कारोबार


एक महिनापछि खुले दुवै चिनियाँ नाका, दसैंमा व्यवसायीलाई राहत

एक महिनापछि खुले दुवै चिनियाँ नाका, दसैंमा व्यवसायीलाई राहत

वसन्त अर्याल
भदौ ३०, २०७९ बिहिबार ९:५९, काठमाडौँ

एक महिनापछि चिनियाँ दुवै नाका सुचारु भएका छन्। मुख्य वस्तु आयात हुने रसुवा र तातोपानी दुवै नाका खुलेका हुन्। 

उत्तरी नाकामा रोकिएका वस्तु भित्रन थालेका छन्। तिब्बतमा कोभिड बढेको भन्दै एकतर्फी रुपमा नाका बन्द भएको बीच बाटोमा रोकिएका वस्तु भित्रन थालेका हुन्। 

तातोपानी नाकाबाट भदौ २५ गते नै वस्तु आयात हुन थालेकोमा बिहीबारबाट रसुवा नाकाबाट समेत वस्तु आयात शुरु भएको छ। 

रसुवा भन्सार कार्यालयका प्रमुख डा. राम प्रसाद मैनालीले बाटोमा रोकिएका ट्रक आउन थालेको जानकारी दिए। 

‘८६ वटा ट्रेलर बाटोमा रोकिएका थिए,’ मैनालीले नेपालखबरसँग भने,‘दसैंअघि ती काठमाडौं पुग्ने अनुमान गरिएको छ।’

८६ ट्रेलरका समान ट्रकमा राख्दा करिब १७२ ट्रक हुन्छ। व्यवसायीले चिनियाँ नाकाबाट कुहिने वस्तु र लत्ता कपडा ल्याउने गरेका छन्। त्यस्तै चीनबाट बीवाईडी, नेटा लगायतका विद्युतीय गाडी समेत आउँछन्। 

‘नाका बन्द हुँदापनि जानकारी बिनै बन्द भएको थियो। अहिले बाटोमा रहेका ट्रक छाडेको जानकारी आएको छ,’ भन्सार प्रमुख मैनालीले भने,‘पूर्ववत अवस्थामा फर्किने नफर्किने थाहा छैन।’
चीनले साउन अन्तिम हप्ताबाटै विना सुचना नाका बन्द गरेको थियो। तीजका लागि लक्षित सामाग्री आउन पाएका थिएनन्। व्यवसायीले दशैं लक्षित सामाग्री पनि आउन नसकेको भन्दै गुनासो गर्दै आएका थिए। 

चिनियाँ जनकांग्रेसका अध्यक्ष ली चान्सु काठमाडौं आएसँगै राष्ट्रपतिदेखि सभामुखसम्मले नाका खोल्न आग्रह गरेका थिए। चान्सुले उत्तरी नाका नियमित खुल्ने विश्वास दिलाएका थिए। 

चिनले उत्तरी नाका खोल्ने बताए पनि निर्बाधरुपमा खुलेको छैन। उत्तरी नाका हुँदै निर्यात गर्न सकिने अवस्था छैन। 

नेपाल हिमालय सिमापार व्यापार संघका अध्यक्ष अशोक कुमार श्रेष्ठले उत्तरी नाकामा करिब ५ सय ट्रक सामाग्री रोकिएको बताउँछन्।

तातोपानी नाकाबाट भदौ २५ गतेबाट वस्तु आयात हुन थालेको थियो। रसुवा नाकाबाट भदौ ३० गतेबाट आयात हुन शुरु भएको छ। 

‘चिनियाँ २०० देखी २५० टेलर सामाग्री बाटोमा रोकिएको थियो,‘ हिमालय सिमापार व्यापार संघका अध्यक्ष अशोक कुमार श्रेष्ठले भने,‘अब दुवै नाकाबाट सामाग्री आउन थाले दसैंलाई केहि राहात हुन्छ।’

व्यवसायीका अनुसार सामान्य अवस्थामा उत्तरी नाकाबाट वस्तु आयात गर्न १५ दिनमा सकिन्छ भने समुद्री नाका हुँदै आउँदा २ देखी ३ महिना लाग्छ। फलफूलहरुमा स्याउ, ड्रागन फ्रुट संगै लसुन लगायतका वस्तु उत्तरी नाकाबाट आउँछ। 

व्यवसायीहरुले दशैं लक्षित लत्ता, कपडा, जुत्ता पनि उत्तरी नाका हुँदै ल्याउने गरेका छन्। हाल उत्तरी नाकामा रहेको अधिकांश टेलरमा लत्ता कपडा रहेका छन्। अबको एक हप्तामा ती ट्रक आउन सके व्यवसायीलाई ठुलो राहात हुने श्रेष्ठ बताउँछन्। 

‘अहिले मुख्य समस्या हाम्रो सामाग्री रोकिएकोमा थियो। दशैं लक्षित सामाग्री बढी थिए,’ श्रेष्ठले भने,‘माग भए पनि सामाग्री उपलब्ध गराउन नसक्ने समस्या समाधान हुने भएको छ।’

उनले तिब्बतमा कोभिड माहामारीको अझै नियन्त्रणमा आई नसकेकाले नयाँ वस्तु तत्काल आउने संभावना कम रहेको बताउँछन्। 
‘चिनियाँले अहिले लोड भएका टेलर छाड्ने भनेको हो,’ श्रेष्ठले भने,‘नयाँ टेलर लोड हुन्छ हुँदैन थाहा छैन। ट्रकमा लोड नभएको सामाग्री जहाजबाट ल्याउन सकिन्छ।’

व्यवसायीहरुले लामोसमय बाटोमा वस्तु रोकिँदा महँगो हुने बताउँछन्। व्यवसायीले बैंकको व्याजदर तिरेर सामाग्री मगाउने हुँदा त्यसको मार उपभोक्तालाई पर्ने बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .