नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८६औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ।
वि.सं.१९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपाल बैंक लिमिटेड यही कार्तिक ३० गते आफ्नो ८५ औं वर्ष पुरा गरी ८६ औं वर्षमा प्रवेश गरेको छ।
प्रधान कार्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोहको प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी रहेका थिए।
त्यसैगरी नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर तथा नेपाल बैंक लिमिटेड सञ्चालक समितिका पूर्व डाइरेक्टर जनरल हिमालय शम्सेर जबरा, अर्थमन्त्रालयका राजस्व सचिव रामेश्वर दंगाल, नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष अनिल कुमार उपाध्याय विशेष अतिथिको रुपमा रहेका थिए। उक्त समारोहको अध्यक्षता बैंकका सञ्चालक समिति अध्यक्ष गंगा प्रसाद ज्ञवालीले गरेका थिए।
समारोहलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको पहिलो बैंक ८६ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना प्रकट गर्दै नेपालको बैंकिङ विकास र उद्यमशीलताको प्रवर्द्धनमा नेपाल बैंकको अतुलनीय भूमिका रहेको र प्रत्येक वर्ष कार्तिक ३० गतेलाई नेपालको बैंकिङ क्षेत्रको ऐतिहासिक बैंकिङ्ग दिवसको रुपमा लिन सकिने विषयमा जोड दिएका थिए।
त्यसैगरी आफ्नो शुभकामना मन्तव्य राख्दै अर्थ मन्त्रालयका राजस्व सचिव रामेश्वर दंगालले नेपाल बैंक लिमिटेड नेपालको बैंकिङ क्षेत्रको ऐतिहासिक धरोहर रहेको विषय उल्लेख गर्दै वर्तमान सूचकहरुले बैंक निकै सबल र प्रतिस्पर्धि रहेको धारणा उल्लेख गरे।
नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले नेपाल बैंक दिनप्रतिदिन सबल हुंदै गएको उल्लेख गर्दै बैंकले भविष्यमा अझै धेरै प्रगती गर्दै जाओस् भन्ने शुभकामना व्यक्त गरे।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको विगत, वर्तमान र भविष्यको वारेमा चर्चा गर्दै नेपाल बैंकका ३ वटा नयाँ प्रोडक्टहरु क्रमशः अनलाइन एफ्डी, गोल्ड लोन प्रोसेस डिजिटाईजेशन र डलर प्रिपेड कार्ड संचालनमा ल्याएको घोषणा गरेका थिए।
त्यसैगरी कार्यक्रममा बैंकमा रहेका ट्रेड युनियनका प्रतिनिधहरुले समेत आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
सो वार्षिकोत्सव समारोमा बैंकले गत आ.व.मा उत्कृष्ठ कार्यसम्पादन गर्ने शाखाहरुलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरेको थियो।
त्यसैगरी वार्षिकोत्सवको अवसर पारेर बैंकले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिताका विजयीहरुलाई समेत प्रमाण पत्र तथा मेडल प्रदान गरिएको थियो।
बैंकले के.एल.दुगड ग्रुपका अध्यक्ष किसलनलाल दुगड र द्वारीकाज होटलका अध्यक्ष अम्बिका श्रेष्ठलाई उत्कृष्ठ ग्राहकको रुपमा सम्मान गरेको थियो।
त्यसैगरी सो समारोहमा बैंकले नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर तथा नेपाल बैंक लि.का वि.सं २००८ देखि वि.सं. २०११ सम्मका डाइरेक्टर जनरल हिमालय सम्शेर जबरालाई अभिनन्दन समेत गरेको थियो।
शिवानी सिंह थापाले संचालन गरेको उक्त कार्यक्रममा ८६औं वार्षिकोत्सव मूल समारोह समितिका संयोजक प्रकाश कुमार अधिकारीले स्वागत मन्तव्य गरेका थिए।
सो समारोहमा बैंकका संचालक समितिका सदस्यहरु, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त लगायत उच्च व्यवस्थापनका सदस्यहरु, बैंकका पूर्वअध्यक्षहरु, पूर्वप्रमुख कार्यकारी अधिकृतहरु, पूर्वमहाप्रबन्धक तथा पूर्वनायव महाप्रबन्धकहरु लगायतका पूर्वकर्मचारीहरु, बैंकमा कार्यरत कर्मचारीहरु, पत्रकारहरु लगायतकोे उपस्थिती रहेको थियो।
नेपालभर २२६ शाखाहरु, १९९ एटिएम मेसिन साथै ५० वटा एक्टेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बैकिङ सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ।
विगत केही वर्षयता बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
Shares

प्रतिक्रिया