कारोबार


यी हुन् कांग्रेसबाट प्रत्यक्ष र समानुपातिकमा टिकट पाउने व्यवसायी

यी हुन् कांग्रेसबाट प्रत्यक्ष र समानुपातिकमा टिकट पाउने व्यवसायी

वसन्त अर्याल
असोज २३, २०७९ आइतबार १६:२७, काठमाडौँ

कांग्रेसबाट अर्बपति विनोद चौधरीसहित व्यावसायिक पृष्ठभूमिका व्यक्तिहरुले प्रतिनिधिसभाको लागि टिकट पाएका छन्। 

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा चौधरीसहित एक दर्जन व्यवसायीले निर्वाचनमा टिकट पाएका हुन्। 

२०७४ को निर्वाचनको समयमा कांग्रेस प्रवेश गरेका उद्योगी विनोद चौधरीले यो पटक प्रत्यक्ष निर्वाचन लड्ने घोषणा नै गरेका थिए। 

उनले सुरुमा नवलपुर क्षेत्र नम्बर २ बाट निर्वाचन लड्ने तयारी गरे पनि कांग्रेसले उक्त क्षेत्रमा देवेन्द्र कुँवरलाई उठाएर नवलपरासी १ बाट विनोद चौधरीलाई टिकट दिएको हो। 

१४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएसँगै उनले प्रत्यक्ष राजनीतिमा जोडिने बताएका थिए।

त्यस्तै हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री व्यवसायी उमेश श्रेष्ठले पनि चितवन क्षेत्र नं २ बाट टिकट पाएका छन्। हाल समानुपातिकबाट सांसद रहेका श्रेष्ठ यसपटक प्रत्यक्षमै चितवनबाट निर्वाचन लड्ने बताएका थिए। 

क्षेत्र नं १ बाट उनको नाम पनि सिफारिस भएको थियो। शिक्षा व्यवसायमा चर्चित श्रेष्ठको जलविद्युत्, पर्यटनलगायतका क्षेत्रमा लगानी छ। उमेश श्रेष्ठ एमालेका कृष्णभक्त पोखरेलसँग प्रतिस्पर्धा गर्नेछन्। क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लड्ने भएका छन्। 

चितवनको क्षेत्र नं १ मै योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले टिकट पाएका छन्। कांग्रेसमा योजना आयोगकै पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले उम्मेदवार हुन खोजिरहेका थिए। अन्तिम समयमा देउवा निकट पौडेलले टिकट पाए। चितवन क्षेत्र नम्बर १ मा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेसँग पौडेलको प्रतिस्पर्धा हुनेछ। 

मोरङ ३ बाट मेडिकल व्यवसायी डा.सुनिल शर्माले नेपाली कांग्रेसबाट टिकट पाएका छन्। नेपाली कांग्रेस मोरङले क्षेत्र नं. ३ बाट मेडिकल कलेज व्यवसायी डा. सुनिल शर्मालाई सिफारिस गरेको थियो। 

उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार भानुभक्त ढकालसँग पराजित भएका थिए। शर्मा नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पताल विराटनगर र काठमाडौं मेडिकल कलेजका सञ्चालक  हुन्। 

शर्मासँग नेकपा एमालेका भानुभक्त ढकाल र राप्रपाकी रेखा थापा भिड्दै छन्। 

निर्माण व्यवसायी मोहन आचार्य २०७४ मा रसुवाबाट प्रत्यक्ष निर्वाचित सांसद भएका हुन्। २०७४ को निर्वाचनमा १४ हजार ४५३ मतका साथ विजयी भएका थिए। उनले एमालेका जनार्दन ढकाललाई पराजित गरेका थिए। वाम गठबन्धनबाट लडेका ढकाल १० हजार २७८ मतमा सीमित भएका थिए। 

इन्जिनियर रहेका आचार्यसँग सडक, पुल र अस्पतालसहितका पूर्वाधार निर्माण गरेको अनुभव छ। 
 
यता पार्टी जिल्ला सभापति एवम् पूर्वराज्यमन्त्री दीपक खड्का पनि संखुवासभाबाट प्रतिनिधिसभामा टिकट पाएका छन्। उनले नेपाल स्काउटको ३ रोपनी जग्गा भाडामा लिएर १२ रोपनी कब्जा गरेको आरोप लगेको छ। उनले बैंक्वेट, रेष्टुरेन्टलगायत व्यवसाय गरिरहेका छन्। 

उनी कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत संखुवासभा जिल्ला सभापति भएका छन्। 

२०७० निर्वाचनमा उनी संखुवासभाबाट निर्वाचित भएका थिए। तर २०७४ मा एमालेका राजेन्द्र गौतमसँग पराजित भए। खड्का एमालेकै राजेन्द्र गौतमसंग प्रतिस्पर्धा हुँदै छ। 

पर्यटन व्यवसायी राजेन्द्र बजगाईं पनि यसपटकको निर्वाचनमा गोरखा १ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। उनले उनले गोरखा क्षेत्र नं १ बाट उम्मेदवार बन्नका लागि निवेदन दिएका थिए। जसअनुसार उनले टिकट पाएका छन्। बजगाईं एमालेका रामशरण बस्नेतसँग प्रतिस्पर्धा गर्दै छन्। 

म्यानपावर व्यवसायी टेकबहादुर गुरुङले मनाङबाट टिकट पाएका छन्। पूर्वश्रम राज्यमन्त्री गुरुङ काठडमाडौंको भृकुटी मण्डपमा रहेको फन पार्कका समेत सञ्चालन हुन्। रामेछापमा निर्माण व्यवसायी पूर्णबहादुर तमाङले (कान्छाराम तमाङ)ले टिकट पाएका छन्। 

प्रत्यक्षमा धेरैले पाए, समानुपातिकमा काटियो
कांग्रेसमा प्रत्यक्षमा व्यवसायी धेरै व्यवसायीले टिकट पाए पनि समानुपातिकबाट भने काटिएको छ। 

कांग्रेसको समानुपातिक सूची संसोधन हुँदा खुमाप्रसाद अर्यालसहित व्यवसायीको नाम हटेको छ।   

असोज ३ गते निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा रहेका अर्यालसहित नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेश कुमार कनोडिया पनि हटेका हुन्। 

नेपाली कांग्रेसभित्र आन्तरिक विवादपछि समानुपातिक बन्द सूची हेरफेर भएको थियो। 

त्यस्तै रोमी गौचन थकालीको नामपनि हटेको छ। उनी होटल व्यवसायी हुन्। रामचन्द्र पौडेलनिकट मानिने गौचन मुस्ताङको जिल्ला सभापति समेत हुन्। उनी पूर्ववाणिज्यमन्त्री समेत हुन्। उनी २०७० सालका संविधानसभा सदस्य पनि हुन्। 

२०७९ को निर्वाचनकालागि समानुपातिक सूचीमा परेका वीरगन्जका व्यापारी अनिल रुंगटा रहेका छन्। उनी खाद्यान्य व्यवसायमा आवद्ध रहेका छन्। कांग्रेसबाट नुवाकोटका निर्माण व्यवसायी जगत बहादुर तामाङ पनि समेटिएका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .