कारोबार


विद्युत प्राधिकरणले माथिल्लो अरुण आयोजनाको ४९ प्रतिशत आईपीओ जारी गर्ने

विद्युत प्राधिकरणले माथिल्लो अरुण आयोजनाको ४९ प्रतिशत आईपीओ जारी गर्ने

नेपालखबर
भदौ ३१, २०७९ शुक्रबार १६:५७, काठमाडौँ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीका अध्यक्ष कुलमान घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजनाको ४९ प्रतिशत सर्वसाधारण सेयर (आईपीओ) जारी गर्ने बताएका छन्।

बिहीवार अपर अरुण हाइड्रो इलेक्ट्रिक आयोजनाको लागि स्वदेशी ऋण प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरणको अगुवा गर्ने हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलप्मेण्ट कम्पनी (एचआइडीसीएल) बीच ऋण लगानी सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै यस्तो बताएका हुन्। 

उनले ६४ अर्ब रुपैयाँ इक्विटीमध्ये ५१ प्रतिशत आयोजनाको प्रवद्र्धक अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीका संस्थापक शेयरबाट र ३२ अर्ब सर्वसाधरण जनताको शेयर (आईपीओ) बाट उठाउने बताए। 

घिसिङले माथिल्लो अरुणमा जलविद्युत आयोजनामा प्रदेश सरकार, आयोजना रहेको जिल्ला संखुवासभाका स्थानीय तह, नेपाल विद्युत प्राधिकरणलगायतका संस्थापक शेयर रहने बताए। उनले माथिल्लो अरुणमा जलविद्युत आयोजनामा नेपालमा ब्लेन्डेड फाइनान्सिङको पहिलो प्रकारको मोडालिटीमा निर्माण गरिने उल्लेख गरे।

उनले भने, ‘विश्व बैंकले इआईबी लगायतले अन्तर्राष्ट्रिय बैंकहरुको नेतृत्व गर्नेछन्। नेपाली बैंक र फाइनान्सियल संस्था र अन्तर्राष्ट्रिय बैंकहरुको टीम ब्लेन्डेड फाइनान्सिङको रुपमा आएको छ। विश्व बैंक पनि यो आयोजनामा लगानी गर्न इच्छुक रहेको छ। नेपाली बैंकहरुको लगानी क्षमता बढाउन र नेपाली बैंकहरुसँग काम गर्नपनि विश्व बैंक इच्छुक हुनुहुन्छ। जुन आयोजनाको तयारी भएको छ। नेपालमा पहिलो मोडालिटी हो। यो आयोजनामा विश्व बैंकदेखि नेपाली बंैक तथा वितिय संस्था लगायत नेपाली जनताको लगानी रहेको छ। जसमा ४९ प्रतिशत जनताको लगानी छ। परियोजनाले स्थानीय निकायलाई पनि शेयर राखेका छौं। आयोजनामा करिव ३२ अर्ब जनताबाट उठाएर स्वपुँजी लगानी गर्नुपर्छ बाँकी नेपाल विद्युत प्राधिकरण लगायत ५१ प्रतिशत विभिन्न संस्थाहरुको इकुटी रहनेछ।’ 

निर्देशक घिसिङले ब्लेन्डेड फाइनान्सिङ मोडेल बन्ने आयोजनाले मुलुकको अर्थतन्त्रमा समेत सकारात्मक हलचल ल्याउने दाबी गरे। उनले चार अंकको जडित क्षमता (१०६१ मेगावाट) भएको माथिल्लो अरुणबाट अहिले देशमा खपत भइरहेको ऊर्जाको झन्डै ५० प्रतिशत ऊर्जा उत्पादन हुने दाबी गरे। 

घिसिङले सुख्खा समयमा समेत ३० प्रतिशत विद्युत उत्पादन हुने बताए। उनले आयोजनामा लगानीको लागि एचआइडीसीएलको अगुवाइमा हुने सहवित्तीयकरणमा नेपालका निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले पनि आयोजनामा ऋण प्रवाह गर्ने बताए। उनले आयोजना तुलनात्मक रुपमा सस्तो भएकाले धेरैलाई सहभागी बनाएर नमूना परियोजनाको रुपमा फाष्ट ट्रयाकमा काम अगाडि बढाउने बताए।

उनले भने, ‘यो आयोजना नेपालको अर्थतन्त्रमा ठूलो हलचल ल्याउँछ। आयोजना बनाउनको लागि सरकारी राष्ट्रिय बाणिज्य बैंक र अन्य निजी क्षेत्रका बैंकहरु पनि आउनुहुने छ। निजी बैंकहरुलाई पनि एचएलडिसियल बैंकमार्फत आउनु हुन्छ। चार डिजिटका प्रोजेक्ट र सबैभन्दा बढी इनर्जि भएको प्रोजेक्ट करिव ४ अर्ब ५० करोड इनर्जि मात्रै रहेको छ । अहिले विद्युत खपत १० अर्ब युनिट हो । ५० प्रतिशत इनर्जि यो आयोजनाबाट मात्रै आउँछ। यो नेपालको गेम चेन्जर प्रोजेक्टको रुपमा राखिएको छ । आयोजना बनेपछि नेपालको जलविद्युतको क्षेत्रमा ठूलो परिवर्तन ल्याउनेछ।’

उनले माथिल्लो अरुणमा जलविद्युत आयोजना नेपालको गेम चेन्जरको रुपमा राखिएको बताए। घिसिङले आयोजना निर्माण सम्पन्न हुँदा नेपालको जलविद्युतको क्षेत्रमा ठूलो परिवर्तन ल्याउने बताए। 

बिहीवार प्राधिकरणका तर्फबाट कार्यकारी निर्देशक घिसिङले, एचआईडीसीलकातर्फबाट प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतम र प्रवद्र्धक कम्पनीका तर्फबाट प्रबन्ध–सञ्चालक फणिन्द्र जोशीले हस्ताक्षर गरेका थिए। सहवित्तीयकरणमार्फत आयोजनामा करिव ५३ अर्ब रुपैयाँ लगानी हुनेछ। 

सहवित्तीयकरणमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नागरिक लगानी कोषलगायतका बैंक तथा वित्तीय संस्था सहभागी छन्। समझदारीमा हस्ताक्षर भएको मितिबाट १२० दिनभित्र ऋण लगानीको टर्मसिट तयार गरी एक वर्षभित्र आयोजनाको वित्तीय व्यवस्थापन गर्ने लक्ष्य राखिएको छ। आयोजनाको निर्माण वि.सं २०८१ पुसबाट शुरु गरी वि.सं.२०८७ पुसभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

आयोजनाको सम्भाव्यता अध्ययन सम्पन्न भइ टेण्डर डिजाइन तथा निर्माण सुपरीवेक्षणका लागि परामर्श दाता छनोट कार्य भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .