ad ad

कारोबार


यार्सागुम्बा, च्याङ्ग्रा, कस्तुरी, मृग, कालिज र सुगन्धित धान उत्पादनमा माओवादीको जोड

यार्सागुम्बा, च्याङ्ग्रा, कस्तुरी, मृग, कालिज र सुगन्धित धान उत्पादनमा माओवादीको जोड

नेपालखबर
कात्तिक १४, २०७९ सोमबार १९:१६, काठमाडौँ

कृषिक्षेत्रको रुपान्तरणका लागि सत्तारुढ माओवादी केन्द्रले २२ वटा प्रस्ताव अघि सारेको छ। आसन्न आम निर्वाचन (२०७९) का लागि जारी चुनावी घोषणा (प्रतिबद्धता) पत्रमार्फत उसले योजनाजन्य प्रस्ताव अघि सारेको हो। 

राजनीतिक पार्टीहरुले विरलै ध्यान दिने गरेको यार्सागुम्बा, च्याङ्ग्रालगायत कस्तुरी, मृग, कालिज लगायतको व्यावसायिक पालनलाई प्रवर्द्धन गर्ने नीति उसले सार्वजनिक गरेको छ।  

शहरी क्षेत्रका धनी तथा मध्यमवर्गले उपभोग गर्ने मसिनो चामलको उत्पादन कार्यलाई प्रोत्साहन गर्ने नीतिलाई पनि उसले घोषणापत्रमा स्थान दिएको छ। 

‘मसिनो चामलको बढ्दो आयातलाई प्रतिस्थापन गर्न प्रदेश सरकार र स्थानीय तहसँगको सहकार्यमा तराईका भूभागमा एक सय विघाभन्दा ठूला चक्लाहरुमा सुगन्धित मसिनो धानको खेती गर्ने कार्यक्रम लागू गरिने छ’ घोषणापत्रमा उसले भनेको छ, ‘यसका लागि तीनै तहका सरकारबाट लगानीको व्यवस्था गरी हरेक प्रदेशमा नमूना फार्महरु स्थापना गरिने छ।’ 

केही वर्षयता ब्रोइलर कुखुराको मासुको प्रचलन बढ्दै गएकोमा पछिल्लो समय हिमाली क्षेत्रमा पालिने भेडा–च्याङ्ग्राको मासु शहरीक्षेत्रका उपभोक्तामा समेत लोकप्रिय हुँदै गएको छ। कतिसम्म भने, दशैं–तिहारजस्ता अत्यधिक मासु खपत हुने चाडपर्वमा भेडा तथा च्याङ्ग्रा छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बतबाट ल्याउनुपर्ने बाध्यता छ। 

यसबाहेक हिमाली क्षेत्रमा पाइने यी दुई घरपालुवा जनावर ‘उन’ उत्पादनका दृष्टिले पनि महत्वपूर्ण छन्। जाडो याममा प्रयोग हुने न्याना कपडा भेडा र च्याङग्राको उनबाट बनाइन्छन्। तर पछिल्लो समय भेडा–च्याङ्ग्रा पालन कम हुँदै जाँदा तिनीहरुबाट प्राप्त हुने ‘उन’ को उत्पादनमा समेत कमी आएको छ।

मासुका लागि भेडा–च्याङ्ग्राको आकर्षण देखेर होला, माओवादी केन्द्रले यिनको पालन तथा उत्पादन बढाउन ठूला सामुहिक फार्म स्थापनालाई प्रोत्साहन गर्ने नीति चुनाव घोषणापत्रमार्फत सार्वजनिक गरेको छ। यसका लागि च्याङ्ग्रा प्रजनन केन्द्र स्थापना गरिने प्रतिबद्दता पनि उसले जनाएको छ। 

‘हिमाली जिल्लाहरुमा चौंरी तथा भेडा–च्याङ्ग्राको ठूला सामुहिक फार्म स्थापना गर्न प्रोत्साहन गरिनेछ’ माओवादी केन्द्रको चुनाव घोषणापत्रमा भनिएको छ, ‘मुलुकभित्र च्याङ्ग्राको बढ्दो मागलाई ध्यानमा राखी बिउ–पाठापाठी उत्पादन गर्न कम्तिमा दुई स्थानमा च्याङ्ग्रा प्रजनन केन्द्र स्थापना गरिनेछ।’

यसका अलावा माओवादी केन्द्रले मासुका लागि उत्तम तर संरक्षित पशुपन्छी अन्तर्गत पर्ने कस्तुरी, मृग, कालिज र उच्च मूल्यको जडीबुटी अन्तर्गत पर्ने यार्सागुम्बाको व्यावसायिक उत्पादनलाई प्रबद्र्धन गर्ने नीतिसमेत घोषणापत्रमार्फत सार्वजनिक गरेको छ। 

‘हिमाली, उच्च पहाडी र पहाडी क्षेत्रमा कस्तुरी, मृग कालिज, लगायतका वन्य पशुपन्छीको व्यावसायिक पालन कार्यक्रम सञ्चालन गरिनेछ’ उसको घोषणापत्रमा भनिएको छ, ‘हिमाली क्षेत्रमा व्यवसायिक जडीबुटी खेती प्रबद्र्धन गर्दै भविष्यमा यार्सागुम्बाको व्यावसायिक खेती गर्ने आधार तयार गर्न अध्ययन–अनुसन्धान र परीक्षणको कार्य अघि बढाइनेछ।’

उपरोक्त लगायत कृषिक्षेत्रको समग्र रुपान्तरणका लागि माओवादी केन्द्रले जग्गा एकीकरण र चक्लाबन्दी गरी सामुहिक प्रणालीलाई जोड दिने र ठूलो स्केलमा व्यावसायिक कृषि, पशुपन्छी पालन तथा जडीबुटी खेती गर्न प्रोत्साहित गरिने उसले प्रतिबद्दता व्यक्त गरेको छ। 

‘यसका लागि सामुहिक कम्पनी, सहकारी र करार खेतीसम्बन्धी कार्यविधि बनाई लागू गरिनेछ’ सोमबार जारी चुनावी प्रतिबद्दता (घोषणा) पत्रमा भनिएको छ, ‘सामुहिक फार्म स्थापना गरी कृषि कार्य गर्दा कृषि पूर्वाधार निर्माण तथा आधुनिक बिउ–बिजन, मल तथा कृषि औजार खरिदका लागि अनुदान प्रदान गर्ने व्यवस्था गरिनेछ।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .