कारोबार


पूर्वराजा शाहको थप लगानीमा सातै प्रदेशमा विस्तार हुँदै सोल्टी होटल

पूर्वराजा शाहको थप लगानीमा सातै प्रदेशमा विस्तार हुँदै सोल्टी होटल

दीपक भट्ट
चैत १०, २०७८ बिहिबार १४:५४, काठमाडौँ

नेपालको चर्चित पाँचतारे होटल ‘द सोल्टी’ अब सातवटै प्रदेशमा खुल्दै छ। यसअघि नै नेपालगन्जमा पुगिसकेको सोल्टी होटल सबै प्रदेशको मुख्य सहरमा विस्तार हुने भएको हो।  

वि.सं. २०७४ सालमै लुम्बिनी प्रदेशको नेपालगञ्जमा सोल्टीको रिसोर्ट होटल सञ्चालनमा आइसकेको छ। जहाँ स्पा र स्विमिङ पुलसहितको ८१ वटा कोठा भएको रिसोर्ट छ। त्यस समयमा ५५ करोड रुपैयाँ लागतको रिसोर्ट निर्माण भएको थियो। यस होटलले भारतीय पर्यटकलाई केन्द्रित गरी आफ्नो सेवा प्रदान गर्दै आएको छ। 

यसबाहेक अब गण्डकी प्रदेशको पोखरास्थित खापुण्डीमा समेत चारतारे सोल्टी होटल सञ्चालनमा ल्याउने तयारी भएको छ। त्यसको अलावा अन्य प्रदेशमा समेत होटल सञ्चालनको लागि जग्गाको प्रबन्धको काम भइरहेको सोल्टी होटलका एक सञ्चालकले जानकारी दिए। 

त्यस्तै सोल्टीकै व्यवस्थापन रहने गरी प्रदेश १ को इटहरीमा पनि सोल्टी वेस्टेन्ड होटल सञ्चालनमा आउँदै छ। भीम पौडेल तथा बलराम आचार्यले खडा गरेको हाइ एण्ड होटल कम्पनीले यस होटलमा प्रमुख लगानी गरेको छ।  

क्यासिनोसहित यो होटल वैशाखको सुरुदेखि नै सञ्चालन हुने बताइएको छ। यो होटलमा कुल ९० वटा कोठा छ। होटलमा एउटा प्रेसिडेन्सियल सुइट, आठवटा सुइट, १२ वटा एक्जुक्युटिभ, २२ वटा डिलक्स र ४७ वटा स्ट्यान्डर्ड रुम रहेका छन्। दुईवटा ब्यांक्वेट, तीनवटा सेमिनार हल, स्पा, जिम, रेष्टुरेन्ट, लाउन्ज रहेको यो होटल १ अर्ब ५० करोड रुपैयाँ लगानीमा निर्माण भएको हो। 

यसका साथै सोल्टी होटलले पूर्वी तराईलाई केन्द्रित गरेर आफ्नै लगानीमा नयाँ होटल सञ्चालन गर्ने र कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा समेत होटल सञ्चालन गर्ने तयारी गरिरहेको छ। त्यसको लागि जग्गा प्रबन्ध गरिरहेको होटलका ती सञ्चालक बताउँछन्। 

उनले नेपालखबरसँग भने, ‘नेपाल विश्वकै पर्यटक आकर्षण गराउन सक्ने मुलुक भए पनि भारतीय पर्यटकहरुलाई सजिलै ल्याउन सकिने देखिन्छ। उनीहरुलाई नै केन्द्रित गरी हाम्रो बिजनेस योजना अघि सारेका छौँ। हेरौँ कस्तो हुन्छ।’ 

आक्रामक विस्तारको तयारी : कसले गर्दै छ लगानी?
आक्रामक रुपमा होटल विस्तारको योजनासहित अघि बढेको सोल्टी होटलले लगानी समेत जुटाएको छ। त्यसको लागि होटलको मुख्य लगानीकर्ता सोल्टी इन्स इन्टरप्राइजेज प्रालिले लगानी थप्ने तयारी गरेको छ। यो कम्पनी पूर्वराजा ज्ञानेन्द्र शाह समूहको हो। होटलमा यो समूहको करिब ५० प्रतिशत लगानी छ। 

१० प्रतिशत लगानी रहेको हङकङको होलिडे इन्स इभेष्टमेन्ट कम्पनी बाहिर निस्किएपछि त्यसको सेयर समेत पूर्वराजा समूहले खरिद गरेको थियो। साढे ७२ करोड रुपैयाँमा उक्त सेयर खरिदसँगै यो समूहको लगानी करिब ५० प्रतिशत पुगेको थियो। 

होटलमा ४९ दशमलव ५७ प्रतिशत सेयर स्वामित्व पुर्याएको पूर्वराजा समूहले पुनः लगानी थप गर्नलागेको होटल स्रोतले बतायो। बाँकी लगानीकर्तामा भने वायुसेवा निगम र सर्वसाधारण रहेका छन्। सोल्टी होटलमा निगमको १२ दशमलव २६ प्रतिशत र बाँकी सर्वसाधारणको लगानी छ।

होटलका एक सञ्चालक समिति सदस्यका अनुसार अब पुनः लगानी थप गरेर सोल्टी होटल सातै प्रदेशमा लैजाने तयारी गरिएको हो।  

ती सञ्चालकले भने, ‘त्यसमा मुख्य लगानी थप्ने भनेको सोल्टी इन्स इन्टरप्राइजेज प्रालिले नै हो, अन्यको पनि सहभागिता भने हुनेछ।’

नेपालको पहिलो पाँचतारे होटल सोल्टीको वित्तीय विवरण पनि निकै सबल छ। चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरणअनुसार होटलले ४ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ। कोरोना महामारीसँगै भएको बन्दाबन्दीको ठूलो असर समग्र होटल क्षेत्रमा देखिँदा गत वर्ष यही अवधिमा सोल्टी १ करोड ५१ लाख रुपैयाँ नोक्सानीमा थियो। यो वर्ष भने विस्तारै होटल क्षेत्रको आम्दानीमा सुधार आइरहेको छ।

सोल्टीको चुक्ता पुँजी ८४ करोड २५ लाख ७९ हजार रुपैयाँ रहेको छ। यस्तै कम्पनीको रिजर्भ कोषमा ६३ करोड ८६ लाख रुपैयाँ छ भने प्रतिसेयर आम्दानी ५८ पैसा र प्रतिसेयर नेटवर्थ भने १७ रुपैयाँ ७८ पैसा रहेको वित्तीय विवरणले देखाएको छ। 

१२ एकड जमिनमा फैलिएको सोल्टी होटल सन् १९६५ मा काठमाडौंमा स्थापना भएको थियो। पाँचतारे विलासी होटलको उद्घाटन सन् १९६६ मा तत्कालीन राजा महेन्द्र शाहले गरेका थिए। 

स्थापनाकालदेखि नै सोल्टी होटलले आफूलाई नेपालमा विलासिता र आतिथ्यको पर्याय बनाउँदै आएको छ। 

स्थापनाकालमै १ सय ४ वटा कोठाहरूबाट सुरु भएको सोल्टीमा काठमाडौंमा हाल २ सय ८२  विलासी अतिथि कोठाहरू छन् भने सात ‘रोयल भीभीआईपी सुइटहरू’ उपलब्ध छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .