कारोबार


आयोजना अलपत्र पार्ने ठेकेदारलाई कारवाही हुन्छः मन्त्री नेम्वाङ

आयोजना अलपत्र पार्ने ठेकेदारलाई कारवाही हुन्छः मन्त्री नेम्वाङ

नेपालखबर
मंसिर २२, २०७६ आइतबार ९:५९,

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले समयमा सम्पन्न हुन नसकेर रुग्ण अवस्थामा रहेका आयोजनाको पहिचान गरेर काम नसकी अलपत्र पार्नेलाई कारवाही गरिने बताएका छन्। उनले कुनै पनि आयोजना निर्माणको जिम्मेवारी लिने र समयमै काम नसकी अलपत्र पार्नेलाई कारवाही स्वरुप ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रियाअनुसार काम अघि बढाइने बताएका छन्।
रुपन्देही जिल्लाका विभिन्न क्षेत्रमा निर्माणाधीन विभिन्न सडक तथा पुलको अनुगमनपछि प्रेस संगठन नेपाल, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री नेम्वाङले आयोजनाका काममा लापरवाही गर्ने, अलपत्र पार्ने, समयमा नसक्ने निर्माण कम्पनी जो कसैलाई पनि कारबाहीको दायरामा ल्याइनेछ भने।

उनले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० मा बुद्ध जन्मस्थल लुम्बिनीलाई प्रमुख गन्तव्यका रुपमा राखेको अवस्थामा भ्रमण वर्ष शुरु हुनै लाग्दासमेत भैरहवा–लुम्बिनी सडकको सम्पन्न हुन नसक्नुलाई सरकारले गम्भीररुपमा लिएको छ भने। यही डिसेम्बरको अन्तिमसम्ममा भैरहवाबाट लुम्बिनी पुग्ने सडक एकतर्फी भएपनि कालोपत्रे गर्न निर्देशन दिँदै मन्त्री नेम्वाङले भने, ‘भ्रमण वर्षको शुरुआतीसँगै लुम्बिनी आवतजावत गर्न पर्यटकलाई कुनै पनि किसिमले समस्या हुनु हुँदैन।’

उनले निर्माण कम्पनीले अलपत्र पारेर छाडेका भैरहवा लुम्बिनी सडकका तिनाउ र दानव नदीका दुईटा पुलको ठेक्का केही दिनभित्रै तोडेर भएपनि काम अगाडि बढाइने स्पष्ट पारे। मन्त्री नेम्वाङले हाल अलपत्र पारिएका पुलको नयाँ प्रक्रियाबाट काम अघि बढाउने र दुबै नदीमा सोही ठाउँमै दुई लेनका दुईवटा पुल थपेर सडकलाई चार लेन पु¥याइने बताए। उनले तत्कालको अवागमनलाई सहज बनाउन उक्त ठाउँमा बेलिब्रिज वा अन्य विकल्पका बारेसमेतमा अध्ययन भइरहेको जानकारी दिए।

लुम्बिनी परिपथसहितको रुपन्देहीका ४१ किलोमिटर सडक र पुल द्रुतगतिको माध्यमबाट सम्पन्न गर्न मन्त्री नेम्बाङले निर्देशन दिए। उनले सिद्धबाबा क्षेत्रमा सुरुङ निर्माणको (विस्तृत आयोजना प्रतिवेदन) डिपिआर निर्माणको काम सम्पन्न भइसकेको र अबको एक महिनाभित्र बोलपत्र खुलाउने तयारी भइरहेको स्पष्ट पारे।

पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीले यातायातमा एकाधिकार खारेज भइसकेको र सार्वजनिक यातायातलाई थप व्यवस्थित बनाउन सरकारले काम गरिरहेको बताए। सडक विभागका महानिर्देशक केशवकुमार शर्माले बुटवल पश्चिमको सडक विस्तारको कामको डिपिआएर निर्माण र लगानीको सुनिश्चितताको काम यसै वर्ष हुनेछ भने। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad