ad ad

कारोबार


सुनौली बजारमा दसैँको भिड, छैन नेपालतिरका बजारमा व्यापार

सुनौली बजारमा दसैँको भिड, छैन नेपालतिरका बजारमा व्यापार

भारततर्फको बजारमा किनमेल गर्न जाँदै गरेका नेपाली। तस्बिर : सुदिप भण्डारी/नेपालखबर


सुदीप भण्डारी
असोज १४, २०७९ शुक्रबार १७:५०, रुपन्देही

रुपन्देहीको सीमापारी भारतको सुनौलीमा दसैँको घटस्थापनादेखि नै चहलपहल बढ्न थालेको थियो। 

यतिबेला दिनभर सुनौली बजार भिडभाड हुने गरेको छ। बेलाहिया पारीको सुनौली बजार नेपालीहरुले नै धानेका छन्। 

दसैँ तिहार जस्ता चाडपर्वमा सुनौली बजार बढी भिडभाड हुने गर्दछ। त्यसपछि विवाहका बेला सुनौलीमा किनमेल गर्नेहरुको चहलपहल हुने गरेको छ। 

यतिबेला दसैँको लागि खाद्यान्न, कपडाहरु किन्ने ग्राहकको सुनौलीमा भीड छ। हातमा झोला बोकेका पैदल यात्रीको लस्कर बेलहिया नाकामा देख्न सकिन्छ। त्यस्तै भारत पस्न खोज्ने नेपाली मोटरसाइकिलहरुको पनि नाकामा लाइन हुने गरेको छ। 

बुटवलकी चेतना पाण्डे पनि किनमेलका लागि विहीवार सुनौली बजार आएकी थिइन्। दसैंको बेला सामान्य किनमेल गर्न बजार आएको पाण्डेले सुनाइन्। 

‘आफूलाई चाहिने लेडीज सामानहरु किन्न आएको हो। बुटवल भन्दा केही सस्तोमा पाइन्छ भनेर सुनेर आएको,’ उनले भनिन् ‘आएको बेला चिनी पनि किनेर लैजाँदै छौं।’ 

बुटवल र भैरहवामा अहिले चिनीको मूल्य प्रतिकिलो ८५ देखि ९० रुपैयाँ पर्दछ। तर सुनौली बजारमा ६५ रुपैया किलोमा चिनी पाइन्छ। 

यस्तै अन्य खाद्य सामानहरु पनि सस्तो पाइने ग्राहकहरु बताउँछन्। तिलोत्तमाकी विष्णु बरालले बुटवल भन्दा केही सामानहरु सस्तो भएको बताइन्। 

‘धेरैजना बजार गर्न सुनौली जाने भन्छन्। हामी पनि जाउँ न भनेर आएको,’ उनले भनिन् ‘सामानहरु केही सस्तो जस्तो लाग्यो। गुणस्तर कस्तो छ खै।’ 

सीमापारी किनमेल गर्ने ग्राहकहरुको भिड बढ्दा सीमावारी सोंचे जस्तो व्यापार नभएर नेपाली व्यवसायीहरु चिन्तित छन्। 

सुनौली बजारले सबैभन्दा बढी मार नेपालको नजिकको शहर भैरहवामा पर्ने गरेको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले बताए। 

‘हामीकहाँ त चुलामा भाँडा बसाल्दा तेल सकिएको रहेछ भने पारी गएर तेल ल्याउने जस्तो ठाउँ हो,’ उनले भने ‘त्यसले गर्दा हामी उद्योगी व्यवसायीलाई निकै असर परेको छ।’ 

न्यौपानेले नेपाली व्यवसायीको समस्या समाधान गर्न राज्यकै ध्यान जानुपर्ने बताए। ‘कम्तीमा भारतबाट भित्रने सामानहरु कानूनी रुपमा आओस भन्ने हाम्रो भनाइ हो। कति सामान आयो हामी कहाँ कुनै रेकड छैन’, उनले भने, ‘मैले भन्छु एक किलो चिनी ल्याए पनि लेखेर रेकर्ड राखम के, भन्सार लिन पर्दैन। त्यसो गर्यो भने नेपालमा कति समान आयात हुँदो रहिछ भन्ने तथ्यांक पनि हुन्छ।’

त्यसरी रेकर्ड राख्न थाल्ने हो भने लाइन लाग्ने झन्झटले पनि किनमेल गर्न सीमापारी जाने कम हुने न्यौपानेले बताए।

किनमेल गर्न सुनौली जाने प्रचलनले बुटवलको बजारमा पनि चहलपहल कम छ। बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्वल कसजुले व्यापार सोँचे भन्दा कम व्यापार भएको बताए।  

‘जति हुनुपर्ने हो त्यति व्यापार भएको छैन भन्छन् हाम्रा व्यवसायीहरु। अझै पनि धेरै जसो सुनौली तिर जाने गरेका छन्। यसको लागि सरकारले नीति परिवर्तन गर्नुपर्छ,’ उनले भने ‘हामी भन्सार विभागमा पनि डेलिगेसन गयौँ, त्यहाँको सशस्त्रलाई पनि भेट्यौं। अलि कडाइ गर्न पर्यो भनेर कुरा राख्यौं। गरेका छौं भन्छन्।’ 

सुनौली जाने व्यापारीलाई रोक्न बुटवल र भैरहवाका व्यवसायीक संगठनले दसैं सस्तो बजार सञ्चालन समेत गरेका छन्। सिद्धार्थनगर उद्योग बाणिज्य संघले भैरहवा र बुटवल उद्योग बाणिज्य संघले बुटवलमा दसै सस्तो बजार सञ्चालन गरेका छन्। 

सस्तो बजारमा केही सिमित खाद्यान्नको विक्रि राम्रै भएको छ। तर सिमापारी जाने ग्राहकलाई भने रोक्न सकेको छैन।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .