थापाको संकेत थियो। 

के कुराले छलफलमा जुटाउँदै छ अहिले? 
राष्ट्र बैंकले दिएको समयसीमा नाघेर थपिएको समयसीमा समेत आइपुग्न लाग्दा दुई बैंकको एकीकृत कारोबार हुन नसक्ने अवस्था सिर्जना भएको थियो। 

तत्कालीन समयमा मर्जर भाँड्न अध्यक्ष श्रेष्ठ नै लागिपरेका थिए। उनकै योजनाअनुसार साधारणसभाबाट मर्जर प्रस्ताव समेत फेल भएको थियो। 

हिमालयन बैंकले इन्भेष्टमेन्टसँग मर्जरको प्रक्रिया अपनाइरहेकै समयमा बैंकको अध्यक्ष परिवर्तन गरेको थियो। कर्मचारी सञ्चय कोषका तुलसी प्रसाद गौतमको ठाउँमा असोज १३ गते प्रचण्ड बहादुर श्रेष्ठलाई ल्याइएपछि उनी इन्भेष्टमेन्ट बैंकसँगको मर्जरमा जान हच्किएका थिए।  

सोही कारण मंसिरसम्ममा पनि यी दुई बैंक मर्ज हुन नसक्ने अवस्था देखिएको थियो।  बैंकका सीईओ अशोक राणा र इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडे नाताले साला–भेना हुन्। नातावाल हुँदा विविध निर्णयहरुमा आफूहरु छायाँमा पर्ने हुँदा अध्यक्ष श्रेष्ठ त्यो बेला मर्जरमा जान चाहेका थिएनन्।

योभन्दा पनि महत्वपूर्ण कुरा दुई बैंकको मर्जरको लागि हुनुपर्ने दोस्रो चरणको डीडीए (सम्पत्ति तथा दायित्व मूल्यांकन) समेत सम्पन्न भइसकेको थियो। 

मर्जरको प्रमुख आधार मानिने डीडीए समेत तयार भएकोले त्यो एकआपसमा मान्ने समेतको सहमति थियो। हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकले वैशाख ३० मा मर्जर सम्झौता हुँदा सेयर स्वामित्व अर्थात् स्वाप रेसियो १ः१ रहने उल्लेख थियो।

मर्जरको छलफल हुँदा समेत डीडीए भएको थियो। त्यसमा पनि स्वाप रेसियो १ः१ नै गर्न सकिने गरी रिपोर्ट आएको भनिएको थियो। तर इन्भेष्टमेन्ट बैंकभन्दा हिमालयन बैंकको सम्पत्ति मूल्यांकन राम्रो देखिएको अवस्थामा पनि बराबर मूल्यांकन हुने गरी मर्जरमा जाने सहमति भएपछि हिमालयन बैंक भित्रबाटै प्रश्न उठाइएको थियो। 

अहिलेको छलफलमा भने हिमालयन बैंकभन्दा इभेष्टमेन्ट बैंकको सेयर मूल्याङ्कन केही कमजोर हुने गरी मर्जरमा जान छलफल भइरहेको छ। 

यसअनुसार हिमालयनको प्रतिसेयर मूल्य १०२ रुपैयाँ ५० पैसा हुँदा इन्भेष्टमेन्टको १०० रुपैयाँ हुने देखिएको छ। १० प्रतिशतसम्म तलमाथि परेको खण्डमा समेत १ः१ को स्वाप रेसियोमा जान सकिने सहमति त्यस समयमा भए पनि अब भने डीडीए रिपोर्टले जस्तो देखाउँछ सोही अवस्थामा मर्जरमा जान सकिने इभेष्टमेन्ट बैंकले बताएको छ। 

योसँगै यसअघि भाँडिएको मर्जर फेरि ब्युँताउने गरी हिमालयन बैंक छलफलमा बस्न तयार भएको ती सञ्चालकले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .