ad ad

कारोबार


अर्थमन्त्री अमेरिकातिर, वाणिज्यमन्त्री दार्चुलामै : आयात प्रतिबन्ध हटाउन अन्योल

अर्थमन्त्री अमेरिकातिर, वाणिज्यमन्त्री दार्चुलामै : आयात प्रतिबन्ध हटाउन अन्योल

दीपक भट्ट
असोज २५, २०७९ मंगलबार ९:३६, काठमाडौँ

नेपालले आयात प्रतिबन्ध लगाएको चारवटा वस्तुको आयात खोल्नेबारे अन्योल देखिएको छ। 

प्रतिबन्ध कायम हुने मिति ४ दिन मात्र बाँकी हुँदा सो विषयमा आधिकारिक छलफल नै हुन नसकेको हो। 

अर्थमन्त्री जनार्दन शर्मा अमेरिका भ्रमणमा गएका छन् भने उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडू गृहजिल्ला दार्चुलामै छन्।

त्यस्तै वाणिज्य सचिव तोयम राय सोमबारसम्म विदामा थिए भने अर्थसचिव कृष्णहरि पुष्कर समेत अर्थमन्त्री शर्मासँगै अमेरिका भ्रमणमा हानिएका छन्। 

यता योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेललाई पनि चुनाव लागिसकेको छ। उनले पदबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराइसकेका छन्। उनको नेतृत्वमा नै प्रतिबन्धित वस्तु खुलाउने नखुलाउने विषयमा सिफारिस समिति छ। 

उनी नहुँदा त्यसको नेतृत्व कसले गर्ने विषय नै अन्योलमा छ। समितिले गरेको सिफारिसअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लाने र सोहीअनुसार निर्णय हुनुपर्नेमा अहिले नेतृत्वकर्ताहरु नहुँदा आयात खुलाउने नखुलाउने विषयमा छलफल नै हुनसकेको छैन। 

नेपालको विदेशी मुद्रा सञ्चितिमा गिरावट हुँदा वैशाखदेखि विलासी वस्तुको रुपमा परिभाषित गर्दै १० वस्तु प्रतिबन्ध गरिएको थियो। 
ती १० वस्तुमध्ये अहिले ४ वटा वस्तुमा मात्रै प्रतिबन्ध कायम छ। भदौ १४ गते एम्बुलेन्सबाहेकका निजी गाडी, ३०० डलरमाथिको मोबाइल फोन, १५० सीसीमाथिका  मोटरसाइकल र मदिरा आयातमा प्रतिबन्ध लगाइएको थियो।  

त्योभन्दा अघि कुर्कुरे, कुर्मुरे लेज र यस्तै उत्पादन, तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, मोबाइल फोन सेट, ३२ इन्चभन्दा माथिका रंगीन टेलिभिजन, जीप, कार र भ्यान, २५० सीसीभन्दा माथिका मोटरसाइकल, खेलौना, तासको आयात रोकिएको थियो। 

अहिले कायम रहेको एम्बुलेन्सबाहेकका निजी गाडी, ३०० डलरमाथिको मोबाइल फोन, १५० सीसीमाथिका मोटरसाइकल र मदिराको आयातमा प्रतिबन्ध खुलाउने नखुलाउने निर्णय यही २८ गतेभित्र भइसक्नुपर्नेछ। यी वस्तुहरु यही २८ गतेसम्मको लागि मात्रै प्रतिबन्ध हुने गरी राजपत्रमा सूचना जारी भएको थियो। 

वाणिज्य मन्त्रालयका एक अधिकारीका अनुसार नेतृत्वकर्ताहरु नहुँदा यसमा छलफल हुनसकिरहेको छैन। गम्भीर विषय रहेकोले यसमा अहिलेको अर्थतन्त्र र प्रतिबन्धित वस्तुको असरबारे अध्ययन गरेर छलफल हुनपर्ने भए पनि हुन नसकेको हो। 

‘वस्तु आयात प्रतिबन्धित हुँदा राजस्वमा परेको असर तथा विदेशी मुद्रा सञ्चितिमा पुगेको सहयोगलाई अध्ययन हुनुपर्ने थियो। तर त्यसमा छलफल भएको छैन’, ती अधिकारीले भने, ‘अब अन्तिम समयमा निर्णय भयो भने कसैको दबाब वा प्रस्तावमा हुन्छ। त्यसले कसैलाई धेरै फाइदा दिन्छ भने कसैलाई ठूलो घाटा गराउँछ।’

वस्तु आयातसँग व्यापारीहरु जोडिन्छन्। खुलाउने विषयमा उनीहरुको एक पक्षको दबाब छ भने नखुलाउने पक्षमा अर्को पक्षको दबाब छ। उनीहरुको भनाइभन्दा पनि अध्ययन गरेर निर्णय हुनुपर्ने देखिन्छ। तर सो अध्ययन गर्न समय घर्केको ती अधिकारीले बताए। 

कस्तो छ वस्तु आयात र विदेशी मुद्रा सञ्चितिको अवस्था? 
भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/८० को साउन र भदौमा वस्तु आयात १३ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिभन्दा वस्तु आयातमा गिरावट आएको हो। 

गत आर्थिक वर्षको साउन र भदौमा ३ खर्ब १४ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएकोमा चालू आर्थिक वर्षको दुई महिनामा २ खर्ब ७३ अर्ब रुपैयाँबराबरको मात्रै वस्तु आयात भएको थियो। 

चालू आर्थिक वर्षको पहिलो महिनाको मात्रै तथ्याङ्क हेर्ने हो भने कुल वस्तु आयात १२.९ प्रतिशतले कमी आई १ खर्ब ३१ अर्ब २९ करोड पुगेको छ। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.१ प्रतिशत, १०.५ प्रतिशत र १५.९ प्रतिशतले कमी आएको छ। 

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पन्ज आइरन, औषधि, रासायनिक मल, कच्चा पाम तेल लगायतका वस्तुको आयात बढेको छ भने सवारीसाधन तथा स्पेयर पार्टपुर्जा, एम.एस. बिलेट, दूरसञ्चार उपकरण तथा पार्ट्स, कच्चा सोयाबिन तेल, हट रोल्ड शिट इन क्वाइल लगायतका वस्तुको आयात घटेको छ।

यो तथ्याङ्कको कारण पनि योभन्दा अघि सरकारले गाडी लगायतका वस्तुको आयात प्रतिबन्धलाई निरन्तरता दिएको थियो। 

नेपाल राष्ट्र बैंकका अनुसार अहिले विदेशी मुद्रा सञ्चिति ११ खर्ब ९७ अर्ब ८५ करोड कायम छ। यसले ९.४ महिनाको वस्तु आयात र ८.० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले बताएको छ। 

गाडी आयात खुलाउन व्यवसायीको दबाब
गाडी आयात खुलाउन व्यवसायीहरुले दबाब दिएका छन्। गाडी व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयात प्रतिबन्ध हटाउन दबाब दिएको हो। 

सरकारले गत वैशाख १४ गतेदेखि जीप, कार र भ्यान जस्ता निजी प्रयोजनका सवारीसाधनहरुको आयातमा प्रतिबन्ध लगाउँदै आएको र त्यस प्रतिबन्धलाई क्रमशः विस्तार गर्दै असोज २८ गतेसम्म पु¥याएको थियो। तर हाल विदेशी मुद्रा सञ्चिति लगायत धेरै आर्थिक सूचकाङ्कहरु सकारात्मक अवस्थामा पुगे पनि आयात नखुलाएको नाडाको दाबी छ। 

देशलाई भन्सार विन्दुमा उठ्ने परल मूल्यभन्दा दोब्बर राजस्व बुझाउँदै देशको कुल कर राजस्वमा झण्डै २५ प्रतिशत योगदान पु¥याउने नेपालको अटोमोबाइल क्षेत्र हो। खर्बौँको लगानी तथा लाखौँलाई रोजगारी प्रदान गरे पनि प्रतिबन्धले अटोमोबाइल व्यवसाय धराशायी भएको नाडाको भनाइ छ।  

नाडाले मिडियाहरुलाई पत्र लेख्दै भनेको छ,‘नेपालको कुल आयातमा निजी प्रयोजनका कार, जीप र भ्यान जस्ता सवारी साधनहरुको आयात १ प्रतिशत (१७ अर्ब मात्र) भन्दा कम रहेको प्राप्त तथ्याङ्कहरुबाटै स्पष्ट हुन्छ। तर यो क्षेत्रबाट सरकारलाई झण्डै ३९ अर्ब योगदान रहेको छ । नेपालमा पैठारी हुने हजारौँ वस्तुहरुमध्ये कार, जीप र भ्यान जस्ता सवारी साधनहरु मात्र यस्ता वस्तु हुन् जसले आयातको तुलनामा झण्डै दोब्बर बढी राजस्व योगदान पु¥याउने गर्दछ। अब यसको प्रतिबन्ध हटाउनुपर्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .